खै कुन शब्दले सम्बोधन गरूँ तिमीलाई ? सम्बोधन गर्ने शब्दहरू त मबाट गलहत्याइसकेका छौ तिमीले । तैपनि सम्बोधनबिनाका प्रेमका शब्दहरू तिमीसमक्ष पुर्याउने कोसिस गरिरहेछु ।
जिन्दगीमा यो दिन पनि आउला भनेर सोच्न त के कल्पनासम्म गरेकी थिएन । समय यसरी मेरै अगाडि कोल्टो फेरेर तेर्सिन्छ भनेर । तर तेर्सियोस्, मेरै अगाडि केही छैन । सके लडेरै भए नि हिडौंला, नसके शहीद बनौला । दुःख के हो,आँशु के हो, पीडा के हो, संघर्ष के हो सबको अनुभव छ मलाई । त्यसैले त अहिले जिउन सजिलो भएको छ ।
तिमीले भन्थ्यौ नि – जिन्दगी संघर्ष हो खुसीका सााथ संघर्ष गर्नुपर्छ । कति रमाइला थिए है ती दिनहरू ! सम्बन्ध कति सुमधुर थिए लालीगुराँस जस्तै फुल्थे पत्रपत्रमा पोखिन्थे । भन्थ्यौ नि – आफू रोएर भए पनि तिम्रो आँखामा आँशु आउन दिन्न भनेर । तिम्रो मुस्कानले मेरो थकाइ मेटिन्छ ।
अँझ भन्थ्यौ – सूर्य तिमितिरै उदाउने छ । तर त्यो सब त तिम्रा बाहना मात्र रेहेछन् । के गर्नु, अहिले आफैले सूर्य नभएको रित्तो आकाशतिर हेरेर ताराहरूसँग मात्र चित्त बुझाइरहेछु ।
जिन्दगीका खुसी सपना रहरहरू भनेका त पाहुना मात्र रहेछन् जुन एकछिन मनको सोफामा आएर बस्छन् फेरि उसैगरी फर्कन्छन् । तिमी पनि कुनै दिन मेरो जिन्दगीमा एउटा प्रेमी लोग्ने भएर पनि जिन्दगीमा पाहुना बेनर आएका रहेछौ र उसै गरी फर्कियौ ।
तिमी मबाट फर्किएर गए पनि तिमी प्रति कुनै गुनो छैन, कुनै दुखेसो छैन, न त निरास नै छ । अँझ भनौ कुनै प्रश्न नै छैन । छ त केवल नदीजस्तै बगिरहने माया नै माया ।
तिमी फूल बन्नु, जुन बन्नु, मुस्कुराउनु । म त हरबखत आँशु तिम्रौ नाममा बगाइरहेछु । तर यो नसम्झनु यो आँशु कायरताको हैन मात्र तिमै सम्झनाको । तिमीले त मलाई सजिलै भुल्न सक्यौ तर म त जिन्दगी हरप्रहर तिम्रै नाममा बिताइरहेछु । तिमी जस्तो स्वार्थी क्रुरताको मन बोकेर बाँच्नै सकिन । तिमीले मबाट यो मेरो लोग्ने हो भन्ने अधिकार खोसेर लगे पनि मभित्रको चोखो पवित्र माया खोस्न सक्दैनौ म ढुक्क छु ।
मसँग तिमीले दिएका बाहनाका प्रमाणपत्रहरू धेरै छन् । देखाऊँ त कसैले पत्याउदैन समाज जहिले पनि तिम्रै पक्षमा बोल्छ । हिजो पनि तिम्रै पक्षमा थियो आज पनि छ । तर त्यो निरङकुशताको पक्ष तिमीलाई स्वीकार्य छ,मलाई छैन । म त्यो कायरताको पक्षमा लड्ने पनि छैन । तर यो शिरको सिन्दुर र यी दुई सन्तान बाहनाका होइनन् नि ?
तिमी परदेश हुँदा मैले भोगेका दुःख र यी दुई सन्तान हुर्काएका काहानीहरू मलाई मात्र थाहा छ । यो समाज र तिम्रो घरपरिवारले त देखे पनि नदेखेझै गरेर हिंड्छन् । मलाई थाहा छ तिमीले घरपरिवार र यो समाजका कुरा सुनेर मलाई त्यो घरबाट कुकुर झै गल्हत्याएका हौ । तिमी मान्छे भएर पनि मान्छेलाई मान्छेको व्यवहार गर्न जानेनौ । तर पनि गुनासो छैन । मलाई संघर्ष गरेर हिंड्न यही समाजले सिकाएको छ ।
तिमीले भनेको सीता भएर बाँच्न सकिन । अग्नि परीक्षामा होमिन पनि मनले दिएन । तर तिम्रो पत्नी भएर बाँचेकै थिएँ आफ्नो अस्तित्वका साथ । बीचमा सपार्नभन्दा बिगार्न चाहने यही समाजको पछि लागेर अविश्वासको तार लगायौ । केही छैन अब त अंगार ओकेलेर आगो पचाउन सक्ने भइसकेकी छु ।
तिम्रो अविश्वासको पर्खालले कत्ति पनि छेक्न सक्ने छैन मलाई । काखमा दुई सन्तानको उपहार दिएकै छौ, यसैमा खुसी छु । तिमीले उनीहरुलाई बा भन्ने अधिकार खोसे पनि मैले कमि हुन दिने छैन । यिनीहरुलाई हुर्काउन बढाउन तिम्रो कुनै सम्पति पनि खोस्न चाहन्न । सम्पतीको नाममा तिमी थियौ । तिमी नै नभएपछि त्यो सम्पतीको के काम भयो र दुई हात खुट्टाका नङग्रा खियाएर पाल्न सक्ने क्षमता छ मसँग ।
अन्त्यमा विगतका सबै काहानीहरू यो पत्रमा पोख्न सकिन । किनकि तिमीलाई पनि थाहा छ त्यसैले पोख्ने कुनै औचित्य ठानिन । सुनेकी थिएँ, अस्ति भर्खर नानीले बाटोमा बा भनेर बोलाउदा फर्किएर पनि हेरेनौ रे । मसँग टाढा भए पनि तिम्रो हात समातेर हिड्न चाहने ती सन्तानसँग बोल्न पनिसकेनौ ? तिम्रो महानता यसरी नै चुलिँदै जाओस । अँझ अर्को कुरा पनि सुनेको, अब त बिहे पनि गरिसक्यौ रे । नयाँ जिन्दगीको सुरुवात गरेछौ, धेरै-धेरै शुभकामना । मलाई जस्तो व्यवहार गर्यौ उसलाई नगर्नु सधै, सधैं खुसी र सुखिरहनु ।
उही सम्बोधन बिनाको पत्र…….।
दीपा धिताल
