Skip to content

छायाँ बेच्ने सामन्तको विम्ब


धेरै साल अगाडि यो कथा मैले ‘आफन्तीका कथाहरु’ नामक धारावाहिक शृङ्खलामा पढेको थिएँ । त्यतिखेर विमोचन नामको मासिक पत्रिकाले आफन्तीका कथाहरू छाप्ने गर्थ्यो । त्यसको केही समय पछि त्यही कथा चिनियाँ साहित्यको कथा भनेर छापिएको पाएँ । यो कथा जुनस्रोतबाट नेपालीमा आएको भएपनि कथाको कथ्य र यसले प्रवाहित गर्ने भाव वा सन्देश निकै मार्मिक छ । यस कथाले दिने शिक्षा निकै शक्तिशाली छ ।

कथाले भन्छ, कुनै गाउँमा एउटा धनी सामन्त थियो । उसको घर अगाडि मानिस हिँड्ने ठूलो मूलबाटो थियो । त्यस मूलबाटोबाट परदेशीहरू दिनै परदेशतिर लाग्थे । बाटाको छेवैमा ठूलो पिपलको गाछी थियो । प्रचण्ड गर्मीमा बटुवाहरू पिपलको छाहारीमुनि सितल ताप्थे । आफ्नो घर अगाडिको पिपलको सियाँलमा बटुवाहरू बसेको त्यस धनी मानिसलाई मन पर्दैनथ्यो । उसको मनमा अह म जाग्यो –“मेरो घर अगाडिको पिपलमा नाथूहरू सितल ताप्ने ! अब म यी जैरेखैरेहरुलाई पिपलको चौतारीमा बस्न दिन्नँ ।”

नभन्दै चर्कने घाम लागेपछि ऊ लौरो लिएर पिपलको फेदमा बस्न थाल्यो । जो आएर त्यहाँ बस्न खोज्थ्यो । ऊ लाठो उठाएर खेदिहाल्थ्यो । मेरो पिपलमुनि तिमीहरू सित्तैमा सियाल ताप्ने ? अब देखि हुँदैन । गाली गर्दै मानिसहरू टिप्पा खेलाउथ्यो । ऊ स्वभावले असाध्यै ईष्र्यालु र लोभी थियो । ईष्यालु नभएको भए नाथे पिपलको छायाँमुनि बस्ता उसको के नै जान्थ्यो र ?

एकदिनको कुरा हो, एउटा सधैँ जसो त्यस बाटोबाट यात्रा गर्ने बटुवा आयो । चर्को घाम लागिरहेको थियो । ऊ असिन पसिन भएर आएको थियो । एकछिन सितलमा बस्नुपर्यो भनेर चौतारीमा ट्यास्स बस्यो ।

“मेरो घर अगाडिको पिपलमा सितल ताप्न मनाही छ, हिँडिहाल यहाँबाट ।” धनीको कुरा सुनेपछि बटुवाले भन्यो –“सित्तैमा पो बस्न नदिने होला त ? छायाँको पैसा तिरेपछि त बस्न पाइन्छ होला नि ?”

धनी मानिसको मनमा पैशाप्रति लोभ जागिहाल्यो ।

“पाइन्छ । पाइन्छ । मूल्य तिरेपछि त सितलमा बस्न पाइहालिन्छ नि ।”

छाहारीमा बसेको कति पैशा लिने त भन्ने विषयमा मोलमोलाई सुरु भयो । बटुवाले धनी सामन्तसित छायाँको एकमुस्ट मूल्य दिने प्रस्ताव राख्यो । पिपलको छाँया सधैँको लागि आफूले किन्ने कुरा राखेपछि कञ्जुस सामन्तलाई लाग्यो, नाथे बाटाको पिपलको छाँया बेच्ता त्यति धेरै पैशा आउँछ भने किन नबेच्ने ? तुरुन्तै छाँया बेच्न हतारियो । बटुवासित मोटो रकम लिएर सधैँको निम्ति छाँया बेच्यो । बटुवापनि बाठो थियो । उसले छाँया किनेर कागजपत्र गर्ने बेलामा पिपलको छाँया जताजता सर्दै जान्छ त्यतात्यताको जमिनमा बस्न पाउनुपर्ने, छाँया मुनि मनलाग्दो मनोरञ्जन गर्न पाउनुपर्ने गरी कागज गरायो । पैशाको लोभले एकसुरे बनेको सामन्तले हुन्छ भनेर कागज गर्यो । उसले पनि पिपलको छाँयाको एकमुस्ट मूल्य चुक्ता गरिदियो । अब पिपलको छाँया माथिको हक बटुवामा सरेको थियो ।

अर्को दिनबाट रुखमुनिको छाँयामा त्यो बटुवा बस्न थाल्यो । दिन ढल्दै जाँदा छाँया पनि साविक स्थानबाट सर्दै जान्छ । रुखको छाँया जताजता सर्दै जान्थ्यो ऊ पनि साथीसङ्गीको जमात लिएर त्यतैत्यतै सर्दै जान्थ्यो । छाँया सरेर धनीको आँगनमा पुग्थ्यो, बटुवा साथीलाई लिएर आँगनमै गुन्द्री विच्छ्याएर अड्डा जमाउँथ्यो । गफमात्रै होइन मादल ठटाएर गानाबजाना पनि चलाउँथ्यो । छाँया सर्दै घरको बार्दलीमा पुग्थ्यो । छाँया किन्ने बटुवा आफ्ना मित्रमण्डलीलाई लिएर बार्तलीमै चढ्थ्यो । यो दृश्यले धनी सामन्त खुब मुर्मुरियो । तर भित्र मुर्मुरिएपनि बाहिर एकशब्द निकाल्ने ठाउँ थिएन । कारण ऊ पैशाको लोभमा परेर बाटाको रुखको छाँया पनि बेचेको थियो । दिनै घर आँगन, सिकुवा र बार्दलीमा बटुवाले कब्जा गरी चर्तिकला मच्चाएपछि ऊ पैशा फिर्ता गरेर, रुखमुनि सित्तै बस्न दिन बाध्य भयो । यसरी लोभी सामन्तको दम्भ र लालची स्वभावलाई बुद्धिमान बटुवाले जुक्तिबाट ठिक ठाउँमा ल्याएको थियो ।

आफन्तीको कथाको लोभी सामन्तका विम्बहरू अँझपनि हाम्रो गाउँघरमा बग्रेल्ती रुपमा छरिएका छन् । उनीहरू अरुको धन, बस्तु र पैशामाथि कति लालची हुन्छन् ? र ती चिजलाई आफ्नो अधिनमा पार्न कतिसम्म तिग्डम र निच हर्कत गर्छन् भन्ने कुराका किस्साहरू प्रत्येक्षरुपमा देख्न, सुन्न र अवलोकन गर्न सकिन्छ । विकल बाजेका लाहुरी भैँसीहरू आफ्नो गोठमा अकारण बाँध्न लैजाने द्वारेबाहरुको व्याप्ति अँझ पनि गाउँगाउँमा पाइन्छ । हजारौँ लुखुरेहरुलाई अँझै पनि सामन्तका षठयन्त्रका लिखाहरुले टोकिरहेका छन् । लाखौँ घैँटीहरू दूधमोही होइन, पानीविहीन भएर रगतका आँशु झारिरहेका छन् ।

गाउँका सामन्तले कुनै गरिबको घरमा बाँधिएको बोका, खसी, गाई, गोरु, भैँसी माथि राल काढ्नु त स्वभाविकै हो । गरिबकिसानको नामनामासीमा रहेको थोरै पाखो रेखो, खेतवारीमाथि गिद्देदृष्टि लाउनु र त्यसलाई आफ्नो अधिनमा पार्न षडयन्त्रको तनावाना बुन्नु कुनै नौलो कुरा होइन । यो त सनातनकाल देखि चलिआएको सनातन रीतै छ । तर अहिलेको समयमा पनि कागतिको बोटलाई बण्डा लाउने गाउँको एउटा सामन्तको कथा सुन्न पाएको छु । मेरो घरदेखि झण्डै पाँचकोश टाढाको गाउँका एक सामन्तले त्यही गाउँको एक गरिब दमाईको घुर्यानको कागतिको बोटलाई अँधिया लगाएको कुराले चकित बनेको छु ।

कुरा कुनै सालको जेठमहिनाको हो, दमाई जेठो मुखिया बाको मकै गोड्दै थियो । जेठको घाममा तरतरी पसिना झारेर मकैबारी गोड्दा गोड्दै झारको बीचमा एउटा सानो कागतिको विरुवा उम्रिएको देख्यो । उसले त्यो विरुवालाई जतनसाथ उखेल्यो । खन्ने काम सकिएपछि बेलुका मुखियासित अनुमति माग्यो, “हजुर मकै खन्दा कागतिको विरुवा भेटेँ, घुर्यानमा लगेर रोप्नु पर्यो ।”

मुखियाले भन्यो, “रोप ! रोप ! पछि फल्न थालेपछि आधी कागति ल्याइदिनु, राम्रोसित हुर्का ।”

ऊ कागतिको विरुवा लिएर घर आयो । मलिलो घुर्याँनमा रोप्यो । पानी हाल्यो, बारबेर गर्यो । केहीवर्षपछि कागतिको बोटले फल दिन थाल्यो । दमाई जेठाले सोचेको थियो, नाथे कागतिको कुरा मुखियाले बिर्सिसके होलान, तर एकदिन गाउँ डुल्ने क्रममा मुखिया अकस्मात उसको आँगनमा आइपुगे । आँगन छेउको कोठेबारीमा कागति पाकेर पँहेलपुर थियो । मुखियाले कागतिको बोटमा नजर गाड्दै भन्यो, “कागति टिपेर खाइस् कि क्या हो जेठा ?” दमाई जेठो लक्पकियो, “छैन छैन, मालिक एकदानो पनि टिपेको छैन………” मुखियाले हुङ्कार छोड्यो, “भोलि मुखिनी कागति बाँड्न आउँछे, टिपेर आधा आधा बाँडेपछि मात्र आफ्नो भागको खानू ।”

हुन्छ हजुर भन्दै जेठाले हात जोड्यो ।

त्यसपछिका प्रत्येक साल कागति पाकेपछि मुखियाले आफ्नो आधी भाग लगेपछि मात्र उसले कागतिको बोट छुन पाउँछ । आफ्नै माटोमा आफ्नै करेसाबारीमा कागति फलेको छ, उसका छोराछोरीहरू घुटुक्घुटुक् थुक निल्छन् र पनि खान मन लागेको बेला टिपेर एकदानो खान पाउँदैनन् । सामन्ती शोषण र सामन्ती प्रथाका यस्ता नूतन पूरातन विम्बहरू गाउँले जीवनका अतल गहिराइमा प्रशस्त छरिएर बसेका छन् । हुनेले नहुनेलाई बटिया खेत कमाउन दिएको, बटिया बाख्रा पाल्न दिएको, बटिया भैँसी पाल्न दिएको कुरा त देखिएकै हो, तर अर्काको जमिनमा फलेको कागतिमा पनि आफ्नो जिम्दारी कायम गर्ने सामन्त भनेको प्राचीन चिनियाँ समाजको छाँया बेच्ने सामन्तकै असली सन्तान ठानेको छु । समाजको अन्तगर्भमा रहेका सामन्ती शोषणका यस्ता अवशेषहरू अँझै कति लुकिबसेका होलान्, तिनलाई खोज्न, पर्गेल्न र बाहिर ल्याउन आतुर छु।

समाप्त

२०६७/०६/१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *