Skip to content

म देश खोज्न जान्छु


पुगेर चौतारी, कहिले देउराली र
कहिले भँञ्ज्याङमा
लेख्नु प्रिय,
तिमीले प्रकृतिका कविताहरू
पुगेर बुढा आमा र बाबाको छहारीमा
लेख्नु प्रिय,
ओइलाउन लागेका जीवनका गाथाहरू
विवशतामा चाउरिएका कथाहरू
म देश खोज्न जान्छु ।

घुमेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म
छामेर देशको मुटु, नियालेर नेपालीहरुको आँखा
बेचिन लागेका सुस्ता र कालापानीका पाखा
लेख्नु प्रिय,
तिमीेले बिद्रोहका कविताहरू
म देश खोज्न जान्छु ।

लुटिएको दिदी र वहिनीहरूको अस्मिता
पासपोर्ट बोकेर एयर्पोटबाट बिस्तापित भएका
कर्मठ युवाहरुको व्यथा
लेख्नु प्रिय,
जहाजमा उड्न लागेका सपनाहरू
म देश खोज्न जान्छु ।

बहिनीले सिरानीमा प्रेमिलाई
छोडेर गएको
उनको आत्माहत्याको प्रेमकथा
सलबलाइरहेको होला अँझै
लेखिदिनु है प्रिय
प्रेमको पाठशालामा धोकेवाजहरू
भर्ना नगाराउनु भनेर
म देश खोज्न जान्छु ।

तिमी कलम समाएर नरुक्ने बाचा गर
म बन्दुक समाएर नझुक्ने बाचा गर्छु
न्यायको लागि कलम र बन्दुक
दुवैको आवश्यक छ
हो प्रिय,
यतिवेला
म जादैछु हराएको देश खोज्न
तिम्रो जिम्मामा छोडेर नालापानी र कालापानी
नसम्झनु बैगुनी रैछ माया मारेर गई भनेर
प्रेमको इजलासमा फैसला गरेपनी
जित दुवैको हुनेछ, ढुक्क हौ ।

राखेर हाम्रो चोखो प्रेम सन्दुकमा
यतिवेला बिर्सनु हुदैन हामीले
आमालाई चोली र बाबालाई टोपी किन्न
यतिवेला बिर्सनु हुदैन हामीले
देशको लागि एक थोपा रगत वली चढाउन
पिञ्जडामा बसेर विद्रोह गर्न सकिदैन प्रिय
लालपुर्जाहरू बाकसमा राखेर देश भेटिँदैन प्रिय
ऐनामा हेरेर पीडा देखिदैन प्रिय
हो प्रिय,
आफ्ना रहरहरू केही समय
सम्झौताको बाकसमा थुनी राखेर भएपनि
तिमी आफ्नो कलमले देशको तातो शब्दचित्र उतार
म हराएको, मेरो देश खोज्न जान्छु ।

दिपा धिताल
तुलसिपुर दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *