अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले स्व. कवितारामले अमेरिका भ्रमणको क्रममा पछिल्लो पटक भएको भेटघाटको स्मरण गरेका थिए l
वरिष्ठ साहित्यकार हरि अधिकारीले अस्वीकृत जमातको स्थापना कालमासँगै साहित्यमा गरेका कामहरुको सम्झना गरे भने वल्र्ड नेवा अर्गनाइजेसन्सका अध्यक्ष सिजन श्रेष्ठले गत वर्ष वाल्टिमोरमा सम्पन्न वल्र्ड नेवा अर्गनाइजेसनको सम्मेलनमा स्व. कवितारामले प्रस्तुत गर्नुभएको प्रस्तुतिको सम्झना गर्दै उहाँलाई उहाँको योगदानको कदरस्वरुप सल्लाहकारको रुपमा राखिएको बताएका थिए l
सो अवसरमा अनेशासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, एएनएसका अध्यक्ष प्रभा देउजा, एनओएका अध्यक्ष वविता प्रधान श्रेष्ठ, एनपिपिएका वरिष्ठ उपाध्यक्ष मनोहर श्रेष्ठ, कवयित्री विमला निरौला लगायतले श्रद्धासुमन व्यक्त गरेका थिए l
अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले अध्यक्षताको आसनवाट वोल्दै कविताराम श्रेष्ठसँगका सम्झनाहरू प्रस्तुत गरेका थिए l
कार्यक्रम सञ्चालक दोवा ढकालले कार्यक्रम सञ्चालनका साथै साहित्यकार कविताराम श्रेष्ठको योगदान प्रस्तुत गरेका थिए कार्यक्रममा साहित्यकार, साहित्य प्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्व. श्रेष्ठका भाइ वेनु श्रेष्ठको पनि उपस्थितिरहेको थियो ।
वि.सं.२००४ सालमा ओखलढुँगामा जन्मेका रामवहादुर श्रेष्ठ नेपाली साहित्यमा कवितारामको नामले ख्याति आर्जन गरेका थिए l र गत नोभेम्वर २०१७मा लण्डनस्थित अस्पतालमा क्यान्सरको रोगले दिवङ्गत भएका थिए । विविध विधामा उनका ३०भन्दा बढी कृतिहरू प्रकाशित छन् र केही कृतिहरू अँग्रेजीमा समेत अनुवाद भई प्रकाशित छन् l
