Skip to content

म जन्मिदिन मनाउँदिन


तिमी जन्मिएको दिन जस्तै
म जन्मिएको दिन आकाशमा उदाएका थिएनन् ताराहरू
उडेका थिएनन् चराहरू
लागेको थिएन घाम
मुस्कुराएको थिएन धर्ती
म त
आकाश रोएको बेला
आँधीबेहरीसँग लड्दै जन्मिएको मान्छे
मलाई नजन्माउने निर्णयमा
तीन घन्टा हिडेर ल्याएको
घाँसको भारी घरमा छोडेर
मेरी आमा
छ घण्टाको बाटो हिंडेर मलाई
एबोर्सन गर्नको लागि
अस्पतालसम्म पुगेकी थिइन
आमाकै रगतमा लतपतिएको हुनाले
आमाको निरन्तर चल्ने ढुकढुकीबाट त्यो कुरा थाहा पाएँ कि
र पछि स्वयंम मेरी आमाले नै भने कि
डाक्टरले एवोर्सन नगर्ने सल्लाह दिएपछि
घर फर्किएकी मेरी आमा
फेरि छ घण्टाको बाटोभरि
कसरी केरिए होलान खुसीका रेखाहरू
कति खिल परे होलान पैतलाहरू
त्यतिवेला म भने अलीकति खुसीले गदगद भएँ
अलीकति आमाको पीडाले कोपरिरह्यो
र पनि मैले
मेरी आमाको शरिरभित्र बग्ने रगत सुन्दर देखे
र म गर्भमै जन्मिए एकपटक
अनि जोगाइ राखे बचाइराखेँ
मेरो सपनाको आद्यभूमि
जब म खुसीले यो संसारमा पाइले टेके
त्यो दिन
मेरा बा आमाले मेरो जन्मदिन मनाए वा मनाएनन्
आमाको गर्भमा छदा जति थाहा हुन्थ्यो
बाहिर आएपछि मलाई थाहा भएन
आमाको हड्डी र रगत निचोरेर जन्मिएकी म
एक पटक हैन धेरै पटक जन्मिएकी छु
म यी चौबाटोहरुमा
त्यसैले मेरो मृत्युको दिन शिर नझुकाएर
एक थोपा आँशु नखसाएर
मेरो जन्मदिन मनाउन भन्छु मेरा आफन्तहरुलाई
किनकि मलाई यो संसार देखाएकी मेरी आमा
म जन्मिएको दिन
स्वयं जनिमएकी थिइन
अर्को पटक
त्यसैले
म मेरो जन्मदिन कहिल्यै मनाउँदिन ।

दिपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *