Skip to content


नसोध मलाई
कहाँ जान्छेस भनेर
म जादैछु हिमाल, पहाड, तराई र
मधेशका कुना कुनाहरुमा
जहाँ धेरै वर्ष अघि हराएको मेरो देश
कतै खेटिन्छ कि भनेर

यात्राका पहाडहरूमा थुप्रै आरोह अवराहहरू झेल्दै
चराइरहेका पैतलाहरुमा जीवनका गतिहरू नाप्दै
म जादैछु सुस्ता र कालापानीतीर त्यहाँ
मेरो देश कति मिचिएको छ भनेर

म जाँदैछु अछाम बझाङ र बाजुरातिर
त्यहाँ निर्दोष चेलीहरू कति बेचिएका र लुटिएका छन् भनेर
म जाँदैछु कर्णाली हुम्ला र जुम्लातिर
त्यहाँ पहाडले मिचिएका गरीबीले थिचिएका
मानिसहरुको कथा व्यथा समेट्न भनेर

म जादैछु प्युठान रोल्पा र रुकुमतिर
त्यहाँ ढिडो र सिस्नोसँग जीवन साट्ने कति भेटिन्छन् भनेर
हो म जादै छु आज सबथोक परित्याग गरेर
बिध्वंससँगै निमार्ण गर्न चाहने
दुर्गा र महाकाली बनेर
जहाँ मेरो देशलाई स्याल र गिद्धहरुले
लुछीलुछी भोजन गरिरहेका छन्
हो म त्यही जादैछु ।

नसोध मलाई मेरो देशको बारेमा
पसीनाहरू लीलामी भएको बेला
शान्ति र स्वतन्त्र हराएको बेला
वाजहरुले मेरो सिंगो देशलाई टुक्रा टुक्रा पारिरहेको बेला
मलाई नेपाल चिनाउन गारो हुन्छ भन्छन बुद्धको भूमि
तर दिनानुदिन हत्या हिंसा बढिरहेको छ
भन्छन् जलस्रोतको धनी तर यहाँका मानिसहरू
काकाकुल बनिरहेको छ ।

त्यसैले मलाई घामको बारेमा नसोध जुनको बारेमा नसोध
यहाँको नूनको बारेमा नसोध सुन र गुनको बारेमा नसोध
यी सबथोक मसँग सोध्दै नसोध
मलाई आफै यहाँ स्वतन्त्र छदै छैन भने
मेरो भावनाको खिल्ली उडाइन्छ भने
मेरा आत्मा विलापका झन्कारहरू सुनिंदैन भने
म कसरी तिमीलाई यो देशभित्र छु भन्न सक्छु ।

दीपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *