सिट नं. तीन


कल्पनाको लोकमा पुगेर जीवनका केही तिता मिठा रङ्गहरूसँग पौडी खेल्दै थिएँ । केही आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरू र जीवनका साधा किताबहरुले आफैलाई गिज्याइरहेका थिए । आमा कहिलेकाहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि ! खै कसरी जाने पो हो यिनिहरुको जिन्दगी गारो छ बाबै सधैं केटाकेटी जस्तो नै गर्छन् । आफ्नै जिन्दगी केही ठाउँमा मिलाउन त सकिदैन आमा भने किताबका कुरा गर्नुहुन्छ । जे जस्तो भएपनी आमाका प्रत्येक गालीहरुलाई मैले आशीर्वाद को रुपमा ग्रहण गर्छु । कुनै पनि बा आमाले छोराछोरीको नराम्रो को लागि भने गाली कहिल्यै गर्दैनन् ।

एक छिनको लागि भए नि किताबहरू मिलाउदै थिएँ । मोबाईल चार्जमै रिङटोन बज्यो । हेरे कोही अपरिचित व्यक्तिको फोन आएको रहेछ । उठाएँ, हेलो हजुर ! हजुर नमस्ते उताको आवाज आयो । मैले नि फर्काए नमस्ते हजुर ! के छ खबर सन्चै हुनुहुन्छ ? ठिक छ । कता हुनुहुन्छ नि आजभोलि ? म घरमै छु । नम्बर अपरिचित छ र आवाज पनि अपरिचित म एकछिन पछि अक्मकाउदै बोले । मैले त चिन्न सकिन हजुरलाई परिचय पाउन सक्छु होला ? यति छिट्टै परिचय ? किन हतार परिचय गर्दै गरौंला नि तपाईंले नचिने पनि मैले चिनेको छु तपाईंलाई, उसले भन्यो । माफ गर्नुहोला हजुर मलाई अपरिचित व्यक्तिसँग कुरा गर्न आउदैन मैले फोन राखे । उसले हतारिदै भन्यो फोन त मैले गरेको हजुरको ब्यालेन्स सकिदैन केरे । तपाईंको सकिन्छ नि त ? मैले भने । यति राम्रो मान्छेसँग कुरा गर्दा दुईचार पैसा सकिएनि केही हुँदैन नि । त्यहीँ दुईचार पैसाले घरमा बाबा आमालाई केही लग्दिनु भयो भने कति खुशी हुनुहुन्छ होला बेकार किन खर्च गर्नुहुन्छ्, मैले भने । ओहो ! तपाईं त कति महान मान्छे, कस्तो राम्रो विचार जस्ता शब्दहरू लेख्नुहुन्छ विचार पनि उस्तै । मैले थाहाँ नपाएझैँ हाँस्दै भने । मैले के लेखेकी छु र त्यस्तो ?मैले थाहाँ नपाएझै नगर्नुस् है म त तपाईंको नियमित पाठक हो । मैले अहिले लेखकसँग कुरा गर्दैछु भन्ने कुरा मलाई मात्र थाहाँ छ । तपाईं जति झुट बोलेनी प्रमाण मसँगै छन्, उसले बोल्यो । कहाँको लेखक, कस्तो लेखक तपाईंले कसको कुरा गर्दै हुनुहुन्छ ?मैले उसले थाहाँ नपाओस भनेर कुरा घुमाउदै भने । एक पटक नम्बर चेक गर्नुहोस् है सायद तपाईंले गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ । नम्बर कसले दिएको हजुरलाई ? फोन राख्न आफूले आफैसङ कुरा गर्नलाई राखेको होर ? उसले प्रति प्रश्न गर्यो । हैन सीमित व्यक्ति सङ मात्र, मैले भने । म पनि सीमित व्यक्तिमा नै परे नि त । भो धेरै बाठि बन्नुपर्दैन अहिल्यै प्रमाण सुनाइ दिन्छु नभए । मसँगै छ प्रमाण उसले भन्यो । हुन्छ सुनौ न त के रहेछ । मेरो एउटा कविताको लाइनहरू सुनाउदै गयो उसले……।

म मर्नेछु त्यो दिन मेरो देह अन्त्य हुनेछ
मेरा प्रत्येक जिजीवीसाहरू चिरहरन हुनेछन्
मेरा सपनाहरू चितामा जल्नेछन्
मेरा अभिमतहरू सिद्धीनेछन
त्यस वखत मेरी आमाले एक अञ्जुली
माया भर्लीन मेरो गालामा
मेरो बाबाले एउटा विम्ब खोज्लान मेरो डायरीमा
मेरो प्रेयसीले एक थोपा आँशुका शोकाञ्जली चढाउला
मेरो लासमा
आफन्त र साथीसंगीहरू तस्विर खोज्लान मेरो बासमा
…………………… आदि ।

उसले पढ्दै गयो म सुन्दै गए । र भन्यो हजुरको जस्तो मिठो स्वरमा वाचन गर्न त आउदैन मलाई । प्रमाण यहीँ हो । मुस्कुराउदै भन्यो । माफ गर्नुहोला एकै छिन तपाईंलाई दुख्ख दिए । एउटा पाठक को नाताले निकै राम्रो शब्दहरू जोडेर लेखहरू लेख्नुहुन्छ । म तपाईंका शब्दहरूबाट निकै प्रभावित भएको छु । आउदा दिनहरुमा पनि यस्तै लेख्दै जानुहोला एउटा पाठक को तर्फबाट शुभकामना हजुरलाई । मेरो मन अलिकति भएपनी खुसी भयो । मैले भने धन्यवाद हजुरलाई मेरा शब्दहरू मन पराई दिनु भएकोमा । करिब पन्ध्र मिनेट जतिको लामो कुरा पछि उसले फोन राख्यो । म पनि दिनभरिको थकाइले गर्दा निद्रा देविलाई काखमा च्यापेर भुसुक्कै निदाए ।

घाम पारिलो हिउँद न वर्षा चारैतिरको प्रकृतिले मुस्कानका हातहरू हल्लाइरहका छन् । जिन्दगी रफ्तारमा चलिरहेकै छ । आज यही यात्रामा जिन्दगीको पाङ्रा चलिरहेको छ । कुनदिन यात्रा गर्दा गर्दै कहाँ नेर पन्चेट हुने हो थाहाँ छैन । र पनि भोलिको लोभ र मोहको तलाउमा डुबेर संघर्ष गरिरहेकै छु । आफ्नो इमानदार, इज्जत र स्वाभिमानलाई बेचेर हैन मनको थैलिमा कुटुरो पारेर । अरुको खुसीको लागि भए पनि अरुकै गल्तीहरू आफैमाथि थुपारेर हिंड्न् सक्ने हिम्मत छ तर अन्यायको लागि सहन सक्ने क्षमता भने छैन । समाजले कोरेको लक्षमण रेखा नाघेर हिंड्न् सक्ने आँट मनले गर्दैन । जिन्दगी यसैगरी चलिरहेकै जिन्दगी ।

एक दिन काम विशेषले एक्कासि निकै लामो यात्रा गर्नुपर्ने भयो । लागियो यात्रामा एक्लै लामो बस यात्रा गर्न निकै गाह्रो हुन्छ । निकै पट्यार लाग्दो समय । बोल्ने कोसँग सबै अपरिचित मात्र परिचित भनेको साथमा रहेको त्यही मोबाईल नै हो । केही समय हिडिसकेपछि गाडी खाना खाने ठाऊँमा रोकियो ।सँगै सिटमा एक जना बुढि आमै पनि थिइन् । आमाले भनिन नानी खाना खादिनौ ? खादैन आमा घरबाट नै खाएर आकि । मैले भने आमा एक्लै हुनुहुन्छ ? एक्लै छु । अनि कहाँ जान लागेकी एक्लै ? काठमाडौं हो नानी दवाई गर्न जानलाई छु । अनि बिरामी मान्छे साथमा छोराछोरीलाई लिएर आउनु पर्छ नि कोही हुनुहुदैन ? ती आमैले भनिन् नानी जति छोराछोरी भए पनि बुढेसकालमा साथ दिने भनेको आफूले आफैलाइरहेछ । सबै छोराछोरी उतै छन् । लिउन आउछु भनेका छन् । आमाले दुखेसो पोखिन । सायद आमा बुढी भएर पनि होला अनुहार निकै मलिन देखिन्थ्यो अप्ठ्यारो महशुस गरिरहेकी थिइन। मैले भने आमै ट्वाइलेट जानुहुन्छ ? सक्दैन नानी जान । एक्लै जान नसक्ने भएरै बसेकिरहिछन् । हिड्नुहोस् आमै म जान्छु तपाईको साथमा । आमाको हातसमातेर लगे ।

गाडी आफ्नै रफ्तारमा दौडिरहेको थियो । मभन्दा पछाडिको तेस्रो सिटमा बसेका एक जना अपरिचित व्यक्ति बोल्नुभयो । तपाईँ त कति सहयोगी । सहयोग हैन हामी छोराछोरीहरुले बा आमा प्रति गर्ने कर्तव्य हो यो, मैले भने । हो हुनलाई त उहाँ तपाईँको आमा हो ? उसले भन्यो । जन्मदिने बा आमा मात्र आफ्ना हुदैनन् । यात्रामा भेटिएका, उमेरले डाँडाँ काटिसकेका सबै बा आमा पनि आफ्नै हुन् मैले भने । तपाईँलाई कतै देखे जस्त, ै तपाईँको आवाज कहीं कतै सुने जस्तै लाग्यो । ऊ बोल्यो । मैले भने मेरो जस्तै अनुहार भएको, मेरो आवाज जस्तै बोल्ने अरु कोहीँ मान्छे पनि हुन सक्छ । कम्प्युटरमा केरिएका शब्दहरू जस्तै कपि गर्न त मिल्दैन होला नि मान्छे ? उसले भन्यो । मैले जवाफ दिए आजको युग वैज्ञानिक युग हो मान्छे कहाँबाट कहाँ पुगिसक्यो रोबर्टले नि नागरिता पाइसक्यो तपाईँ भने कपि को कुरा गर्नुहुन्छ । उसले भन्यो तपाईँ के रोबर्ट हो र ? मैले हाँस्दै भने के म रोबर्ट जस्तै देखिन्छु र ? त्यस्तै लाग्यो । मैले फेरि भने तपाईँका आँखा नै कतै रोबर्टका नै हुन कि ? अहो ! तपाईंलाई कुरामा जित्न त गाहृो हुदोरहेछ । तपाईँले पनि कहाँ हार्नुभएको छ र मैले भने ।

कुरा गर्दै जादा उसको आवाज पनि कता कता चिने जस्तै लाग्यो । उसले भन्यो अहिले त चिन्नुभयो होला नि ?मान्छे त चिन्न गाहृो भयो तर आवाज भने कहीं कतै सुने जस्तै लाग्यो । ठिक भन्नुभयो तपाईँको कविता पढेर तपाईंलाई नै सुनाएको थिए । तपाईंलाई भेट्न मन लाएको थियो । तपाईँका शब्दहरुबाट म निकै प्रभावित भएको छु । आज प्रत्येक्ष देख्न पाएँ । मान्छे शब्दहरुमा मात्र रहेनछ बोल्ने व्यवहारमा पनि उस्तै । पहिला तपाईँका शब्दहरू पढेको थिएँ । आज मान्छे नि पढ्न पाएँ । खुसी लाग्यो । मैले भने भेट्नको लागि समयले डोर्याएको हुनुपर्छ र त आज भेट भयो । मलाई त्यति उचाइमा नपुर्याउनुहोस भर्खर पाइला चाल्न सिक्दैछु । उसले भन्यो आफूलाई जतिसुकै सानो सोचेपनी तपाईँको शब्दहरुले तपाईलाई चिनाइसकेका छन् । मैले भनिरहन पर्दैन ।

उसले फेरि प्रश्न गर्यो कसरी लेख्नुहुन्छ ? एकछिन घोरिएर भने लेख्न कुनै गुलेली खेलेको जस्तो सजिलो छैन न त धारीलो कैंचिले कपडा काटे जस्तो सजिलो छ । लेख्न थालियो भने कहिले रुनु पर्छ, कहिले हाँस्नु पर्छ, कहिले नाच्नु पर्छ र कहिले बहुलाउनु पनि पर्छ । बहुलाको संज्ञा पाएर सुने पनि नसुने झै गरेर हिड्नुपर्छ । कहिलेकाहीं चट्टानको मह चाटेर ढुङ्गाको सर्वत खानुपर्छ । कहिले जिउदै मर्नु पर्छ, अरुको दुख्खलाई आफ्नो शिरमाथि राखेर हिड्नुपर्छ । अरुको पीडालाई मुटुमा थुपारेर हिड्नुपर्छ । अरुको प्रेम प्रेमिकालाई आफ्नै प्रेम प्रेमिका ठानेर अदृश्य रुपमा अंगाल्नु पर्छ । अरुको बिछोडलाई आफ्नै बिछोड ठानेर पागल हुनुपर्छ । अन्याय, अत्याचार, शोषन, दमन र बिद्रोहका आवाजहरू आोकल्दै घाँटि सुकुन्जेल चिच्याउदै हिड्नु पर्छ । एउटा लेखकले आफूलाई कहिल्यै लेखेको हुदैँन । मात्र अरुको लागि लेख्छ । जब त्यो लेखकले अरुको दुःख, पीडा, आँशु आफ्नै सम्झदैन त्यो लेखक हुन सक्दैन । र लेखेर मात्र हुदैँन व्यवहारमा पनि देखाउन सक्नुपर्छ । मैले लेख्न भर्खर सिक्दैछु ।

उसले पनि केही कुरा थपिदियो, मान्छको जिन्दगी भनेकै सिकाई नै हो र सिकाईमा नै वित्छ । सिक्दा, सिक्दै कुनदिन जिन्दगी सकिन्छ थाहाँ नै हुदैन । कुरा धेरै भए । उसलाई आफ्नो परिचय मागे हुन्थ्यो भन्ने लागेको रहेछ । तर पनि उसको परिचय सोधेन अन्त्यमा आफैले परिचय दियो । र पढाइको शिलशिलामा हिडेको कुरा पनि बतायो । त्यतिकैमा केही दिनको लागि कामको शिलशिलामा भेटिने गन्तव्य आइपुग्यो । ऊ सिट न. तिनबाट केही शुभकामनाका शब्दहरू र केही खुसीका रेखाहरू म समक्ष पस्कदै आफ्नो गन्तव्यमा लाग्यो । म पनि आफ्नो गन्तव्यतिर लागे ।

दीपा धिताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *