Skip to content

प्रेम स्वच्छ दिलबाट आउँछ


प्रेम स्वच्छ दिलबाट आउँछ
शिष्टता सरलता सिकाउँछ

प्रेम राख्छ मनमा सुभावना
प्रेम दुख्दछ न ता दुखाउँछ

प्रेम हो मधुर पुष्प स्वर्गको
प्रेम रातदिन मग्मगाउँछ

हर्छ बिघ्न र तमाम दुर्दशा
प्रेमले कठिनमा सघाउँछ

हट्छ सङ्कट पवित्र प्रेमले
प्रेमले सकसमा बचाउँछ

प्रेम फुल्दछ दिँदै सुवासना
प्रेम व्यापक भएर छाउँछ

प्रेम निष्ठुर हुँदैन लोकमा
प्रेम स्नेह र दया फिजाउँछ

बस्छ प्रेम मन भित्र भद्रको
प्रेम दुष्ट जनमा बिझाउँछ

प्रेममा छ भरिपूर्ण जिन्दगी
प्रेमभित्र दुनियाँ अटाउँछ

लड्छ देह कति पल्ट मार्गमा
प्रेम बाहु खिचॅदै उठाउँछ

छैन रोष रति मात्र प्रेममा
प्रेमले कलुषता सडाउँछ

प्रेम हो सुसपना र सिर्जना
प्रेमले निकटता बढ़ाउँछ

दिन्छ अर्ती उपदेश प्रेमले
प्रेम निश्चित कुरा बताउँछ

तोड्छ तुच्छ परखाल प्रेमले
प्रेम उच्च पगरी गुथाउँछ

आँगनी छ झलमल्ल प्रेमले
प्रेम चाँद सरि भै उदाउँछ

छैन मुश्किल पहाड प्रेममा
प्रेम बादल चिरेर धाउँछ

प्रेम छर्दछ सुधा सुस्वादिलो
प्रेमले सरसिलो बनाउँछ

दिन्छ आश्रय बलिष्ट प्रेमले
प्रेमले सब व्यथा धपाउँछ

पाक्छ चित्त खुद प्रेम तोडिॅदा
तापले हृदय नै बफाउँछ

त्याग हुन्छ तप हुन्छ प्रेममा
प्रेमले विचलता दबाउँछ

देह जल्छ विरहाग्नि दन्किॅदा
प्रेमले जलन त्यो निभाउँछ

दु:ख दर्द पर हुन्छ प्रेमले
प्रेमभित्र दुनिया रमाउँछ

दिन्छ आश्रय बलिष्ट प्रेमले
प्रेमले सुख समृद्धि ल्याउँछ

टार्छ काल पनि शुद्ध प्रेमले
प्रेमसँग जगतै डराउँछ

प्रेमले सहज बन्छ जिन्दगी
प्रेमले सफलता दिलाउँछ

हुन्न घात प्रतिघात प्रेममा
प्रेमले न कहिले रुवाउँछ

छैन आँसु र विषाद प्रेममा
प्रेम हाँस्छ र सधैं हँसाउँछ

हुन्छ ‘कोमल’ विचार प्रेममा
प्रेम शान्ति सरिता बहाउँछ

रथोध्दता छन्द
SIS III SIS IS
३/७मा विश्राम

-कोमल भट्ट
च.न.पा. १३
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *