शरद् लाग्यो, स्वदेशमा धान झुले होलान्
जताततै रङ्गीचङ्गी फूल फुले होलान्
झलमल्ल भयो होला पखेरीमा घाम
घामसँगै गगनचुम्बी हिमाल खुले होलान्
छोडी आएँ आफन्त र साथी, सङ्गातीलाई
टाढा हुँदा मायाप्रीति सबै भुले होलान्
भेट हुन्थे जून तारा, सधैँ चौतारीमा
अहिले मलाई खोजी गर्दै सारा डुले होलान्
मुटु दुख्छ नसुधृँदा हाल नेपालीको
अँझै कति भोका, नाङ्गा र स्याउले होलान्
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३, पुरानो नैकाप
काठमाडौँ ।
हाल:-न्युयोर्क
