नाघेर अजङको पहाड
टेकेर खुकुरीको धारमा
बोकेर हृदयको काँधमा
हलो र जुवा
समातेर हत्केलामा कोदाली
पखालेर आँखाका कचेरा
आऊ माटो कोर्न
म हिडिसकें
अलिकति हाम्रो, देशप्रेमको
अनि स्वाभिमानको बीउँ बोकेर
रोपौँला मनको गराभरी ।

ऊ हेर त भर्खरै त्यो पारी गाउँको आँगनिमा
घामको डामले
सुक्नै थालेछन
जून जस्तै देखिने पैयौँ र आरुका फूलहरू
ऊ हेर त त्यो हिमालमा
इन्द्रेणी रङ्गले रंगिएका
लालुपाते र गुराँसहरू ओइलाउनै थालेछन
आऊ पवित्र जल बोकेर
बचाउनु छ गुराँसको रङ्ग ।

आऊ लामा लामा पाइलाहरू चाल्दै
खस्केको आत्मबल उठाएर
प्रेमलाई काँधमा बोकेर
म हिडिसके बुद्धको देश
रोक्नुछ पलाएन हुन लागेको शान्ति ।

आऊ आमाको आशीर्वाद निधारमा बोकेर
बाबाको विम्ब शिरमा सजाएर
राखौँला मनको सन्दूकमा
कहिल्यै नहराउने गरी ।

आऊ तिमी रुद्र, चन्द्र र भद्र बनेर
म चण्डिका बनेर आउँछु
अन्यायले सीमा नाघेका बस्तीहरुमा
फहराउला न्यायको झन्डा ।

आऊ तिम्रो स्वार्थलाई कुल्चेर
तिम्रो आधा मेरो आधा मुटु बेचेर
दमको रोगले
अस्पतालको मृत्युसैयामा
छटपटाइरहेका बा आमालाई बचाउँनु छ
आधा भए हामी बाँच्न सकिहाल्छौ
किनकि यो हाम्रो मुटु
तिनै बा आमाको सम्पति हो ।

आऊ चाँदनी रातमा बादल चिरेर
कह–नु छ तिमीलाई प्रेमका वीरगाथाहरू
पोख्नु छ मनका सारा पीडाहरू
केही तिम्रा केही मेरा खुसीहरू
सुन्नु छ सुनाउनु छ ।

लेखुन लक्ष्मीप्रसाद देवकोटाले
मुना,मदन खण्डकाव्य लेखेझै
कथाकारहरुले हाम्रो एउटा प्रेम कथा
लेखुन कविहरुले हाम्रो प्रेम कविता ।

आऊ आफ्नो घमण्डतालाई पखालेर
अर्को एउटा संघर्षमा भाग लिन
तिमीले आफूले आर्जेको जिन्दगीमा बाँच
म आफूले आर्जेको जिन्दगीमा बाँच्छु
जुन समयमा जसको आवश्यक पर्छ
त्यसैको साहयतामा चढौँला
जीवनको उकाली ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “आऊ”

  1. बिउ अाँगनी पलायन शैय्या
    बिउ अाँगनी पलायन शैय्या श‍ुद्ध शब्द यी हुन् । नानुले प्रयाेग गरेकाे अशुद्ध भए । लखून् कविताहरु भन्ने खालका क्रियापद इच्छार्थी हुन् । यिनलाई दीर्घ लेख्नु पर्छ । लेखून् बसून् पढून् अादि । सुरुका क्रियापदमा अाएकाे थालेछन भन्ने पनि थालेछन् पार्नु पर्ला । कविता प्रचूर उच्च भावना र साेच विचारले अाेतप्राेत छ । यी सुझावलाई समाविष्ट गर्न मिल्छ भने अन्यथा नलिई मिलाउन अनुराेध गर्याे याे दाजुले ।
    धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *