‘अचेल तपाईंको लेखन त्यति जमिरहेको छैन ।’

‘अनि के गरुँ त म ?’

‘अलि राम्राे लेख्नोस् ।’

‘यसको लागि प्रयत्न त गरिनै रहेको छु ।’

‘यसरी हतार-पतारमा लेखेर हुँदैन, लेखकले त एकान्त साधना पो गर्नुपर्छ ।’

यसलाई सहर्ष स्वीकार गरेर म एकान्तको खोजीमा लागेँ । मेरो नियमित अध्ययन र लेखनकार्य चल्ने घरमा एकान्त छैन । सतत पारिवारिक झन्झट चलिरहन्छ । नित्य नयाँ-नयाँ नारासहितको जुलुस निस्किरहने भएकोले घर बाहिर पनि एकान्त छैन । वरिपरिको वातावरणमा कतै एकान्छ छैन । दसौं दिशा नै एकान्तहीनताको सिकार भएको छ । त्यसैले घर-परिवार र सहरदेखि धेरै टाढा एक स्थानमा पुगेँ । यहाँ एकान्त थियो । -कुनै जीवित मानिसको नामोनिसान नै थिएन ।) म आफूले लेख्ने गरेको सादा अभ्यास-पुस्तिका अगाडि राखेर लेख्न बसेँ ।

लेखनीसहित घोरिएँ । अर्थात् कलमलाई चिउँडोमुनि थपक्क टिकाएर गुरुगम्भीर भावमा टोलाउन थालेँ । यही मेरो परम निजी एवं मौलिक लेखाइको शैली हो । -मेरो यो पेटेन्ट मुद्रालाई कुनै अन्य लेखकले लिनुअघि मेरो अगि्रम स्वीकृति अनिवार्य भएको जनाउ दिन चाहन्छु ।) तर यो कार्यक्रम निकै लामो समयसम्म चलेकोले मलाई आत्मैदेखि छट्पटी महसुस हुन थाल्यो ।

‘के गरिरहेछौ लेखक ?’

‘अब के गर्नुछ र ?’

‘मैले तिम्रो कुरा बुझ्न सकिन ।’

‘म एकान्त साधनामा व्यस्त छु ।’

‘ए, एकान्त साधना !’

‘हजुर ।’

‘त्यसो भए ठीकै छ ।’

‘धन्यवाद !’

अब यसलाई एकान्त पनि कसरी भन्ने, म एकान्त साधनामा बसेको छेउमा एउटा ढुङ्गो थियो । बडेमानको ढुङ्गो । टाढा-टाढासम्म पहाडको कुनै अस्तित्व नभएको ठाउँमा यस्तो ढुङ्गो कहाँबाट आयो ? -तर यो मेरो अर्थात् एक लेखकको होइन, कुनै विद्वान भूगोलविदको समस्या हो ।) केही वृक्ष्ा यताउता ठिङ्ग उभिएका थिए । लोकपि्रय कवि भूपिशेरचनको कवितामा जस्तो वृक्ष्ाहरूले हतार-हतार हरियो रङ्गको सारी बेरेका थिएनन् । जम्मै पात खङग्रङ्ग सुकेका थिए । जर्जर हाँगासहित । कतैबाट एउटा खैरो काग उडेर

आयो । त्यसमा बस्यो । र अनायास कराउन थाल्यो-

काँ, काँ, काँ… । यसलाई के एकान्त भन्ने ?

‘के गरिरहेछौ लेखक ?’

‘जे छ, त्यो प्रत्यक्ष्ा नै छ, म के भनुँ ?’

‘किन लेखिरहेको छैनौ ?’

‘के लेख्ने ?’

‘जे पनि लेख्न सकिन्छ ।’

‘यसको मतलव ?’

‘यतिका विषय यत्रतत्र छरिएका छन् ।’

‘तर म त यहाँ केही पनि देखिरहेको छैन ।’

‘एउटा विषय म सुझाउँ लेखक !’

‘कृपया हुन्छ ।’

‘तिमी वर्तमान परिप्रेक्ष्यमाथि किन लेख्दैनौ ?’

‘के लेखुँ ?’

‘त्यो त लेख्नेलाई नै थाहा हुनुपर्ने हो ।’

‘लल, ठीक छ, ठीक छ ।’

यो सुझावलाई मध्यनजर राखेर म अझ घोरिएँ । मेरो निधारमा बल पर्‍यो । त्यसमा मसिना रेखाहरू परस्पर जोल्ठिए । अर्थात् म पूर्णरूपेण चिन्तनरत भएँ । यही एक एकान्त साधनामा रहेको सजग लेखकको निसानी हो । मेरो मन पनि मेरो सम्मानमा मौन थियो । -यसको प्रत्युत्तरमा मैले पनि मेरो मनलाई शिर झुकाएर सम्मान गरेँ ।) तर मेरो मस्तिष्कमा खराख-खराब विचारहरू तीव्र वेगले आइरहेका थिए । उदाहरणका लागि जताततैको अशान्ति, अठार घन्टे लोडसेडिङ, जातीय विखण्डन, पानीको हाहाकार, चरम अव्यवस्था, अकासिँदो महँगी, सदावहार भ्रष्टाचार, दिनदहाडै लुटमार, प्रत्यक्ष्ा-अप्रत्यक्ष्ा षडयन्त्र इत्यादि । यो के भएको हो ? एकान्त साधनामा यस्तो किन ? यस्तो विचार त नआउनुपर्ने हो ? के मेरो एकान्त साधना पुगेन ? यति टाढा आएर यस्तो के लेख्ने ? यो त एकान्तको अपहेलना नै भयो, होइन त ?

‘के सोचिरहेछौ लेखक ?’

‘………।’

‘केही त भन !’

‘तिमी किन केही बोलिरहेको छैनौ ?’

‘……..।’

‘केको मौनता हो ?’

‘……..।’

‘के भयो ?’

वास्तवमा म भयभीत थिएँ । एकान्त भनेको एकको अन्त्य हो क्यारे ! कतै त्यो एक म त होइन ? -यही हिसाब-किताब मेरो डरको कारक हुनुपर्छ ।) त्यसैले मेरो शुभचिन्तकहरू हो, मलाई क्षमा गर्नाेस् । म फेरि आफ्नो कापी-कलम लिएर एकान्तबाट त्यतै हुलमा मिसिन आइरहेको छु । म एकान्त साधनाको लायक छैन । मेरो लेखकीय हैसियतभन्दा यो माथिको कुरो रहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *