Skip to content

जिन्दगी कस्तो


हिसाब नमिलेको अल्जेब्रा जस्तो
बाटो बिराएको चखेवा जस्तो
कतै सबथोक भएजस्तो
कतै केही पनि नभए जस्तो
यो जिन्दगी कस्तो कस्तो ।

सागरमा खसेको तारा जस्तो
नदीले छाडेको किनारा जस्तो
केही देखेजस्तो
केही देख्दै नदेखेजस्तो
यो जिन्दगी कस्तो कस्तो ।

आमाको न्यानो काख जस्तो
प्रियाले बिदाइ गरेको लास जस्तो
कतै सन्नाटै सन्नाटा उस्तै
कतै मान्छे मान्छे झैं दुरुस्तै
कसैलाई लाग्दो हो जलेको घर जस्तो
यो जिन्दगी कस्तो कस्तो ।

अंशमा नमिलेको दाजुभाइ जस्तो
नबजात शिशुको रुवाई जस्तो
आउने आइरहने
जाने गइरहने
कुनै चलेको सिनेमा घर जस्तो
यो जिन्दगी कस्तो कस्तो ।

पोइल गएकी पत्नी फर्केर आए जस्तो
कुनै अज्ञात रोगले सताए जस्तो
कति युद्ध छ लड्नु आफैसँग
कति सम्झौता गर्नुछ आफैसँग
सधैं जितेर पनि सधैं हारे जस्तो
यो जिन्दगी कस्तो कस्तो ।

क्षेत्री अजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *