दौडाहा जीवन पलपलको पलमा मरिरहेछ
एक एक स्वाससँगै एक एक मुक्का मारिरहेछ
धकेलिरहेछ,
आखिर जीवन न रोदन हो त कर्कस तर किन ?
बाँच्छ ७५ वर्ष पच्चीस हजार पाँच सय पचास दिन
रात गाँसेर योग भो
बालापन खेलेर बित्यो, सुतेरै गयो
सत्य होइन र, के म निरासी हुँ त !
किन पाएँ जीवन, किन आएँ
सोचेँ, तर चिनेँ त ?
भैँसी र ममा के फरक छ ?
मेरो चेतन र यो वदनको वजन के छ चिन्न चाहेँ,
के हो मजा जीवनको के म रमाएँ ?
अहँ,
दौडाहा, अभाव, पीडा जडझैँ कर्मको हतारो
बिहानी घडीको अलरामसँग हतारिएँ,
बेलुकी घरधन्धामा लहसिएँ,
तनावको पोको भिरेर, वाह………
बोझिलो दिमाग, झुसिलो मुहार
अन्धो रवाफ अनि आफ्नो लागि समय खै ?
कसका लागि हो त जीवन ?
दुनियाँले प्रयोग गर्यो, आखिर मर्यो
के…. यत्ति ?
उमेर मोज रे,
मोज के हो, थाहै भएन न नि
काम र दाममा यवा रणभुल्ल झुल्यो
बूढो बोझिलो कचकचे, केटाकेटीझैँ बुद्धि, बेसुरे
सिँगाने, र्याले अनि युग र परिवर्तन नै नचिन्ने, रुढीवादी !
न मालिक न हात पूर्ण, चाउरिएको गालामा आफू कसका लागि ?
विचारको गुलाम भै दगुर्छ, वाह ! सर्वश्रेष्ठ प्राणी रे !
तिमीले तिमीलाई कति चिन्यौ ?
कति दियौ तिम्रै लागि समय ?
के साँच्चै तिमीले वास्तविक, साँचो र चाहेकै भित्रको
त्यो खुसीलाई भेट्टायौ ?
खोइ……………!
गजब छ मान्छे ।
रमेश भट्टराई सहृदयी
२०७४/१०/२८ गते आइतबार
