युद्धमा हारेका बा


आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गए । यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । योभन्दा १० र १२ वर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन ।

एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झूक्न डराउनु हुन्न भन्ने मेरो मान्यता ।

दुई घन्टीमा सामाजिक विषय थियो पढ्नु पर्ने । सामाजिक सर कलासमा के छिर्नुभएको थियो । दुई तीन जना भोका स्यालहरू जस्तै देखिने मान्छेहरू कलास भित्र पसे र भने, “साथीहरू हो, हामी सधैं अन्याय र अत्याचारका विरुद्धमा लड्छौ । हामी चाहन्छौ साथीहरुको पढाईलाई असर नपरोस तर हामी विद्यार्थी भनेका खोक्रो किताब मात्र हेरेर, घोकेर, यो बुर्जुवा शिक्षा पढेर मात्र बस्ने हैन अब देशको लागि पनि केही गर्न पर्छ । एउटा व्यक्ति मज्जा सग भाषण छाटेर गयो । अर्कोले भन्यो आज हाम्रो माथि डाँडामा कार्यक्रम छ ।”

उनीहरू, “तपाईंहरू पनि त्यस कार्यक्रममा जानै पर्छ,” भन्दै कक्षाबाट बाहिर निस्के । सामाजिक शिक्षा पढाउने गुरु पनि चुपचापसँग कक्षाबाट निस्कनु भयो ।

जब एउटा १२ र १३ वर्षको बालक पढ्न को लागि पाठशाला गएको छ उसले आफैलाई चिन्न सकेको छैन भने देशलाई कसरी चिन्न सक्छ र अन्याय अत्याचार विरुद्धमा कसरी लड्न सक्छ । उफ देश बनाउनेहरू के आफ्नै दाजुभाइ को रगतले माटो मुछेर देश बनाउन हिडेका छौ ? कहाँसम्मको हो तिम्रो यो न्याय । हामी पढ्न आएका हौ तिमीहरुको कार्यक्रम हेर्न, सुन्न हैन ।

हिजो मात्र त्यहीँको एउटा गाउँमा एक जना माओवादीलाई पुलिसले मारेका थिए । त्यही डरले साथीहरू पनि स्कुल आएका छैनन् धेरै । गाउँका एक जना बाले भन्दै थिए । अस्ति स्कुल पढ्न गएको विद्यार्थीलाई माओवादीले लगे रे आजाभोलि ऊ पनि तिनै माओवादी सग हिंड्छ रे । घरमा आएको छैन, बा, आमा रुन्छन रे सधैं । हाम्रो कक्षामा पढ्ने गोमा पनि माओवादीमा लगिसकी रे त्यसैले आजभोलि ऊ स्कुल नै आउदिन । कक्षामा साथीहरूबीच यस्तै कुरा चल्दै थिए ।

मैले भनें, “अब हामी उनीहरुको कार्यक्रममा होइन घर जाने हो पढाइ हुँदैन भने किन बस्ने ?”

अर्कोले भन्यो, “तर कसरी जाने ? भाग्न लागेको देखे भने लैजान्छन । नगए पछि गोलि हानेर मर्दिन्छौ भन्छन् । नाकबाट बगेको सिगान पुछ्न नसक्नेलाई त गोलि हान्छौ भन्छन् अरुको त झन के हाल होला !”

उनीहरू मतलब माओवादीहरू अफिसमा सरहरूसँग कुरा गर्दै थिए । हामी केही साथीहरू नजाने निर्णय गरेर भाग्यौ ।

हामीलाई भागेको देखेर एक जना करायो, “ए ए …..नभाग है नत्र.. ।”

एक जना साथीले भनी, “देख्खेले नि तिनीहरुले अब कहाँ छोड्छन् र हामीलाई । जाउँ लुकौँ त्यही तिनु र दच्कुन्को बोट भित्र ।”

तिनीहरुले देख्दैनन भनेर ऊ डरले लुक्न गई । बिचरी त्यही बोटमुनि कसले दिसा गरेको रहेछ । उसको मेड्डीभरि दिसा लाग्यो । “मरेछ नि को !” भन्दै बाहिर आई ऊ । अब तलाई गुले पनि छोडेन भने मान्छेले कहाँ छोडछन् र है हिहिहि……. हामी दुई, तीन जना साथीहरू भने मरीमरी हाँस्न लाग्यौ ।

“नकराऊ, आफूलाई भने यस्तो भया’छ तिमीहरूलाई हाँसो,” उसले भनी ।

“तँलाई लुक्न नजा त भनेको नि मान्याइहोस र खुब बच्नु पर्ने तलाई । हेरिन्थिस लुक्ने बेला अघिपछि के छ,” भनेर मैले भने ।

बाहिर भने पनि आफ्नो साथीलाई त्यस्तो अवस्थामा देखेपछि मनले त कहाँ मान्छ र । भदौको महिना एक दुई दिन अगाडि पानी परेको थियो । खाल्डोमा पानी जमेको रहेछ साथीको मेड्डीमा लागेको गु भने पखाल्यौ ।

अब कता भाग्ने । ती माओवादीहरुले भने हाम्रो पिछा छोडनन् । हामीलाई देखिसके । नजिकै आएर भने तपाईंहरू जानै पर्छ । त्यसपछि हामीले सानो भाइबहिनीहरुको हातमा झोला, किताब थमाइ दिएर ५, ६ जना साथीहरू उनीहरुको पछि पछि गयौं ।

हाम्रो कार्यक्रम माथि डाँडामा छ भन्थे तर बिहान बार बजे हिडेका हामी दुई बज्दासम्म उनीहरुको कार्यक्रम गर्ने ठाउँमा नै पुग्न सकेनौं । तीन चार घन्टाको बाटो हिडिसक्यौ अँझै पनि आएको छैन कार्यक्रम हुने ठाउँ ।

पानी तिर्खा, भोक लागिसक्यो । हिंड्दा, हिंड्दा खुट्टा नै दुखिसके १२, १३ वर्षका स्कुल पढ्ने केटाकेटीलाई हिडाएर अँझ भनौ पढ्न लागेको कक्षा कोठाबाटै उठाएर जबर्जस्ती ल्याएका छन् । कस्तो न्यायका विरुद्ध लड्न लागेका हुन यिनीहरू । उता राज्यपक्षबाट माओवादी भनेर गोली ठोकेको छ । यता माओवादीले राज्यपक्ष भनेर गोली ठोकेको छ । नदीहरुमा पानी हैन आफ्नै दाजुभाइको रगत बगेको छ । कस्तो सत्ता ल्याउन खाज्दैछन यिनीहरू । हामीलाई त त्यो उमेरमा डर मात्र थियो । आर्मी, पुलिस र माओवादीको लडाइँ चलिरहेको छ रे भन्ने मात्र थाहाँ थियो । सत्ता के हो ? राजतन्त्र के हो ? प्रजातन्त्र के हो ? युद्ध के हो ? केही थाहाँ थिएन । कहिलेकाही गाउँका बाजेहरू दाइहरुले कक्षा कोठामा गुरुहरुले भनेका सुनेका थियोँ ।

हिंड्दा हिंड्दा साँझको चार बजिसक्यो अँझै पनि उनीहरुको कार्यक्रम हुने ठाउँ नै आएन । केही साथीहरूले भने भोक लागिसक्यो केही किनेर खाऊ नत्र हिंड्न् सकिँदैन । तर खाने हो गोजीमा पैसो नै छैन । हामी एक दुई जना साथीको गोजीमा भने बासँग कलम किन्नलाई मागेको पैसा थियो त्यसैले खाऊ न, भन्दै थियौं । तिनीहरुले हाम्रो लागि चिउरा र चाउचाउ किन्देका रहेछन् । एक जना हामीलाई लगेकाले भने । सबै साथीहरू एकै ठाउँ बसेर खाउँ अरु साथीहरू पनि आउदै हुनुहुन्छ पर्खिम् । हुन्छ भनेर पछाडि आउँदै गरेका साथीहरुलाई पर्खिन लाग्यौ ।

साथी कमलाले भनी, “हाम्रो त घरमा थाहा छैन । साँझ घर नपुगेपछि मार्छन मलाई ज्यै बाले,” उसले आँखाभरि आँशु पार्दै भनी ।

“तेरो मात्र हो र ? हाम्रो पनि त थाहाँ छैन नि । जेई, बाले त हाम्लाई स्कुल गएका छन् भनेका छन् नि । अब के गर्ने होला यिनीहरुकोभन्दा नि जेई, बाको डर छ । कहाँ गएकी थिइस ? किन गएकी थिइस ? अरु त आइसके नि तलाईमात्र जानुपर्ने भनेर अनेक प्रश्नहरू वर्षाए भने के जवाफ दिने ।”

मैले भने एउटा आइडिया छ मसँग । यिनीहरूसँग हामी सु गर्न जान्छौ भनम अनि अरु साथीहरुलाई नभनम । हामी दुई मात्र जाउँ । उतैबाट भागौला । चिउरा चाउचाउ नखाएनी हुन्छ, मैले बा सग कलम किन्नलाई मागेको दस रुप्पे छ त सग पाँच रुप्पे छ त्यसैले किनेर खाम्ला । कमलाले त्यसो भए हुन्छ जाउँ भनी ।

हामीलाई लिएर हिडेको एक जना दाइलाई मैले भने दाइ पछाडि साथीहरू आउन्जेल हामी सु गर्न जान्छौ है एक छिन ? उनले भने हुन्छ जानुहोस् छिटो आउनुहोला नि छुट्नु होला फेरि । मनमनै भने हामीलाई तिमीहरूसँग छुट्नु नै छ । कहाँसँगै हिड्नु छ र ।

त्यसपछि हामीले मुक्ति पायौँ र अरु साथीहरूले नदेखुन भनेर हामी जङ्गलै जङ्गल भाग्यौ । जादा तीन घन्टा लागेको बाटोमा आउँदा खै कसरी डेर घन्टामै आइपुग्यौँ थाहाँ भएन । घर पुग्न त अँझै दुई घन्टा लाग्छ तैपनि कमला को र मेरो गाउँ एउटै हैन एक्ला एक्लै हिड्नुपर्छ । रात परिसक्यो हिड्ने आधा घन्टा बाटो त ठुलो जङ्गल हुँदै हिड्नु पर्छ । अहिले पनि जङ्गलमै छौ ।

कमलाले भनी भाग्न त भाग्यौ मलाई तर डर लाग्छ यो जङ्गल को बाटो एक्लै हिड्न त अब कसरी जाने । मैले भने नडरा न यो जङ्गल त काटौ माथि पुग्यौं भने साथीको घर छ त्यही बसेर भोलि विहानै घर जाम्ला । बरु कसैले केही गर्यो भने केही ढुङ्गाहरू मेड्डीको गोजीमा राखौ यसैले हान्दिम्ला । अनि एक एक वटा लठ्ठी पनि हातमा समातौ । के को डर ।

आइपरेपछि मेड्डीको गोजीमा राखेको ढुङगाले र लठ्ठीले के नै हुन्थ्यो र । केही गरी उसको मन भित्रको डर मलै हटाउनु थियो । मलाई साथी भएपछि त्यति डर पनि लाग्दैन । बा आमाले कहिलेकाहीं भन्नुहुन्छ, यो त मुर्ख छे डरै मान्दिन । कहिलेकाहीं राति चार बजे पानी भर्न जादा बाटोमा कोही नभेटिएपछि चुरेनीसँग पनि भेट हुन्छ । ऊ अघि अघि जान्छे म उसको पछिपछि । धेरै पटक हिडिसकेकी छु म पानी लिन जादा चुरेनीसँग । कहिलेकाहीं सेता मान्छेहरूसँग पनि भेटिन्छन् तर ती मान्छे भने होइनन् भुत हुन ।

हामीले लठ्ठी पनि खोजेर हातमा समत्यौ र केही मेड्डीको गोजीमा अटाउने डुङ्गा पनि राख्यौं । र दौडियौँ । त्यसै क्रममा बाटोमा एक जना लौरो टेक्दै हिंड्दै गरेका बा भेटिए । हामी दौडेको देखेर उनले भने नानी हो रात परिसक्यो यो जङ्गलमा एक्लै छौँ ? कहाँ हो तिम्रो घर ? कहाँबाट आयौ ? कहाँ जान लागेको ? हामीले भन्दै हिंड्यौ बा हामीलाई माओवादीले लगेका हुन कार्यक्रम छ भनेर हामी त भागेर आयौं अरु साथीहरू उतै छन् ।

बाले भने, “नानी हो म पनि माथि गाउँमै जाने हो । तिमीहरू डराउनु पर्दैनसँगै जाउँला ।” त्यसपछि हामी निडरका साथ बाजेको पछि पछि हिड्यौ ।

बाले हामीले लाएको स्कुलको ड्रेस देखेर सोधे, “तिमीहरुलाई स्कुलबाट नै लगेका हुन नानी ?”

“हो बाजे ।”

“नानी हो अहिले देश को हालत यस्तै छ । कसैलाई स्कुलबाट नै लगेका छन् कसैलाई घरबाटै लगेका छन् । आफ्नै दाजुभाइ को रगत आफैले पिइरहेका छन् । किन यस्तो गरेका होलान् ? मेरो छोरालाई नि अस्ति खेतमा काम गर्दै गर्दा तँ माओवादी होस भनेर आर्मी पुलिसले लगेर गएका हुन् अँझै फर्केर आएको छैन । त्यही पिर र चिन्ताले गर्दा आमाको हालत हेरिसक्नु छैन । एक्लो छोरो भविष्यको लौरो भनेर उसलाई आफ्नो रगत नै बेचेर ठुलो बनाएको तर अहिले उनै छैन । कतै पत्ता लाग्छ कि भनेर तर बजारसम्म गएको हुँ । तर खै ..।”

बाले आँखाभरि आँशु पार्दै दुखेसो पोखे ।

मैले सोधें, “बा कहीं कतै पत्ता लागेको छैन त ?”

“थाहा भएको भए किन भौतारिनु पर्थ्यो र नानी । उसलाई लग्नुभन्दा मलाई लगेको भए म आफै जाने थिएँ ।”

यस्तै कुरा गर्दै हामी गाउँमा आइपुग्यौ । बाजे आफ्नो घरतिर लागे अनि हामी साथीको घरतिर लायौँ ।

———-

आज धेरै वर्ष पछि अकस्मात यो शहरका गल्लीहरू पन्छ्याउदै जादा तिनै बासँग भेट भयो मेरो । बा यहीँ शहरको एउटा चिया पसलमा चिया पिउँदै रहेछन् । म पनि त्यही पसलमा नै साथीहरूसँग चिया पिउँन पुगेकी थिएँ । बाको बोली र कुरा गराइबाट मैले बालाई चिने ।

ती बालेसँगै बसेका अरु व्यक्तिहरूसँग कुरा गर्दै गरेको सुने बाले भन्दै थिए, “बुढेसकालको सहारामा जन्मेको छोरा तर अहिले साथमा छैन । हाम्रो नभएर देश र जनताको लागि रगत बलि चढायो । राज्यपक्षबाट ऊ मारियो । एउटा सिङ्गो याम बितिसक्यो लड्दा लड्दै । रगतका टाटाहरू अँझै बाँकी छन् हत्केलाहरुमा । तर खस्किए जीवनका पाटाहरू । अहिले कोही छैन । क्यानभासमा तिनै छोरा र आमाको रगत र पसिनाको रङ्ग मात्र छ ।”

मलाई बाको नजिक गएर कुरा गर्न मन लाग्यो । तर के बाले मलाई चिन्लान र ! त्यो समयमा बाले हामीलाई निडरका साथ हिंड भनेका थिए, हामी उनको पछि पछि हिडेका थियौँ । मेरो मनले मानेन म बाको नजिकै गएँ ।

बाले चियाको चुस्किसँगै आफ्नो सन्तानको याद पिउँदै थिए सायद । मैले उनको याद भङ्ग गर्दै सोधें, “बा मलाई चिन्नुभयो ?”

“चिन्न गाह्रो भयो नानी ।”

बाले चिनुन् पनि कसरी ! म परिवर्तन भैसकेको थिए । मेरो बाल्यपन हराइसकेको थियो । मैले बालाई सम्झाउदै भने बा त्यो साँझको समयमा हामी भेटिएका थियौं नि । मैले सबै बिस्तारमा भने । त्यसपछि बाले विगतका ती सबै कुरा सम्झिए ।

“बा आज भोलि कता हुनुहुन्छ ?” मैले सोधें ।

बाले चाउरिएका गालाहरुमा खुशीका रङ्गहरू देखाउदै भने, “मेरो बस्ने कुनै घर छैन नानी म यही बाटोलाई घर बनाएर पनि हिंड्छु । बाटोमा हिड्दा, साइनो खोज्दै जाँदा भेटिन्छन् आफन्तहरू ।”

“अनि आमा ?”

“जब छोरालाई अपहरण गरेर लगे, ऊ फर्किने आशमा पर्खेर बस्यौं ऊ आएन । उसको आमा चाहिँ उसैको पिरमा दिनानुदिन गल्दै गई । म उसलाई खोज्दै गए । भेटियो पनि तर जसरी गएको थियो त्यसरी भेटिएन ऊ । बरु बन्दुकसँग भेटियो । मैले उसलाई भन्दुक छोडेर घर हिंड्न् आग्रह गरे तर उसले मानेन् र भन्यो । बा, म एउटा किसानको छोरो हुँ । खेतमा काम गर्दै गर्दा मलाई माओवादी भनेर मानर्को लगे र म भागेर बाँच्न सफल भए । त्यसपछि मैले सोचे अब भागेर हैन म उनीहरू सग लडेर बदला लिन्छु भनेर बन्दुक समाएको हुँ । तर अब मैले बदलाको बन्दुकभन्दा यो देशमा आमूल परिवर्तन ल्याउनको लागि देश र जनताको लागि लड्छु भनेर हिडेको छु । मलाई नरोक्नुहोस । बरु आमालाई गएर सम्झाउनुहोस् र भनिदिनुहोस तेरो रगत हाम्रै लागि लडदै छ भनेर ।”

“त्यसपछि मैले उसलाई कहिल्यै आउन आग्रह गरिन । तर दैव लागेर कुन दिन लड्दा लड्दै देश र जनताको लागि रगत नै बलि चढाएछ । उसको मृत्युको खबर सुनिसकेपछि सहन नसकेर उसकी आमाले नि यो संसारबाट बिदा लिएर गई । म एक्लो भएँ ।”

“मैले जिन्दगी देखि हार खाएँ, रोएँ, कराएँ, बहुलाएँ केही लागेन मर्न पनि सकिन । कताबाट सोच आयो आँट गरे । एक्लै जिउनभन्दा देश र जनतासँगै जिउछु भनेर बदलामा बन्दुक बोकेरै हिडे म पनि । कोही माओवादी र कोही राज्यपक्षबाट मारिए । कोही अपाङग भए, कोही टुहुरा भए, कसैको काख रित्तीयो, कतिको सिन्दुर पोछियो । जसको कुनै सीमाना रहेन ।”

“देशमा आमुल परिवर्तन आयो । शान्ति सम्झौता भयो । नदीहरुमा रगत बग्न कम भयो । बम र बारुदका आवाजहरू सुनिन छोडे । हामीसँगै लडेका साथीहरू कोही मन्त्री भए । कोही प्रधानमन्त्री भए । ठुला ठुला महलहरू पनि ठड्याए । त्यसपछि जनताको संविधान पनि आयो ।”

“हामी केही राहत पाउने आशामा बसिरह्यौ । तर राहत को नाउमा आहत पनि आएन । खोक्रो आश्वासनका खोस्टाहरू मात्र बाडिरहे । हामीले सुनिरह्यौ । जो वास्तविक द्धन्दमा मारिएका थिए उनीहरुले राहत पाएनन् । अद्धन्दमा मरेकाले पाए ।”

“देशमा अन्याय, अत्याचार, हत्या, हिंसा, वलात्कार, भ्रष्टाचारका घट्नाहरुको अन्त्य गर्छौ, परिवर्तन ल्याउछौ भनेर सरकारमा गएकाहरू कति आफै त्यसको पछि लागे । आफू परिवर्तन भए तर जनताका दुःखहरुमा परिवर्तन आएन । देश बनाउन सक्नेहरुलाई अघि सर्नै दिएनन् पछि हटाए । देश बिथोल्नेहरुलाई अघि पठाए अनि कसरी पाउँछन् नानी जनताहरुले न्याय । अँझै आशा छ देशमा जनताको शासन आउँछ कि भनेर जनताले न्याय पाउँछन् कि भनेर । अब आफ्नो जिन्दगी र जीवनको आशा त यसै टुटीगयो । हामीले र हाम्रा छोराहरुले बगाएको रगतले न्याय पाओस यही छ चाहना ।”

चिया पसलमा करिब आधा घन्टाको बसाई पछि बाका कुराहरू सुने । बाले बितेका यादहरू ओकले मसँग । हाम्रो कुनै साइनो थिएन । एक पटक त्यही द्धन्दकालमा भाग्दै गरेको त्यही बाटोको साइनो थियो । त्यही साइनोमा बाले आफ्ना भयानकपिर व्यथाहरू पोखे । समय बदलियो शारिरिक अवस्था बदलियो तर बाको सोच र विचार अँझै वदलिएको छैन । उस्तै छ ।

मैले भनें, “बा, त्यो समयमा तपाईंसँग भेट भएपछि हामी पनि हिडेका थियौं केही समय । त्यो वाल्यअवस्थामा परिवर्तन ल्याउने आशामा । तर पछि हाम्रो पढाइ बिग्रने डरले हामी हिडेनौ ।”

“तपाईंसँगै लडेकाहरू मन्त्री भए प्रधानमन्त्री भए । तर तपाई किन यसरी भौतारिनु भएको छ एक्लै ? तपाई जस्तो मान्छे हुनुपर्ने थियो त मन्त्री अनि मात्र पो जनताले न्याय पाउने थिए ।”

बाले एउटा हात देखाउँदै भने, “हेर नानी यही हो हाम्रो देश र जनताको लागि लडेको चिनो । हामी जस्ता अपाङगलाई कसले बनाउँछ मन्त्री ?”

बाको एउटा हात नै रहेनछ । त्यो अवस्था देखेर मन केही बेर भक्कानियो । समय बदलियो तर जनता र द्धन्दकालमा अपाङग भएकाहरुको समस्या बदलिएको रहेनछ । मसँग बालाई गर्न सक्ने क्षमता केही थिएन ।

कुरा गर्दा गर्दै समय बितेको पत्तै भएन । बा आफ्नो बाटो लागे म आफ्नो बाटो लागेँ । उहाँको सम्झनामा आज धेरै वर्षपछि । मात्र यही एउटा कथा बनाएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *