Skip to content


धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दावाद
मुर्दावाद
भीड जम्मा भयो
भीडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यही जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो

भीड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

क्षेत्री अजित
स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *