होलीका दिन
तिमी रंगसित रमाउनअघि
तिमीभित्रको होलिकालाई
दहन गर्यौ या गरेनौ
अब सोध एक पटक तिमीभित्रको
मान्छेसित यो प्रश्न ।
सायद दहन गरेको थिएनौ भने
अब गरिदेऊ ।
र तिमी पनि प्रह्लाद बन
आजै रातदेखि,
भोलिको सन्ध्यकालमा तिमी नै
नरसिंह बनेर
हिरण्यकश्यपको
वद गरिदेउ,
तिम्रो मनको दैलो साघरमा बसी
तिम्रै काखमा रखेर
अनि रमाउँ तिमी र म
हामी भई मानवताको रंग पोत्दै
हरेक दिन,
हरेक पल,
यो जगमा जीवन रहेसम्म ।
सत्यको रंगसित खेलौ
वेरंग असत्यलाई पखालेर
विश्वासको रंगसित रमाऊ
अन्धेरो अविश्वास विर्सेर
तिमी! तिमी बिर्सिनु
म! मलाई बिर्सिदिन्छु
अनि हामी भएर फेरि
प्रह्लाद भई आध्यत्म र विज्ञानको
दुई हातले आरति गाऊ
वास्तविक सभ्यताको ।
होली र रंगको अर्थहिन अर्थलाई
अर्थपूर्ण अर्थ बनाऊ ।
✍ अमर निराकार राई, दार्जिलिङ ।
