Skip to content


हो,
तिमीसँग प्रश्न गर्ने
म हुँ,
हो, म त्यही हुँ
तिम्रो विचारसँग
युद्ध गर्ने मानसविम्ब,
लिलिपुटका मानव
नठाने हुन्छ महाशय !!
म खिया परेको सोह्रौ शताब्दीको
विचार बोक्ने मान्छे होइन ।
आडम्बरका तरबार देखाएर
तर्साउन पर्दैन ।
संसार जित्ने सपनामा
झुटको पर्खाल लगाउन पर्दैन ।
भाडाको विचार बोकेर
विषालु फडाँ उठाउन पर्दैन ।
पुराना अस्त्रका ती डङ्गुर
तिम्रा भरौटेलाई कोसेली दिए हुन्छ ।
संसार विचरणको २१औँ शताब्दीमा
सामन्तवादको माला लगाउन पर्दैन ।
हो, म तिम्रो सन्तती हुँ
तर
तिम्रो कुहिएको चिन्तन जोगाउने
हनुमान कदापि होइन ।
अन्धो समाजले आरोप लगाउन सक्छ
कुपूत नै रहेछ भनेर
परिवर्तनको संवाहकलाई
नचिन्नेहरू
आरोप लगाउन माहिर छन्
आफ्नो सोच कमजोर हुनेहरू
सगौरव भन्नेे छन्
पागल नै हो भनेर ।

हाइपर रियालिटीमा बाँचेको मेरो आत्मा
कम्प्युटरका सञ्जालको मार्ग तय गर्दै
संसारको मन जित्न खोज्दै छ ।
आफ्नो अस्तित्व बचाउने रहर भए
मेरो मात्र होइन
मेरो यान्त्रिक मानसविम्बको
सपनामा निदाउन सक्नुपर्छ ।
यो तिम्रो र मेरो मात्र विचारको युद्ध होइन
महाविचार मरेर
स्मार्ट डिभाइसबाट जन्मेको
नयाँ विचारको उदय पनि हो ।।
हो, नयाँ साम्राज्यको विस्तार पनि हो ।
हो, नयाँ विचारको उदय पनि हो ।

पोखरा -२८, कालिकास्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *