Skip to content


समाजमा सबै मानव एकै हुदैनन् । कोही तीक्षण बुद्धि, कोही समाज सेवी त कोही प्रबुद्ध विद्वान् हुन्छन्। समानुपातिक मानिस अधिक हुन्छन् जो सामान्य सेवा गर्ने र जीविकोपार्जन मात्र गर्दछन् । थोरै वा सीमित मानिस मात्र तीक्ष्ण बुद्धिका कारण उचो पदासीन भएका हुन्छन् । यस्ता प्रबुद्ध वर्गका व्यक्तित्वका मूल्याङ्न उपल्लो तहासिन वर्ग वा सरकार वा सरकार प्रमुखले गर्ने गर्दछ । जसका कारण थप हौसला मिल्दछ र अँझ स्तरीय सेवा प्रवाह हुन्छ । तर यदा कदा मूल्याङ्न व्यक्तिवादी, नातावाद, कृपावादमा उसको प्रबुद्ध र सेवाका आधार हैन, बरु चाकरीबादमा आधार भएर आउनाले, काम र सेवा वापत गरिने पुरस्कार अवमूल्याङ्न हुन पुगेको छ । पदक र पुरस्कार पाउने प्रति नाक खुम्च्याउनु पर्ने अवस्थाले त्यस्तो उच्च र सर्वोच्च पदक/ पुरस्कारप्रतिको हेराइ फेरिन थालेकोले मूल्याकनको पद्धति नै धरासायी हुने हो कि भन्ने भय रहेको छ ।

केही विशेष ख्याति, काम वा खोज गरे वापत हौसलाको लागि प्रदान गरिने पदक, एउटा उच्च पदमा आशिन भएकै कारण, अथवा पदक/ मूल्याङ्न समिति वा सम्बनधित पक्षलाई अनुरोध गरेको भरमा वा परिचित रहेको आधारमा बाडिने हो भने यसको मूल्य र मान्यतामा ह्रास नआउला भन्न सकिन्न । हरेक मान्छेको इच्छा हुन्छ आफूले गरेको कामको कदर होस्, प्रख्याति बढोस्, समाजमा फैलियोस् । गरिएको परीश्रम, मिहनेत वा अध्ययनको कदर हुनु पर्नेमा सो नभै, दीर्गसोच विना गरिएको निर्णयले समाजमा असर र बितृष्णा फैल्याउँछ । नम्बरी सुनलाई गुणात्मक कसीमा माझेर मात्र निश्चत परीणामलाई मूल्याङ्न गरी देशको गरिमालाई चम्किलो पार्नु पर्नेमा पुत्रले पिताको, चेलाले गुरुको,पार्टीले पार्टीको,आफूले आफ्नैको मूल्याङ्न गरी निर्णय दिंदा कस्तो हुने होला ? मूल्याङ्न परीणामले, समाजमा आउने असरको ख्याल नगरी हलुका रुपमा सीमित तह र तप्कालाई मात्र समेटेर, कृपाबादलाई आधार मानिन थालियो भने त्यसको ओज वा सान कसरी कायम राख्न सकिन्छ ?
फूलहरुको बास्नाको कारणले तथा रङ्गिन हुनाले मानिसले मन पराउछन्, यदि फूललाई मानिसले भेटाएन भने ओल्याएर जान्छ । उसको मूल्याङ्न र महत्व मानिसले दिन्छन् । त्यस्तै हिरा, सुन, जहवरात आदिलाई यदि मान्छे नहुने हो भने, कसले मूल्याङ्न गर्ने ? उसको गुण, चमक, महत्वको कारण मूल्याङ्न गरिने हो या त्यो बस्तुमा विशेष परीश्रम लगाएर लोकप्रिय बनाए पछि मात्र मूल्याङ्न भित्र पर्ने हो। जस्तो दुङ्गाको मूल्याङ्न छैन र हुदैन पनि, तर राम्रो कारिगरको हातमा पर्यो भने त्यसबाट देखिने आकर्षक र आस्ताको कारण मूल्याङ्न मात्र हैन श्रद्धा पनि गरिन्छ । मूल्याङ्न परीश्रमबाटै आउने रहेछ भन्ने यकिन यसबाट जानाकारी हुन्छ ।

धराहराको टुप्पोमा वा मन्दिरको गजुरमा बसेर पनि काग कागै हुन्छ, हाँस बन्न सक्दैन, हाँस हुन त सद्संगत र गूरु (प्रकृति) को कृपाले मात्र पाइन्छ । मानिस मात्र एक यस्तो प्राणी हो जो स्वतन्त्र छ दुई कुरा मध्ये एउटा छान्न सक्छ सुख वा दुःख, ईश्वर वा संसार, स्वाधिन वा पराधिन, इज्जत वा अपमान, खुशी वा निराश, भजन वा गफन ।

पशुको संसारमा ठूलो बन्न जुधेर जित्नु पर्ने हुन्छ, जस्तो सिंहले अन्य पशुलाई जित्दछ र सिंह देखी डराउदछन्, अन्य पशु ! र पनि कहिलेकाहीं सिंहलाई घेराबन्दी गरी रीस फेर्ने कोशिस गर्दछन् र यदि एक्लो सिंह भए त्यहाँबाट हट्न बाध्य पार्दछन् । तर मानिसमा उसको काम, शीप र बुद्धिको मूल्याङ्नको कारण ठूलो मानिन्छ वा समाजमा उसलाई उचो स्थानमा रहन मत प्रदान गर्दछन् र केही अवधी त्यो पद वा स्थानमा आसिन हुन्छन् तर सो स्थान यथावत राख्न परीश्रम र थप मिहनेत गर्नु पर्छ स्वार्थ रहित हुनु पर्छ र पनि स्थायी बनाउन मुश्किल हुन्छ । भक्तपुरमा नारायणमान बिजुक्क्षेको नेपाल मजदुर किसान पार्टी र बाग्लुङ्गमा चित्र बहादुर के.सीको जनमोर्चा पार्टी त्यहाँका जनताले सो पार्टीलाई उच्च मूल्याङ्न गरेकै कारण टिकिरहन सकेकोहो यसपाली जनमोर्चा पार्टीलाई पहिला जति जनताको अभिमत यथावत रहन सकेन । हुन सक्छ यसको काम जनतामाझ लोक प्रिय बन्न सकेन होला ?

एउटा उचो अवस्थामा पुगेपछि वा भनौ सगरमाथाको चुचुरोमा पुगेपछि त्योभन्दा तल (मुनि)का सबै संसार त्यतिकै देखिएकै हुन्छ । तलबाट हेर्दा भने चुचुरोमा पुग्न त्यतिकै सहज वा आराम हुदैन जति मानिसले सोच्ने गर्दछन् । माथिबाट तल दखिने र तलबाट माथि हेर्नेको बीचको दूरी फरक छ । एउटाले गएरै देख्दछ अर्कोले अनुमान लगाउँदछ । अनुमान गर्नु र भोगेरै, जानेर देख्नु फरक कुरा हो । यसकारण पनि मूल्याङ्न तथ्यको आधारमा गरिनु पर्छ नकि अनुमानको आधारमा । माथि पुगेकाले गरेको मूल्याङ्न र तलबाट हेरेर अनुमानको भरमा गरेको मूल्याङ्न स्वत फरक हुन्छ । माथिबाट हेर्दा आरोहणकालागि अधिकतम मानिस प्रतिस्प्रदामा रहेको देखिन्छ तर तलबाट हेर्दा सीमित मानिसमात्र पुगेको देखिन्छ, तर चड्ने पाटो फरक हुन्छन् । शीप र पेशा ज्ञान र बुद्धि एकै हुदैन । यसमा भाग्यले कुनै भूमिका खेलेको पनि हुदैन, बरु विद्वानहरुको एउटा मत के छ भने सुरा सुन्दरी र अर्थ प्रयोग गरेर माथि पुग्ने र माथि पुगेकाले तलकालाई तानी दिन्छन् र उपल्लो पद ओगट्न पुग्दछन् र सो बस्तु पुन आफूले पाउन सोही मार्ग अप्नाउन निरन्तरता रहन्छ र यो मार्ग पहिलेभन्दा केही हावी भएको अनुमान छ । त्यसकारण मूल्याङ्न गर्दा गहिरो सोच विचार र प्रमाणको कसीमा घोटेर हेर्दा यदि नम्बरी सुनहो भन्ने यकिन भए पछि मात्र पुरस्कार/ पदकद्वारा बिभूषित गरिएमा त्योबाट पाइने ओज, चमक एवं महत्व कायम रहन्छ । यसो भयो भने दिने लिन दुवैमा सन्तुष्टि कायम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *