Skip to content


‘माल’ शब्द आफैमा अपूर्ण हुदाहुदै पनि अनेकार्थक साथै बहुआयामिक प्रतिभा बोकेको अर्थबाहक शब्द रहेछ । विभिन्न उमेर समूहले प्रयोग गरिरहने यो शब्दलाई सबैले आ आफ्नु ढंगले अर्थ्याएका पाइयो । जाति, पेशा, लिंग, उमेर, समय र परिस्थिति अनुसार यसको निस्फिक्री रुपमा बढ्दो प्रयोगले नै यसको छुट्टै विशेषता र महत्व थाहा हुन्छ । यो शब्द त स्वतन्त्र र सर्वब्यापी पो रहेछ । यसका पर्यायवाची शब्दहरुको खोजी गर्दा ठुलै महाकाव्य नै स्रिजना हुन् बेर नलाग्ला ।

यसको अर्थ पहिल्याउन एउटा रिसर्च नै गर्नु पर्ने भयो । यसै क्रममा ९० वर्षका एकजना गाउकै हजुरबुबाबाटै यसको उद्घाटन भयो । वहाँ बिहानै उठेर लौरो टेक्दै भन्नु हुन्थ्यो, “ए केटा, त्यो मेरो हुक्कामा ‘माल’ भरिदे त, तलतल लाग्यो, त्यो नतानी बिहान पेट नै सफा हुदैन”।

थाहा भयो, यो ‘माल’ भन्नाले हजुरबाको सुर्ती पो रहेछ ।

केही दिनपछि नै फेरि यही शब्द ‘माल’ले गर्दा टाउको दुखाइ भएको थियो । केही युवा साथी हरुको जमात सँग बाटोमा हिड्दै जादा उनीहरुले जुन वाक्य प्रयोग गरे, त्यसमा ‘माल’ शब्दलाई विशेष जोड दिइका थिए । एकजना साथी भनिरहेका थिए, “क्या च्वाक माल यार” । थाहा भयो केटीलाई पो मालभन्दा रहेछन् । अब भने हजुरबुबा को सुर्तीसँग यो ‘माल’को कुनै सामञ्जन्स्य थिएन, अनि टाउको दुखाइ हुँदैन त !

ब्यापारीहरुको मुखैमा पनि ‘माल’ शब्दनै झुन्डिएको हुदो रहेछ । “पसलमा माल नै छैन, सबै माल भन्सारमा रोकिएको छ, ड्यामेज माल परेछ” आदि आदि । लोउ अब फेरि यो ‘माल’ले लत्ताकपडा, सरसामान आदिलाई पो इन्ग्गित गर्न लाग्यो ।

दुर्व्यसनीको हरुको मुखमा पनि ‘माल’लाई नामबाचक बिशेष्यकै रुपमा प्रयोग गर्दा रहेछन् । उनीहरुले भनेको सुनेको छु, “चुरोटमा भएको सुर्ती निकालेर ‘माल’ भर।”

अब भने मलाई हजुरबुबाले सुर्तीलाई भनेको माल गलत भएको पुष्टि हुन् बेर लागेन । निर्क्योल निकालें, लागूऔषधलाई पो ‘माल’भन्दा रहेछन् ।

बुढा र युवा हरुको विचार त बुझिसकेको थिएँ । अब सानातिना नानीहरुको विचार बुझ्ने निर्णय गरें । एउटा सानो ३ वर्ष जतिको भाइलाई सोधेको थिएँ “भाइ, माल भनेको क्या हो तलाई थाहा छ”रु भाइले त प्रश्न नै टुंग्याउनु अघि सबैको सामुन्ने कट्टु नै खोलेर देखाई दियो । सायद उसलाई भनेका हुदा हुन् “माल देखियो भाइको, छोप”, “कुरी कुरी, भाइको माल बाहिर निस्कियो,” र यस्तै यस्तै । ल अब सानो भाइको बुझाइमा माल भनेको त सुसु गर्ने अंग पो रहेछ ।

‘माल’ को सही अर्थ त अँझैसम्म पनि मैले बुझिरहेको थिइन तर मेरो सुमन भाइले चाहिं माल शब्दलाई जे जस्तो अर्थमा बुझेको थियो त्यसलाई अँझ एउटा वातावरणले झनै प्रष्ट्याई दिएको थियो ।

तिहारमा सबै आफन्त महिला पुरुष केटा केटी मिलेर तास खेलिरहेका थिए । भाइ सुमन पनि नजिकै बसेर केही खेलिरहेको थियो । विशेष गरी तासको मेरिज खेलमा जोकर पत्तीलाई ‘माल’ भनिदो रहेछ र यो मालको बिशेष महत्व पनि हुदो रहेछ । त्यहाँ कोही भनिरहेका थिए, “तेरो माल देखा, मेरो त माल नै छैन, उसको त माल गतिलै रहेछ, माल छोप, आदि आदि ।’’

सुमन भाइ खेल्न छोडेर ती अश्लिल शब्दहरुजस्तो लाग्ने वाक्यांश सुनिरहेको थियो, ऊ अवाक थियो । उसले के सोचिरहेको थियो त्यो त उसैलाई थाहा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *