Skip to content

‘राजेश’ – ५ः दलित


विराटनगर शहर पूर्व रहेको भव्य मन्दिरको शिर उच्च छ । पूजाका लागि आउँने आउँदा छन्, जाने जाँदा छन् । आ–आफ्नो श्रद्धा प्रकट गरी पुण्य आर्जन गरेको अनुभूत गर्दा छन् । मन्दिरको छहारीमा त्यसको पूजारी भने हात मल्दै छन् ।

“पुजारीजी ! हामीलाई दलित भगवान्ले हैन, मान्छेले बनाएको हो । हामीलाई विवाह गर्न दिनुस् । सहयोग गर्नुस् । हाम्रो पवित्र सम्बन्धलाई गाढा बन्न दिनुस् । परमात्माले हजुरको कल्याण गर्छन् ।” राजेश हात जोडेको जोड्यै विन्ती बिसाउँछ ।

“म धर्मको रक्षक हुँ । दलितलाई मनपरी गर्न दिएर भक्षक हुन सक्दिनँ । तिम्रो कुरा मानेर दलितलाई यहाँ विवाह गर्न दिएँ भने मेरो कल्याणको त कुरै छाड् । नरकमा समेत स्थान पाउँदिनँ ।” पुजारी टसकोमस हुँदैनन् ।

अलिक परबाट अर्को मन्दिरले पुकारा गरेको आभास घण्टको आवाजले दिन्छ । अन्ततः तीनै जना त्यहीँ पुग्छन् र पुजारीसामु उही नमन दोहोर्याउँछन् । केही बेर पर्खन सङ्केत गर्दै पुजारी ध्यानस्त हुन्छन् । पुजारी राजेश र मालतीमा आफ्नै विगत देख्न थाल्छन् ।

एक ठिटो तल्लाघरे दर्जी दाइकी छोरी प्याउलीको हात समाएर दौडदो छ । पछिपछि बन्दुक तेर्साउँदै ठिटाका बुबा नभाग्न आदेश दिँदा छन् । केहीबेरको दौडधुप एक भयङ्कर आवाजसँगै टुङ्गिन्छ । प्याउली ‘मरेँ नि आमा !’ भन्दै ढल्छे । ठिटो काखमा मुण्टो राख्छ र हम्कन थाल्छ । पानी पियाउन खोज्छ, कतै देख्दैन । शरीर नियाल्दा कोखामा गोली लागेको ठम्याउँछ । बाबुतिर हेर्छ । ऊ घरतिर फर्किसकेको हुन्छ । पर पुगुञ्जेल थुक्छ । प्याउलीले उसकै काखमा प्राण छाडिसकेको थाहा पाउँछ । र, आफ्नै कपाल उखलेर बाबुतिरै फ्याकेर ठिटो अज्ञातस्थलमा विलिन हुन्छ ।

आँखा खोल्दा पुजारी पसिनाले निथु्रक्कै हुन्छन् । पसिना पुच्छन् । उनी राजेश र मालतीको हात समाएर मिलाई दिन्छन् । र, मन्दिरको मूर्तिनेर दुवैलाई लगेर वैवाहिक विधि पूरा गर्दिन्छन् ।

–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *