प्रिय साथी समय पनि कति बलवान् रहेछ । स्कुलमा पढ्ने बेला सर्वप्रथम गुरुले समयलाई नै चिनाउनु भएको थियो । यो सं, सारमा सबैभन्दा ठुलो समय हो भनेर । त्यो बाल्यकालमा गुरुले समय सबैभन्दा ठुलो, बलवान् हो भनेपछि हामी केही साथीहरू कलासबाट बाहिर निस्केर कति ठुलो रैछ त भनी हेर्न र खोज्न गएका थियौ त्यतिकैमा गुरुले हामीलाई देख्नुभयो र भन्नू भयो मुर्ख केटाकेटी समय देखिदैन । समय हामी आफैंसँग छ भनेपछि त्यसदिनबाट हामीले समयलाई खोज्न छोडेका थियौँ ।

अहिले बुझ्दै गएपछि समयको अगाडि कसैको केही लाग्दो रहेनछ । र समय कति ठुलो छ भनी हेर्न मिल्दो पनिरहेनछ भन्ने कुरा थाहाँ भयो । यही समयले कहिले हाँस्ने, कहिले रुने, कहिले बहुलाउने, कहिले मिलाउने, कहिले बिछोड गराउने पनिरहेछ । मलाई लाग्छ समयलाई अङकगणितमा हिसाब गर्न सकिदो रहेनछ ।

हो साथी यही समय थियो हामीलाई यो प्रविधिको दुनियाँबाट भेट गराउने । र यहीँ प्रविधिबाट हामी एउटा असल मित्र हुन पुग्यौं । यतिबेला तिमीसग म यी कुराहरू किन बोल्दै छु भन्ने कुरा तिमीलाई पनि थाहाँ भइसकेको छ किनकि कतिपय कुराहरू व्यक्त नगरेरै पनि अन्तरमनमा जोडिएका तारहरुबाट थाहाँ भैसकेको हुन्छ ।

तिमीलाई थाहा छ ? म यतिबेला जिन्दगीको सबैभन्दा ठुलो र अग्लो हिमाल र पहाडको बीचमा उभिएकी छु । बायाँ पट्टि हिमाल अडिएको छ र दायाँ पट्टि पहाड अडिएको छ । कहिलेकाहीँ यस्तो लाग्छ कि कसैको प्रबाह नगरेर उनीहरुकै बीचमा आफ्नो समाधी खडा गरिदिउँ । तर यस्तो गरे भने मेरो समयले मलाई कायरताको घोषणा गरिदिनेछ । किनकि म यो समयमा कायरताको झण्डा ओढाएर आफ्नो समाधी अड्याउने पक्षमा छैन । मलाई असाध्यै प्रेम छ मेरो जीवन प्रति र त हरेक पीडा र दुःखहरुलाई कमजोरसँग हैन साहससँग तुलना गरिरहेकी छु ।

जीवनमा लड्दै जादा एउटा कुरामा भने हारेकी छु मैले । तर मैले यसलाई हार भने पनि, यो कुरालाई समाजले जित भन्छ । त्यसैले आफूले एक्लै हार्नुभन्दा यो ठुलो समाजलाई जिताउनु उपयुक्त ठानेकी छु यतिबेला । आफूले एक्लै जित्नु ठुलो कुरा रहेनछ यहाँ कतिपय कुराहरूमा आफूले हारेर भएपनी अरुलाई जिताउनु ठुलो कुरा रहेछ भन्ने ठानेकी छु मैले ।

त्यसैले साथी यतिबेलाको यो जीवनको लडाइँमा आफूले हारेर कसैलाई जिताउने बाध्यताको कठघरामा उभिएकी छु । यो समाजमा छोरी भएर लड्नु त झन निकै कठिन हुदो रहेछ । यही कठिनताको बाबजुद पनि आजसम्म त लडियो ।

तर फेरि अब अर्को एउटा नयाँ लडाइँमा सामेल हुनको लागि मनका तरबारहरू उध्याउने प्रयत्नमा लागिरहेकी छु । जीवनको एक्लो लडाइँ लड्दा आफूले जिते पनि यो समाजले हार मान्दो रहेछ ।

मेरो प्रिय साथी तिमीलाई सायद थाहाँ छैन म भने यतिबेला आँखाबाट खसेका आँशुलाई सबैभन्दा नजिकैको मित्र बनाएर यसैलाई साँक्षी राखेर मुटुलाई कुनै तारले बाधेर यी कुराहरू लेख्दैछु । तिमी भने एकछिन हाँस्छौ होला है ? तिमी हाँस्यो भने रोएका मेरा शब्दहरुले साथ दिनेछन् तिमीलाई । किनकि तिमी त मेरो साथी हौ नि हैन र ?

तिमीसँगको मित्रता पनि निकै अजीवको हुन पुग्यो है । न सम्झेर नजिक हुन सक्ने न बिर्सेर टाढा हुन सक्ने । सायद त्यो एक दिनको हाम्रो आखिरी भेट थियो । बर्सौ देखि कतिले पर्खेर नभेटाएका मेरा यात्राहरुलाई तिमीले थोरै समयमै भेटाएका थियौ । त्यो एउटा संयोग मात्र थियो । मेरो प्रिय साथी मलाई समयले धेरै कुरामा ठगेको छ । प्रेमको नाउँमा मुटु चिरेर घाउ बनाउने साहस दिएन । नारी काटेर रगत बगाउन सक्ने आँट पनि दिएन । तिमीले मैले गरेको प्रेम अवश्य पनि बुझेका छौ । तर मैले हाम्रो शिक्षकले गणितको हल बल्याक बोर्डमा गरेर हामीलाई स्पष्ट पारे झै तिम्रो मनको बल्याक बोर्डमा लेखेर स्पष्ट पार्न सकिन ।

हो मेरो प्रिय मित्र म तिमी जतिको उचाईमा पनि पुग्न सकेन । तिम्रो हैसियतमा नापिन सकिन । तिम्रो योग्यतामा जोखिन सकिन । मैले पहिल्यै भनिसकेकी छु मलाई समयले धेरै कुरामा ठगेको छ । मैले प्रेममा पहिलो पटक हारेकी छु । यो बदला हो किनकि मैले पनि धेरैलाई यसैगरी हराएकी थिएँ । मैले त्यो अपराध त भोग्नै पर्छ । तर अब त्यो अपराध फेरि पनि दिहोर्याउने पक्षमा भने छैन म । मैले भुझिसकेकी छु आफूले हार्नुको पीडा । एउटासँग हारेर आफू काएर र कमजोर भएर बस्नुभन्दा कसैलाई जिताउनु नै जीवनको पहिलो जित हैन र ? मेरी आमाले भन्नुहुन्छ नानी हरेक कुरामा धैर्य गर्नुपर्छ । तर कतिपय काम कुराहरुमा धैर्य गर्दा गर्दै धैर्यताको बाध आफै फुट्दो रहेछ ।

हो मेरो प्रिय असल मित्र म यो संसारका आम केटीहरुभन्दा अलि भिन्नै र फरक मान्छे आफ्नो अस्तित्वभन्दा पर जीवन छैन भन्ने ठान्छु । मैले बुझेकी छु माया ! असख्य नाममा तिमी छौ म भित्र । मनका तह–तह भित्र अनगिन्ती अनुभूतिहरू होहल्ला गरिरहन्छन । तर अचेटेर बलजफ्ती आफ्नै वेगमा बढिरहेछु आफ्नै आस्थाको गन्तव्यतर्फ । मेरा विश्वासहरू बलिया छन् । अनथक बटुवा हुँ म ।

तिम्रो सम्झनामा म कहाँ झोक्राइरहन सक्छु र । ब्याकुल प्रेमी झै म कहाँ टोलाउन सक्छु र । म कुनै वियोगान्त कथाको पात्र पनि होइन । यद्यपि यो पनि सत्य हो हरेक पलमा तिमी ममा छौ । मैले तिमीबाट केही कुरा पाउने आश गरेकी थिएँन र केही गुमाउनु पनि थिएन । कुनै लोभ, मोह पनि थिएन । मात्र जिन्दगीका केही कालखण्डमा शब्दहरुको अनकन्टारमा तिमीसँगै होमिन चाहन्थे, तिमीससँगै हराउन चाहन्थे । तिनै शब्दहरुको अनकन्टारमा एउटा छुट्टै बस्ती बसालेर त्यसलाई बाचुन्जेल जीवनभर जस्तोसुकै दुःख र पीडा सहेर भएपनी पनि सुरक्षा दिन चाहन्थे । तर म त्यो सुरक्षाको लायक पनि त हुन सकिन ।

मेरो प्रिय मित्र यहाँनेर आएर मैले तिमीलाई कुनै दोष दिन चाहेकी हैन । तिमी शतप्रतिशत निर्दोष छौ र यदि तिमीलाई मैले दोष दिए भने म एउटा ठुलो अपराधी ठहरिन्छु । तिम्रो निर्दोष मनको अदालतले मलाई कदापि क्षमा दिनेछैन ।

अन्ततः तिमीले सबै कुरा बुझिसक्यौ । पहिले हामी जसरी एउटा असल मित्र थियौं अब पनि त्यही असल मित्र रहनेछौ । तर पहिले जसरी हामी कहिलेकाहीँ शब्दहरुमा हेलिन्थ्यौ अब त्यसरी हेलिन पाउने छैनौं । किनकि तिमीलाई थाहाँ छैन तर मैले अब हारिसकेकी छु तिमीबाट । हार्नुको पीडा मैले महशुस गरेर म अर्कैलाई जिताउदैछु । किनकि ऊ म जस्तै पीडामा न होमियोस । तर उसलाई जिताउनु मेरो रहर भने पक्कै होइन यो बाध्यता हो ।

मेरो प्रिय मित्र कुनैकुनै युद्धहरू नलड्दै हार्नु पनि पर्दो रहेछ । आज त्यस्तै अनुभूति भैरहेको छ मलाई । अन्त्यमा तिम्रो खुसी र सुखी जीवनको कामना ..।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *