हो, मैले त्यसरी छाड्नु हुने थिएन
त्यो लालीगुराँसको फूल
जिन्दगीको त्यो घाँसे मैदान
तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो
मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश
त्यात्न खोज्दा पनि नसकिने प्रेमपत्र जस्तो
भुल्न खोजेर पनि नभुलिने डरलाग्दो स्वप्न जस्तो
आफ्नै रहरको कैदी भएर मैले
आउनु हुदैनथ्यो परदेश ।
अहँ कहिल्यै आफ्नो बनाएनन् मलाई
यहाँ बालुवाका पिरामीडहरुले
कहिल्यै गाएनन् मेरा निम्ति गीत
यहाँका वाटर फाउन्टेनहरुले
मिति सकिएको औषधी जस्तो उपयोगहीन सम्बन्धहरू
बेकसुर कान्जिहाउसमा थुनिएको चौपाया जस्तो समय
उही आकाशको छानो मुनी भएर पनि
उही जमिनमा उभिएर पनि
एउटा भाडाको सिपाही जस्तो
बिना देशको नागरिक भएको छु
उस्तै सपनाको पर्खालमा उभिएर पनि
ब्याट्री सकिएको खेलौना जस्तो भएको छु ।
पछ्याइरहने आँखाहरू छाडेर
अफ्ठ्याराहरुमा साथ दिने हातहरू छाडेर
हो, त्यसरी छाड्नु हुदैनथ्यो मैले देश ।
यसरी पनि बाँच्नु पर्ने रहेछ मानिस
हत्केलामा सूर्य लिएर
पैतलामा जिन्दगी लिएर
समुद्रको तातो सिरेटोमा
आँसुलाई ईश्वर सम्झेर
म आफ्नो जवानी खुद्रामा बेचिरहेछु
केही थान रहर किन्नकै निम्ति ।
आफूभन्दा गरुङ्गो पीडा बोकेर
घनघस्याको उकालै उकालो जस्तो जिन्दगी जिउँदै गर्दा
भेटिएनन् कोही तिम्रो जस्तो न्यानो हात दिने
जो भेटिए उपियाँ जस्ता
साथमै भैरहने र चुसिरहने ।
जन्मंदै मृत्युको पखेटा बोकेर जन्मेको म
तर, उडिरहेछु भागिरहेछु
धित मरुन्जेल बाँच्ने रहरले
केही आफ्नो निम्ति केही अरूको निम्ति
एक मुठी उधारो सास जोगाउनका निम्ति
जीवनको साथ छाडेर
बेजान मरुभूमिमा आशाको लालटिन जलाइरहेछु ।
फ्याट्ट हावा रोकिन के बेर ?
झ्याप्प लालटिन निभ्न के बेर ?
-अजित क्षेत्री
युएई
०८/०१/२०१८

मार्मिक कविता
आफूभन्दा गरुङ्गो पीडा बोकेर
घनघस्याको उकालै उकालो जस्तो जिन्दगी जिउँदै गर्दा
भेटिएनन् कोही तिम्रो जस्तो न्यानो हात दिने
जो भेटिए उपियाँ जस्ता
साथमै भैरहने र चुसिरहने ।