बाल अपेक्षा : मायालु मार्गनिर्देश र न्यायोचित व्यवहार


१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यत: वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।

हामी अग्रजहरू बालबालिकाले सर्वस्वीकार्य व्यवहार प्रदर्शन गरे ‘ठीकै छ’ भन्छौँ । कतै थोरै कमजोरी देखाएमा पनि ‘विल्कुलै खराब’ भन्ने सोचसमझ विकसित गछौँ । यस किसिमको व्यवहारले बालबालिकाको अन्तस्करणमा चोट लाग्छ । त्यसबाट उनीहरूमा नकार भावना उत्पन्न हुन जान्छ । सकारपन ओझलमा पर्दै जान्छ । जिद्दीपन र उदण्डता बढ्दै जान सक्छ ।

हामी अग्रजहरू स्वय म बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । कहाँ बिराउँदै छु भन्ने हेक्का नराखी अग्रज भएकाले नै अहङ्कार देखाउँछौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने दर्जा दिँदै शारीरिक/मानसिक सजाय दिनतिर लाग्छौँ । आफूकहाँ चुक्यौँ, त्यसको हेक्का राख्न भने विल्कुलै भुल्छौँ । बेलाबेलामा उनीहरूकै कमजोरी कोट्याई, कोट्याई तनाव दिइरहन्छौँ । सुध्रनका लागि मीठो भाका र लयमा सम्झाउँदैनौँ । यस किसिमको निरुत्साही व्यवहार झेल्दै जानुपर्दा उनीहरू नैतिक चरित्र निर्माणको मार्गबाट विचलित हुन्छन् र समाजका लागि दुष्ट पात्र बन्न सक्छन् ।

धर्म वा इतिहासका विविध प्रसङ्गसँग जोडेर उसले यसो गरेको थियो, त्यसले त्यसो गरेको थियो भनेर अरूजस्तै बनाउन खोज्छौँ । प्रत्येक बालबालिका आ–आफ्नै खाले मौलिक प्रतिभा बोकेर जन्मिएका हुन्छन् भन्ने कुरा भुल्छौँ । बालबालिकाको मौलिक सोच र समझको कदर नगरी आफ्नो सोच र समझमा जबरजस्त ढाल्न खोज्दा निस्कने घातक परिणामको कल्पना समेत नगरी लिंडेढिपीमा अडिग रहन्छौँ । अँझ कडा दण्ड–सजायको सन्त्रास फैलाएर उनीहरूको सन्तुलित मनस्थिति पनि असन्तुलित बनाइदिन्छौँ । अत: आजका बालबालिकाका निम्ति समस्या हामी अग्रजहरू नै हौँ र समाधान पनि हामीहरू नै हौँ ।

२. अग्रजहरूको भूमिका

दण्ड–सजायरहित रूपले बालबालिका हुर्काउन अग्रजहरूको गहकिलो भूमिका हुन्छ । अग्रजहरूले विद्यालय वा घरपरिवारको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउनु पर्दछ । उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर व्यवहार गर्नुपर्छ । विद्यालय वा घरपरिवारमा बाहेक अन्यत्र पनि बालमैत्री व्यवहार गर्नुपर्छ । अग्रजहरूले प्रयोग गर्ने शिक्षण विधि र प्रविधि बालकेन्द्रित हुनु जरुरी हुन्छ । बालबालिकाको मामलामा उनीहरू सम्मिलित समूहले गरेको निर्णय मात्रै अन्तिम र मान्य हुनुपर्दछ । उनीहरूले पाउने पुरस्कार वा सुविधा कटौतीका आधारहरू पूर्व परिभाषित र स्पष्ट हुनुपर्छ । गल्ती स्वीकारेको अवस्थामा मात्र सुविधा कटौती गर्नुपर्छ । स्पष्टीकरण दिने मौका दिन चुक्नुहुन्न । सुध्रने अवसर नदिई उनीहरूले पाउने सुविधा कटौती गर्नुहुन्न ।

आजका अग्रजहरूले देखिएका समस्याभित्रै समाधानको बिज रहने सोच राख्नुपर्छ । गलत कदम देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रनुपर्छ । गाली र छडीले अल्पकालीन समाधान देला तर दिगो समाधानका लागि मायालु बोली र समुचित पृष्ठपोषणको जरुरत पर्दछ । बालबालिकाको भावनानुकुल आवश्यकता र समस्या पहिचान हुनुपर्छ । कुनै पनि कुराको छनोटको पहिलो हक बालबालिकालाई नै दिनुपर्दछ । बालबालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न पछि पर्नुहुन्न । उनीहरूलाई घरपरिवारको महत्त्वपूर्ण सदस्य ठान्नुपर्छ । उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्नुपर्छ ।

अग्रजहरूले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिनुपर्छ । आफू अनुकरणीय व्यक्ति बनेर अरूबाट सकारात्मक व्यवहारको अपेक्षा गर्ने गर्नुपर्छ । पूरातन जड अनुशासन नभई युगसापेक्ष प्रजातान्त्रिक अनुशासनको पालना गर्ने र गराउने काममा होसियार रहनुपर्छ । भेटिएका समस्या समाधानमा व्यवहारिक बाटो अबलम्बन गर्नुपर्छ । बेलाबेलामा सामुहिक छलफलद्वारा बालबालिकको स्वभाव/व्यवहारको समीक्षा गर्ने र उत्प्रेरणा दिनु आवश्यक हुन्छ । देखिएका कमजोर पक्ष सुधार गर्न मर्यादित तवरले खबरदारी गर्न पनि कुनै कसर बाँकी राख्नुहुन्न । आवश्यकता परे आफू स्वय म उनीहरूकै हितैषी मित्रको भूमिकामा समेत देखा पर्न सक्नुपर्छ ।

३. अभ्यासको एक उदाहरण

तल दिइएको उदाहरणमा बालमैत्री पारिवारिक वातावरण तयार गरी आजका बालबालिकालाई सुमार्गमा डोहोर्याउन गरिएको एक अभ्यासलाई नाटकीय ढङ्गमा हुबहु उतार्ने प्रयास गरिएको छ ।

पात्रहरू–
१. सभाध्यक्षको भूमिकामा – कमलेश (पिता, वर्ष ४३)
२. प्रमुख अतिथिको भूमिकामा – कृष्ण (बुद्धिजीवि, वर्ष ४१)
३. सहभागी सदस्यहरूको भूमिकामा – कविता (माता, वर्ष ३३)
र कुसुम (कान्छी छोरी, वर्ष ३)
४. उद्घोषकको भूमिकामा – कमला (जेठी छोरी, वर्ष ११)

(शनिबार साँझको ६:३० बजेको समय छ । परिवारका अग्रज र अनुज सदस्यका साथै परिवार निकटका एक महानुभाव प्रमुख अतिथिको रूपमा उपस्थित छन् । परिवारकी एक सदस्य कमला उद्घोषकका रूपमा अघि बढ्छिन् ।)

कमला– (जम्ला हात गर्दै) नमस्कार ! म यस चौधरी परिवारकी एक सदस्य कमला आजको साप्ताहिक पारिवारिक सभाको उद्घोषण गर्ने अनुमति चाहन्छु । (सबैले ताली बजाएर स्वागत गर्दछन् ।)

अब म कार्यक्रमलाई औपचारिक दिशा प्रदान गर्न आसन ग्रहणको कार्यक्रम सञ्चालन गर्दै छु । सर्वप्रथम परिवारका मुली सदस्य कमलेशलाई सभाध्यक्षको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु ।

(सबैलाई नमस्कार गर्दै कमलेश आसन ग्रहण गर्दछन् । अन्यले ताली बजाउँछन् ।)

अब श्रद्धेय कृष्ण अधिकारीज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु । (सबैलाई नमस्कार गर्दै कृष्ण आसन ग्रहण गर्दछन् । अन्यले ताली बजाएर स्वागत गर्दछन् ।)

आसन ग्रहणका लागि प्रमुख अतिथिज्यूलाई हार्दिक धन्यवाद । अब परिवारकी अर्की सदस्य कवितालार्ई सहभागी सदस्यका रूपमा आसन ग्रहण गर्न निवेदन गर्दछु । (नमस्कार गर्दै कविता आसन ग्रहण गर्दछिन् । ताली बज्दछ ।)

अन्तमा परिवारकी कनिष्ट सदस्य कुसुमलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु । (ताली त बज्छ तर अपरिपक्व उमेरका कारण कुसुम औपचारिकता निर्वाह गर्दिनन् ।)

आजको कार्यक्रमलाई खुला सत्र र बन्द सत्र गरी दुई भागमा विभक्त गरिएको निवेदन गर्दछु । खुला सत्रमा चौधरी परिवारका सदस्यहरूले आ–आफ्नो वैयक्तिक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने छ जसमा साप्ताहिक रूपमा आफूले गरेका कार्यहरूको समीक्षा समेटिनु पर्दछ ।

बन्द सत्रमा भने खुला सत्रमा प्रस्तुत वैयक्तिक समीक्षात्मक प्रतिवेदन बारे टीकाटिप्पणी गर्ने र प्रमुख अतिथिलाई साक्षी राखी परिवारका सदस्यहरूको वैयक्तिक आचार संहिता/प्रतिबद्धता समेटिएको सामुहिक रूपमा नयाँ प्रतिवेदन निर्माण हुन्छ । सबैले हस्ताक्षर गरी प्रतिवेदन फाइलिङ गर्नु पर्दछ । प्रतिवेदनमा समेटिएका प्रतिबद्धताहरू पालना गरे नगरेको बारे आउँदो सभाले मूल्याङ्कन गर्ने छ ।

अब खुला सत्रअन्तर्गत ज्येष्ठ सदस्य कमलेशलाई आफ्नो समीक्षात्मक साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्न अनुरोध गर्दछु । (कमलेश उठेर बोल्ने स्थानमा आउँछन् ।)

कमलेश– (लिखित समीक्षात्मक प्रतिवेदनको सहारा लिँदै) आदरणीय प्रमुख अतिथिज्यू, परिवारका सदस्यहरू ! सभामा यहाँहरू सबैलाई स्वागत छ ।

एकाध कमजोरीका बाबजुत मैले दैनिक कार्यसम्पादन गरेँ । मेरो दैनिक कार्य आफ्नो विद्यालयले तोकेको दैनिक रूटिङबमोजिम कार्य गर्नु हो । मैले आइतबारदेखि शुक्रबारसम्म विद्यालयको जिम्मेवारी पूरा गरेँ । शनिबारका दिन पारिवारिक कामकाज पूरा गर्न भने केही कसर अवश्य बाँकी राखेँ । यसका लागि क्षमा चाहन्छु । अर्को हप्ता यस खाले कमजोरी नरहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो प्रतिवेदन अन्त गर्दछु । धन्यवाद ! (ताली बज्छ ।)

कमला– आफ्ना बारे साङ्गोपाङ्गो चर्चाका लागि कमलेशज्यूलाई हार्दिक धन्यवाद ! अब म कविताज्यूलाई आफ्नो समीक्षात्मक साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्न निवेदन गर्दछु ।

कविता– (कागज हेर्दै) धन्यवाद उद्घोषकज्यू ! श्रीसभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू तथा सहभागी सदस्यज्यूहरूमा मेरो न्यानो अभिवादन !

मैले परिवारका सदस्यहरूको खानपिन, सरसफाई र रेखदेखको कार्य जिम्मेवारीका साथ समापन गरेकी छु । जेठी छोरी कमलालाई सभा सञ्चालन र पढाइ–लेखाइमा पर्याप्त मार्गनिर्देश गरेकी छु । कमजोरी पक्ष नभएका होइनन् । मेरो अर्को जिम्मेवारी स्वाध्यायन गर्नु थियो । ‘आजको साप्ताहिक’, ‘शिक्षक’, ‘मधुपर्क’ र ‘गरिमा’ जस्ता शैक्षिक/साहित्यिक पत्रिका अनि केही उपन्यास पढ्नमा समय दिए पनि मैले शिक्षा सेवा आयोगको तयारी गर्ने सन्दर्भमा उचित ध्यान दिन सकिनँ । पटक–पटक छोरीहरू कमला र कुसुम आफ्नो दायित्वबाट पन्छिदा भने ठिक मार्गमा ल्याउने उद्देश्यले मानसिक कसरत गर्नुपर्यो । यद्यपि मानसिक/शारीरिक दण्ड भने विल्कुलै दिएको छैन ।

परिवारका अन्य सदस्यले पनि उचित वातावरण निर्माणमा सघाउपघाउ गरेमा आउँदा हप्ताहरूमा कमजोरी न्यूनिकरण गर्दै जाने वचन दिँदै आफ्ना भनाइलाई यही विश्राम दिन्छु । धन्यवाद ! (ताली बज्छ ।)

कमला– हार्दिक धन्यवाद कविताज्यू ! अब म कमला स्वय म सहभागी सदस्यका रूपमा आफ्नो साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

यस सभामा सभाध्यक्षज्यू, कार्य व्यस्तताका बाबजुत हाम्रो निमन्त्रणा स्वीकारेर पाल्नुभएका आदरणीय प्रमुख अतिथिज्यू तथा अन्य सदस्यहरू !

यस हप्ता मैले विद्यालय जाने र अध्ययनलाई निरन्तरता दिने साथै बहिनी कुसुमलाई उचित स्नेह दिने कार्यमा कुनै कसर बाँकी राखिनँ । मासिक परीक्षाको परिणाममा म्याथमा कम अङ्क आएकोमा केही दिन चिन्तित रहेँ ।

मम्मीलाई घरायसी कामकाजमा सघाउन र परिवारमा शैक्षिक वातावरण कायम गर्ने कार्यमा भने पक्कै कमजोरी देखाएँ । साथीहरूको लहैलहैमा लागेर दौडधुपमा मन लगाई आफ्नो कर्तव्य निर्वाहमा कसर राखेको महसुस हुँदा लज्जित छु । आगामी हप्तामा यस खाले कमजोरी नदोहोर्याउने बाचा गर्दै आफ्नो प्रतिवेदन टुङ्ग्याउने अनुमति चाहन्छु । धन्यवाद ! (ताली बज्छ ।)

(केही समय सन्नाटा छाउँछ ।)

कमला– अब भने कनिष्ट सदस्य कुसुमको अपरिपक्व उमेर रहेको र औपचारिकरूपमा आफ्नो अभिमत प्रकट गर्न असक्षम रहेकीले प्रमुख अतिथिलाई सभालाई सम्बोधन गर्न निवेदन गर्दछु ।

कृष्ण– (मुस्कुराउँदै) सभाध्यक्षज्यू तथा अन्य सदस्य गण ! मलाई प्रमुख अतिथिका रूपमा यस साप्ताहिक सभामा सम्मान दिनुभएकोमा आभारी छु । वक्ताहरूको वैयक्तिक प्रतिवेदन सुनेर म असाध्यै प्रभावित भएँ । यस किसिमको चलन प्रत्येक परिवारमा भए अवश्य पारिवारिक कटुता निवारण भई सम्बन्ध सुमधुर हुने कुरामा दुई मत हुन्न ।

आजका वक्ताहरूद्वारा व्यक्त कमजोर पक्ष हटाउन सबैलाई सफलता मिलोस् भन्ने शुभेच्छाका साथ म आफ्नो मन्तव्यलाई यहीँ विश्राम दिन्छु । धन्यवाद ! (सबैले ताली बजाउँछन् । कविता चिया–नास्ता ल्याउँछिन् । सबै जना ग्रहण गर्छन् ।)

(बन्द सत्रको कार्यक्रम प्रारम्भ गर्न सभाध्यक्षको हैसियतले कमलेश उद्घोषक कमलालाई सङ्केत गर्दछन् ।)

कमला– अब बन्द सत्रको कार्यक्रम प्रारम्भ हुन्छ । यसमा बिनाऔपचारिकता मन खोलेर कुरा राख्न र ठोस निष्कर्षमा पुग्ने काम हुन्छ । मनमा कुनै किसिमको खोट नराखीकन कुरा राख्न निवेदन गर्दै म समेत अनौपचारिक छलफलमा प्रवेश गर्न अनुमति चाहन्छु ।

कमलेश– जिल्ला बाहिरको जागिरका कारण म हप्ताभरि परिवारबाट टाढिन्छु । हरदम परिवारकै भलोका बारेमा सचेत हुँदै कर्म मैदानमा डटेर लाग्छु । यहाँ तिमीहरू भने आफ्नै सीप र क्षमता अभिवृद्धिमा योगदान दिन पछि पर्छौ । अनि कसरी आर्थिक समुन्नतिको खुट्किलो उक्लन सकिन्छ ? यस महंगीमा एक जनाले कमाएर केही बचाउन सकिन्न । कमलाले पनि आफ्नो कर्तव्य निर्वाहमा तल पर्नु भएन । कुसुमले उचित माया–ममता पाउनुपर्यो ।

कविता– (मुस्कुराउँदै) हजुरको व्यङ्ग्यको आशय बुझेँ । म शिक्षा सेवा आयोगको तयारीमा होसियार हुन्छु । छोरीहरूलाई नै आफ्नो बसमा पार्न समय दिनु परेकाले म पछि परेँ । सानीले त बालसुलभ झन्झट दिनु स्वभाविक हो । ठूलीले हर्दम टेलिभिजन हेर्न र साथीहरूसँग दौडधुप गर्न मन नलगाए म समय पाउँथेँ ।

कमलेश– हँ कमला ! अब भन । तिमी नै बढी दोषी देखिँदै छ्यौ नि त ! अब तिमी नै निष्कर्ष निकाल । जसले समस्या खडा गर्छ, समाधान उसैले बताउनुपर्छ ।

कमला– (सकस मान्दै) मम्मी हर्दम पढ्, पढ् भन्नुहन्छ । उहाँलाई चाहिँ पढेको देख्तिनँ । फेरि खेल्ने र टेलिभिजन हेर्ने मन कुन बच्चालाई हुन्न र ! समय निर्धारण गरिदिए म सोहीबमोजिम काम गर्ने थिएँ ।

बाबा पनि कहिल्यै घरभित्रै खेल्ने सामग्री ल्याइदिनुहुन्न । राम्रो मुखले सम्झाउने र प्रोत्साहन दिने काम पनि गर्नुहुन्न । शैक्षिक उपलब्धि हासिल गर्दा पनि स्यावासी दिनुहुन्न । म्याथमा कम अङ्क ल्याई भनेर कचकच गर्नुहुन्छ । हजुरहरूलाई थाहै छ, म म्याथदेखि डराउँछु । त्यो डर भगाउने उपाय बताइदिए कस्तो हुन्थ्यो ?

कविता– (कमलातिर हेर्दै) ल, ल ! तिमीलाई खेल्ने, लेखपढ गर्ने र टेलिभिजन हेर्ने समय तोकिदिन्छु । त्यसलाई अक्षरश: पालना गर्न पछि नपर्नु नि ? सम्भव भएसम्म अबदेखि म पनि तिमीसँगै बसेर पढ्छु, हुन्न ? (कमला स्वीकारोक्तिस्वरूप टाउको हल्लाउँछिन् ।) म्याथ सुधार्न भोलिदेखि नै म्याथ सरकहाँ ट्युशन पढ । यस बारे म पनि उहाँसँग छलफल गर्छु ।

कमलेश– (कमलातिर फर्केर खुशी हुँदै) स्यावास छोरी ! मनका कुरा हाम्रासामु राख्ने जमर्को गर्यौ । खुशी लाग्यो । दुवै सन्तानको मनोकाङ्क्षा बुझेर काम गरी सक्षम नागरिक बनाउन प्रयत्नशील छौँ । हामी आफ्ना अप्रिय बानी र सोच परिवर्तन गर्दै युगानुरूपका अभिभावक बन्न इच्छुक छौँ । एउटा कुरा बुझ, आर्थिकरूपमा हामी मध्यम वर्गीय परिवारमा पर्ने भएका कारण मैले खेलकुदका सामग्री किन्नमा मन लगाइनँ । ठिक छ । आउँदो हप्ता म क्यारेम बोर्ड किनिदिन्छु । त्यसले औँलाको कसरत गर्न र होसियार हुन पनि सघाउँछ । औँलाको कसरतले राम्रा अक्षर र चित्र बनाउन सहयोग पुग्छ । मम्मीले तोकिदिएको समयसीमामा रहेर काम गर्नू । म केही न केही नयाँ कुरो दिँदै जाने वचन दिन्छु । तिमी पनि आफ्नो वचनमा पक्का हुनू नि ?

कविता– मलाई विश्वास छ, यत्ति राम्रो र व्यवस्थित उद्घोषण कला देखाउने हाम्री कमलाले मान्यवरको मन दुखाउने काम कदापि दोहोर्याउने छैनन् ।

कमला– (प्रसन्नता देखाउँदै) धन्यवाद बाबा–मम्मी ! म हजुरहरूको विश्वासलाई जीवन्त बनाउन यसै घडीबाट कर्मपथमा जुट्छु । (सबैले ताली बजाएर स्वागत गर्दछन् । कविता निष्कर्षलाई समेटेर प्रतिवेदन तयार पार्दछिन् । )

अब भने आजको सभाको निष्कर्ष समेटिएको प्रतिवेदनका साथै आगामी कार्यविभाजनको प्रस्ताव सभामा पेस गरी पारित गर्न र सभा विसर्जन गरिदिन सभाध्यक्षज्यूलाई अनुरोध छ । अन्त्यमा, उद्घोषकको भूमिका निर्वाह गर्ने सौभाग्य दिनुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै म भने बिदा हुन्छु । धन्यवाद !

कमलेश– आदरणीय प्रमुख अतिथि तथा परिवारका सदस्यहरू ! आगामी हप्ताको लागि सभाध्यक्षको भूमिकामा कविता, अन्य सहभागी सदस्यको भूमिकामा कमला र कुसुम साथै उद्घोषकको भूमिकामा कमलेश रहने अनि प्रमुख अतिथिको भूमिकामा हाम्रो परिवारका हितैषी कौशल शर्मालाई अनुरोध गर्ने गरी कार्य विभाजन गर्ने प्रस्ताव राख्दछु । साथै, कविताद्वारा हस्तलिखित आजको सभाको निष्कर्ष समेटिएको सामुहिक प्रतिवेदन पढी थपघट गर्न अनुरोध गर्दछु । (सबैले प्रतिवेदन पढ्छन्, सुधार गरी हस्ताक्षर गर्छन् र ताली बजाएर पारित गर्दछन् ।)

सक्रिय सहभागिता जनाई आजको साप्ताहिक पारिवारिक सभालाई परिणाममुखी बनाउनुभएकोमा प्रमुख अतिथि लगायत सहभागी सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै यो सभा यही विसर्जन भएको घोषणा गर्दछु । धन्यवाद !!!

(तालीको आवाजसँगै प्रकाश मधुरो हुँदै जान्छ ।)

४. निष्कर्ष
अहिलेको युग धाक–धम्कीको युग होइन । कोही कसैभन्दा कम होसियार छैन । कोही पनि सधैँ निर्बलियो भई कसैको धम्की सहेर दबिरहन चाहँदैन । एक समय पछारिएर दबे पनि दाउ हेरिरहन्छ र मौका मिल्नासाथ बदला लिन सक्छ । मित्रवत् व्यवहार देखाउँदै सहयोगी हात अघि बढाउन सकेमा भने जन्मजात शत्रु पनि परम मित्रमा परिणत हुन सक्छ ।

उमेर बढेसँगै बालबालिका मानसिक रूपले परिपक्व हुँदै जान्छन् । समाजले जेजस्तो परिस्थिति र परिबन्द दिन्छ, उनीहरू त्यस्तै सोचसमझका भएर देखा पर्दछन् । उनीहरू बाहिरी जगत्बाट सूचना लिएर ज्ञानको सीमा फराकिलो पार्न तल्लीन हुन्छन् । अग्रजहरूले देखाएको स्वभाव र गरेको क्रियाकलापको सिको गरी समाजमा समायोजन हुन प्रयत्नशील रहन्छन् । अत: हामी अग्रजहरूले झिनामसिना बालसुलभ उपद्रवहरूलाई सहर्ष स्वीकार गर्दै मायालु वातावरणमा उचित मार्गनिर्देश दिन सके र न्यायोचित व्यवहार प्रदर्शन गरिरहे दण्ड–सजायरहित वातावरणमा बालबालिका हुर्काउन सक्छौँभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

नन्दलाल आचार्य
–शिक्षक, श्रीजनता मावि, गोलबजार, सिरहा ।
२०७४।०७।१०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *