Skip to content

घर फर्कियौं


अथाह चाहना सपनाहरुको भीडहरुमा
समालिदै र समाल्दै
तातो हावा खाँदै मरुभूमिको मुटुमा तड्पेर
गैति र बेल्चाहरुले अलकत्रा बिछ्याउदै
अभावै अभावमा फाटेको जिन्दगीका टालाहरू
कति दिन सिलाउने हो ।
साईला……………

म यता, मेरो उनी उता, रमाउने पलहरू खोइ कता ?
गर्छिन फोनमा कुरा र भन्छिन
सबै बाँझो र उराठ लाग्दो छ ।
घर छिटो फर्की आऊ !
खनजोत गर्ने म यता विउ उमार्ने उता
भोलिको बहानामा, म यता सकिदै छु
उनी अनेकौ चाहनाहरुमा उता रीतिदै छिन
यसरी खेतवारीलाई बाँझै राखेर
मरुभूमिलाई पसिनाले कहिलेसम्म भिजाउने
एक दिन त आफ्नै माटोमा बिलाउनु छ ।

साईला………………….

पहिलो रातको भलाकुसारीमा उनले सोधेकी थिन् ।
“म प्यारो कि देश प्यारो”
मैले देशभन्दा उनी रातो हुँदै चुपचाप घाम लागेकी थिन्
आजभोलि भित्र भित्रै महसुस हुँदैछ यदाकदा
मेरो देशले अयोग्य ठान्दा पराई देशले योग्य रुप दिदाँ
शुभ यात्रा र सफलताको कामना जपेकी छिन् ।

शासकहरू निदाउदै रेमिट्यान्सको सपनामा अलमलिदा
मेरो देशबाट म हराएको छु ।
देश रितो रितो हुँदा
उनले खोजेकी छिन्
सोधेकी छिन्
स्वागतमा आतुर छिन् ।
कति दिन पाल्ने हो अमूल्य पसिनाको रेमिट्यान्सले
नबुझ्ने राष्ट्र नायकहरुलाई आफ्नो महत्व देखाउदै
नाथे आफ्नै पेट पाल्ने न हो ।
अब फर्कियौं ! एक दिन त आफ्नै माटोमा बिलाउनु छ ।

साईला ..

-नवराज योन्जन

भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *