
“तिमीलाई एड्भेन्चर्स एक्स्पेरियंस गर्न कत्तिको मन पर्छ? ”
“साहसिक अनुभव” मैले मनमनै उल्था गरेँ ।
“अँ ,मन त पर्छ तर एक्स्पेरियंस चाहि कमै गरेको छु ।”
म तिम्रो देशमा जन्मिएको भए, आहा, कति हिमाल चढ़थेँ, ट्रेकिंग वा राफ्टिंग गर्थें होला, मलाई हरिया डांडापाखा पैदल यात्रा गर्न खूब रमाइलो लाग्छ, उ रोमांचक भयो ।
रुबेन लिवोभिच, सान फ्रांसिस्कोमा कम्प्यूटरको विद्यार्थी । अघिल्लो हप्ता मात्र यहाँ आइपुगेको, उ यसरी मसँग पुरानो साथी जस्तै गरि नज़िकिंदा उसका हजुरबा नाथन मातालोन छक्क परे । रुबेन र रोनी हरेक बर्ष इजरायल आउछन, यसपाला चाहीं रोनी (रुबेन को भाई) बार्षिक बिदाको छुट्टी मनाउन अस्ट्रेलिया गएको ले उ एक्लै आएको हो । यो छुट्टीमा नेतान्यामा हर्स राइडिंग गर्ने, याफोमा बोटिंग गर्ने र मृत सागरको किनार (बालुवा)मा पैदल यात्रा गर्ने उसको आफ्नै खाले योजना छ ।
इजरायलमै हुर्किएको हो रुबेन लगभग, उ दश बर्ष हुदा मात्र उनीहरु अमेरिका बसाई गएका थिए। इजरायल संग उसको बाल्यकालको सम्झना मात्र गाँसिएको छैन, उ भन्छ
“यो पवित्र भूमिमा म मेरो जाती धर्म र यहूदी आत्मासंग भावनात्मक रुपमा बढ़ी जोडिएको छु ।”
त्यसो त मेरै उमेरको यो तन्नेरी उस्तो धार्मिक पनि होइन । यद्यपि उ भन्छ
संसारका हरेक यहूदीहरुको मन इजरायलसंग गाँसिएको हुन्छ,
म त्यस बाट अछुतो रहन सक्दिन ।
अलिकति असमयमा आएछु जस्तो लागेको छैन?
“किन” उसले जवाफ फर्कायो ।
“अहिले युद्ध छ नि त,” मैले भने ।

.हा.., यहाँ सधैँ यस्तै हो ।
युद्ध र आक्रमण इजरायलको पर्याय बनिसक्यो र यसको भविष्य यसैमा छ ।
इजरायलको पराक्रमण र शक्ति प्रदर्शनको निरन्तरता उसको अस्तित्व रक्षा को आधार हो ।
जून दिन यो मौन रहन्छ यसको अस्तित्व पनि संकटमा पर्छ,
रुबेनको बिचारसँग म शतप्रतिशत सहमत रहिन, किनकी यो कूटनीतिक हिसाबले सही छैन । यसपालीको आक्रमणमा सर्वसाधारण र बालबालिका जुन रुपमा प्रभावित भए त्यसले इजरायलको छवि माथि दूरगामी नकारात्मक असर पर्नेछ ।
आम नागरिकको तुलनामा हमास मिलिसिया वा तिनका नेताहरु कम मारिएका छन यसले इजरायलीहरुलाई पनि चिन्तित बनाएको छ ।
यस्तै हो भने,
मैले जिस्किएको शैलीमा शंका व्यक्त गरेँ,
एकदिन चारैतिरबाट जिहाद छेड़छन र तिमिहरुलाई फेरी धपाउछन । मुस्लिम दाजूभाइमाथि अन्याय भयो भनेर एक हुदै गएका विश्वभरका मुस्लिम राष्ट्र र समुदायको आँखाको तारो बनिरहेका छौ नि त तिमीहरु ।
उ भन्छ,
त्यो त हामी पहिले देखि नै थियौं, युद्ध नहुँदा पनि इस्लामिकहरु संग हाम्रो सम्बन्ध भनेको कदापि मित्रवत हुन सक्दैन यदि उनीहरूले सक्ने भए धपाइसक्थे । उनीहरु त्यही त चाहन्छन, तर यो असंभव छ ।
छेउमा यार्कोन नदी छ। झिस्मिसे देखि साँझ सम्म पानीको छाल र वेग सँग जिस्किएर सर्फिंग गर्नेहरुबाट यार्कोनले शायदै फुर्सद पाउँछ । यो रोमांचक पार्क फन्को मार्दै गर्दा मैले आधुनिक मनोरन्जनको शैलीमा आएको परिवर्तनको विश्लेषण गर्ने अधुरो चेष्टा गरेँ । आजभोली खेलकूद वा रिक्रियशन साहसिक र जोखिमपूर्ण बन्दै गएका छन ।
पार्श्वमा भुइन नै थर्किए जस्तो आभास हुने गरि इमिनेमको अंग्रेजी गीत बजिरहेको छ, यही संगीतको तालमा एकातर्फ़ स्केटिंग खेल्नेहरूको संसार छ । मैले देखें साना केटाकेटीहरु समेत स्केटिंगमा गुडदै विशेष प्रकारले बनाइएको डीलबाट आकाश तिर उडे जस्तै गरि हुईँकिन्थे र रोलिंग गर्दै भुईँमा संतुलन मिलाएर फेरी गुडन आइपुग्थे ।
पार्कभरि बिभिन्न प्रकारका खेलकूदको व्यवस्था गरिएको थियो । नखेल्नेहरु या त व्यायामशालामा वा दौडी रहेका भेटिन्थे । कुनै खेलमा आफु सहभागी हुनु भन्दा पनि यी रोमांचक दृश्य हेर्नु मै रमाई रहेको बेला अकस्मात ३ वटा ट्यांकर आकारका साना गाड़ीहरु मेरै समीप बाट हुत्तिए । साँच्चै जस्ता लाग्ने ती गाड़ीका चालक हरु भने ८/१० बर्षका कलिला केटाकेटीहरु । टेलिभिजनमा सधैँजस्तो गाजा तर्फ हानिएका इजरायली सैनिक ट्यान्कको दृश्य हेर्न अभ्यस्त यिनीहरु मानौं यसो भन्दै छन –
“हामी पनि भोली प्यालिस्तिनि संग युद्ध खेल्नु पर्छ, त्यसैले यो सिकेको ।”
आज मैले कुनै न कुनै खेल खेल्नै पर्ने थियो रुबेन सँग । त्यतिकै फ़र्क्यौ भने यार्कोन आएको बेकार हुन्छ । अँ, सम्झिदै उसले भन्यो
तिम्रो देशमा त धेरै पहाड़ हरु छन नि होइन?
पहाड़ मात्र होइन सर्वोच्च शिखर एभरेष्ट पनि मेरै देशमा छ, भनेर बुझाउन अलि समय लाग्यो मलाई ।
“ल त्यसो भए रक् क्लाइम्बिंग गरौं, यो चाही तिमीलाई सजिलो लाग्नेछ”,
उ उत्साहित भयो सानै छँदा बारीको कान्लाहरु उक्लेको वा भीर पहरामा हुर्की खेलेको अनुभवको बलले मैले भनेँ,
“ओ के ल यसमा चाहि, म तिमीलाई पछि पार्छु रुबेन!
मलाई त यो पर्खाल चढ़न सुरक्षा डोरी नै चाहिदैन होला ।”
तर त्यसो भएन, बाँदर जस्तै रक क्लाइम्बिंगमा पनि उ निकै सिपालु रहेछ । यसको लागि अलि अभ्यास नपुगेर मात्र हो, मैले आफुलाई सांत्वना दिदै भने
“तिमी त साच्चीकै एड्भेन्चर्स रहेछौ रुबेन ।”
उ मुस्कायो
“शायद हाम्रो प्रकृति नै यस्तै होला ।”
“तर तिमी त इजरायली हैनौ नि” उ अमेरिकी नागरिक थियो ।
हैन मैले “जेविस स्पिरिट” को कुरा गरेको, उसले प्रस्ट्यायो । जेवीस स्पिरिट अर्थात यहूदी आत्मा, यहुदीपन -उसको बिचारमा साहसिक हुन्छ ।
आकाशमा कालो धुँवा बढ्दै गएपछि मलाई जन आन्दोलनको काठमांडूको सम्झना आउँछ, प्रदर्शनकारीहरुको इँटा र ढुंगामूढाको थुप्रो अगाडी प्रहरी आफैं रमिते बनेर टोलाई रहेको बेला एउटा पर्यटक “रोयल इनफिल्ड”मा चढेर जबरजस्ती हुल र तिनको छेकबार छिचोलेर आउँछ र उल्टो यो के हो भन्दै थर्काउदै गरेको दृश्य म अझै पनि बिर्सन सक्दिन । पछि बुझ्दा, उ इजरायली थियो । इजरायलीहरु संसार मै जबरजस्त, सन्की, हेपाहा र जिताहा स्वभावका हुन्छन् । कति हदसम्म भने नेपालका कतिपय होटल तथा रेस्टूराँहरुमा त यिनीहरुलाई निषेधित जस्तै गरिएको छ ।
इजरायल कालो अरिंगालको देश हो, मध्यपूर्वको यो रणभूमिमा आउनु अघि बुबाले भन्नु भएको कुरा अहिले मलाई सही लाग्छ । सधै रेडियो टेलिभिजनको अंतर्राष्ट्रीय समाचारमा प्यालेस्टाइन र इजरायलको झगडा सुनेर उहाँले शायद यस्तो धारणा बनाएको हुनु पर्छ । यसबेला म यिनिहरुलाई नजिकबाट अनुभव गरिरहेछु ।
मानव अधिकारवादी, शान्तिकर्मीहरुको छेकबार र अंतर्राष्ट्रीय बिरोधलाइ नाघेर यिनिहरू गाजामा निरन्तर आक्रमण गरिरहेछन । टेलिभिजनबाट प्रसारित भिडियो दृश्य हेर्दैछु, इजरायली युद्दक विमानका ककपिटमा जडित क्यामेराबाट कैद गरिएका ती दृश्यहरु हेर्दा मलाई कम्प्यूटरमा खेलिने भिडियो गेम जस्तै लाग्यो , जहाँ आकाशबाट जमिन्तिरको लक्ष्य (टारगेट )मा जूम गर्दै लेन्सको केन्द्र बिन्दु x पारेर रकेट प्रहार गर्थे यिनिहरू । यिनिहरूको लक्ष्य प्राय एकदम स्पष्ट र निर्दिष्ट हुन्थ्यो । तत्क्षण विष्फोटको दृश्य, चर्को आवाज र धुवां उडेको देखिन्थ्यो र टारगेट ध्वस्त बनाउदै विमान चक्कर लगाउथ्यो । एउटा मिशन सकिन्थ्यो, फेरी अर्को शुरू हुन्थ्यो ।
युद्धले शिथिल गाज़ाको समाचार पढ़छु, संरचनाहरु तहसनहस भएका छन । सैयौं निहत्था नागरिक मारिएका छन । इजरायली युद्ध कौशलतालाइ भिडियो गेम सँग तुलना गर्ने मेरो कल्पना क्षणभरमै भंग हुन्छ । अ हो! वारूदका धुँवाहरु मात्र उडेका छैनन, घरबार उजाडिएका छन, रगत बगेको छ र अमूल्य जीवनहरु बर्बाद भएका छन । रक्तपात, धनजनको क्षति र मानवीय संकट कहाँ भिडियो गेम जस्तो हुन्छ? जसको कुनै अर्को लेवल छैन, अर्को विकल्प छैन । प्यालेस्तिनीको भागमा परेको यो नियतिलाइ बदर गर्ने उपाय खोज्न किन सकिरहेको छैन विश्व?
गाजा क्षेत्रको आकाश अँध्यारो जस्तो छ धुंवाले । बारुलोको गोलोमा जिस्क्याए जस्तै प्यालिस्तिनीहरु इजरायलतिर रकेट प्रहार गर्न छोडेका छैनन । लेबनानबाट पनि रकेट आउन थालेपछि र स्थिति अलि गंभीर बन्दै गएपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले आकस्मिक बैठक बसि, प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी सीमा इलाकामा काम गर्ने नेपालीहरुको स्थिति बुझ्ने कोशिश गरयो, यो अवस्थामा हामीले के गर्न सक्थ्यौं?
गाजासँग जोडिएको इजरायली सिमानामा हावा भरिएका ठूला ठूला बेलून आकारका राडारहरु थिए, जसले इजरायली आकाशतिर रकेट छेडिन साथ साइरन बज्न शुरू हुन्थ्यो । जसको निश्चित समय अबधिभित्र सुरक्षित स्थान र अवस्थामा रहन सर्वसाधारणलाइ सुचना जारी गरिएको थियो । कुन कुन स्थानमा साइरन बजेको कति समय पश्चात् रकेट खस्छ, भनेर हेक्का राख्नु जरुरी थियो । सचेतनामूलक सतर्कताको जानकारी सकेसम्म नेपालीहरुमाझ पुरयाउने र सहानुभूति दिने बाहेक गर्न सकिने केही थिएन ।
नेपाली दूतावासले पनि गाजा क्षेत्रको सीमावर्ती इलाकामा काम गर्ने नेपालीहरुलाई सतर्कताका सुचना र जानकारी गराउनुका साथै आपातकालीन अवस्थामा नेपालीहरुलाई हिंसा प्रभावित स्थानहरुबाट सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आएमा उद्धार र सहायताको प्रतिबद्धता व्यक्त गरेको थियो ।
यस्ता रकेटहरु अहिले स्देरोत अस्दोद हुँदै किरयातगात सम्म आइपुगेका थिए, इजरायलले हमास माथि गरेको कारवाही पश्चात यो क्रम कम हुनुको सट्टा झन बढेको र द्वंदको अवस्था चर्किएको थियो ।
रुबेन यतिखेर इलातमा घुम्दैछ । नेपाली नारी आवाज़द्वारा आयोजित नयाँ बर्ष सांस्कृतिक तथा सम्मान साँझको झलक उसले इन्टरनेटबाट हेरेछ । मलाई एउटा प्रस्ताव सहित मेल पठाएको छ – अर्को हप्ता म तेल अभिभ फ़र्कन्छु, हामी गाजामा भड़किएको द्वन्दको बारेमा एउटा लघु वृत्तचित्र निर्माण गरौं । उसको यो आइडिया पनि एड्भेन्चर्स नै थियो तर यो सजिलो भने थिएन ।
संयोग नै मान्नु पर्छ – तेल अभिभ अँाउदै गर्दा मेरो भेट एरिक संग भयो । एरिक तविव । रुबेन र मेरै उमेरको यो ठिटो चाहिँ उस्तो एड्भेन्चर्स छैन । उसलाई भेट्नासाथ मलाई आस्दोद (अहिलेको रकेट प्रभावित क्षेत्र)मा रहँदाको विगत याद आउछ । उसकै हजुरबा “रहमतुल्ला तविव पोर”का लागि मलाई नेपालदेखि झिकाइएको थियो, अर्थात -मेरो शुरुको जागीर ।
रहमतुल्ला -उनी पारसी ज्यादा बोल्थे अंग्रेजी कम । मुस्लिम नाम जस्तै लागेर शुरुमा त म झस्केको थिएँ । उनी इरानबाट आएका रहेछन । उनिसंग होलोकास्टमा सबै आफन्त गुमाएको तितो कथा थियो । होलोकास्ट अर्थात “अग्निकांड” संसारभरिका यहूदीहरुको विनाश गर्न जर्मनीका हिटलर र उसको पार्टी नाजीद्वारा रचिएको थियो ।
जसमा युरोपतिर छरिएर विस्थापित भएका ६० लाख यहूदीहरु जिउँदै जलाइएका थिए । त्यसबेला उनीहरुसँग आफ्नो देश थिएन घर थिएन । त्यही बेला देखि पुर्खाको पहिचान खोज्दै, इतिहास खोतल्दै उनीहरूले आधुनिक यहुदी राज्य इस्राइल फर्काएका हुन। जहाँबाट यिनीहरू पटक-पटक लेखेटिएका, धपाइएका वा विस्थापित भएर लाखापाखा लागेका थिए । तिनीहरुका पुर्खा राजा डेविडले आजभन्दा २००० बर्ष अघि नै यो पवित्र भूमी इजरायलमा राज्य गरेको कुरा हिब्रू बाइबलमा उल्लेख गरिएको छ ।
यूरोप, अमेरिका वा प्यासिफिक क्षेत्रका यहूदीहरु एकएक सबै एक एक गरेर यहाँ आए आफ्नै देश बनाउने अभियान का रुपमा । युरोपमा उनिहरुमाथि भएको अन्यायले उनीहरु के कुरा दृढ़ भए भने, “अब चाहिँ हामी कदापि भाग्ने छैनौँ “। उनीहरूले पुर्ख्यौली घर फेरि कब्जा गरे, र १९४८ मा प्यालेस्टाइनमाथि यहूदी राज्य इजरायल स्थापना भएको घोषणा गरे ।
यसरी आएका यहूदीहरुबाट यहाँका प्यालेस्तिनीहरु विस्थापित भए । युरोपमा यहूदीमाथि भएको अमानवीयताको मूल्य यहाँका प्यालेस्तिनीहरुले बिनाकरण तिर्नु पर्यो । उनिहरु बस्दै आएको घर जग्गा खोसियो । ती जोर्डान, सिरिया वा लेबनानतिर भागेर शरणार्थी बने । आज तिनै प्यालेस्तिनीहरु त्यही मूल्य खोजिरहेछ्न, हिजोको प्यालेस्ताइन खोजिरहेछन, गाजा र पश्चिम किनारको सांघुरो टुक्रा होइन , प्यालेस्ताइन त विशाल थियो । उनीहरु त्यो देश फिर्ता चाहन्छन । आख़िर यो देश कसको ? कसले कोर्यो यहाँ मानवता बिरोधी बिभाजनका धर्काहरू/ सिमानाहरु?
एरिकलाइ यो कथा थाहा छ । अहिलेको पिंढी तिनै संसारका बिभिन्न कुनाबाट फर्किएर पुनस्थापित भएका यहुदीका दोश्रो वा तेश्रो पुस्ता हुन । एरिकका पिता धर्मतिर लागेका थिए । लामो दारी, कानको दुवै छेउमा घुंघुरिएको टुपी जस्तो लामो लुन्द्रो, कालो ह्याट र घुंडा सम्म छोपिने कालो लामो कोट । पहिलो पटक देख्दा म यो कस्तो जोगी होला भनेर मनमनै हासेको थिएँ ।
२ बर्ष अघि म इजरायल आउदा एरिक अनिवार्य सैनिकमै थियो । एरिकलाई नचाहँदा नचाहँदै पनि यसरी सैनिकमा जानुपर्ने यो देशको नियमप्रति वितृष्णा थियो । विज्ञान र आविष्कारमा रूचि राख्ने उ, त्यो समय खोज र अनुसंधानमा बिताउन चाहन्थ्यो । उसलाई त्यो दुई बर्ष खेर गए जस्तै लागेको थियो । उसकी बहिनी एन्जिलाको बिहे समारोहमा भाग लिन बिदा नमिलेकोले उ एकदिन भागेर आउदा सैनिकहरु आएर बिहेको पार्टीबाटै जबरजस्ती लगेको घटना मैले धेरै दिन सम्म बिर्सिएको थिइन ।
एंजिलाले १६ बर्षमै बिहे गरेकी थिई । यो विकसित देश अनि बाल विवाह? म आश्चर्यमा परेको थिएँ । पछि थाहा पाएँ, उ अनिवार्य सैनिक मा जान चाहन्नथि, र विवाहित युवतीहरुलाइ यो नियम अनिवार्य थिएन । त्यसबाट बच्नैका लागि उसले विवाह गरेकी थिई । एरिक मैले पहिलो युवक भेटेको थिएँ, जसमा यहूदी स्पिरिट शायद अलि कम थियो । उसलाई धेरै कुराहरुमा रूचि थिएन कतिपय नियमहरु उसलाई वाहियात लाग्थे ।
गाजामा सीमा सुरक्षा कडा भएपछि बिगतमा जस्तो आत्मघाती आक्रमणका घटना चाहिँ घटेका छैनन । इजरायलको भनाइअनुसार उसको आक्रमण ती आतंककारी आक्रमणकारी बिरुद्धमात्र हो, जो दिनदिनै इजरायलमा रकेट प्रहार गर्छ । यो डिसेम्बर २७ २००८ को कारवाही पनि प्यालिस्तिनीहरुको लगातार रकेट आक्रमणबाट एक इजरायलीको मृत्यु भएपश्चात् प्रतिकारमा गरिएको हो । ‘कारवाहिको निर्णय पूर्व यहूद अल्मर्टले संचारसँग भनेको यो शव्द म बारम्बार सम्झिरहन्छु –
“हामीले कतिपटक भन्यौं रोक, रोक, रोक , उनीहरूले मानेनन” ।
गाजामा जारी द्वंदले मध्यपूर्व मात्र होइन विश्व नै बिथोलिएको छ । समाधानका उपायहरु चारैतिरबाट खोजी हुदैछ क्षणिक नै सही तत्काल युद्धबिरामको प्रयास भै रहेको छ ।
यतिखेर समाचारहरु युद्ध बिरामका बिषयमा भएका प्रयासका फेरहिस्तहरु सुनाई रहेका छन । यद्यपि यो लेखोट कोर्न बस्दा सम्म भने युद्ध बिराम भएको छैन । गाजामाथि भड़किएको हिंसाको ताजा अवस्था छ । गरुड़ झै इजरायली युद्दक बिमान हरु गाजापट्टीको आकाश माथि सल्बलाई रहेका थिए । जमिनमा ट्यान्करका लश्कर अनि हमास बिरुद्ध कारवाहीको नाउमा बेहिसाब रकेटहरु खनिएको थियो । खै कहाँ कहाँ भत्किए हमासका तालीम शिविरहरु ? हतियार भण्डार वा गतिबिधि केन्द्रहरु? भत्किए केवल मानिसले बनाएका संरचनाहरु, सभ्यताहरु अनि मानवीयताका परिभाषा हरु ! जति निरीह प्यालिस्तिनीका घर स्कूल र कार्यालयहरु भत्किए,जति महिला वालवालिका र निहत्था नागरिकहरु मारिए, तिनको संख्याले आतंकवाद माथिको कारवाहीको औचित्य वा प्रक्रिया माथि असंख्य प्रश्नचिन्ह उठाएको छ ।
सैयौं सर्वसाधारणका बाँच्ने अधिकार खोसिएका छन, कैयौं घरबार विहीन भएका छन । अनि सधैं जस्तै मानवीय मूल्यको उपहास भएको छ त्यहाँ । जसरी हरेक युद्धमा सधैं हुने गर्छ । गाजापट्टीको प्यालेस्टाइन ध्वस्त भैरहेछ यतिखेर । इजरायलको स्थापना संगै बिस्थापित भएका प्यालिस्तिनी र तिनको उम्मीद माथिको अर्को चोट हो यो । प्यालेस्ताइन फर्काउने र जुन उम्मीद हो, त्यो केवल अरवी सहित्यमा, कविता वा शव्दहरुमा मात्र बाँचेको छ । सिमाना मेटिएर छरपष्ट भएका उनीहरूले नक्सा खोतल्दै फेरी फेरी देश खोज्नु केवल दिवास्वप्न मात्र हो, इजरायलको प्रत्येक शक्तिशाली आक्रमणले यही तथ्यलाइ उजागर गरिरहेको छ ।
जाडो बढेको छ । कहिले काही झरी पनि पर्छ । हिउदमा पानी पर्ने मौसम यही हो । तेल अभिभको आकाश अलि शान्त छ, यद्यपि आस्दोद र किरयातगात सम्म क्षेप्यास्त्र आइपुगेको खबरले सबै क्षेत्रका इजरायलवासी खल्बलिएका छन ।
सधैँ तनाव ग्रस्त इजरायल प्यालेस्ताइनबीच चर्किएको पछिल्लो घटनाक्रमलाइ लिएर यहाँ बस्ने हामी बिदेशी नागरिकहरू केवल रमिते मात्र बन्न सकिरहेका छैनौं । सुरक्षाका कारण परोक्ष रुपमा प्रभावित भै नै रहेका छौं ।
केही नया नियम हरु पनि लागू भै रहेका छन ।
यसरी इजरायलमा नेपाली नागरिकका सुरक्षा स्थितिका सम्बन्धमा जारी सचेत्नामुलक सुचना सहित नेपाली दूतावास बाट ई मेल आएको छ । सीमावर्ती इलाकामा काम गर्ने नेपालीहरुको सुरक्षामा दूतावासको सरोकार र आवश्यक परेको खण्डमा सहायताको प्रतिवद्धता पनि व्यक्त गरिएको संदेश प्रसारण गर्न आग्रह गरिएको छ, सधैं रकेटको त्रासमा रहेर काम गर्ने ती नेपालीहरुले यसबाट भावनात्मक सुरक्षा र अभिभावकत्वको महशुश कतिको गर्ने हुन?
मानव अधिकारवादी अंतर्राष्ट्रीय सामाजिक संस्थाहरु, मध्यपूर्वको राजनीतिमा चासो राख्ने राष्ट्रहरु, संयुक्त राष्ट्रसंघ, शान्तिकर्मी तथा राजनैतिक चिन्तकहरु सबैको टिपण्णी र विश्लेषण, संभाव्यताका सुझावहरु एकातिर पंछिएका छन । युद्ध जारी छ । यहीबेला अर्को हरफ यो पनि लेखुं- ” पवित्र भूमि इजरायललाइ इतिहासमा पटक पटक भनिएको छ -यो युद्ध भूमि पनि हो ”
दक्षिणी गाज़ाको राफामा इजरायली विमानहरुले सर्वसाधारणलाइ घर खली गर्न पर्चा छरि रहेछन । परबाट हेर्दा हिउँ खसेजस्तै देखिने यो दृश्य हेर्दा यस्तो लाग्थ्यो, मानौं यहाँ कुनै उत्सवको तयारी हुदैछ । लेखिएको छ –
हमास मिलिसिया को हतियार ओसार प्रसार प्रणाली तथा सुरुंगहरु भत्काउन अर्को मेजर अपरेसन हुदैछ, अप्रेशन अवधीभर सुरक्षित स्थान तर्फ सरेर आतंकवादमाथिको कारवाहीमा सहयोग पुरयाउनु हुन अनुरोध गरिन्छ ।
एरिक तविवलाइ गाजा माथि उडेको धुवांको कुनै वास्ता छैन । यद्यपि विज्ञानको विद्यार्थीको नाताले ट्यान्क र युद्दक विमान वा क्षेप्यास्त्रका कार्यप्रणालीका बिषयमा वा विष्फोटकका रासायनिक संरचनाका बारेमा अध्ययन चाहिँ जरुर गरेको होला भन्ने मेरो अनुमान छ।
“शासकहरुको राजनितिक स्वार्थका लागि कति निर्दोष नागरिकले रगत बागाउनु परेको छ,
भन त एरिक यहाँ सधैं किन र यस्तो कहिले सम्म ?
उसले यत्ति भन्यो
“तिमीलाई थाहा छैन क्रिश, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् ” ।
उसको उत्तरले फेरी मलाई पूरा निराश बनाउछ ।
समाचारहरु चर्को स्वरमा हताहत हुनेहरुको संख्या फुकी रहेका थिए ,
“प्यालिस्तिनी तर्फ एक हजार दुई सय….. “
(लेख इजरायलले गाजामा हमास बिरुद्ध गरेको कारवाहीको पृष्ठभूमिमा लेखिएको हो ।)
कृष्ण थापा
तेल अभिभ इजरायल
krishnathapa.com


कृष्ण जी ,
तपाईको रचना
कृष्ण जी ,
तपाईको रचना उत्कृष्ट लाग्यो । गाजा क्षेत्रमा रहेका नेपालिहरु देखि यहुदिहरुको अवस्था र इतिहास सम्म एउटै रचनामा अटाइदिनु भएको छ । रोचक र जानकारी मुलक छ ।
.
मेरो यो लामो लेख झर्को
.
मेरो यो लामो लेख झर्को नमानी पढेर
प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद छ दिनेश जी तपाईलाइ ।
लेखक: कृष्ण थापा
कृष्ण जि, तपाईंको ब्लग मा पनि
कृष्ण जि, तपाईंको ब्लग मा पनि यो पढेकी थिए, तपाईंका गजल, कबिता र लेख सबै फेरि फेरि पढिरहु जस्ता लाग्ने रहेछन, बिशेष गरी यो पढदा मलाई के लाग्यो भने नेपाली साहित्य बाट पनि बिस्वो चियाउन पाइदो रहेछ, नेपाली मा नेपाल त पढिएकै छ, पढ्नु मात्रै कहाँ हो र ,नेपाल त भोगिएको पनि छ, तर नेपाली मा इजरायल पढ्न पाउदा बडो मजा लाग्यो। तर सधैं जसो युध्ह भैरहने भुमि मा ,कती धेरै नेपाली हरु, अलिक दु:ख लाग्यो त्यो कुरा ले। जे होस् ,तपाइको त्यहाँ को बसाइ ले एस्तै उत्कृष्ट साहित्य जन्माइरहोस्, जस्ले गर्दा हामी पनि आफ्नै भाषा मा विश्व लाई पढ्न सकु। आगो ओकल्ने भुमि मा! यो नेपाली मन भन्छ ,कहा मन थियो ?मात्र भगवान सँग दुवा गर्न? तैपनी दुवा र सुबेक्ष्या अनी कबी मन का भ्रम हरु हैत । suphi
कृष्णजी
ज्यादै मार्मिक,
कृष्णजी
ज्यादै मार्मिक, तार्किक तथा समसामयिक कुराहरू लेख्नुभयो। इजरायल प्यालेस्टाइनको घटना, युद्ध र शान्तिकथाहरू बच्चैदेखि सुन्ने बानी लागेकोले अहिले त “त्यो ठाउँ त्यस्तै हो” भन्ने लाग्छ जून यद्यपि ठिक सोच हैन। कल्पना गर्न सकिन्छ, त्यहाँ जीवन जिउनेहरूको पीडा कत्तिको छ। नजीकैबाट नियालेर हामीलाई यस लेखमार्फत पस्किदिनुभएकोमा हार्दिक धन्यवाद छ! दस वर्षे द्वन्द्व कालमा नेपालीहरू घर छोडी सदरमुकाम राजधानीमा भाग्न परेको वाध्यता सम्झिंदा लाग्छ, धन्य इजरायली सर्वसाधारण, धन्य प्यालेस्टाइनी सर्वसाधारण जो बारुद र गोलीलाई दैनिक जीवनको एक पाटोको रुपमा स्वीकार गर्न बाध्य छन्।
–कुमार