धर्म संस्कार, चलन वा, प्रचलन के हो ?


जोनाथन स्वीटको भनाई यहा उल्लेख गर्न सान्दर्भिक छ – “परस्पर घृणा गर्ने धर्म हाम्रा कयौ छन् तर परस्पर प्रेम गर्ने धर्म थोरै छन् ।”

आफ्नो धर्म मात्र ठूलो, भलो र राम्रो अनि पुरानो हो भन्ने धर्म भीरुहरू प्रशस्त छन् । हामीले मान्दै आएको धर्म सबैले मान्नु पर्छ र गर्नु पर्छ भन्ने एक प्रकारको लडाइँ धेरै पहिलादेखी चलि आएको हो र छ पनि । तर अरुको धर्मको पनि सम्मान गर्नु पर्छ उस्को पनि अधिकार हो, वास्तविकता के हो ? धर्म के हो ? संस्कार के हो समाज के हो भनेर बुझ्ने सबैलाई समेट्न खोज्नेहरू कम छन्, छदै छैनन् हैन, छन् कम छन् ।

कतिले त बुझेका छन् सबैलाई प्रेम गर, सबैलाई सहयोग गर, असहायलाई सहयोग नै धर्म हो पनि भनिन्छ । कति धर्मकै नाममा शोषण पनि गर्छन, गलत काम पनि गर्छन, दंगा वा भेदभाव पनि गर्दछन् जुन कदापि राम्रो मानिदैन । जैले पनि गलत वा खराव तत्वको समाजमा पाला भारी हुन्छ, र हावी हुन्छ त्यसकारण स्वाभिमानीहरू बोल्न रुचाउदैनन । सत्य र वास्तविकतासँग मात्र उनीहरुको सहमतिरहन्छ । डर, भए एवं त्रासले गर्दा अल्पमतका कुतत्वबात दविएर बसेको हुन्छ र त्यही तत्वले समाजमा हालीमुहाली चलाएको हुन सक्छ ।

नेपाल सप्ताहिक कार्तिक २८, २०६७ को पृ. ३०मा भनिएको छ, “इन्द्र जात्रामा मानिएकी जीवित देवी कुमारीको दर्शन गर्न वसन्त दर्वारमा पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यू जानु भयो, त्यस दिन दर्शन गर्न, राजा वसन्तपुर पुग्ने चलन थियो । धर्म निरपेक्ष राष्ट्र घोषणा पछि राष्ट्रपति कतिपय धार्मिक कार्यक्रममा राष्ट्रप्रमुखको हैसियतले सहभागी भैरहनु भएको छ । यी दृष्टान्तहरुले हिजो राजाले जे जे भूमिका निर्वाहा गरेका थिए आज राष्ट्रपतिले त्यही त्यही भूमिका विर्वाहा गर्नखोज्नु हुँदै छ । तर आज मुलूक लोकतान्त्रिक, धर्म निरपेक्ष संघात्मक गणतन्त्र छ र राष्टाध्यक्ष छन् राष्ट्रपति । यी दूई भिन्न प्रकारको राष्ट्र प्रमुख र राष्ट्राध्यक्ष, राजा वा राष्ट्रपति जो भए पनि भूमिका एउटै हुन नपर्ने हो । किन भने, राष्ट्रपति उपलव्धीमा आधारित संस्था हो, त्यहाँ जो पनि पुग्न सक्दछ । राजा भने वंशमा आधारित शंस्था थियो जसमा जो कोही जान सक्दैन निश्चित वंशकै हुनु पर्छ । यहाँ विवाद आउन सक्ने स्थान छ किनभने धर्म निरपेक्षताको सामान्य मान्यता हो राज्यले धार्मिक क्षेत्रमा अतिक्रमण गर्नु हुन्न । अहिले तराईका जो हिन्दूवादी संस्कृतिमा हुर्केका हुन, राष्ट्रपति छन् भोलि कोही बौधमार्गी, मुस्लिम वा क्रिस्चियन धर्मालम्बी राष्ट्रपति हुन सक्दछ । नेपालको राष्ट्र प्रमुख क्रिस्चियन धर्मालम्बी हुँदा ऊ कृष्ण मन्दिरमा जाने कि नजाने ? उसले मछिन्द्रनाथको भोटो हेर्ने कि नहेर्ने ? के होला कसरी समाधान होला अनि त्यसमा समाधान आउला कि नआउला ? पूर्व राष्ट्रपतिले आफ्नो धार्मिक पक्षधरलाई कसरी व्याख्या वा प्रस्तुत गर्ने ?”

हामीलाई थाहा भएकै कुराहो तत्कालीन उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सपथ लिएको निहुमा ठूलै विवाद भएको थियो । नेपाली भएर नेपाली भाषामै सपथ लिदिएको भए पनि के खेर जान्थ्यो र ?

धर्मको व्याख्या गरेर साध्य छैन । आ आफ्नो समूदाय सोही समूदायले मान्ने धर्म ठूलो महान र पुरानो हो भनी व्याख्या गर्दछन् । हिन्दू धर्म भित्रकै वैषणव धर्मावलम्बीहरु, लक्ष्मीनारायण ईष्ट देवता मान्दछन् र यही ठूलो हो भन्ने विस्वास रहेको छ भने राजयोगका समूदाय हैन शिबबाबाका हामी सन्तान हौ शिवभन्दा ठूला देवता अरु छैन भन्दछन् त्यस्तै कृष्ण प्रणामीका समूदाय भन्छन् श्रीकृष्ण आजका युगमा सवभन्दा ठूला र सत्य भगवान हुन् राधे राधे भन्दछन् । अर्थात राधाकृष्ण ईष्ट ठूला देवता हुन् भन्दछन् ।

मुस्लिम समूदाय भन्छन् अल्लाह जो निराकार छ आकार छैन, ठूला हुन जसले मानवलाई शक्ति दिन्छ अँझ के पनि भन्दछन भने सबै मानव जन्मदा मुस्लिम भएर जन्मन्छन रे, र संभार गरेको छ अल्लाले । त्यस्तै इशाई जिजस क्राईष्ट सवभन्दा ठूला गड (देवता) हो उनले नै साराजगतलाई पालन पोषण गरेका छन् भन्दछन् । धर्म परिवर्तन पनि भएका छन् ।
हिन्दू धर्मावलम्बी नेपालीको केही जमात कृस्चियन बनेका छन् खास गरी ग्रामीण भेगका, निरक्षर वा अल्पशिक्षित समूदायका मानिसहरू बढी लागेका पाइन्छ भने, कि आर्थिैक र शिक्षा सहयोग जस्ता प्रलोभनमा यस्ता काम भएका हुन् । यद्धपि काकूनले धर्म परिवर्तन गर्न बर्जित गरेको छ ।

मुस्लिम समूदायकालागि शुक्रबार साप्ताहिक धार्मिक बार हो र यस दिन सार्वजनिक बिदा दिईएको पाइन्छ भने क्रिश्चियन समूदायकालागि आईतबार हो। यस दिन यो समूदायको बाहुल्यता भएका देशमा सार्वजनिक बिदा दिइन्छ ।

हिन्दू धर्मालम्बीहरुकालागि आइतबार सूर्यको, सोमबार र बिहीबार शिवको, मंगलबार गणेशको, शुक्रबार सन्तोषीमाताको र शनिबार शनिदेवताको (पिपलको पूजा गर्दछन्) वर्ष दिनमा आउने महान चाडकोरुपमा प्रत्येक जनवरी २४का दिन क्रिश्मस समूदायकालागि क्रिशमस डे, हरेक वर्ष चन्द्रमाका् अवस्था हेरी नेपालीहरुका महिलाको महान चाड तिजको एक दिन अगाडितिरदेखि शुरु हुने एक महिने इद मुस्लिमसमूदायकोलागि ठूलो चाड हो, अर्को बक्रइद हो त्यस्तै हिन्दूकालागि दशै, तिहार, रामनवमी छठ आदि हो । बुद्ध धर्मावलम्बीहरुकालागि लोसार ठूला र मुख्य चाड हो ।

यी धर्महरू भित्रै पनि एक रुपता छैन देश, देश वीच फरक, देश भित्र पनि क्षेत्रगत फरक फरक छ । हाम्रै हिन्दू धर्म भित्र पर्ने तागाधारीहरुको संस्कारको महत्वपूर्ण संस्कारभित्र पर्ने श्राद्ध हो यो संस्कार पनि पूर्वदेखि सुदूर पश्चिमसम्म पुरेतै विच्छे फरक पाइन्छ । पूर्व मेचीदेखि पश्चिम मेचीसम्मको पुरेत आफू सेवामा रहदा भेटियो एकरुपता पाइएन, सुर्खेत उत्तरगंगा नजिकका एक पुरेतले श्राद्धमा पित्रृ आह्वान गरेको भन्दै शंख फुकेकोदेखि लिएर कैलाली घोडाघोडी तालका खगेन्द्र बजगाईले अर्घौतोले कर्ताका निधारमा राखेर जलधारा दिन लगाउनु भएको नौलो चलन देखियो । ब्रहमणहरुलाई कुनै संस्कार वा पद्धतिमा विवाद आए निर्णय सिन्धु हेर्न भन्ने गरिन्छ । तर श्राद्धमा किन निर्णय सिन्धुले बोलेन त ? कटीमा राखिएको फूल र कुशका टुक्रा पिण्डलाई काट्न पर्छ भन्ने कैलालीकै अर्का पुरेतको भनाई छ ।

दशैको मान्यजनहरुबाट लगाइने टीका पोखरा क्षेत्रमा एक दिन मात्र लगाइन्छ तर अन्य स्थानहरुमा कही चार दिन त कही पूर्णिमासम्म पनि लगाउने प्रचलन रहेको छ । निर्णय सिन्धु बोल्दैन वा मानिसले मान्दैनन । यो संस्कार हो चलन हो, प्रचलन हो किन बोल्नु पर्‍यो ? एकातिर आर्थिक भारबाट बचिने, अर्को तर्फ एक स्थानदेखि अर्को स्थानसम्म टीका लगाउन नपाउने भए पछि जोखिम पनि कम हुने फाइदा नै छ हैन त ? चाड त अर्को साल पनि आईहाल्छ भन्ने भनाइ पनि केही हदसम्म सत्य मान्नु पर्ने हुन्छ ।

यी धार्मिक कुरा र प्रचलन बारे जति कुरा गरे पनि सकिदैन बरु संचारमाध्यमहरुले केही हदसम्म एक रुपता ल्याउन खोजेको छ । यहाँ कुरा उठाउन खोजेको त सत्यताको हो, यी कार्यहरुमा पुण्य वा पाप के प्राप्त हुन्छ ? सत्यता के छरु बाजेले जे गरे बाबुले पनि त्यही र बाबुले जे गरे छोरा नातिले पनि परम्परा धान्न त्यही गर्नु पर्ने हो कि सत्यता पनि खोज्नु पर्ने हो ?

यस्ता विविधतामाझ जन्मेका, खेलेका, पढेका हुर्केका र सिकेका हामी नेपाली मध्यका कति जना होलान यो सत्यताको खोजीमा कुरा उठाउने र सोच्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *