देखिन्छ नेपालका, गराहरु सुन्दर ।
देखेर यी दृष्यले, नपग्लिने को छ र ।।
उच्चा कतै टाकुरा, छुँदैछ आकाशमा ।
देखी हिमाली धरा, रमिन्छ साकारमा ।।
छन् मध्यका भागमा, हराभराका स्थल ।
खोला नदी ताल वा, पहाडका जंगल ।।
ती लालुपाते वुकी, गुराँसले जग्मग ।
ल्यौ भोगटे कागती, लदावदी काफल ।।
ओर्ली मैदान पुगौं, मधेशमा टन्न छन् ।
झुल्दै गरेका गरा, जताततै अन्न छन् ।।
अग्ला सिशौसालका, बडाबडा रुख छन् ।
लागेर गर्दा यहाँ, कहाँ कतै दुख्ख छन् ।।
भूस्वर्ग झैं देखिने, स्वदेशमा जन्मियौ ।
ऐले वताऊ यहाँ, स्वराज्यको के दियौ ।।
तर्केर खाडी गयौ, रमेन तिम्रो मन ।
त्यस्तो छ के क्यानडा, अमेरिकामै भन ।।
सारा खजाना हुने, बनेन खै जान्दछु ।
नेपाल नै दोषको, शिकार भो मान्दछु ।।
नेता नजाती भए, विगार्नुमा देशको ।
हामी नगर्ने रह्यौं, कहाँ उसै वेश भो ।।
यो देश बन्दा भने, उचालिनेछन् शिर ।
जानेर लागौं सबै, स्वदेशकै खाँतिर ।।
लाग्यौ जहाँ जो, स्वदेशमा फर्किनु ।
दोश्रो पुस्ताले कहाँ, विकासको पर्खिनु ।।
चूडा निर्भीक
छन्दःप्रभात । चौध अक्षर। सातमा विश्राम ।
