Skip to content

मेरा पाइलाहरू (यात्रा अनुभूतिका पाइलाहरू) एक अध्ययन


परिचय
वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

राप्ती साहित्य परिषद दाङको आजीवन सदस्य रहनुको साथै विभिन्न साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ । नेपालका विभिन्न जिल्लामात्र नभै भारत, थाइल्याण्ड र भारतको भ्रमण गर्नु भएका भेषराजजीले यिनै भ्रमणका सिलसिलामा समयलाई सदुपयोग गर्दै एउटा सवल नियात्राकारमा आफूलाई परिचय गराउन सफल हुनुभएको छ ।मिठो बोली, हँसिलो अनुहार, सहयोगी स्वभाव, कर्तव्यपरायण, समदर्शी, न्यायप्रेमी र बहुआयमिक व्यक्त्विको रूपमा पाएको छु मैले भेषराज रिजाललाई ।

प्रकाशित साहित्यिक कृतिहरू–बालुवाको मुठी (गीति कविता सङ्ग्रह) २०५७, देश सधैं रुने छैन(कवितासङ्ग्रह) २०५९, मेरा पाइलाहरू(यात्रा अनुभूतिको सङ्ग्रह, २०६८, छरिएका पाइला कोरिएका डोब( नियात्रसङ्ग्रह) २०६९, र अनमोल पुरस्कारहरू (कवितासङ्ग्रह) २०७२) बजारमा आइसकेका छन् । साहित्यिक कृतिहरूको अलवा ओखरबोट गाउँ विकास समितिको वस्तुगत विवरण, म्याग्दी,२०५७ (लेखन तथा सम्पादन) देवीस्थान गाउँ विकास समितिको वस्तुगत विवरण, म्याग्दी, २०५७ (सम्पादन),सरलीकृत खरिदार परीक्षा दिग्दर्शन, २०६८ (सहलेखन) समेत रिजालका प्रकाशित कृतिहरू हामीले अध्ययन गर्न पाउँदछौं ।

कृतिको संरचना –राधा बास्तोला (रिजाल)द्वारा प्रकाशित यो कृति आवरण पृष्ठ सहित १४३ पृष्ठमा सुसज्जित छ यो कृतिको मूल्य रु १५० राखिएको छ । आवरणको पहिलो पृष्ठलाई सुमन कार्कीले प्राकृतिक सौन्दर्यलाई टपक्कै टिपेर सौन्दर्य मय बनाउनु भएको छ भनेपछिल्लो पृष्ठमा कृतिकार।को व्यक्तिगत विवरण राखिएको छ । यस कृतिमा सातवटा यात्रा विवरण समावेश गरिएका छन् ।

कृतिप्रति शुभकामना अभिव्यक्तिहरू– निर्वाचन आयोगका सचिव किशोर थापाले शुभकामना व्यक्त गर्दै लेख्नुहुन्छ – ‘‘ …. उहाँको लेखन शैली सरल छ तर उहाँको अभिव्यक्ति एक सिद्धहस्त जस्तो देखिन्छ ।’’ मेरा पाइलाहरूः पीडा सङ्घर्ष र सङ्कल्पको दस्तावेज शीर्षकमा वरिष्ठ उपाध्यक्ष, राप्ति साहित्य परिषद्का टीकाराम उदासीले भेषराजको व्यक्तित्वमा प्रकाश पार्दै लेख्नुहुन्छ –‘विनम्र बोली, गम्भिर आकृति र सरल व्यवहारभित्रको सम्वेदनाले भरिएको मनसँगै एउटा अध्ययनशील दिमाग,सायद यी नै चिनारीका प्रथम हरफहरू हुन उनका ।’’ वासुदेव गुरागार्इँले, बेफुर्सदका क्षणमा नियालिएको नियात्रा शीर्षकमा यस नियात्राका बरेमा लेख्नुहुन्छ –‘‘नियात्राभित्रका सबै कुरा उल्लेख्य छन् र उत्तिकै महत्वपूर्ण पनि । एउटा नियात्राकारले सरर्र यात्रा गर्दा यात्रा मार्गमा जति विषयवस्तु देख्न, टिप्न र मनन गर्न सक्ब्छ, त्योभन्दा निकै धेरै गर्न भ्याउनु भएको छ भेषराजजीले ।’’भेषराज रिजालको जीवन यात्राप्रतिको धारणा यस प्रकार छ –‘‘जीवन यात्रामा असीम दुःख वा भोगेरै नसकिने सुख जे आउँछन् स्वीकार गर्दै हिड्नु सबैको बाध्यता हो । म पनि त्यही पथको पथिक हूँ ।’’

नियात्रा क्रमभित्र प्रवेश गर्दा –‘दैलेख पुग्दाका अनुभूतिहरू शीर्षकमा’ वि.सं. २०६७ साल चैत्रमा बाँके, दैलेख, जुम्लामा विदुतीय मतदानउपकरणबाट नमुना मतदान गराउने उद्देश्य अनुरूप यो यात्राको थालनी काठमाडौबाट जहाजमा नेपालगञ्ज, सुर्खेत, दैलेख पुगी उदेश्यलाई हाँसिल गरी नेपालगञ्ज फर्केपछि समाप्त हुन्छ । यस अवसरमा नियात्राकारले प्रकृतिको सुन्दरताको वर्णन गर्दै भन्छन् –‘‘प्रकृतिको सुन्दरता विश्व बह्माण्डको सर्वोत्कृष्ट सुन्दरता हो । प्रकृतिजति सभ्य, सुन्दर र यथार्थ अरू के हुन सक्ला ? ….. प्रकृतिसँग रम्न सक्ने मान्छे संसारको सबैभन्दा सुखी मानिस हो । ’ रिजालले प्राकृतिक सौन्दर्यतालाई टपक्कै टिपेर आफ्नो नियात्रामा समावेश गरेका छन् । जहाजबाट अवलोकन गरेका, गाडमिा सवार हुँदा हर्रे, बबै, छिन्चु, सुर्खेतका बुलबुलेताल, देउती बज्यै, काँक्रे विहार, सुर्खेतबाट दैलेख लाग्दा कटुका, गोठीकाँडा, रातानाङला, रानीमत्ता ( आलुको लागि प्रख्यात) गुराँसे (लालीगुराँसले प्रख्यात) तालपोखरी, हिलेपोखरी, तल्लोडुङ्गेश्वर, चुप्राबजार, लोहोरे खोला,दैलेख सदरमुकामको बजार को वर्णन, ढुङ्गाले बनाएको ऐतिहासिक गढीको साथै दैलेखमा हेर्नै स्थानहरू(पादुका, श्रीस्थान, नाभिस्थान, कोटिला, धुलेश्वर, पञ्चदेवल, द्वारीखोलाको झर्ना) को प्राकृतिक सौन्दर्यता, धार्मिक महत्व, सामाजिक स्थिति, राजनीतिको कारणले गर्दा विकासमा न्यूनता, मानिस स्वार्थमा प्रवलता, आर्थिक विपन्नता, जिल्लाका सीमाको वर्णन रहरलाग्दो त।िरकाले गरिएको छ । यी स्थानहरूलाई पर्वतको कार्कीनेटा, स्वर्गद्वारी जाने बाटो, काठमाडौको नगरकोटको डाँडाभन्दा सुन्दर डाँडा भन्दै तुलना गरिएको छ । बीच बीचमा कविता र गीतले लेखलाई मनमोहक पार्नुको साथै उच्चाइमा पुर्याएको छ । यस नियात्राबाट हामीले धेरै विषय बस्तु थाहा पाउन सक्छौं ।

सुदुरपश्चिममा एक साता –
वि.सं. २०६७ साल भदौ महिनामा निर्वाचन आयोगको कामको उद्देश्य अनुरुप डडेलधुरा, वैतडी र डोटीमा गरिएको भ्रमणमा बुद्ध एयरमा चढेर १६०० फिटको उच्चाइमा उडेर, हिमलका सुन्दर दृश्य, पोखराको तालहरूको अवलदोकन गर्दै, पर्वतको कुश्मा बजार, कर्णली नदीको सुन्दरता अवलोकन गर्दै धनगढी विमान स्थलमा अवतरण गरेर अतरियातिर लाग्नु, डडेलधुरा जानको लागि अतरियाबाट गोदावरी, खानीगाउँ, भासुको भीर, सहजपुर, फल्टुडे, बुडहर, गैराबजार, साहुखर्कको खीर, भातकाँडा, डडेलधुरा पुग्नु, डडेलधुरामा उग्रतारा मन्दिरको अवलोकन, डडेलधुराको किर्तीपुर, पोखरा आदिको अवलोकन गर्दै बैतडीको रमाना खोडपे पुग्नु, मनिकाखाना, घनघस्याको अजङको पहाड, पाटन चौराहा, सतबाँझको लेक, देहीमाण्डौ, निंगलाशैनी मन्दिर आदि स्थानमा देखिने प्राकृतिक सौन्दर्यलाई अवलोकन गर्दै शाहीलेकमा गाडीबाट ओर्लेर केही हिडेपछि बैतडी खलङ्गा पुग्नु रात बिताए पछि भोलिपल्ट टुडिखेलबाट शहीद दशरथ चन्दको जन्मथलो, त्रिपुरासुन्दरी मन्दिर, देवकी प्रथाको उद्गमस्थल मनौली मन्दिर, महाकाली नदी, झुलाघाट,पारिका भारतीय स्थानहरू उत्तरमा अवस्थित जगन्नाथ मन्दिर आदि धेरै गाउँको बारेमा शिक्षकबाट जानकारी प्राप्त गर्नु,गोठालापानी बजार, झुलाघाट गएर वारि (नेपाल)पारि (भारतकको बजार र हनुमान मन्दिर)को अवलोकन पछि डडेलधुरा फर्कनु र डडेलधुराबाट डोटी जान गाडी चढी, सल्लाघारी, मष्टमाण्डौ, सकायल, कोरालखोला, लोहारखाडी, सेती प्राविधिक शिक्षालय हुँदै दिपायल पुग्नु, दिपायलबाट सिलगढी पुग्नु निर्वाचन आयोगले तोकेको काम गर्नु, शैलेश्वरी मन्दिरको दर्शन गर्नु र धनगढी हुँदै काठमाडौ फर्किए पछि यो यात्र समाप्त हुन्छ । यस लेखमा नियात्राकारले ती जिल्लाहरूको भूगोलको मात्र वर्णन गरेका छैनन् । नियात्राकारले प्राकृतिक सम्पदा, जिल्लाको सीमाना, सामाजिक स्थिति, धनी गरिबको बीचको विभेद, दलित र बाहुन बीचको विभेद, धार्मिक महत्त्व, नेपालमा चल्ने यातातका दयनीय अवस्था, गौरापर्व, तीजमा गरिबीले निम्त्याउने विवशता, सडक नाटको महत्त्व, देवकी उद्गम स्थल, दार्चुला र बझाङ जाने मार्गको विभाजन स्थानको जानकारी, नेतृत्ववर्गको कमी कमजोडी, द्रव्यपिचासीको कारणले कामप्रति प्रतिबद्ध कर्मचारीलाई दुख दिँदा निजामती सेवा कलङ्कित हुन पुगेको धारण बीच बीचमा गीत कविता देखि थुप्रै दार्शनिक अभिव्यक्तिले भरिएको छ यो यात्र लेख । यहाँ लेखिएका केही पङ्क्तिहरू यहाँ समावेश गर्न मन लाग्यो–

¨ आवरण हेरेर मान्छेहरू औकात अन्दाज गर्छन् (पृष्ठ ३८) ।

¨ मुक भाषाको सम्वाद बुझ्नेले बुझेपछि सयौ शब्दको व्याख्याभन्दा जोडदार हुन्छ ।
¨ मान्छेले मान्छेलाई माया गर्दैन (पृष्ठ ४०) ।

¨ दयाहीनताभन्दा अर्को कुनै कुरूपता हुँदैन (पृष्ठ ४०) ।

¨ आकाश अँध्यारो भए धर्ती कहाँ उज्यालिन्छ र !

मुक्तिनातको यात्रा
वि.सं. २०५५ भाद्र महिनाको अन्तिम साता आमाबुबालाई धार्मिक उद्देश्यको लागि गरिएको यात्रा हो । यो यात्रा जन्मथलोबाट थालनी भै कुश्मा, वेनी, मुस्ताङ (मुक्तिनाथ हुँदै पुन जन्मथलो फर्केर आठौं दिनमा समाप्त हुन्छ ।

यस लेखमा नियात्राकारले ग्यादीको फाट, मोदी खोला तरेर कुश्मा, मालढु्गा, कालीको किनारै किनार म्याग्दी(वेनी) बजार, गलेश्वर, घाँस लेते टुक्चे, जोमसोम कागवेनी र मुक्तिनाथको बारेमा नियात्राकारले विविध पक्षमा प्रकाश पारेका छन् । बेनी बजार साँघुरो भए पनि निकै चहलपहल भएको बजार । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी हिमाल र गुर्जा गाविसमा पर्ने गुर्जा हिमाल, नियात्राकारले जागिरे जीवनमा नजिकबाट हेरेका छन् र आफ्नो आत्मलाप पनि यहाँ समावेश गरेका छन् –‘तिम्रो आँसु बन्यो कि भेल, म्याग्दी खोला बढ्दैछ सालसाल । ’ गीत मार्मिक छ । यसरी नै गुर्जा गाविस जाँदा लुलाङ माथिको जङ्गलमा परेको पानीले् दिएको कष्टदायी विवरण, गुर्जामा छन्त्यालहरूको बसोबास, बृद्धबृद्धालाई भत्ता वितरण गर्न जाँदा माओवादीले पैसा र भर्पाइ मागेर उनीहरूले नै वितरण गर्ने माग नियात्राकारको अडान र भत्ता वितरण गरेर फर्कदा लुलाङका कामण्डरले जनाएको आपत्ति, झोला हेर्न खोज्दा ‘ देश सधैं रुने छैन’भन्ने कवितासङ्ग्रह कमाण्डरलाई देखाउनु, कमाण्डरले ‘लुतोफाल्ने तयारी’, ‘म अलि हतारमा छु’ र ‘हाँस्दै हाँस्दै गजल पढ्नु’, जस्ता रचना पढ्दै हुँदैन व्यवहारमा उतार्नु पर्छ भनेर छाडिदिनु आदि आफ्ना जागिरे जीवनका अनुभूतिहरू, वमपड्केर ज्यामी मरेको घटना, वेनीले साहित्यमा वामेसर्न सिकाएको धारणा, गलेश्वर, घुमाउने ताल, बैसेरी, बेगखोला, पितप्ल्याङ, महभिर, पोखरेबगर, घारखोला, भुरुङ, तातो पानी बजार,दानाको अन्धगल्छी, घाँस, लेते, कोखे ठाँटी, बोक्सीखोला,कोवाङ, टुकुचे (भूपि शेरचनको जन्म थतलो), मार्फा, जोमसोम, कागवेनी (मुक्तिनाथबाट झरेको कालीगण्डकी र दामोदर कुण्डबाट आएको काग खोलाको सङ्गमस्थल), झारकोट, रानीपौवा र मुक्तिनाथ मन्दिर (३ हजार सात सय मीटरभन्दा अग्लाइमा अवस्थित)सम्म पुग्दाका प्राकृतिक दृश्य, भौगोकि विकटता, सामाजिक अवस्था, कृषिव्यवसाय (खासगरी स्याउ, फापर आदिको विवरण) पर्यटकको उपस्थिति, वायुको गति आदिको वर्णनले यात्रालाई प्रष्ट्याउने प्रयास भएको छ । मुक्तिनाथ मन्दिर (नारयणको मूर्ति) को दर्शन, ज्वालामाई मन्दिरमा ज्वालामाईको दर्शन, १०८ धारामा स्नान सकि मुक्ति तीर्थ भनिने कुण्डमा स्नान गरेर नरसिंहको मन्दिरको दर्शन, मनाङ छिर्ने थोराङ्पास हेर्ने चाहना हुँदाहुँदै पनि नभ्याएको र यहाँबाट फिर्ता भएको विवरण सहित थुप्रै भौगोलिक जानकारी दिने प्रयास भएको छ । कागवेनीमा टोका जातिमा बहुपति प्रथाको चलन र मुक्तिनाथका मन्दिरमा झुमा पूजारिरहने चलन आदि जानकारीको साथै रिजालजीले गीत र कविताको समावेश गरेर नियात्रालाई अति रसिलो बनाएका छन् ।

काठमाण्डौदेखि सन्धिखर्कसम्म
वि.सं. २०६८ साल जेठ महिनाको दोस्रो साता तौलीहवा र सन्धिखर्क सरकारी कामको लागि जाने उद्देश्य अनुरूप यो यात्राको थालनी गरिएको थियो । यस नियात्रामा नियात्राकारले नेपाल बन्द कार्यक्रमले देशमा ल्याएको असहजतालाई प्रष्टरूपमा राखेका छन् । पार्टी वा गुटका नामले नेपालमा अत्यचार गर्नेहरू हावी भएका र असङ्गठित निर्धा जनता माथि मनोमानी भएको साथै मानव अधित्रकारको रूपमा प्राप्त स्वास्थ, शिक्षा, सुरक्षा र आवत जावतमा पनि बन्दको बिगबिगी भएको भन्दै एउटा मार्मिक कविता पनि प्रस्तुत गर्नुभएको छ । यस कवितामा बन्दको मार गरिबहरूमा परेको र यस्तो बन्दले पार्टीको नियम समेत पालन भएको छैन भन्ने नियात्राकारको ठहर छ । सहरमा देखिएको फोहोरहरूको सम्बन्ध र बाग्मतीलाई सफा राख्नको लागि विभिन्न तर्कहरू पनि यहाँ प्रस्तुत गरिएको छ । गाडीको असहजता, घुस खाने प्रवृति, तौलिहवामा पुगेपछि लुम्बिनीमा बुद्धको अस्थिधातु रहेको विश्व शान्ति स्तुपा, मायादेवी मन्दिर, मन्दिरभित्र ध्यानमग्न बौद्ध धर्मालम्बीहरू, मन्दिरको बीचोबीच बुद्ध जन्मेको शीला, अशोक स्तम्भ, मायादेवीले नुहाएको पोखरी ‘पुस्करनी’,गौतमी भिक्षुणी बिहार तथा जापान, कोरिया,चीनले बनाएका बिहार, जलाशय आदिको अवलोकन गरेर, प्रमुखजिल्ला अधिकारीलाई भेटेर, जितपुरको गाडी चढेर, गोरुसिङ्गे पुगेर,सन्धिखर्क पुग्ने गाढी चढेर सुपादेउराली हुँदै्र सन्धिखर्क पुगेको वर्णन गरिएको छ । अर्घा र खाँची राज्यबीच सन्धि भएको स्थान सन्धिखर्क । यहाँको रातोमाटो र चारैतिरका सुन्दर डाँडाहरू, चुत्रावेंसी आदिको मिठो वर्णन गर्दै सन्धिखर्कको काम सकेर फर्कँदा बसमा बसेकी सहयात्रीको काँचो चाउचाउको बेजोड स्वादको ग्रहण गरेको कल्पना सहित नियात्रा समाप्त हुन्छ ।

जुम्ला पुगेर फर्कदा जुम्लामा विद्युतीय नमुना मतदान कसरी गर्ने भन्ने मतदातालाई शिक्षा दिने उद्देश्य अनुरूप यो यात्रा कार्यक्रम तय गरिएको थियो । जुम्ला जाने जहाज जान नसकेपछि रिजालजीले आफ्ना विगतलाई सम्झन थाल्नुहुन्छ ।वि.सं २०६१ सालमा नेपालगञ्ज टेकेको, नेपाल गञ्जबाट रूपेडिया,–कानपुर–टनकपुर हुँदै वनबासाबाट महेन्द्र नगर छिरिएको र टनकपुरमा भारतमा रोजगारीको लागि जान लागेका नेपालीलाई देख्नु, वनबासामा चियापसलमा प्रेसरकुकर पड्केर चियापसले खरानी भएर लडेको देखेर रिजालले वि.सं. २०६० साल चैत्र ७ गतेको वेनिको लडार्इँको स्मरण गर्दछन् । रातभर दोहोरो गोली हानाहान, त्यसबाट भएको धनजनको क्षती साथै प्रमुखजिल्ला अधिकारीले गरेको आत्म समर्पण, डिएस्पी समातिएको आदि अतिकारणिक यथार्थतालाई पस्केका छन् । भोलिपल्ट जहाजबाट जुम्ला जाँदा देखिएका प्राकृतिक सौन्दर्यलाइरहरलाग्दो रूपमा प्रस्तुत गरिएको छ । जुम्लाबाट देखिने काञ्जीरोबा हिमाल, चिमरा मालिका, डाँफेलेक, छिनालेकको सौन्दर्यलाई नजिकैबाट देखेजस्तो अनुभूति हुनु, भोलिपल्ट चन्दननाथको मन्दिरको दर्शन, प्राविधिक शिक्षालयको अवलोकन, जलाशयबाट विजुली निकालेर जुम्ला बजारमा वितरण गरिएको, मतदाता शिक्षाको लागि खन्ना गाउँ हुँदै सिफालमा पुग्नु, सिफालमा ‘आजसम्म भोट दिएर के पाइयो ’भन्ने एक बृद्धको प्रश्न सुन्नु परेको, स्याउका बगैंचाको अवलोकन, विद्युतीयगर्दा मतदान उपकरण देखाउँदा पुरुषमात्र सहभागी भएका र महिलालाई आउने अनुरोध गर्दा ‘हामीलाई पानी समस्या छ ’ जवाफ आउनु, गैरागाउँ निमाविमा नमुना मतदान गराएर र्फेको धारणा पस्किएको छ नियात्रामा । उत्तरतिरको डाँडामा बनाइने स्तुपाको उद्घाटन गर्न बौद्ध गुरु शेछेन आएको र गुरुको स्वागतमा जुम्ला जुटेको धारणा पनि समावेश गरिएको छ । यस लेखमा ‘धर्मलाई टेकेर माथि पुगेकाहरू कर्ममा विश्वास गर्लान् र खै, साथै अरूले दिएको उपदेशले मुक्ति मिल्दैन भन्ने मान्यता सबैको कहाँ हुन्छ ? जस्ता दार्शनिक अभिव्यक्ति र नेपालमा सबभन्दा अग्लो स्थानामा धानबाली लगाइने ठाउँ छुुमचौर जिउलो हो भन्ने जानकारी दिन लेखक पछिपरेका छैनन् ।

बैंककदेखि टोकियोसम्म
वि.सं. २०६६ भाद्र २० गते जापान र थाइल्याण्डको अध्ययन भ्रमणको उद्देश्य अनुरूप गरिएको यात्राका आधारमा लेखिएको लेख हो यो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती सहित ११ जनाको टोलीको सहभागिता रहेको स्वर्णभूमि वैंकक झल्झलाकार र रमणिय देखिएको र जहाज सैंतीस हजार फिटमा उडेको, बिजुलीले सिङ्गारिएका टापुहरू देख्न पाइएको, प्लेनमा चिसे बढेको, जापानी भाषाका केही शब्दावलीको अध्ययन गरेको, थाइ एएर होस्टेस हेर्दा सुन्दर, मोटाघाटा, अग्ला कदका, बोलीमा मिठास, फ्राई राइस माग्दा अम्लेट लगायतका सामानहरू आएको र खाँदा असहज भएको, सूर्योदयको देश जापानलाई स्थानीय समय अनुसार विहानको पाँच बजे जहाज प्रवेश गरेको, समुद्रलाइरहस्यमय कृषिभूमिको भएको अनुभूति हुनु गएका, पानी जहाज लगायत समुद्री टापुहरू देखिएको, जापानको अन्तर्राष्ट्रिय विमानस्थलमा यासिमुरा लिन आउनु, सेन्झुकु पुग्न डेडघण्टा लाग्ने जानकारी दिनु, पैंयूजस्तो लाग्ने साकुरा जापनी फूलदेखिनु, एक सिजनमा जङ्गलै फूलै फूलको देखिने जानकारी पाउनु, चक्काजाम नभएको, मानिसको भीडभाड नभएको ट्राफिक नियमको पूर्ण पालना, सडक एकतर्फी र तीनचार लेनका, बिजुली बत्ती र स्वचालित तगराहरूले ट्राफिक नियन्त्रण गरिरहेका, यी सबै व्यवस्थापनलाई देख्दा ‘स–सानाजस्ता लाग्ने कुराहरू व्यवस्थित गरेर नै ठूल्ठूला पद्धतिको विकास गर्न सकिन्छ’ भन्ने अनुभूति भएको, भनी जापानी काइजेन पद्धतिको बारेमा मनमा कुरा खेल्नु, नेपालमा स्वय म सेवी भई खटिइरहेका कियोसी बाबालाई सम्झनु र नियम सबैको लागि हो भन्ने उच्चपदस्थ अधिकृतलाई पाठ सिकाएको घटनालाई समावेश गर्नु, सेन्झुकुको होटेल वासिङ्गटनको ८१३८४ नम्बरको कोठामा बस्नको लागि प्राप्त भएको र कोठा साँगुरो भए पनि राम्रो व्यवस्थापनले सजिसजाऊ भएको धारणाको साथै रिजालजी कल्पनाकमा डुब्दै जापानका उच्चपदस्थ पदाधिकारीहरू, एनएचके प्रसारण केन्द्र, पर्यटकीय क्षेत्र हाकोने, समुद्री किनारको गाउँ मनाजुरू, फूजी माउन्टेनको साथै नेपालका घरपरिवार आफन्त साथीभाइको याद आए पछि मुटुभित्र चसक्क हुँदै –‘‘म अहिले जापानमा छु । मैले सम्पन्न मुलुकका अनुकरणीय पक्षलाई सिकेर औकात अनुसार व्यवहारमा लागु गर्नु छ ।’’ भन्दै त्यतिवेलासम्म देखेका जापानी, प्रविधि, लगनशीलता र विकासलाई आरिगातो गोजाइमास्ता भन्दै यो लेखको बिट मारिएको छ ।

आँसुले भिजेका पाइलाहरू
यस कृतिको सबैभन्दा लामो लेख हो यो । यो लेख आफ्नै परिवारमा घटेका घटनामा आधारि।त छ र अति मार्मिक पनि छ । मानव जीवनमा अनेक दुःख कष्ट भोग्न पर्ने यथार्थता रिजालले यस लेखबाट प्रष्ट पारेका छन् । एकतिर परिवारको असक्त अवस्थामा अपरेशन गर्न परेको र अर्कोतिर असी वर्ष पार गरेका बुबा पनि विमारी अवस्थामा रहेको । सानी छोरीलाई साथमा लिएर रक्तसंचार केन्द्य्रमा गएर रगत ल्याउन परेको रगतको लागि धेरै नै पटक दुकुर्न परेको र आमा विमारी भएको नादान बच्चालाई के थाहा ? बच्चा आमातिरै तन्कँदा झनै मर्माहत बनाउँछ रिजाललाई । मरणासन्न अवस्थाकी पत्नीले अपरेशनमा लिएर जाने अवस्थामा पानी माग्नु र थोरै पानीले मुख रसाउने पार्नु ‘के मेरो पेटको बच्चा त ठिक छ ?’ भनी सोधनी गर्दा रिजालले भूmटो बोल्न परेको अवस्था, अप्रेशन सफल भन्ने जानकारी दिने डा. सरोजालाई धन्यवाद दिनु र मुटु भरिएर आउँदा आवाज निशब्द बनेको अनुभूति हुनु, अपरेशनपछि राधा उत्तानो परेर सुतेको, नाकबाट अक्सिजन, हातहरूबाट रगत र स्लाइन दिइएको र अनुहार बेसार दलेजस्तो अवस्थालाई हेर्न नसकेको र बेञ्चमा सुतेकी छोरीलाई अवलोकन गर्नु र रुन मन लाग्नु, बच्चालाई आँसु देखाउँदा बच्चालाई रुवाउनुमात्र हुनु र कलिला मस्तिष्कलाई आँसुले द्रविभूत बनाउन हुँदैन भन्ने धारणा पलाउनुजस्ता अति दर्दनाक पीडालाई ग्रहण गर्न परेको अवस्थाको वर्णनले पत्थरको दिल भएकाको पनि दिल पग्लन्छ र आँसु झर्न थाल्छ । रिजालले जीवनका घटनाक्रमलाई दर्शाउने क्रममा लडाइसकेपछिको रुखलाई गिँड पार्दा गिँडले लतारेको र गिँड अर्को रुखमा अल्झेर बाँच्नु, अर्को घटना क्रममा कृषि विकास बैंकका भेषराज रिजाल प्युठान जाँदै गर्दा गाडी पल्टी नदीमा खसेर मरेको घटनामा कृतिकार भेषराज नै मरेको ठानी आमाको फोन आउनु र मरेको छैन भनी आश्वस्त पार्न कठीन भएको, अन्तिम अवस्थातिर खुट्टा कुजिएर बितेकी हजुर आमा स्वर्गारोहण हुँदा आँखामा आँसु निकाल्नु र अवाक हुनु, बाबु रुँदा डाँको छाडेर रुनु र आँसुले आँसु तान्छ भनेको साँचो रहेछ भन्ने मान्नु, हजुरआमाको मलामी जानु, खोकिरहेका बुढाबूढी देख्दा बूढी हजुरआमाको याद आउनु, नून तेलका भारी बोकेर आँधीखोलाको तिरैतिर हिँडेको यौवन अवस्था सम्झनु,आमालाई सर्पले टोकेर बोकेर एकडेडघन्टा हिढेको सम्झना, गरिबका दर्दहरूमा भलिभाँती परिचय भएको, र गरिबको पक्षमा उभिन मन लाग्ने, ठग र कामचोरहरूलाई शत्रु ठान्ने, धेरै घातीलाई चिनेको र घातीलाई लक्षित गरी कविता पनि लेखेको, घरपायकमा जागिर खानेहरू धर्तीका धेरै सुखी प्राणी भन्ने लाग्ने, बनबढेमा प्राइभेट बि.कम. पढेको र ज्वरोले उठ्नै्र नसक्ने अवस्थामा दिवाकर भन्ने साथीले सहयोग गरेको, महावीर सरको विकासका कामहरू,आदि थुप्रै यथार्थता रिजालजीले पस्कनु भएको छ । जीवनवादी सोचमा अडिग रिजालजीले जीवनलाई एउटा उत्साह र जीवन आदर्शले चलाइरहेको ठान्नुहुन्छ कविता मार्फत भन्नुहुन्छ –

चल्दाचल्दै ठप्प भए उर्जाका मियाहरू्
खुसी दली फालिदिन्छु जिन्दगीका खियाहरू ।
चस्सचस्स बिझे पनि सम्झनाका सियाहरू
आँसु थपी बालिदिन्छु जिन्दगीका दियाहरू ।

रिजालजीले जीवनका भोगाइलाई अनेक दृष्टिकोणबाट पस्कने प्रयास गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ –‘‘मेरा चोट,पीडा, आँसु, पसिना र रगतहरूको कुनै लेखा जोखा नै छैन ।’’

यात्रामा थकाइलाग्नु स्वभाविक हो तर रिजालजीले विश्राम नचाहने, विमुख फर्कन नचाहने, शिखर चुम्न चाहने र शिखरको यात्रालाई भोक,प्यास र विश्रामसँग सम्झौता नगर्ने, खाल्टा –खोबिल्टा र डोबहरूमा हिँड्दा पाइला नखिइने चोटले नमोडिने,आवाजले नतर्सिने धारणा राख्दै लेख्नुहुन्छ –‘‘मेरो यात्रा अनन्त छ । मेरो यात्रा अनवरत छ ।’’

रिजालका गहन भावनालई सारगतरूपमा मैले मथि पस्केको छु । राष्ट्रप्रतिको उच्च आदरताको साथमा पस्केका भावनाहरू अनुकरणीय र मनन् योग्य देखिन्छन् । राष्ट्र निर्माणमा राष्ट्र सेवकको गहन भूमिका हुन्छ । स्वार्थ र कामचोरबाट न देशनै माथि उठ्छ न जनताले राहतको अनुभूति गर्न सक्छन् । अनुशासन, इमान्दारी र कर्तव्यनिष्ठताले नै राष्ट्रको विकास गर्न सकिन्छ र समाजको सेवा गर्न सकिन्छ तर यसैको अभावले गर्दा नै आज देशको उत्थान हुन सकेको छैन, भ्रष्टचार देशको ठूलो शत्रु हो ।रिजालले भ्रष्टचारमुक्त देशको चाहना राख्छन् । यी कामहरू नेतृत्ववर्गबाटै थालनी हुनु पर्ने ठहर छ रिजालको । हुन पनि हो । मूल नै धमिलियो भने सफा पानीको उपलब्धि कसरी सम्भव हुन्छ र । गरिबको दुःखपीडाप्रति पनि रिजालका धाराणा प्रवलरूपमा उठेका छन् । चाकडीचाप्लुसी छाडेर समयको सदुपयोगबाट सिर्जनाका काम गर्न सकिने धारणा आएका छन् ।

भाषाशैली –लेखनशैलीमा सरलता, भावना प्रवाहमा प्रवलता, ठाउँ ठाउँमा उखानटुक्का र कविताको समावेशले गर्दा नियात्रालाई मीठो बनाएको छ र नियात्राकारको कवित्व शक्तिलाई प्रदर्शित गरेको छ । समसामयिक र यथार्थपरक प्रस्तुतिले गर्दा घटनाक्रमलाई टपक्कै टिपेको छ । उद्देश्य अनुरूपको वर्णन गर्दै जाँदा कृतिकारले आफ्नो जीवन घटनाक्रम खास गरेर बालक कालको स्मृति विम्बको प्रस्तुतिले गर्दा कृतिलाई धेरै माथि उठाएको छ । ऐतिहासिक, धार्मिक, सामिाजिक, आर्थिक, प्राकृतिक सौन्दर्यलाई सवलरूपमा उठाइएका छन् र नेपालले भोग्न परेको द्वन्द्वलाई खास गरेर म्याग्दिको दोहोरो भिडन्तको बीभत्स दृश्यको सजीव प्रस्तुतिले सबैको मन छुन्छ । त्यसो हुँदा यात्रा निबन्ध लेखनमा रिजालले देखाएको क्षमतालाई मूल्याङ्कनको रूपमा हेर्दा एउटा प्रभावशाली लेखकको रूपमा उनी उभिन सफल देखिन्छन् ।

परिवेश – यो कृति नेपालका विभिन्न जिल्ला जस्तै दैलेख, सुदुर पश्चिम (कैलाली, डडेलधुरा, बैतडी, डोटी, जुम्ला, काठमाडौ, अर्घाखाँची, मुक्तिनाथ, जिल्ला भित्रका रमणिय धार्मिक पर्यटकीय स्थल आदिको स्वदेशी र बैंककदेखि जापानसम्म वैदेशिक परिवेशमा लेखिएको छ ।

शीर्षकीकरण– यस कृतिको शीर्षक मेरा पाइलाहरू राखिएको पनि सार्थक देखिन्छ । यी पाइलाहरू जहाँ पुगेका छन्, त्यहाँको यथार्थतालाई समेटेका छन् । अग्रगामी समाजको चाहना राखेका छन् । नियात्राकारको यात्रा अनन्त र अनवरत छ साथै उनका पाइला चलेकोचलेकै छन्, त्यसो हुँदा शीर्षक सार्थक छ ।

अतः रिजालले नियात्रामा उल्लेख गरेका धारणाहरू यथार्थ छन् र महत्वपूर्ण पनि । उनको लेखन बौद्धिधकता दृढ देखिन्छ । यस्ता नियात्राकारको कलम सधैं सवल बन्दै जावस् । नेपाली साहित्यमा रिजालका कृतिहरूले अग्रस्थान ओगट्न सकुन् भन्ने सुभकामना सहित बिदा हुन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७४, कार्तिक २९,
कावासोती न.पा. वडा नं ७, शानितचोक, नवलपुर

1 thought on “मेरा पाइलाहरू (यात्रा अनुभूतिका पाइलाहरू) एक अध्ययन”

  1. हार्दिक आभार
    मेरो पहिलो नियात्रा सङ्ग्रह ‘मेरा पाइलाहरु’ को आद्योपान्त चिरफार गरी विश्लेषणात्मक समीक्षा लेखिदिनुभएकोमा आदरणीय अग्रज साहित्यकार सदानन्दज्यूप्रति आभारी छु ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *