Skip to content

म जुठो बार्दैछु

  • by
BirBahadurThakuri

दिनमा एक छाक खाएर
आफू मौन बसी
नून, भुटुन र तेल सबैथोक बार्दैछु
पितृलाई पार लगाउने उदेश्यले
हिजोआज म, जुठो बार्दैछु ।

ईश्वरले देखुन् वा नदेखुन्,
वैकुण्ठ वासको सपना देखेर,
मनु स्मृतिमा वर्णित
संस्कारहरूलाई अप्नाउँदै
जसो जसो पुरोहित
तसो तसो यजमान भएर
चामल र दुधको पिण्ड चढाउँदै
पितृको नाममा
हिजोआज म, जुठो बार्दैछु ।

पितृलाई वैतरणी पार गराउन
गाईको पुच्छर पनि समात्दै छु,
दान, दक्षिणा पनि दिँदैछु,
कन्ने केटी पनि पुज्दैछु,
अन्धो युगमा
म, आफै अन्धो भएर
अरुले बत्ती बालेको ठाउँमा
म पनि दियो जलाउँदैछु,
अरुको देखासिकी गरेर
म पनि जल चढाउँदैछु,
जिउँदामा माता-पितालाई लत्याए पनि
मरेपछि उनीहरूको नाममा
धुप, दीप, नैवेद्य चढाउँदैछु,
सेतो वस्त्र र
एकधरो लगौटी लगाएर
बिझाउने कम्बलमा बसी
म, कविता पनि लेख्दैछु,
अहिले म जुठो बार्दैछु ।

बी बी ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *