Skip to content


कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।

समय व्यतित गर्नको लागि समूह समूहमा विभाजित भएर कोही समसामयिक राजनीति माथि आफ्ना विष्लेषण त कोही आसन्न हुन गैरहेको गणतान्त्रिक नेपालको पहिलो केन्द्रीय र संघीय निर्वाचनका संभावित उमेद्वारहरूको चर्चा गर्दै थिए भने कोही सुन्दर नगरी तम्घासको शिर तपोभूमि रेसुड्गालाई पर्यटकीय स्थलको रूपमा विकास गर्नको लागि यो वा त्यो गर्नु पर्छ भन्ने छलफलमा थिए ।

उल्लेखित बहसहरू निकै पटक सुन्दा सुन्दा र काम केही नभएको देख्दा दिक्क भएको मेरो मनलाई भने नेत्र दाइको आवाजले आकर्षण गर्यो । अधिकांश दाडी कपाल फूलिसकेका सट पाइन्ट स्टकोट ढाका टोपी र गोल्ड स्टार जुत्ता लगाएका उनले हाम्रो नेपाली समाजमा मौलाउँदै गइरहेको अनेक सामाजिक विकृति माथि व्याड्ग्यात्मक रूपमा चोटिलो प्रहार गर्दै थिए । त कहिले उनले भोगेका भोगाईको बारेमा कलात्मक शैलीबाट प्रस्तुत गर्दै थिए उनका रसिला र हँसिला व्याड्गात्मक कुराहरू सुन्न थालेँ ।

पहिले उठाएको विषयको विट मार्दै उनले अगाडि नयाँ प्रसंगमा यसरी भन्दै गए ।

विक्रम संवत दुई हजार सत्ताइस सालतिरको कुरा हो । हाम्रा गाउँमा मरासिनी माइला बा को छोरा टोपे लाउरबाट आँउदा एउटा रेडियो लिएर आएको रहेछ । पहिलो पटक गाउँमा देखिएको त्यो रेडियो हेर्नेको भीड हुन्छ भन्ने सुनेपछि म पनि मरासीनी माइला बाको घर पुगें । त्यहाँ पुग्दा रेडियोलाई गुन्द्री ओछ्याएर दलानमा राखिएको थियो । हेर्नेहरूको जमघट थियो उनीहरूबीच रेडियोको बारेमा आ आफ्ना कौतुहत र टीका टिप्पणी हुन्थे । कोही भन्थे यती सानो डब्वा भित्र कति धेरै मान्छे अट्न सकेका ? कोही भन्थे कस्तो भोक प्यास लागे होला विचराहरू लगातार बोलिरहेका छन् गाइरहेका छन् लौ बाहिर बोलाएर केही खान दिनु पर्यो ।

म बाह्र तेह्र वर्षको थिंए मलाई पनि कौतुहल लाग्यो एउटा चारपाटे सानो कालो डव्वा भित्र यस्तो चर्चिकला ? कसरी संभव भए होला ? मैले रेडियोलाई आठ दश पटक परिक्रमा गरे भित्रका ती बोलिरहने मान्छे देखिन्छ कि भनेर । कोही देखिन अनि रेडियोको अँगाडी बसेंबीच भागमा केही प्वालहरू परेको देखें कौतुहल जाग्यो मनमनै खुशी भँए अब त यी प्वालहरूबाट पक्कै ती रमाइलो गरिरहेका बोलिरह्का मानीसहरूको जमातलाई देख्ने छु । मेरो तिव्र इच्छ्या पुरा गर्न रेडियो को अँगाडी नजिकै सुतेर ती प्वालहरूबाट नियालेर भित्र हेंरे तर प्वाल बाहेक भित्र केही नदेखेपछि निरास भए तर पनि त्यो अद्भूत रेडियो भने सुनिरहे ।

मरासिनी माइला बा को घरमा मेला लागे जस्तै हुन्थ्यो । लाहुरे टोपेले घरमा एक दिन रेडियो खोलिदिएर लाहुरबाट ल्याएको साथीको पार्सल पुर्याउन अर्घाखाँचीको डिवर्नातिर लागेछन् । गुल्मीको सिमीचौरबाट हिंड्दै डिवर्ना पुगेर साँझ फर्किन संभव थिएन। दिनभर रेडियो सुन्नेको भीड भए पनि साँझ माइला बा को परिवारभन्दा अरू कोही भएन । रेडियो लाउरे टोपेले नै बन्द गर्ने र खोल्ने गर्दो रहेछ। रात छिपिदै गयो टोपे आज घर फर्किने संभव नै थिएन । माइला बालाई त्यो रेडियो कसरी बन्द गर्ने भन्ने पिरले सताउन थाल्यो । सधैं राती टोपे सुत्ने बेलामा रेडियो बोल्न छोड्थ्यो,सायद ऊ पनि टोपे सुतेपछि सुत्छ होला भन्ठानेर साँझको खानपिन पछि माइला बाले रेडियोलाई विस्तारा लगाएर आफूसँगै सुताएछन् तर रेडियो सुतेन बोलिरह्यो । माइला बालाई झन् चिन्ता लाग्यो विचराहरू दिनभर बोलिरहदा कति थाके होलान कुनै पनि हालतमा सुताउनु त पर्यो, फेरि सुताउन सकिएन भने भोलि छोरो टोपे घरमा आएर के भन्ला ? गाउँमा यो रेडियोलाई सुताउन सक्ने अर्थात लाहुरे टोपेभन्दा अरू कोही छैन । माइला बालाई आपत पर्यो । माइला बाले चिने जानेका सबै लाहुरेहरूलाई एक एक गरी सम्झिदै जाँदा केही दिन पहिले भेट भएको पारी गाउँको सिमलारूखे कान्छोको याद भएछ ।

माइला बाले रेडियोलाई आफूसँगै साथ लिएर जाने आँट गर्न सकेनन् । रेडियो घरमै छाडेर रेडियो बन्द गर्न सहयोग लिनको लागि सिमलारूखे कान्छोलाई लिएर आउने निधो गरे । पालीमा सिउरिएर राखिएको केही फोस्राको सिठाहरू सल्काए र राँको बाले भने केही सिठाको मुठो पारी फर्किंदाको लागि जोहो गरी घरबाट निस्किए छन् । पल्लो गाउँ पुग्न खहरे तरेर जानुपर्ने अंधेरी रात राँकोको सहारामा कान्छो आएर बन्द गरिदिने हो कि होइन वा ऊ पनि अंजान छ ? यसो भो भने मेरो हिडाई फगत दु:ख मात्र हुनेछ । र भोलि छोरो घर फर्किंदा रेडियोलाई केही भयो भने के दवाफ दिने ? माइला बा यस्तै मनोभाव बोक्दै कान्छोको घरमा पुगे छन् ।

लाहुरे कान्छा ? सिमलारूखेको आँगनमा पुगेर माइला बाले टाठो स्वरमा बोलाएछन् । सबै जना सुतिसकेको कुरा एकिन गरे माइला बाले घरका झ्याल ढोकाहरू बन्द थिए भने उज्यालोको रोसना घरमा कतै देखिएन । माइला बा फसादमा परे अब के गर्ने ? सुतिसकेकालाई कसरी उठाउनु ? नउठाउँ भने मेरो रेडियो कसरी नबोल्ने गराउनु ? दुविधामा रहेका माइला बाले जे सोंचे पनि सोंचुन उठाउनै पर्यो भनी ढोका ढक ढकाएछन् ।

भित्रबाट महिलाको आवाज आयो,”को बोल्नु भो यो रात विखयमा ?”

“म हो क्या साइँली बज्यै, सिमीचौरे मरासीनी माइलो । एउटा जरुरी काम पर्यो के कान्छोलाई भेट्नु पर्ने ।”

भित्रैबाट आवाज आयो,”एकैछिन पर्खिदै गर्नुस्, म कान्छोलाई उठाउँछु ।”

“भैहाल्छ नि बज्यै ।”

केही बेरपछि दियालो बालेर आमा-छोरा बाहिर निस्किदै सोधे ।

“के काम परे होला कुन्नि यस्तो रात विखयमा दुख पाउनु भएछ ?”

“ए…. त्यो टोपेले एउटा रेडियो लिएर आएको थियो बिहान उठेर पार्सल पुराउन डिवर्ना साथीकोमा गएको आज आउने कुरा भएन गाउँमा त्यो रेडियोलाई नबोल्ने बनाउने मान्छे कोही भएन कान्छो त लाउराँ बसेर आएको उसलाई था’भए सहयोग गर्थो कि भनेर आ’को ।”

कान्छोले भन्यो,”रेडियोलाई नबोल्ने बनाउन त जान्या छु माइला बा । तर यो रात विखयमा कसरी पारी गाउँ पुगेर आउन सकिन्छ र माइला बा ?”

“लौ न बाबु, यति सहयोग गरिदेऊ । म बुढो मान्छे उति टाढाबाट आएँ, नाइँ नभन न !”

बज्यैले टाठो स्वरमा भनिन्,”लौ यस्तो चकमन्न रातमा त म कान्छालाई पठाउन सक्दिन । कतै केही भैहाल्यो भने ?”

“होइन बज्यै, कान्छोलाई सुत्न मेरो बिस्तारा छाडी दिन्छु बरू । अरू के गर्नु पर्छ गर्न तयार छु भन्नुस् ।”

“बाजे अरू त केही गर्न पर्दैन । कान्छोलाई उतै सुताउनुहुन्छ भने पनि यो रात विखयमा ज्यानको बाजी लगाएर सुतेको मान्छे उठेर तपाईकोमा जानु परेपछि कमसेकम एउटा पर्मो त तिर्नु पर्छ है ! नभए जाँदैन कान्छो ।”

“ल…ल ठिकै छ एउटा पर्म तिर्ने भएँ बज्यै !”

लाहुरे कान्छोलाई रेडियो नबोल्ने बनाउन घरमा ल्याउन पाएकोमा माइला बा खुशी थिए । उनीहरू माइला बाको घरमा पुग्दा पनि घरपरिवार रेडियोको वरिपरि बसिरहेका रहेछन् । माइला बाले लाहुरे कान्छोको प्रशंसा गर्दै परिवारका सदस्यहरूलाई अब कान्छोले रेडियोलाई नबोल्ने बनाउँछ भन्दै थिए । यत्तिकौमा लाहुरे कान्छोले रेडियोको अगाडिको भागमा दाहिनेपट्टिरहेको एउटा सानो ठेटोको टुक्रा जस्तै देखिएकोलाई यस्सो घुमाऊँदा प्याट्ट मसिनो आवाज आयो । रेडियो नबोल्ने भयो । माइला बा र उनको परिवार छक्क पर्दै लाहुरे कान्छोलाई हेरेको हेर्यै भए ।

बाबुराम पन्थी “गुल्मेली”

तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *