सबै रुन्छन् देख्छु मकन मन पोल्यो घरिघरि ।
सबै बोक्छन् भारी जगत भरको लोभ पगरी ।।
कसैले बोल्दैनन् जगत सब मित्रै जन भनी ।
म उस्तै ऊ उस्तै सकल जनको स्वास नभनी ।।
सबै खेल्छन् कुस्ती तर यी धरणी रक्त लिँदिनन् ।
उनी यौटै सन्तान् जगत जनमा भेद दिँदिनन् ।।
तिमी मेरै सन्तान् नगर झगडा आपस महाँ ।
उनी भन्छिन् सारा जगत सब यौटै घर यहाँ ।।
सबैमा यौटै स्वास् छ नभुल तिमी मानव भनी ।
छ सूर्यै पृथ्वी यो सब जन बनोटै सम पनि ।।
न वृक्षै छाँयाले शीतल दिन गर्ने फरकता ।
न हिन्दू,इसाई पृथक छ त पृथ्वी बुझ उता ।।
सबै गर्मी जाडो प्रकृति जनमा एक समता ।
न खाना तिर्खामा पृथक न छ जन्मै मरणमा ।।
सबै यौटै भै भै जगत किन रोयो फगतमा ।
अशान्तिको ज्वाला भन किन र छर्छौ जगतमा ।।
सधैँ रुन्छिन् आमा अब त सब आफ्नै बुझ भनी ।
सबैले खोलौँ त्यो नयन सम देख्ने सुझ पनि ।।
न छुट्टै पृथ्वीमा जन पृथक बस्ने घर महाँ ।
सधैँ भन्छिन् आमा मिल न सब सौन्दर्य भर याँ ।।
–रमेश भट्टराई ‘सहृदयी’
छन्द – शिखरिणी
रचना मिति –२०६७/१२/०४ गते शुक्रबार
