Skip to content

घाँटीसम्म डुबेर बाँच्नलाई


घाँटीसम्म डुबेर बाँच्नलाई तड्पेको चित्कारलाई सुन प्रभु
जीवनमरण दोसाँधमा अड्केको मातृ प्यारलाई सुन प्रभु

दक्र्यो पानी मुसलधारे, खोला बढे, हाय ! बाढीले गर्यो बितण्डा
सुत्केरी नवशिशु बोकी दौडिन्, बृद्धको गुहारलाई सुन प्रभु

बाख्रा, बस्तु दाम्लैमा चौतर्फी उठ्दै छ दर्के पानीसँगै भै पोखरी
डुब्यो झुप्रो मर्ने मर्यो बाँचेकाको भोको संसारलाई सुन प्रभु

नाम, दाम, भ्रष्ट्राचारका स्वार्थी आशा अलेसान महलमा बुनिए
कुहिया चामल रे राहत मानवीय आभारलाई सुन प्रभु

कोही जोखिम मोलेर बचाउने कोही हेलिकप्टर उडाउने
साँचो सेवा र परोपकारी व्यापारको बजारलाई सुन प्रभु

जनता डुबे मिटिङ लामो निर्णयको चर्को बहस चल्दै गर्दा
जुलुसमा तात्ने शक्तिको त्यो उद्धार र दिग्दारलाई सुन प्रभु

रोदन, क्रन्दन पीडै पीडा आँसुका भेलसँगै खुला आकाशमा
बाँच्ने बिन्ती खोलाको गीत भो त्यो रोदन आधारलाई सुन प्रभु

रमेश भट्टराई ‘सहृदयी’
२०७४/०४/३२ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *