राखेको थिएँ आँखामा देश
सजाएको थिएँ निधारमा देशको माटो
केरेको थिए हत्केलामा आफ्नै भाग्य
सुरक्षित थियो मुटुमा तिम्रो प्रेम ।
रगतको होली खेल्दै
मलाई जन्मदिएकी मेरी आमा
आफ्नै जिन्दगी धरौटीमा राखेर
आफ्नै सपनाहरूको सिरानी मलाई लगाइदिएर
फेरि अर्को सहरमा
ठुलो सपना खोज्न जाने मेरा बाको
बर्णन त म यहाँ गर्न सक्दिन ।
जब, देश ढलेको खबरले
बैरिहरुकासामु मेरो स्वाभिमान गुम्यो
जब, निधारमा सजाएको माटो
सीमानामा खोसएको खबरले
नरंगिदै मेरो सिउँदो नै पुछियो
जब, आफैले आफ्नै हत्केलामा
केरेको भाग्यले
नराम्रोसँग पछार्यो
जब, मुटुमा राखेको तिम्रो प्रेमले नै
कैद गर्यो
तब, मेरा आँखा नै बन्द भए
बर्सौ देखि बैरिहरूसँग लडेर बचाएको
मेरो चिना नै हरण भयो ।
यहाँ, राजा बदलिए
मन्त्री बदलिए
नियम बदलियो
कानून बदलियो
तर पनि मर्ने मरिरहे
जल्न्रे चिता जलिरह्यो ।
आऊ सक्छौ भने
अब,
बोकेर अन्तरहृदयमा तातो लाभा
तिमी मलाई साथ दिन
जाऊँ सगसगै
साहसको ज्वाला बोकेर
ढलेको देश उठाउन
सीमानामा मिचिएको माटो फिर्ता ल्याउन ।
दिपा धिताल
