कुरा सन् २००५ को मध्यतिरको हो । नेपालको प्रहरी सेवामा कार्यरत रहँदा पनि चरम आर्थिक अभाव झेल्नु परेकोमा निकै तनावमा थिएँ म । श्रीमती र एक छोरालाई पनि सामान्य खर्च पुर्याउन पनि गाह्रो हुने । त्यसमाथि सँगै बस्न पनि नसकिने । कुनै दिन नून किन्ने पैसा नभएर अल्नो तरकारीसँग छाक टार्न बाध्य मेरो जीवन ! कसरी सुधारिन सक्छ यो सरकारी नोकरीले ? अनि कसरी राम्रो शिक्षा दिन सकिन्छ सन्तानलाई ? जीवनसाथीका न्यूनतम आवश्यकता पनि पुरा गर्न गाह्रो थियो । त्यसमाथि छुट्टिंदा भागमा परेको ऋणको ब्याज बुझाउन पनि गाह्रो साँबा त जिन्दगी भर तिर्न सक्ने उपाय थिएन । कटेरोको बास अनगिन्ती समस्याकाबीच एउटा आनन्दको जीवन जिउने मेरो सपनाको युद्ध चल्थ्यो मेरो मस्तिष्कमा ।
लगानी राम्रो लगाउन र राम्रो कमाउने सपना बुन्ने आधार थिएन । कम लगानीमा राम्रो आय हुने ठाउँको खोजी गर्दा युद्ध ग्रस्त देश इराक मेरो रोजाइमा पर्यो । जहाँ इराकी तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको विरूद्ध अमेरीकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले छेडेको भीषण युद्ध चलिरहेको थियो ।
नेपाली उखान छ नि “मर्नुभन्दा बौलाउनु निको ।” तर मेरो चाहिं फरक थियो सोच, “चरम गरिबीमा बाँच्नुभन्दा संघर्षमै मर्नु राम्रो ।” तर आत्महत्या गर्नेहरू चाहिं काँतर हुन मेरो नजरमा । यसरी तैयार भएको मेरो यात्रा भारतको मुम्बईको तीन महिनाको बसाइ । मुम्बई बसाइमा अन्तरबार्तामा पास हुने र सँगै यात्रा तय हुनेमा आठ जना नेपाली थियौ । जसमा पूर्व परिचित कोही थिएनौ ।
आतंतकारीले इराकमा बाह्र जना नेपालीको हत्या गरेकै पर्सीपल्ट हामी इराककै लागि मुम्बईबाट जोर्डन ट्रान्जिटको लागि उडेका थियौ । पैसोको लागि बलि चढ्न मन्जुर थियौं हामीहरू । कसैका आँखाहरूमा बाँचेर र घर फर्किने आशा देख्न सक्दैन थियो । सामुहिक यात्रा पनि मौन थियो । सन्नाटा थियो ।
ट्रान्जिटको लागि जोर्डनको राजधानी अमानको बीचतिरै पर्ने हिलसाइड होटलको बास थियो हामीहरूको । गरिबी पीडायुक्त जीवनबाट मुक्ति खोज्न भौतारिएका नेपाली युवाहरूको आठ जनाको टोली । नेपालदेखि मुम्बईको करिब तीन महिनाको बसाइपछि जोर्डनको राजधानीसम्म पुग्दा सबैजनासँग प्राय बोकेको पैसा खत्तम भैसकेको थियो । एकातर्फ सुनौलो संसारको सपना अनि अर्कों तर्फ बाबा आमा श्रीमती कसैको त बच्चा पनि भैसकेको थिएन भने हुनेहरूका पनि सानै थिए । सबैको सपना पुरा गर्ने सोंचले विदेशको यात्रा तय गरेकाहरू । सबै जना आ आफ्ना परिवारका दु:ख सुख आपसमा बाँडी बस्दथे, काम केही थिएन । मन लागेको किनेर खान पनि पैसा थिएन । होटलमा जे दिन्थ्यो त्यही खानेकुरा खानुपर्ने बाध्यता ! कम्पनी एजेन्ट मोहम्मदले त्यहाँ बस्ने चाँजो पाँजो मिलाएको थियो ।
होटलमा राखेर व्यावस्था मिलाएर गएको मोहम्मद चार दिनसम्म नआउदा केटाहरू कम आत्तिएनन् । पहिलो पाँचौ दिनमा ऊ होटलमा आयो र सबैलाई होटलको लाउन्जमा बोलायो र भन्यो “एभरीवडी रेडी टु मुभ फोर्म हेएर टुमारो मर्निड् एट वो क्लक, एट टेन यु अल गाइज विल फ्लाई टू इराक !”
अहो सबैको अनुहारमा चमक थपियो भोलि इराकको लागि उड्नेभन्दा । लाग्छ इराकमा युद्ध छ भनेर सबैले बिर्सिएजस्तै । सायद जीवनको सफलताको एउटा खुड्किलो जस्तो लोग्यो । तर अगाडि मृत्युवरण हुन सक्ने अत्यधिक संभावना भए पनि हामी खुशी थियौ ।
मोहम्मदले भने जस्तै बिहान सबैजना सबेरै उठेर नुहाई ध्वाई गरी आठ बज्नुभन्दा पहिले नै होटलको लाउन्जमा तैयार । गाडी लिएर आयो मोहम्मद र सबैलाई जोर्डनको इन्टरनेश्नल एयरपोर्ट पुरायो । एयरपोर्टमा पुलिसले रोक्यो । नेपाल सरकारले इराकमा बाह्रजनाको हत्या भएपछि जोर्डन हुँदै इराक जाने जो कोही नेपाली भेटेमा नेपाल फर्काइदिनु भनेर पत्राचार गरेको छ हामी पठाउन सक्दैनौ भन्यो ।
सबै जना एक आपसमा हेराहेर गर्नु बाहेक कसैको मुखबाट केही कुनै शब्द निस्केन बरू सबैका आँखामा आँशुको भेल उर्लिदै थियो भने हामीहरू जबरजस्त रोक्ने असफल प्रयास गर्दै थियौ । हामीहरू असफल जिन्दगी लिएर घर फर्किने अवस्थाको कल्पनासम्म गर्न सकिरहेका थिएनौ । युद्धमा मर्न बरू हाँसी हाँसी जान तैयार कस्तो विडम्बना । जिन्दगी भोगाइ कति गार्हो छ । मुम्बईमा अन्तरबार्तामै तिमीहरूको इनिस्योरेन्स निकै राम्रो छ भनेको थियो । सायद त्यो पैसा प्राप्तिको लागि ज्यान दिन तैयार थियौ हामीहरू ।
मोहम्मदले सबैलाई फर्काएर फेरि होटलमा ल्यायो र आफू चाहिं “लेट्स सी आई विल ट्राई डन्ट वोरी” भनेर गयो । केटाहरूको बीचल्ली ! एजेन्ट अब भगवान हो, अल्लाह हो आशीर्वाद हो आशाको सानो विन्दु हो । जिन्दगीको डुंगा उसकै हातमा छ । उसकै पर्खाइमा दिनहरू बितीराछन् ऊ फर्केर आऊदैन । होटलले जे दिन्छ चुपचाप खायो मनमा अनेक गन्टना खेलायो बस्यो । अब तसँगै बस्ने साथीहरू पनि अपरिचित जस्तै ! फुस्रा अनुहारमा ओंठ मुख सुकाएर चिन्ता को भुमरीमा फसेकाहरू । उनीहरूको लागि युद्धमा दुष्मनले वर्षाउने ती मोर्टार्ड गोला बारूदभन्दा त्यहीबाट घर फर्किने चिन्ता भयानक थियो ।
असोजको महिना थियो गाउँ घरमा दशैको रौनक शुरू भैसकेको छ । झन् झन् घरको समझाने पीडा माथि पीडा उता काम बन्दैन एजेन्ट फर्केर आउदैन कसैसँग फोन पनि छैन होटल वालालाई फोनको लागि अनुरोध गर्दा पनि कल गर्न दिदैन । पैसाको नाममा एक दिनार कसैसँग छैन विदेशको ठाउँ । कतिपय केटाहरू होटलको परिसरमा कसैले तानेर फालेका चुरोटका ठुटा खोजेर सल्काउछन् र तान्छन् कोही त्यही चुरोटको ठेटा खोलेर खैनी जस्तै ओठमा च्याप्छन् ।
हे बिधाता ! दु:ख दिने पनि त सीमा हुन्छ नि तिमी त कति दया नभएको रहेछौ । कतै काम गर्न पनि जोर्डनमा काम पाँइदैन पासपोर्टहरू एजेन्टसँगै थिए । कतै घुम्न निस्किन पनि नहुने र सुकै खल्तीमा नभाकाहरू कता घुम्नु ? यो वियोग होला भनेर कसले सोच्या थियो होला र नेपालको सरकारी नोकरी छाडेर हिड्दा । कोही पछुतो मानेर रून्छन्,कोही फर्केर के मुखले घर जाने बरू मर्ने भन्छन्, कोही हिम्मतीलो कुरा गर्छन् केटा हो ज्यान नेपाल पुगे त केही गर्न सकिन्छ ।
एक हप्तापछि मोहम्मद एकजना साथी लिएर आयो । केटाहरू निकै रोए ऊसँग । गुनासो पोखे । ठिक त्यसै दिन विजया दशमी परेको रहेछ । सबैले मोहमदलाई एकपटक घनमा सम्पर्क गराउन अनुरोध गरेपछि दुई दुई मिनेट घडी हेरेर सबैलाई घर घरमा सम्पर्क गरायो । ऊ त सबैको लागि भगवानको रूप थियो । घरबाट हिंडेदेखि काम बनेर फोन गरौंला भन्दा-भन्दै करिब चार महिनासम्म पनि फोन हुन नसकेको पनि थिए कोही । कस्तो संयोग दशैंको दिन आफू पीडाको दलदलमा फसे पनि घर परिवारलाई म ठिक छु भन्न पाएकोमा सबै हर्षित थियौ ।
विजया दशमीको दिन घरसम्म आफू कुशल रहेको खबर सबैले गरिसकेपछि हामीले एजेन्ट मोहम्मदको ब्रिफिंग सुन्नु पर्ने थियो । उसले आज पनि केही उपाय ननिस्किएको र अब आफूसँग एउटा मात्र उपाय बाँकिरहेको बताउदै अब अन्तीम प्रयास गर्ने र बढीमा चार पाँच दिनभित्र कि त इराक कि नेपाल फर्किनु पर्ने कुरा गर्यो र निस्कियो ।
कुनै उपाय आफै खोज्न पनि सकिदैन सबै निराश अनुहार । साँझपख तीन जना साथीहरू बरालिन बाहिर निस्किएछन् । त्यति खेरै एकजना यादव साथीले पचास दिराम बाटोमा भेटाएछन् । होटलमा सबै जना विच पचास दिनार के गर्ने भनेर बहस नै भयो । यो यादवको नितान्त व्यक्तिगत पैसा हुन सक्थ्यो तर साथीले त्यसो गरेनन् । अमानबाट मृतसागर करीब पच्चीस किलोमीटरको दुरीमा पर्ने पर्यटकीय क्षेत्र र इजरायलको बोर्डर पनि भएकोले कतैबाट अनाधीकृत तरीकाले इजरायल छिर्न सकिने संभावना भएमा इजरायल छिर्ने नभए फर्केर आउने सर्तमा सहमति भयो । हामी मध्ये चार जना जाने भए चार जना नजाने टोलीमा बिभजित भयौ । भोलि बिहान म सहितको चार जनाको टोली पचास दिराममा मृतसागरको लागि निस्कियौं । पासपोर्ट एजेन्टसँगै थियो । बिदेशमा बिना पासपोर्ट र पैसाको यात्रा प्राय असंभव हुन्छ । कतै प्रहरी चेकमा परियो भने पक्राउ परीने निश्चित छ ।
ट्याक्सीको यात्रा तय गरेका हामीहरू मृतसागर पुग्नुभन्दा पहिले दुई तीन ठाउँ प्रहरी चेकमा पर्यौ संयोग पासपोर्ट सोधेन प्रहरीले । त्यहाँ पुगेर प्राकृतिक सौन्दर्यमा रम्नुभन्दा पनि चोर बाटोबाट इजरायल छिर्ने हाम्रो लक्ष्यलाई पूर्णता दिने खोजीमा थियौं तर त्यो सम्भव भएन । साँझ हामी चारैजना अमान फर्कियौ । मात्र मृतसागरको पारिपट्टि रहेको इजरायललाई हेरेर ।
भेटेको पचास दिराम पनि सकियो । पर्सीपल्ट बिहान करीब आठ बजेतिर मोहम्मद एकजना फ्रेन्चकट काटेको अग्लो खाइलाग्दो मान्छे लिएर होटलको हाम्रै कोठामा आयो ।
मोहम्मदले उसको नाम अलि बताउदै ऊ लेबननी भएको बतायो । त्यसपछि अलिले भन्यो, “डन्ट वोरी गाइज् आइ विल ब्रिड्ग यू इराक डे अफ्टर टुमारो ।”
प्राय सबैको अनुहारमा उत्साह थपिएको थियो भने आँखाहरू रसायका पनि प्रष्टै देखिन्थे । त्यहाँ धेरै कुराकानीहरू पनि भए र पर्सी बिहान इराक जानको लागि एयरपोर्ट जानुपर्ने बताए । तर यसपाली अन्तर्राष्ट्रिय एयरपोर्ट नभएर अमानको डोमेस्टिक एयरपोर्टबाट हाम्रो उडान हुने र उडान सिधै इराक नभएर लेवनन हुने कुरा बताए । यदि प्रहरीले सोधेमा लेवननबाट नेपाल फर्किने भन्नु पर्ने निर्देशन दिए र फर्किए ।
त्यो नयाँ मान्छे जो हामीलाई लिन आएको छ ऊ बिस सिट भएको सानो जहाज लिएर लेबननबाट हामीलाई लिन आएको रे !
म चकित परे । आठ जना नेपाली कामदारलाई इराक लैजानको लागि हवाईजहाज चार्टर गरेर ल्याइएको छ । त्यो पनि अर्कै देशबाट । लाग्छ हामी आठ जना नजाने हो भने इराकको बिध्वंस रोक्न कसैले सक्दैन ! नभए यती धेरै महत्व किन ? अरू साथीहरू खुशी छन् । तर म योभन्दा पनि ठूलो दलदलमा भासिन सक्ने आभास गरे । मेरो यात्रा जति चिन्ता गरे पनि मैले चाहे बमोजिम हुने छैन । उनीहरूलाई सुम्पिएको शरीर कतै मानव तस्करहरूको शिकार भइन्छ कि भन्ने कुरामा सजग थिए म तैपनि उसको पछाडि लाचार भएर लाग्नुभन्दा मसँग कुनै विकल्प थिएन । मैले साथीहरूलाई पनि यो कुराले छनक दिएँ ।उनीहरूमा केही निराशा थपिदिए मैले जस्तो लाग्यो । मेरो लोगी सबै जना सचेत हुनु पर्छ भन्ने लाग्यो ।
पर्सी बिहान होटलमै एजेन्ट अलिको जिम्मा लगायो मोहम्मदले हामीहरूलाई । मोहम्म्दको इमान्दारी र सहयोगको लागि धन्यवाद दिदैं अबको यात्रामा अलिसँग के के हुनेहो खै !
सबै जना एयरपोर्ट पुग्यौ डोमेस्टीकमा । त्यहाँ अलिको अर्को साथी पनि थपियो । जति अपरिचित मान्छे थपियो त्यति शंका लाग्छ, भय थपिन्छ मनमा । तुरून्तै मन घर पुग्छ श्रीमती र नर्सरीमा पढ्दै गरेको छोरा के गर्दै होलान ? चिन्ता माथि चिन्ता छ । गाउँ अनि छाडेर हिंडेको सरकारी नोकरी र पश्चातापबीच पनि मेरो यात्रा रोकिने छैन घर छाडेर हिंडेको चौथो महिना बित्दै छ र म लक्ष्यमा पुग्न अँझै कति समय लाग्ने हो वा जीवन यतै सकिने हो त्यो समयले नै बताउला । त्यो पनि अरूको मर्जी चलेको मेरो जिन्दगी ! एजेन्ट गलत खालको हो भने ज्यान जतिखेर पनि जान सक्नेछ । मेरो मृत्यु गुमनाम हुनेछ चाहनेहरू चाहिं फर्किने छ भन्ने झिनो आशामा जीवन बिताउने छन् । मनमा यस्तै यस्तै कुरा खेल्दै लेवननको लागि भनेर जहाज चढियो ।
हामी आठ जना, अलि र उसको नयाँ साथी नाम पनि थाहा छैन अनि पाइलट र एकजना एएर होष्टेज । आधा सिट खाली थिए चार्टर भएकोले । मैले अलिलाई सोधे “हाउ लङ्ग् डिउरेसन वी हेभ फ्लाईट टू बेरूत ?” जवाफमा भन्यो एबाउट फोर्टी फाइभ मिनट्स । मैले घडी हेरे बिहान नौ चालीस भएको थियो । यो सूचना मेरो लागि अति महत्वपूर्ण थियो ताकी पैतालिस मिनेट पछि मैलै उसलाई प्रश्न गर्न सक्नेछु ।
उसले दिएको समयमा लेवननको राजधानी जहाज ओर्लियो भने केही समयको लागि भए पनी मन ढुक्क हुनेछ । तर यसो भएन । मैले ख्याल गरिराको थिएँ जहाजको बायाँपट्टिबाट सूर्यको किरणहरू जहाजको भित्र परेकोमा तुरून्तै विपरित दाहिनेपट्टिबाट सूर्यको किरण भित्र पर्ना साथ मलाई यकिन भो कि जहाज अब अन्यत्रै मोडिएको छ । मैले साथीहरूलाई भने ख्याल गर्नुभो साथीहरू जहाज कतै मोडिएको छ । कसैले ख्याल गरेको रहेनछन् । हुन पनि यति सुक्ष्म कुरा कसले अध्ययन गर्छ र ? तर म चै कहिले पनि अति सुक्ष्म कुराहरू याद गर्ने वा शंकालु बानीको मान्छे छु ।
मैले अलिलाई सोधे “अलरेडी मोर देन वन हावर देन स्टील वी फ्लाइड्ग, ह्वएर यु ब्रिङ्ग् अस ? एण्ड आइ फिल प्लेन हे्याज चेन्ज रूट ।” उसले जवाफमा मुस्कान दिदै भन्यो, “डन्ट वरी वी ल्यान्ड एबाउट हाल्फ एन हावर, सोम प्रोबोलेम टू ल्याण्ड ।”
उसले हाँसेरै भने पनि हामीहरूको धड्कन बढेर आयो । कुरा गरिरहेका साथीहरू पनि एकाएक चुपचाप तनावमा रूमलिए आफ्ना आफ्ना सोचमा । अलि र उसको साथी आपसमा हाँस्दै कुरा गरिरहेका छन् आफ्नै भाषामा एक शब्द बुझ्दैनौ हामीहरू ।
अलिले मलाई दिएको टाइम लाइन सकिनै लाग्दा जहाजले बिस्तारै आकाश र जमिनको दुरी कम गर्न थाल्यो । अब जहाज ओर्लने छ । तर बेरूतमा चाहिं हुँदै होइन भन्नेमा म पक्का थिए । जति तल झर्यो धुलाम्य आकाश कुहिरोभन्दा बढी थियो त्यो आकाशमा धुलो । जहाज ल्याण्ड भो ! बाहिर हेरे खिड्कीबाट “बगदाद इन्टरनेश्नल एयरपोर्ट” लेखेको बोर्ड देखे ।
युद्धग्रस्त क्षेत्रमा अबतरण गर्दा पनि ढुक्क भो कि अब एजेन्टहरूबाट ठगिनु पर्दैन बरू आतंकवादी समूहको शिकार हुन सकिने संभावना बढेर गयो । तैपनि आफैले रोजेको ठाउँमा पुग्न सकिएकोमा खुशी लाग्यो । मैले अलीलाई “थैंक् यु सर” भने, उसले जवाफमा भन्यो, “यू सी आइ फक् जोर्डनी गोभर्नमेन्ट !”
मैले उसको समर्थनमा यस् सर भने, उसले आफ्नो कोटको खल्तीबाट तीन वटा देशको पासपोर्ट देखायो मलाई, म अचम्म परे ! संसारमा कस्ता मान्छेहरू छन् जसो पनि गर्न सक्ने । जे सुकै भए पनि उनीहरूले गरेको सहयोगको कारण इराकमा पाइला टेकियो ।
त्यसपछि कम्पनीमा आबद्द भएर विभिन्न युनिटहरूमा विभाजन भएर कोही मसुल कोही वासारा त कोही अन्यत्रै खटिंयौ । युद्धरत ठाउँको जीवन हरेक क्षण मृत्युको मुखबाटै बाँचेको आभास हुन्थ्यो । बम गोला बारूद गोलीसँग खेल्दा मृत्युलाई निकै नजिकबाट छेल्दै त्यहाँको कष्टकर दिन बिताइयो । सँगै गएका साथीहरूमध्ये यादव र मेरो त्यहाँको बसाइ रूस्तामीया, करवाला र फलुजाको युद्ध, अमेरिकन सैनिक क्याम्पहरूको अनुभव र अमेरिकन आर्मीहरूको लाइफ स्टाइललाई निकै नजिकबाट अध्ययन गर्दै नेपाल फर्काइसँगै र सकुशल भयो ।
