(यो कविता २०४० साल जेठ १८ गते लेखिएको रहेछ । यो दिन म काठमाडौको अहिले दाजु राजेन्द्र बस्नु भएको घरसँग जोडिएको जग्गा पास गर्न गएको थिएँ । पिताजी र पत्नी विनाका साथ । यस दिन चिनको यात्रामा हिनेका तत्कालीन फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ मितराँ नेपालको बाटो भएर अर्थात् नेपाललाई ट्रान्जिट बनाएर चिन जान लागेका थिए । नेपालको अनुरोधले तीन घन्टे बसाइ मिलाएर राजासँग भेट गर्ने कार्यक्रम तय भएको थियो जस्तो लाग्छ । यसैले उनी जम्मा जम्मी तीन घन्टा नेपाल बस्नेवाला थिए । यसै सुअवसरमा देशभरि सरकारले त्यो दिन छुट्टी दिएकोले मैले जग्गा पास गर्न पाइन, चारखाल अड्डा बन्द भएकोले । पाहुनालको तिनघन्टे यात्रामा चौबिस घन्टे छुट्टी थियो देशमा ।
बिमानस्थलदेखि तिनकुने, वानेश्वर, माइतीघर, सिंहदरबार, महाकाल, टुँडिखेल हुँदै राजदरबार जानेवाला थिए अतिथी । यसै कारण यो बाटो ता सफा गर्नु पर्ने भो । अन्त जे भए पनि विमानस्थदेखिको यो उनले यात्रा गर्नु पर्ने रुटलाई ता सफा ता गर्नु पर्ने भो । सजिलो थिएन, यो सफा गर्न । यसैले बाटो धुन पखाल्नका लागि वा सफासुघर गर्नका लागि भारतीय राजदूतावाससँग पहिल्यै मागेर पानीका फोहरा झार्ने ट्याँकर ल्याएको जस्तो लाग्छ र त्यसैबाट बाटो सफा गरेको जस्तो लाग्छ । बाटो सफा गर्न पानीका फोहरा झार्ने त्यो गाडी हेर्न पनि हामीलाई रमितै भएको थियो । हामी त्यो बेला कोटेश्वरमा बस्थ्यौं । काम नभएपछि म त्यही बाटोको किनाराबाट तिनकुने हुँँदै माइतीघरसम्म यात्रा गरेको थिएँ अतिथिको स्वागतमा उभिएका मान्छेहरुका पछिपछिबाट ।
नेपालको प्रधानमन्त्री त्यो बेला को थियो थाहा भएन । तुलसी गिरी, कीर्तिनिधि विष्ट वा सूर्यबहादुर थापा ता हुन्थे, सायद तिनैमध्ये कोही थियो होला भन्छु । नेपालको बाटो गरेर माथि भनिएका राष्ट्रपति चिन जान लाग्दा नेपालको इज्जत थाम्न मुस्किल ठानेर हुन सक्छ सहर सफाइ गर्न वा बाटोमा पानी छर्ने टेंंकर भारत सरकारसँग यिनै प्रधानमन्त्रीले मागेका रहेछन् क्यारे । एउटा ट्याकर दिएकोमा राज्य बडो उपकृत थियो ।
त्यसै दिन बेलुका मैले काम नपाई अलिक झाेंक चलेर खाँचो शीर्षकमा एक गद्य कविता लेखेकाे रहेछु योः)

खाँचो
प्यारा मित्र,
तपाईं जस्तै अति आदरणीय
अति सम्मान्य मेरा अतिथि आउने वाला छन्
के गरौं मित्र,
उनी यसै पालि यतै भएर
उता जानेवाला छन्
इज्जत जोगाउनै प¥यो
इज्जत थाम्नुपर्छ भन्छन्.
इज्जत आफ्ना आफ्नै हुन्छन् ।
मित्र !
हो इज्जत थाम्नै पर्छ
खाई नखाई भए पनि
इज्जत थाम्नै पर्छ
व्याड इम्प्रेसन पार्नु हुन्न
मित्रको इज्जत जथाभावी झार्नु हुन्न ।
भित्र जे जस्तै भए पनि
बाहिर बेवास्ता गर्नु हुन्न ।
जमाना बदलियो भन्छन्
हामीले पनि इज्जत राखिदिनु पर्छ भन्छन्
नराम्रो प्रभाव नपरोस् भन्ने हामीलाई डर छ
हामीलाई उनले दिने भिक्षा रोकिएला भन्ने पनि डर छ
मित्र,
यहाँका अरुको के भर छ ?
यसैले बाटो बढार्न
जेनतेन केही स्वीपर लगाएँ
त्यसबाट भएन
बाटो सफा गर्न केही गाग्री पानी खन्याएँ
त्यसबाट भएन
के गरौं मित्र,
आफ्नो बुताले भ्याएन ।
जाहान पाल्नै प¥यो,
छाक टार्नै प¥यो
मान्छे भए पछि बेभार गर्नै प¥यो
बेभार गर्न गारो रैछ
त्यो गर्न ता के प¥यो के प¥यो
सारै गारो प¥यो ।
स्वास्नीको कर कर
ब्याङ्क ब्यालेन्स चाहियो अरे
छोराको हैरानी
मोटर साइकल चाहियो अरे
आफूलाई पनि त
पाँच तारे होटल खोल्न खाँचो परेको छ नि
मेरो बेथा कसले बुझिदेओस्
मेरो इज्जत कसले थामिदेओस् ।
अझ आउने वाला मित्रको सत्कार गर्नु छ
सत्कार गर्नु हामी दुबैको कर्तव्य हो
अतः मित्र !
इज्जतका लागि
यो बाटो सफा गर्ने एक झारी दिनुहोस्
तिन घन्टालाई भए पनि
बागो मगमगाउने पारिदिनुहोस्
मगमगाउने पारिदिनुहोस् ।।
०४०।३।१८ कोटेश्वर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *