Skip to content

अँध्यारो, मेरी आमा र अगेनो


मेरी आमा संसाँझै दैलो ढप्काउँछिन्
र बस्छिन् अगेनाको डिलमा
पग्लिँदै कालो रातको पीडाबाट
पिउँछिन् आँसुको समुद्र
र लामो निःश्वास छोड्छिन
आँखामै रात बिताउँछिन् मेरी आमा
मेरी आमाको छातीभित्र
चुलिएको छ जिजीविषाको भग्नावशेष
छातीभित्रै फैलिएको छ सन्त्रासको संसार
आफू वरिपरि फैलिएको विध्वंश
विवश आँखाले हेरिरहन्छिन् मेरी आमा
आतङ्कले गलेको मेरी आमाको विश्वास
ढलेको छ सीमान्त वस्तीहरूमा
अँध्यारोमै खरानी बनेको छ
मेरी आमाको भरभराउँदो बैंस
अँध्यारो मेरी आमाका लागि सहज भएन कहिल्यै
दिनको उज्यालामा पनि ढुक्क हुन सकिनन् कहिल्यै
तिनीहरू रातलाईभन्दा दिनलाई सहज ठान्छन्
उज्यालोमै बनाउँछन् योजना
र ढपक्क ढाक्छन्
अँध्याराको क्रूर पन्जाले दिनलाई
तिनलाई दिन र रातको कुनै भिन्नता छैन
र छैन मेरी आमालाई पनि
फरक यत्ति हो–
तिनीहरू उज्यालो छोपेर दिनलाई रात पार्न चाहन्छन्
मेरी आमा अगेनो खोस्रेर रात उज्यालो पार्न खोज्छि ।

यादव भट्टराई
भैरहवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *