Skip to content


“पातलीसँग बिहे गर्न पाए बल्ल मर्दको छोरा भनेर गर्दन फुलाउदै हिड्नु हुन्थ्यो ?” तामाङले चुरोट सल्काउँदै बार्दली छेउमै उभिएर बोल्यो ।

“तँ काठमाडौँमा छस्, उता गाउमा पातलीले तेरा लागि जोबन जोगाएर राखेकी होला त “? मैले पनि छेड हानें ।

“पातली गाउका अरु जस्ती हो र ? मुख राम्रो भए पनि इन्द्रबती जस्ती चोखी छ । हिजो मात्र गाउकी फुपूकी अन्तरे छोराले चिठी लेखेको थियो ।” पातलीको पक्षमा तामाङ तातियो। “मर्दको छोरा कि गर्नु पर्छ कि मर्नु पर्छ भन्थी पातली । उसैको मायाले भरिएर त म बिरानो ठाउँ झरेको नि ! रातदिन पातली दिमागमा छाएकी छे ।”
उसले लामो सुस्केरा हाल्यो र एक बट्टा चुरोट सक्यो ।

तामाङ हाम्रो समूहमा सबैभन्दा खाइलाग्दो, फरसिलो छ । जतिसुकै थाके पनि बिहानै भाले नबस्तै सबैलाई उठाउन आइपुगने तामाङ आज अलिक खुम्चिएको मलाई मन परेको छैन ।

“किन दुख मानेको ? अब छुट्टी लिएर जानु नि अर्को महिना ? अनि उतै झ्याइँकुट्टी पर्नु नि ? जति पिर गरे पनि आँगको मासु सक्नु मात्र त हो नि? बरु हाँसी हाँसी काम गरिस् भने पैसा पनि जम्मा हुन्छन । अनि गाला पनि चाम्रिंदैनन् ।” मैले बुझाउन खोजे ।

“पिरती गाँसेपछि त पर्खन पनि जान्नु पर्छ नि हो गाठे ? तातै खाऊ जली मरौ गर्नेले के को माया को कुरा गर्नु नि ?” हाम्रो छेउमा बसेको भुन्टेले बोल्यो ।

“पातलीका लागिमा यो शरीरमा रगत भएसम्म पर्खन्छु !” तामाङ तात्तियो । उसै त सोझो तामाङ, रिस उठेपछि ऊसँग तर्सने गर्छन साथी भाइहरु, पातलीले मेला भर्ना जादा भनेकी कुरा याद आयो । “पातलीलाई एक बचन कसैले भन्यो भने कन्सरी तातिन्छ । ” ऊ येति बोल्दा बोल्दै हामीलाई छोडेर आफ्नो कोठामा लाग्यो । मैले अनुमान गरे उसलाई मेरो छेड मन परेन ।

पातलीको घर मेरो घरबाट अलिक पन्ध्र मिनेटको बाटो हो । सात दिदीबहिनीकी माइली छोरी भए पनि सबैभन्दा कस्सिएर काम गर्थी । गाउँभरका अल्छी केटाले मन पराएर दुख दिएको कुरा पातली कि आमाले हाट जादा सुनाएर हैरान पारेकी अहिले पनि दिमागमा घुमेको छ । हुन त पातली को बिहेको कुरा गाउमा गाईगुइ नभएको हैन । गरिबी भए पनि रुपकी राम्री भएकीले दिनमा दुई चार जना सधैं मागन आउछन् भनेर उसकी आमाले औला गनेर सुनाउदै हैरान पार्थिन । म सम्झिरहेकी छु, कसरी तामाङले गाउकै मास्तिर पट्टिको मन्दिरमा सँगै बाँच्ने रसँगै मर्ने कसम खाएको थियो एक वर्ष अगाडि मात्र।

“के हो थेत्तरो भएर हिड्न कसैले सिकाउन पर्दैन नि ? उमेर छ र बैस चढेको छ भनेर अगाडि हिडेका मान्छेलाई पनि नहेरी कसरी हिड्न सकेकी नखर्मौलीले ” ?

मेरी काइलि पर्ने दिदीले एक बिहानै पातलीलाई तल्लो गोरेटोमा हिड्दै गर्दा सातो लिएकी र अक्क न बक्क पारेको मलाई मन परेको थिएन । ” दिदी गाउँका मान्छेलाई थर्काएर खाने भएकीले पनि ऊसँग बोल्न र व्यवहार गर्न होस् पुराउनु पर्छ भनेर आमा सधैं भन्नु हुन्थ्यो ।

“वैंश त तिमीलाई पनि आएको होला नि उमेरमा ? अर्काकी छोरीलाई छेड नहान ? मुख चलाउन त हामीलाई पनि आउछ । म तिम्री न आमा पट्टि कि न त बौपट्टीकी ?” पातली पनि सुर्किएको मैलै मेरो घरको बरन्डाबाट देखेको थिए ।

“किन येसरी मुख मुखै लागेकी ? आफ्हुभन्दा ठुलासँग कसरी बोल्नु पर्छ भन्ने हेक्का छैन कि कसो ?” दिदी पनि रन्किएकी थिइन ।

त्यसपछि त मुखाले दिदी तिम्रो घरमा हुञ्जेल म पाइला पनि टेक्दिन भनेर पातलीले आमालाई भनेकी थि भनेर दिदीले सुनाएकी मैले सम्झिरहेकी छु ।

“पेटभरि खान र शरीर छोप्न दुनियाका अगाडि मेरी पातलीले हात पसार्न नपरोस । त्यसैले सक्छेस् भने एउटा लाहुरे खोजी दे है कमली “? पातलीकी आमाले एक साझ खोल्सा बारीमा मकै गोड्न गएका बेला भनेकी कुरा झल्झल्ती दिमागमा आएको छ ।

उनकी आमा भन्दै थिइन्, “पातलीले मन खुसी बिहे गरी भने बुढाले सात जन्म मुख हेर्दिन भनेर कासीको जल खाएका छन् ।” उसले कुरा थपिन । “पातलीको मनले जसलाई खान्छ उसैसित बिहे गरिदिने हो ? लाहुरे पनि कहाका राम्रो हुन्छन र ? उतै राखेका हुन्छन ।”

मैले प्रतिरोधका कुरा गरेको पातलीको आमालाई मन परेको थिएन । त्यसैले त्यो कमलीले कुरा उकसौछे भनेर गाउमा बोल्दै हिडेकी छिन रे भनेर मेरी मितिनीले बिहानै भन्न आएकी दिमागमा नाचेको छ ।

“तामाङको मन भड्कियो भने पासो लगेर मर्छु । शहरतिर लागेको छ उतैको रमाइलोमा भिज्ने हो कि”? पातलीले घर आगनअगाडि आँखाबाट आसु झार्दै बोलेका कुराले मन कता कता भड्किएको छ ।

“माया गरेपछि, विश्वास पनि गर्न जान्नु पर्छ नि ? नत्र मायाको अर्थ बालुवामा पानी खनाएको जस्तो फितलो भैहाल्यो नि ? म छु नि पातली ।” मैले ढाडस दिए । तामाङले हरेक दिन तालिम छोडेर पातली भेट्न जान्छु भनेर घुर्की दिन्थ्यो ।

“जागिर छोडेपछि, पातलीलाई के क पैसाले पालछस ? दुई चार ओटा लाम लागे भने केले अन्न पानीजोड छस ?”

मैले उसलाई आफ्नै दाइ जस्तो सम्झाउन खोजेको थिए ।

“कमला बहिनी, पातलीका लागि गाजल, चुरा, पोते र मखमली ओढने लिएर आएको छु । उसलाई तेल र लाली मन पर्छ ।उसैत राम्री पातली, यो शहरका सिंगारले कस्ती होलि ? पर्सी भाले नबस्दै तिमी र म गाउका लागि हिड्नु पर्छ । गाउँ पुगेकै दिन तिमीले नै मेरो बिहे गरी दिनु पर्छ । तिमी बुद्धिकि पनि अबल अनि दुई चार जना ढुलाले पनि कुरा सुन्छन है तिम्रो ?” मायालाग्दो भएर तामाङ तातियो ।

मलाई एक शब्द नसोधी किन टिकेट किनेको तामाङ ? हैन सर सल्लाह हुञ्छ नि ।”

मैले उसलाई हप्काए पनि हुञ्छ भने कि थिए । त्यसपछि हामी गाउँ गएर मैले नै सबै बिहेको तामझाम मिलाएकी थिए । “तामाङ आउछु भनेको आज दस दिन बित्यो तर धन्न मलाई धोका दिएर अलपत्र पारेन” । पातली अलिकति मस्कियेकी थि बिहेमा ।

यदि नबिर्सने माया हो भने भगवानले जोडी बाधिदा रहेछन् जस्तो लाग्यो । अँध्यारो हुँदै थियो मैले मेरो घरको बरन्डामा निस्किएर चन्द्रमा हेरे, मुस्कुराइरहेकी चन्द्रमा, मन्द मन्द चलेको हावा र निस्पष्ट निदाएको गाउ सम्झेर, गाउमै बस्न मन लाग्यो । कम्तीमा गाउमा शहरमा जस्तो नक्कली पन छैन । गाउमा मायाको कदर छ । शहरमा जस्तो छल कपट छैन । संझेर मन हलुका भयो ।

कमला बुढाथोकी सरुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *