गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता


मैले सानो अवस्थाबाटै मानिसको मृत्युसंस्कारलाई गहिरो तरिकाले हेर्ने गरेको र गरुडपूराणलाई अध्ययन गर्दै उक्त पुरााणको भावसारलाई लिएर ‘स्वर्गको यात्रा’ नामक समीक्षात्मक पौराणिक महाकाव्य लेख्ने क्रममा लागिरहेको छु । लेख्ने कर्ममा पाण्डुलिपी लेख्दै अन्तिममा यो समीक्षीय टिप्पणी (सर्ग १९ )मा पुग्दा मृत्युसंस्कारमा समसामयिक सुधारको चर्चा चलिरहेको र मलाई पनि यो मृत्यु संस्कारमा परिमार्जन हुनुपर्छ भन्ने लागेकोले यो पद्य र गद्य सहितको गरुड पूराणले पोखेका केही धारणा र जनआवाजका भावनालाई कदर गर्दै धार्मिक व्यक्तिले पस्केका धारणालाई ध्यानमा राख्दै यहाँ म प्रस्तुत भएको छु ।

कुनै पनि कुराहरू समयसापेक्ष परिवर्तन हुँदै गएका छन् । परिवर्तनले ती कुराहरूलाई संरक्षण र सम्बर्धन पनि गर्दै लगेका छन् । परिवर्तन जनकल्याणकारी, शान्तिमय र समृद्धिलाई टेवादिने खालको हुनु पर्दछ भन्ने मेरो पनि धारणा हो । गरुडपूराण प्रेतकल्पका विचारहरूलाई आत्मसात गर्दै आजको सन्दर्भमा हामीले अपनाउँदै आएको मृत्युसंस्कार तथा दानादिमा देखिएका व्यवहारिक कठिनाइलाई सहजरूपमा आफ्नो संस्कारलाई बचाउँदै परिमार्जनमा जान आवश्यक ठानी मलाई लागेका केही भावनालाई यहाँ प्रस्तुत गर्न गइरहेको छु । गरुडपूराणको भावसार मैले यहाँ प्रस्तु नगरी मेरो समीक्षकीय प्रस्तुतितिर जाने अनुमति चाहन्छु –

पूराणको भावसार माथि मैले लाएँ
समीक्षाको पोखाईमा अब म त आएँ
गर्नु पर्छ धर्म कर्म सवलता भर्दै
यो पूराण पढ्दा मैले त्रशादीपो पाएँ

गर्नु पर्छ दान पनि दीन दुःखीलाई
गर्नु हुन्न दानत विभेदकारी बनाई
प्रकृतिको सृष्टि हेर्दा विविधताकारी
विविधता सजाएर बस्छन् जीव रमाई

मानवीय जीवनमा हुन्छन् अनेक कर्म
राम्र राम्रा कर्म गर्दै लाउनु पर्छ पर्म
मानवीय सुकर्ममा हुन जान्छ धर्म
कुकर्ममा लाग्दा त मान्नु पर्छ शर्म

यस कृतिमा इहलोक परलोकी मार्ग
प्रष्ट्याउने कोशिसको बनेको छ पार्क
सर्व प्रथम इहलोक सफल पारौं
त्यसैबाट मुक्ति मिल्छ परलोकी नार्क

अदृश्य शक्तिलाई सवले मानेका छन्
इहलोकी मालिक सबले ठानेका छन्
प्रकृतिको सवलता सिर्जनाको मार्ग
संतुलित मार्ग हो सबले जानेका छन्

दृढ घर बन्नलाई सवल जग चाहिन्छ
सवल घर बनेपछि बस्न पनि पाइन्छ
क्षणिक छ यो जिन्दगी क्षणमा छ नाश
क्षणमा नै सबले माया प्रीति लगाइन्छ

हाडछाला मासपेशीले निर्मित तन
सुकर्ममा सबले लाउनु पर्छ मन
सुकर्मको फल नै बन्न जान्छ अमर
अमरत्व मात्र हुने मुक्ति प्राप्त धन

मुक्ति भूक्ति अनुभूति सहोदर भाइ
तीनै भाइ हिड्छन् आफ्नो मार्ग समाइ
भूक्तिबाट प्राप्त हुन्छ शुभ अनुभूति
अनुभूति हिड्न भन्छ मुक्तिमार्र्ग धाइ

स्वर्ग नर्क भन्नु पनि सवल अनुभूति
सवल अनुभूति भए प्राप्त हुन्छ मुक्ति
जन्ममरण मुक्ति गर पूराण भन्ने गर्छन्
पूराणहरू बताउँछन् मुक्तिमार्ग युक्ति

नत कोही स्वर्ग देखे नत कोही नर्क
स्वर्ग नर्क भन्ने यहाँ सब्ले गर्छन् तर्क
प्रमाणिक पुष्टि यहाँ केही कुनै छैन
जन्म–मरण कर्म त्यागि मुक्तितिर फर्क

निश्चय नै जन्मेपछि सबको मृत्यु हुन्छ
यो धु्रव सत्य हो कसले नाइ भन्छ
जीवत छँदै मानिसले गर्नु अनुभूति
स्वर्ग नर्क यहीं नै छ यो मनले ठान्छ

आत्मा बोल्छ सबको कर्मकर्तु हेर
कुकर्म नगर भन्ने तर्क हुन्छ धेर
आत्मबाट त्यज्य कर्म हुन जान्छ पाप
पापले मन मन्दिरमा दिन थाल्छ राप

सारा कर्म बुझी बुझी जीव अघि सर्छ
जीवले आत्म त्यज्य काम पनि गर्छ
त्यसको आत्म बोल्छ स्वकृतको मर्म
न्याय दिन्छ आत्माले जीव मान्छ सर्म

कुकर्मको रापले पोल्छ तन मन
सरि छ यो उम्लदो तेलको वाहन
नर्कको उम्लदा ेतेलको त्यो पोलाई
कहाँ कम हुन्छ र बस्नु पर्छ टोलाई

रातभरिको मन–पोलाई सुत्न सक्दैन
भौतारिँदो मन–यात्रा रोक्न सक्दैन
तडपाईको यात्रा छट्पटीमा सर्छ
तडपाई यमदूतको खिचाइमा पर्छ

म त भन्छु मानिसले जीवित नै हुँदै
स्वर्ग–नर्कको अनुभूति गर्छ उस्ले सधैं
जब मानिस कुकर्ममा अग्रसर हुन्छ
कुकर्मको रसातलमा ऊ त रुमलिन्छ

सुकर्मको यात्रा मार्ग उस्ले त्यहाँ भुल्छ
ऊ कुकर्मको सलिलमा डुबुल्की नै मार्छ
वैतरणी नदीको दुष्कर्मको भोगाई
जीवित छँदै भोग्छ पाउँदैन उच्चाई

कुकर्मको आभासले जब जनाउ दिन्छ
पश्चापको ज्वालाले डहन मार्ग लिन्छ
विभिन्न जनावरको डसाई अनुभूति
कुकर्मीलाई कहाँ मिल्छ मुक्तिरूपी जुक्ति

जब मानिस सुकर्ममा सचेत बन्न थाल्छ
सुमार्गको स्वालम्वी बत्ती उसले बाल्छ
स्वावलम्वी छलाङ्ग पुण्य सलिलमा मार्छ
सुकर्मको सहज यात्रा वैतरणी नदी तार्छ

मनले भन्छ –कल्याणमयी भयो,
मनमा सन्तोष मिल्न पनि गयो
जब ऊ सहजै प्रफुल्लित बन्छ
स्वर्गीय आनन्दको अनुभूति हुन्छ

स्वर्गीय आनन्दको यहीं हुन्छ प्राप्ति
स्वर्गीय आनन्दले दिन्छ मनमा शान्ति
मानिस चाहन्छ बन्न आनन्दको भोगी
सबलमार्ग छाडी छाडी बन्न हुन्न रोगी

जब मानिस कुकर्मको भुमरीमा पर्छ
तब मानिस क्षणक्षण कष्टले आह भर्छ
असह्य दुख पीडा यही जीवनमा भोग्छ
यही नै नारकीय अनुभूति सहजमा गर्छ

स्वर्ग र नर्क
सुख र दुःख
जन्म र मरण
संसारिक चक्र

निरन्तर घुम्छ
स्वत विश्व चल्छ

स्वर्ग नर्क घुमिरहन्छ
निरन्तर चक्र चलिरहन्छ
मानिस अन्त कहीं जान पर्दैन
जीवित छँदा नै भोगिरहन्छ

प्रकृतिले मिलाउँछ आफ्नो संतुलन
मानिसले लगाउँदै छ विकासप्रेमी मन
प्र्रकृतिसँग लडनभीड्न लागेका छन् जन
अकाट्य र अमिट छ प्रकृतिको धन
नयाँ नयाँ आविस्कारको नाममा
लागेका छन् वैज्ञानिक आफ्नो आफ्नो काममा

प्रकृतिको सन्तुलन विगार गर्दा पनि
स्वर्गनर्क आनन्द कहाँ मिल्छ अनि
स्वर्गीय आनन्द त्यहाँ मात्रै मिल्छ
जहाँ स्वकर्म गर्दा आनन्द पो मिल्छ

नारकीय मार्ग अवलम्वन गर्दै
स्वर्गीय आनन्दको भावना भर्दै
द्वन्द्वमार्ग अवलम्वन गर्दै गर्दै जाँदा
कहाँ मिल्छ अमनचैन दुविधामा पर्दै

विकास र विनाश जोडुवा भाइ
सँगै सँगै हिड्छन् सबैसँग रमाइ
अंशबण्डा माग्छन् हामीसँग आइ
आफ्नो अंश लिन्छन् हेर धाइ धाइ

समाज परिवर्तनशील छ
संस्कार परिमार्जन हुँदै जान्छ्
पूराण पुराना विधान दर्शन
यी पनि समाजकै हुन दर्पण

अतितको समाज र आजको समाज
धेरै भिन्नता पो देखिन गयो आज
त्यसोहुँदा नैतिकता, आचरण
अनुसाशन, कर्तव्य पालन
राष्ट्र राट्रियता, स्वावलम्वन
धर्म सहिष्णुता, मानवता, धर्माचरण
मानवीय संवेदनशीलता, आदि आदि
सत्य आचरणमा राख्न
निर्मित यी गतिशीलतामा परिमार्जन
हिजो पनि भएकै थिए,
आज पनि आवश्यक छ

देवता दिने पितृ हर्ने
यो कुलको
सम्वर्धनकै लागि भनिएको हो
यो कथनको वैज्ञानिक आधर छ
वंश परम्परा जातीय शुद्धता
जलचर, थलचर, नभचर सबैमा चाहिन्छ
हरेक जीवको ऐतिहासिक विवरण
अभिलेख हुन आवश्यक छ
पितृ स्मरण हुनु पर्दछ
वर्षमा दुई पटक पिण्ड दिएर
स्मरण गर्ने चलन छ
जसरी भए पनि कुलको स्मरण
आफ्ना कुलको जागरण
अवश्य पनि वश परम्पराका मार्ग दर्शन
अनुकरणीय र सङ्ग्रणीय हुन्छन्
गर्नै पर्छ गरिदै पनि आएको छ
एउटा प्रचलित उखान छ–
जिउँदो ज्यानले माड पाएन मरेकालाई खीर
यो कटु सत्य हो ।
जिउँदो छँदा कति बृद्धबृद्धाले
असहाय अवस्थामा
पानीसम्म पिउन नपाई
कष्टदाइ जीवन बिताउँछन्
यस्तै अवस्थामा मृत्युवरण हुन्छ
तर तिनै कष्टदाइ जीवनमा मृत्युवरण गर्नेवालाका
छोरा बुहारीले आडम्वर प्रदर्शन गर्दै
गरुडपूराणमा भनिएका विविध दानहरू गर्दछन्
बास्वतमा ती बृद्धाबृद्धले जिउँदै नरकको भोग गरिसके
अवत दान दिनुहोस् या नदिनुहोस्
तिन्को अवतरण भनेको स्वर्ग हो
किनकि समाज बोल्छ –
मृत्यलासलाई निगाल्दै
अवत सुख पाउने भो
निकै कष्ट भोगेर कष्टदाइ मरण भयो
त्यो मर्ने वेलाको कष्टदायी जीवन
अब गाउँलेले देख्न पर्ने भएन
हाम्रो धर्म ग्रन्थले भन्ने गर्दछन्
स्वर्गको आनन्द लिन
नरकको कष्टदायी जीवनभोगाइबाट
मुक्ति प्राप्त गर्न ईश्वरको स्मरण गर्नु पर्छ
निश्चय पनि आनन्ददायी जीवनमा
नै ईश्वरीय स्मरणले
कष्टदायी जीवनको भोगबाट
जीवले मुक्ति प्राप्त गर्छ ।
रोग लाग्नुभन्दा पहिला नै
रोग आउन नदिनु उत्तम उपाय भने जस्तै
आनन्दमय जीवनका क्षणमा नै
प्राप्त सुखलाई कायम गर्नु नै
नारकीय जीवनबाट मुक्ति पाउनु हो
त्यसोहुँदा नर्क र स्वर्गको अनुभूति
मानिसले पृथ्वीलोकमै गरेको छ
र गर्ने कर्म यथावत नै जारी छ
भनिन्छ–
हिजो १२ वर्षसम्म क्रिया गरिन्थ्यो रे
आज १२ दिनसम्म क्रिया बसेर
१३ दिनमा चोखिने गरिएको
जुन नीतिको अवलम्वन गरियो

आजको सन्दर्भमा
के आजको समयसापेक्ष परिमार्जन गर्न मिल्दैन ? यस सन्दर्भमा लोकतन्त्र / प्रजातन्त्र आए देखि धेरै बहसरू चलेका छन् । सेप्टेम्बर २९, २०१६ (१३असौज २०७३)मा नेपाल प्रज्ञा प्रतिष्ठान र जनसंस्कृत प्रतिष्ठान नेपालको संयुक्त तत्वावधानमा आयोजित मृत्यु संस्कारका सुधार सम्भावना विषयक विचारगोष्ठीमा धार्मिक क्षेत्रका विद्वानहरूले परिवर्तन परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने गरिने मृत्युसंस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढडीमा ५ दिन मृत्यु संस्कार सम्पन्न गर्नु पर्नेमा जोड दिएका धारणाहरू पनि सार्वजनिक भएको अध्यन गर्न पाइन्छ । इन्टरनेटमा मैले पढ्न पाएको यो गोष्ठीमा दर्शन शास्त्री डा. विष्णु प्रभातले मायावर युगमा यस्तो व्यवस्था नभएको, त्यसवेला चिसो ठाउँमा शवलाई काटेर चरालाई खुवाउने गरको, जमिन प्राप्त भएका ठाउँमा शवलाई गाडने गरिएको र गर्मी ठाउँमा शव गनाउने र वरिपरि दुर्गन्ध फैलिने भएकोले दुर्गन्धबाट बच्न लास जलाउने गरेको जस्ता महत्वपूर्ण धारणा पस्केको देखिन्छ । यस सम्बन्धमा हाम्रा धर्म गुरुहरूको महत्वपूर्ण कदम हुन्छ । किनकि सैधान्तिक पक्षमा ५ दिने क्रिया पद्धतिलाई अवलम्वन गरे पनि व्यवहारमा उतार्नको लागि के कसरी ५ दिनमा क्रिया सम्पादन गर्न सकिन्छ भनी ५ दिने क्रियापद्धतिको पुस्तक तयार गर्नु पर्दछ । गरुड पूराणले पिण्डदानदेखि लिएर धेरैकुराहरू स्पष्ट गरेको छ तर यो सबै क्रिया पद्धति १३ दिने क्रियासँग सम्बन्धित देखिन्छ । ्हाल पनि कसैका क्रिया गर्ने मानिस कोही छैनन् भने आठ दिनमा क्रिया गर्न बसेर १२ दिन/ १३ दिनमा क्रिया समाप्त गर्ने चलन पनि छ । के यो चलन प्रथम ५ दिनमा अगाडि ल्याएर मर्दाको दिनदेखि ५ दिनमा क्रिया समाप्त गर्न मिल्दैन ? आजका टड्कारा प्रश्न धेरै छन् । यी प्रश्नसँग झुण्डिएका धेरै समस्या र समाजले चाहेका परिवर्तनलाई पनि धर्म गुरुहरूले ध्यान दिनु आवश्यक देखिन्छ । यी पाँच दिने क्रिया पद्धतिलाई कमल रिजालले क्रिया प्रकृयामा जान यसरी जानकारी दिनु भएको छ –‘‘अहिले प्रस्ताव गर्न खोजिएको मृत्युको दिनबाट पाँच दिनसम्मको अवधीको हो । यसोगर्दा मृत्यु भएको दोस्रो दिन उपवास बसी तेस्रो दिन वचन मिलाएर दश पिण्ड दिने र चौथो र पााँचौं दिन क्रमशः षेडसी श्राद्ध तथा सपिण्डी श्राद्ध सकी शुद्ध शान्तिको हवन कार्य गर्नु उपयोगी हुने छ ।’’ कोमलजीको यो धारणाले स्पष्ट हुन्छ कि मृत्युसंस्कारमा केवल दिन मात्र घट्ने हो अरू गरिने कर्ममा कमी देखिदैन । यो सहजरूपमा सर्व स्वीकार्य गरिएकोमा आजको संस्कार दर्विलो बन्न जाने छ । यस्ले आज समाजले चाहेको चाहनामाब पुरा गर्दैन कि आर्थिक मितव्ययिता, सामाजिक र धार्मिक सहजता, समयको सदुपयोग, स्वास्थमा कम असर लगायतका विविध पक्षमा टेवा पुर्याउँछ ।

विवाह पनि हाम्रो सनातन धर्मको सोह्र संस्कार मध्यको एउटा मुख्य संस्कार हो । यस संस्कारमा परिवर्तन आइसकेको छ । चैत्र, श्रावण भदौ, कार्तिक महिना तथा कतिपय तिथिमा विवाह गरिदैनथे तर आज सबै महिनामा विवाहलाई रोक्का गरिएको छैन । किनकि आजको समयको र समाजको माग हो । यो माग देशले दिन नसकेको रोजगारी समयसापेक्ष उच्च शिक्षाको आपूर्तिको अभावले गर्दा जुनवेला विदेशको यात्रा थालनी हुन्छ त्यति वेला नै विवाह गरेर सपरिवार विदेश पलायन हुने काम भएको छ । यस विवाह कर्म गराउन मिल्दैन भनेर विवाहमा कुनै पण्डितले (पुरोहितले) विवाह रोक्न सकेको अथवा विवाहमा सहभागी नभै यज्ञा रोकिएको पनि पाइँदैन । तिनै गुरुहरूले विवाह कर्म गराउँदै हिँडेको पाइन्छ । सृष्टि सिर्जनाको महत्वपूर्ण संस्कार भनेको विवाह हो । विवाहमा पण्डितले नभै समाजले ल्याएको परिवर्तन हो । आजका युवायुवती तथा अभिभावकले विवाहमा अड्चन नभै स्वत आएको परिवर्तन एउटा प्रस्ंशनीय परिवर्तन हो भन्नु पर्दछ । यसरी मृत्यु संस्कारमा पनि आजको सन्दर्भमा परिवर्तन अत्यान्त्यै आवश्यक छ । यस सम्बन्धमा पनि कमल रिजालजीको धारसणा यसरी हेर्न सकिन्छ –(‘‘… यथार्थ केहो भने आज अन्त्येष्टि कर्म –संस्कारप्रतिको सुधार यति बढी आवश्यक भैसकेको छ कि यदि संस्कारलाई बचाउने हो भने ढिलो चाँडो सबैले सबैले त्यही विन्दुमा नपुगी धार पाउँदैनन् । समयले सुधार माग गरिसकेको अवस्थामा कसैले रोक्न खोजेको भरमा त्यसलाई रोक्न सकिन्न ।’’

कतै सर्वप्रथम क्रियाकर्म गर्दा धेरै छोरा भए पनि दशगात्र, सपिण्डी करण, षोडश श्राद्ध एउटै छोराले( जेठो छोराले) गर्नु पर्दछ भनिएको देखिन्छ कतै बाबुको क्रिया जेठो छोरा र आमाको क्रिया कान्छोले गर्ने भन्ने धारणा पढ्न पाइन्छन् तर यसको कार्यन्वयनमा पनि विविधता देखिन्छ । कुनै जातिले गरुडपूराणमा भनिए जस्तै एउटै छोरा क्रियामा बसेको देखिन्छ भने । कुनै जातमा सबै छोरा क्रियाकर्ममा बसेको पाइन्छ । एउटै छोराले क्रिया गरे हुनेमा सबै छोरा क्रिया बस्नुको औचित्य के ? परदेश गएका छोराछोरीलाई विदेश बसुन्देर मृत्य घटनालाई आधिकारिकरूपमा मृत्य खबर नदिने भनी गोप्यमा राखिन्छ तर आजको युगमा फेसबुकको आधारमा छोरा छोरी जुन देशमा भए पनि सन्देश जानकारीमा आउँछ । घरमा फोन गर्दा यथार्थ घटनालाई लुकाइन्छ र घरमा आए पछि ठाडी क्रिया भनी पुन १३ दिन क्रिया बस्न लगाइन्छ । जबकी गरुडपूराणले दश दिनमा सुन्यो भने तीन रातमा शुद्ध हुन्छ । वर्ष पुगेको छ भने स्नानले मात्र शुद्ध हुन्छ भन्ने कुरा प्रष्ट लेखिएको छ ।यो नियमलाई पनि व्यवहारमा उतारेको जस्तो लाग्दैन । यस पंक्तिकारले देखेका कुरा के भने एक घरका चारभाइ छोराहरू तीन भाइ विदेशमा थिए । घरमा भएकाले क्रियाकर्म गर्यो । यस बीचमा म धर्मशास्त्री पनि नभएको र कर्मकाण्डी ब्राह्मण पनि नभएको तर अल्पज्ञानी आशौच सम्बन्धी ज्ञान भएकोले दश दिनका दिन आधिकारिक रूपमा सुनाइ दिए पछि तीन रातमा ऊ पनि शुद्ध हुन्छभन्दा म सफल हुन सकिन । त्यस घरमा क्रिया गर्ने काम ३/४ वर्षसम्म चलाइयो । त्यो घरका ४ छोराले पटक पटक गरी ५२ दिन त क्रिया कर्ममा बिताए । जानकारी प्राप्त भएन भन्ने हो भने फेसबुकबाट जानकारी पाइन्छ र जानकारी भयो भने ३/ ४ वर्ष पछि आएर १३ दिन क्रियाकर्म गर्नु औचित्य के ? नेपाल प्रज्ञा प्रतिष्ठान र जनसंस्कृत प्रतिष्ठान नेपालको संयुक्त तत्वावधानमा आयोजनामा भएको गोष्ठिमा कार्यपत्र प्रस्तोत्रा डा.प्रेम खत्री र शंकरप्रसाद पोखरेलले शास्त्रीय आधार र परम्परागत संस्कारको लोप हुने अवस्थाबाट जोगाउन र नयाँ युवा पिढीलाई कार्यबोझका बीच जोगाइ राख्न मृत्यु संस्कारमा सरलीकृत गर्नु पर्ने बताउनुको साथै किरात राई तामाङ र लामाले तीन दिनमा झारेका धाराणालाई पस्कदै समयसापेक्ष रुपान्तरण र परिवर्तनको खाँचो रहेको बताएका छन् । यस गोष्ठीमा स्वास्थको दृष्टिकोणबाट पनि १३ दिनको कृया सहज नदेखिएको, सेतो कपडा पहिरन पनि चिनिया बुद्धिष्टबाट नेपाली हिन्दूहरूले सिकेका, १३ दिन नून नखाइ बस्दा मृत्यु भएका घटना आदिको बारेमा पनि अन्तरक्रिया भएको देखिन्छ ।

छोराछोरीमा विभेद पूर्ण धारणा–गरुडपूराणले छोरा र छोरी बीचमा ठूलो विभेद देखाएको छ । मुक्ति प्राप्त गर्न छोरा नै चाहिने भनिएकोले छोरीहरू जति जन्मे पनि स्वर्गको यात्रा सफल पार्न छोरा जन्माउने कर्म गर्नु पर्छ भनिएको छ । छोरा जन्माउने धारणाले आजको जमानामा दुई सन्तान ईश्वरको वरदान भन्ने धारणामा असन्तुलन निम्त्याएको छ । गरुडपूराण लेखिदाको समाज र आजको समाजमा धेरै फरक छ । जनसंख्याको चाप बढ्दो छ । जन्माएका सन्तानलाई खान, लाउन, शिक्षा स्वास्थ सबैमा ध्यान दिन साथै छोरा र छोरीलाई विभेद रहित बनाउन एकातिर नियम कानून बन्दै गएका छन् भने अर्कोतिर धार्मिक विभेद यथावत कायम छ । त्यसोहुँदा राज्यले निर्माण गरेका कानून र कर्मकाण्डी नियममा समनताको सिर्जना आवश्यक छ । एकातिर गर्भ पतन पाप हो भने आकोतिर गर्भ पतनले कानूनी मान्यता पाएको छ । आचरणहीन गर्भपतन आज पनि पाप हो तर श्रीमान श्रीमती बीच कुशल नागरिक बनाउन आफूले थाम्न सक्ने सन्तति बनाउनको लागि गरिने गर्भपतन अवश्य नै धर्म हो । यस्तो गर्भपतनले आमामा कुशल स्वस्थ सन्तान आवश्यक्ता अनुसार र बच्चाबच्चीको स्वास्थ पनि राम्रो र सक्षम नागरिकको सिर्जना गर्नमा सहयोगी सिद्ध हुन्छ । यो जन्म संस्कारमा भएको परिमार्जन हो ।

धार्मिक तथा सामाजिक विभेद– आज संसार भरि मानिने धर्महरूमा पनि विभेद छ । हरेक धर्म पनि विभाजित छन् । कसैले संतान उत्पानदको भरमा नै विश्वलाई नै आफ्नो जनसंख्याले विश्व ओगटेर आफ्नो धर्मले भरिएको राज्य संचालन गर्न चाहन्छन् भने कसैले पैसा बाँडेर छुवाछुत तथा जातीय विभेद भएको स्थानमा तथा गरिबीको मारमा परेकालाई क्षणिक स्वार्थमा पार्दै धर्मको प्रचार प्रसार गरिरहेका छन् । अति पुरानो विविध मार्गदर्शनले युक्त, कर्ममा विश्वास राख्ने सनातन धर्म भने जातीय विभेदमा नै रुमलिएको छ । यस्ले धर्मको प्रचार प्रसार गर्दैन र सनातन धर्ममा अन्य धर्म छाडी प्रवेश चाहानेलाई प्रवेश गराउँदैन । मानिस नाङ्गै जन्मन्छ र मर्ने वेलामा पनि नाङ्गै जान्छ । मानिस बालकबाट बढ्दै जाँदा वंशानुक्रम र वातावरणीय प्रभावमा परि उस्को संस्कारमा बृद्धि हुँदै जान्छ तथा उस्ले विविध कर्मको सिकाइ गर्छ । समाजिक विभेदले उस्लाई प्रभाव पार्दछ । मानवीय हिसावले यदि हेरियो भने मानिसमा कुनै जातीय विभेद छैन । मानिस भनेको सिर्फ मानिस हो तर यहाँ विभिन्न प्रारका विभेदकारी संस्कार भरिए पछि मानिस विभेदकारी बन्दै जान्छ । अहम्ताले भरिदै जान्छ अहम्कारी बन्दै जान्छ र विभिन्न असमानता दर्शिदै जान्छन् । त्यसोहुँदा असमनाताको खाडललाई पुर्दै समनताको भावनालाई बोक्दै सनातन धर्मले विश्वव्यापि रूपमा छलाङ्ग मार्न आवश्यक छ । यसमा देखिएका कुनै संकृण पक्ष भए आजको आवश्यक्ता अनुसार परिमार्जन गरी धर्मगुरुहरूले सनातन धर्मलाई विस्तार मुखी बनाउनु आवश्यक छ । सनातन धर्मको दर्शन, अति गहन, उदारमुखी, सहन शील, प्रवृति, प्रकृति, नीति, लोकहीतकारी, सदाचार, चित्तवृति, चरित्ररक्षा, परोपरका शान्तिमय समाज आदि आदि लोक कल्याणकारितामा आधारित छ तापनि यी महान मार्गदर्शनलाई समयसापेक्षलाई मध्यनजर राख्दै विश्वव्यापि करण गर्दै अगाडि बढ्नुको साटो हामी केवल कर्मकाण्डी कार्यमामात्र सीमित रहेका छ म । कर्मकाण्डलाई पनि समयसापेक्ष बनाउन सकेका छैनौ ।,दानमा देखिएको असहजता – गरुडपूराणले दान गर्नको लागि तोकिएका विधानमा रहेर सबैले दान गर्न सक्दैनन् । भन्नत भनिएको छ गरिबले गरुड पूराण दश दिन भित्र सुने पनि मोक्ष भइन्छ । पढेको सुन्दैमा मोक्ष हुने भए दान लेनदेनको आवश्यक्ता किन ? सुन दानको महत्व ठूलो देखाइएको छ । एक छाक पेटभरी खानाखान नपाउनेको लागि दाह संस्कार र क्रिया कर्म अति महगो हुन गएको छ । वास्तवमा भन्नु पर्दा आजको समयमा मृत्यु पनि अति महगो हुन गयो । मुर्दा जलाउनको सट्टा जमिनमा गहिरोसँग गाडीदिने र त्यस माथि एउटा बिरुवा रोपी दिने जस्ले गर्दा जमिनमा गाड्दा दाउराको खर्च जोगिन्छ र वृक्ष लगाइदिंदा जमिन खाली पनिरहदैन वातावरण पनि हराभरा रहन्छ । सबै प्रकारका जोगिहरूलाई जलसमाधि गर्ने नदी नभएमा गाडी दिने भनेर प्रष्ट्याइएको छ । जलाउनुभन्दा त जलसमाधि या जमिनमा गाडीदिनु राम्रो जस्तो लाग्छ । गङ्गाको जलमा हाड खस्दा त स्वत स्वर्ग जाने मृतक जलसमाधि गर्दा त झनै सहज रूपमा स्वर्ग जानेमा संका लिन नै पर्ने भएन । यसमा पनि गरुडपूराणमा गर्न भनिएका दानहरूले मृतकका परिवारमा नैतिक र सामाजिक दवाव पर्छ । जिउँदो छँदा एक चक्कि सिटामोल खान दिन नसक्ने परिवारले पनि मृत्यु पछि समाजमा देखाउनको लागि गरिने दानले त्यो परिवारलाई जिउँदै असह्य दुःख भोग्न बाध्य हुन्छन् । उदाहरणको लागि सपिण्डीकरणमा पिण्डलाई सुनको तारले विभाजन गर्न भनिएको छ । यस्तो अव्यवहारिक काममा पुरोहित वाध्य भएर सुनमा पैसा घोटेर पिण्डलाई विभाजन गरी सपिण्डी करण गराइन्छ । घरका एकजना सदस्यको मृत्युवरणको पीडालाई सहन सक्ने अवस्था रहदैँन त्यति वेला यो पूराणको सुनवाइमा थप दवाव सिर्जना हुन्छ । अतिशयोक्ति दानभार निश्चय नै सर्वसाधरणको लागि पीडादाइ हुन्छ । बाँचन सक्ने गरी दान दिनु राम्रो हुन्छ घरखेत सबै बेच्ने गरी गरिएको दानले त आफै नै पीडित भइन्छ । कस्ले कति दान गर्योभन्दा पनि आँफूले श्रद्धा स्वरूप स्वेच्छिक र गच्क्षानुसारको दान नै महादान हुन जान्छ ।

गाई दान – सनातन धर्ममा गाई दानको महत्व ठूलो छ । गाई दान नगरिएमा समाजमा टीका टिप्पणी हुने गर्दथ्यो । तर आज आएर गाई दान गर्दा कार्य गराउने ब्राह्मणले गाईलाई स्वीकार गरे पनि अर्थात गाई दान लिने व्यक्तिले सहजसँग स्वीकार्य गरेको देखिदैन । कुशको गाई बनाएर पैसा दान दिंदा सहजता देखिन्छ । समयले गाई दानमा पनि परिमार्जन खोजेको छ । यसरी नै साँढेसाँढी छाड्न पनि असहजता देखिन थालेको छ । बृषोत्सर्ग गर्नु पनि आज समस्याको रूपमा देखा परेको छ । कुशको साँढेसाँढी बनाएर छाड्न पर्ने देखिन्छ । सरल र सहज समाधानका उपायहरूको आवश्यक्ता देखिन थालेको छ ।

साँढेसाँढी गरिएका बाँच्छो र बाँच्छीलाई बाँध्न नहुने, काम गराउन नहुने, पिट्न नहुने, त्यसको संरक्षण गर्न पर्ने बेच्न पनि नपाइने आदिले गर्दा यो दान आज आएर असहज हुन गएको छ । भन्नत भनिन्छ चलिआएको संस्कृतिलाई मेटाउन पाइँदैन अर्थात हुँदैन । यस मतमा सत्यता छ । सत्यता छैन भनिदैन तर जुन दानले समाजमै असहजता पैदा गर्छ भने त्यस्त्यो दानमा के गर्ने भन्ने निकास पनि चाहिन्छ । मेरो विचारमा समाजमा असर पर्ने कर्म अर्थात जस्ले गरेको कामले व्यक्ति विशेषमा अथवा समाजमा असर पार्दछ भने त्यो नै पाप हो । समाजमा ल्याइने सहजता नै कल्याणकारी मार्ग हो । जब समाजमा असहज अवस्थाको सिर्जना हुन्छ समाज र सरकारले नियम निर्माण गर्छ । समाज तथा सरकारका बनेका नियम कानूनले त्यसप्रकारका व्यक्तिलाई तत्काल त्यस्को सजाएँ भागी गराउँछ । धार्मिक कार्यकर्तालाई धार्मिक यात्रामा जाँदा पण्डाहरूले निकै सताउने जानकारी पनि पाइन्छ जो स्वार्थ पूर्तिको लागि तीर्थयात्रीको लागि सताइने प्रवृत्ति हो । यस्ता दानले न त दानकर्ता नै सन्तुष्ट हुन्छ न त दानको फल नै प्राप्त हुन्छ ।

सति जाने चलनलाई गरुडपूराणमा महत्वको साथमा उठाइएको छ । सति जान बाध्यता नभएको उदाहरण पनि यस पूराणबाट जानकारी लिन सकिन्छ । सति प्रथामा मानव स्वार्थले उच्चतम स्थान लिएको हुँदा यो प्रथालाई सरकारले कानून निमार्ण गरेर बन्देज लगाउन पर्यो । जस्को कारणले सति प्रथामा देखिएको विकृतिलाई अन्त्य गर्यो ।यो कानूनले पति वियोग नारीको लागि ठूलो कल्याण गर्यो ।

गरुडपूराणमा गौरी कन्याको विवाहले पनि पितृ खुसी हुने धारणा पढ्न पाइन्छ । आठ वर्षकी कन्यालाई गौरी भनिन्छ । आज यसमा पनि बाल विवाहलाई कानूनले बन्देज गरेको छ । भनिन्छ आठ वर्षका कन्याको विवाहको चलन पनि भारतमा मुसलमानहरूको आक्रमण र हिन्दू कन्यालाई विवाहित नारीभन्दा बढ्ता अपहरण गर्ने भएकाले मुस्लिमहरूले हिन्दूनारी माथि गरिने अत्याचारबाट बच्नको लागि धर्मगुरुहरूले बनाएको नियम हो । कतिपय ग्रन्थमा १६ वर्ष पुगेकी कन्या र २५ वर्ष पुगेको वरको उमेर नै विवाहको लागि उपयुक्त उमेर हो भन्ने तथ्य पनि पढ्न पाइन्छ । यो नियम आजको कानूनी मान्यताको नजिक देखिन्छ ।

कलियुगमा अश्वमेध, गोमेध, सन्यास, मासुको पिण्ड दान र देवरबाट पुत्र उत्पत्ति( पुत्र जन्माउनु) वर्जित भनिएको छ । कलियुगमा मासुको पिण्ड दिइदैन । यो कर्म पनि समयसापेक्षको परिमार्जन नै हो ।

स्वर्ग र नर्कको अनुभूति –

मैले पद्यमा यस सम्बन्धमा पनि केही बोलेको छु । हित र अहित कर्म नै मानव जीवनमा गरिदै आएका कर्महरू हुन् । हीतकर्म गर्दा मानिसमा आनन्दको अनुभूति हुन्छ । यही आनन्दको अनुभूति नै स्वर्गीय अनुभूति हो ।अहित कर्म गर्नु नै मानवले स्वत असहज अनुभूति आफसे आफ गर्न पुग्छ । यही नै नारकीय अनुभूति हो । यही पृथ्वीलोकमा मानिसले स्वर्ग र नर्क भोग गर्दछ । विभिन्न पापबाट भोगिने अल्प कालीन र दीर्घ कालीन नारकीय यातना मानव जीवनमा साक्षत हामीले देख्न पाउँछौं । वंशानुक्रमिक कतिपय रोगहरू छन् जीवले ती रोगहरू उसको वंश रहदासम्म सार्दै जान्छन् । यी अमिट रोगहरू नै उसको वंश रहुन्जेल भोग्नु पर्दछ । कतिपय जीवहरू यस संसारमा सारा शरीर कुहेर सडेर उपचार गर्दा पनि स्वस्थ हुन नसकी मृत्युवरण गर्दछन् । कतिपय जीव अशक्त भएर आफ्नै दिसा पिसाब ग्रहण गर्न पुग्दछन् । मानिस मरणासन्न अवस्थामा पुग्ने वेला जीवनभरका आफ्ना कृत कर्महरू सम्झनु र आफन्तलाई देख्दा रुन थाल्नु जस्ता पीडा तथा सुखका अनुभूतिहरू हुनु नै स्वर्गीय र नारकीय अनुभूति हुन् ।

धर्मग्रन्थहरूले प्रदान गरेका मार्ग दर्शनहरू निश्चय नै जीवन उपयोगी छन् । लोकहीतकारी पनि छन् । यी दर्शन तत्कालीन समाजदेखि वर्तमान समाजसम्म र भावि समाजसम्मलाई मार्गदर्शन बन्दै जान्छन् । समयसापेक्ष धर्मगुरहरूले ती मार्गदर्शनमा परिमार्जन गर्दै आएको पनि देखिन्छ । संस्कारलाई वैज्ञानिक करण गर्दै लैजानु अवश्य पनि बाटो बिराएको नभै संस्कारलाई तथा धर्मलाई संरक्षण र सम्बर्धन गर्नु पनि हो । असुभ कर्म तथा शुभ कर्मलाई पहिचान गर्नु पर्दछ । शुभ संस्कारको अवलम्वन नै असल समाजको निर्माण हो । शुभ संस्कारको अवलम्वन गर्दै मानिस युगपुरुषमा पुग्दछ । यही जन्म सार्थकता पनि हो । विकृतिले भरिएका कर्मलाई संस्कारमा परिणत गर्न हुँदैन ।

म यस काव्यमा गरुडपूराणको धर्मकाण्ड–प्रेतकल्प कथासारलाई स्वर्गको यात्रा शमीक्षात्मक पौराणिक महाकाव्यको रूपमा प्रस्तुत गर्न गएको हुँदा मृत्यु संस्कारमा समयसापेक्ष यसलाई परिमार्जनको आवश्यक्ता छभन्दा अन्यथा अर्थ नलागोस् किनकि समाजकल्याणको लागि रचिएका यी ग्रन्थमा समाजको परिवर्तनको साथसाथै समाजमा व्यवहारिकरूपमा व्यवहारिक र वैज्ञानिककरण हुँदै जानु पर्छ भन्ने मात्र हो । जो आजको सन्दर्भमा नित्यान्त आवश्यक छ । हुनत धर्म अनि संस्कार मान्ने नमान्ने मानिसको व्यक्तिगत स्वतन्त्रता पनि हो । कसैलाई वाध्यता पार्न पनि हुँदैन । पूराणहरू र धर्म ग्रन्थहरू समाज कल्याणकै लागि लेखिएका हुन् ।

गरुडपूराणमा कुन पाप गर्दा कुन योनिमा जन्म लिनु पर्छ भन्ने विस्तृत वर्णन गरिएको छ । वास्तवमा कुकर्मको सजाएँको भागी त यही लोकमा सरकारद्वारा निर्माण गरेका नियम कानूनले पनि दण्डित गर्दछन् । कोही सर्वस्व सहित आजीवन काराबास भोगिरहेका छन् त कोही केही अवधीको लागि दण्डित भएका हुन्छन् । संसारिक चक्र त वातावरणीय संतुलनको लागि सिर्जना (सृष्टि) भएको हो । यो सृष्टि सनातन चलिरहने प्रकृया पनि हो । यसमा पूण्यकर्मको निरन्तरता र कुकर्मको त्यज्यता नै कुसल समाजको सिर्जना हो । आजको संसारमा धर्मराज(पूण्यवान)को उपस्थिति पाइदैन यमराज र यमराजका दूतहरूले व्यप्तता छाएको छ । जिउँदै मानिसले प्रेतरूपको अनुभूति गर्न परेको छ । धर्मको नाममा विकृतिले छाएको छ । धर्मकै नाममा संसारमा युद्धहरू भएका छन् । यी सबै के को लागिभन्दा केवल स्वार्थ पूर्तिको लागि मात्र हो । स्वार्थ र अह म भावलाई त्याग्दै उत्तम कर्ममा लाग्यो भने यो संसार नै स्वर्ग बन्न जान्छ । लोभको कारणबाट मानिसले विविध कर्महरू गर्छ र आफ्नै कर्मको कारणले उस्ले सुख र दुःख (स्वर्ग र नर्क ) भोग्छ ।

मेरो विचारमा त्यो सुख र दुःखको भोग मानिसले मरेपछि नभै यस संसारमा नै भोग गर्दछ । जीवनको अन्त्य मृत्युवाट हुन्छ यसलाई रोक्न सक्ने क्षमता संसारको कुनै ताकतसँग छैन ।यो संसार नै सबैले भोगेको र भोग्ने स्वर्ग र नर्क पनि हो । यही पृथ्वीमा स्वर्गीय जीवनमा रमाउँ र नारकीय जीवनबाट छुटकारा लिने कर्म गरौ भन्ने मेरो हार्दिक अपिल सहित बिदा चाहन्छु ।

सन्दर्भ सामाग्री –
– गडपूराण–सारोद्धार (सानुवाद), गीताप्रेस, गोरखपुर सं. २०६५बारहवाँ पुनमुद्रण
– यसमा उल्लेख गरिएका कमल रिजालको अन्त्येष्टि संस्कार सुधारको प्रश्न गोर्खापत्रबाट भन्ने लेख र अब नेपालमा मान्छे मरेपछि मृत्यु संस्कार तीन दिनमै सकिने, १३ दिने संस्कार हट्दै भन्ने लेख, आदरणीय लेखक लक्ष्मीप्रसाद पंगेनीबाट इमेल मार्फत प्राप्त गरेको हुँदा लक्ष्मीप्रसाद पंगेनी, कमल रिजाल को साथै सेप्टेम्बर २९, २०१६ (१३असौज २०७३)मा नेपाल प्रज्ञा प्रतिष्ठान र जनसंस्कृत प्रतिष्ठान नेपालको संयुक्त तत्वावधानमा आयोजित मृत्यु संस्कारका सुधार सम्भावना विषयक विचारगोष्ठीका आयोजक तथा कार्यपत्र प्रस्तोत्रा सबैप्रति आभार व्यक्त गर्दछु ।

धन्यवाद,
सदानन्द अभागी
मिति २०७४ साल पुस १७ (जनवरी १तारिक २०१८),
शान्तिचोक नवलपुर, नेपाल

सकरात्मक सुझावको लागि [email protected] मा हार्दिक अनुरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता”

  1. समाज सुधारोन्मुख रचना
    राम्रो लाग्यो समाज सुधारोन्मुख रचना ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *