हिसाबकिताब बिग्र्यो भन्छे, खै कसरी मिलाऊँ म ?
सिङ्गो मुटु फाट्यो भन्छे, खै कसरी सिलाऊँ म ?
उसको कुरा बुझ्न मैले, नसकेको हो कि कतै
हरायो रे धड्कन भन्छे, खै कसरी दिलाऊँ म ?
मेरोसामु बस्दा उसको, भोक प्यास हराउँछ रे
खान मनै छैन भन्छे, खै कसरी खिलाऊँ म ?
उसको मेरो आँखा जुध्दा, तीर हानेसरी भो रे
मनै डल्लो पर्छ भन्छे, खै कसरी जिलाऊँ म ?
उसको जीवन मेरो साथमा, घाम लाग्ने आशा छ रे
सुकाको छु बिस्कुन भन्छे, खै कसरी फिजाऊँ म ?
मेरै निम्ति व्रत बस्दा, किरण रेशा भेटी अरे
बाटेको छु डोरी भन्छे, खै कसरी छिनाऊँ म ?
किरण कुमार श्रेष्ठ
पालुङ्टार-१, बान्द्रे, गोरखा
