पातर र कडगरको जोडी


बाह्र बजेको चर्को घामले बाटो हिँड्नेलाई असिनपसिन पारेको छ । दुई जना चुइँकिने साइकलमा चढेका छन् । उत्तरतिर हाँकिँदै छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ– ‘बाई, बाई सर ! बाई…।’ आफूले अभिवादन नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– ‘बाई, बाई स्टुडन्टस्…….बाई…….।’

दुवै यात्रु बोर्डिङ्गका शिक्षकहरू हुन् । दुवैमा युवा जोस छ, नयाँ रगत दगुरिरहेको छ तर नयाँ सोच उम्रन सकिरहेको छैन । दुवै आफू तालिम अप्राप्त काँचा, कलिला शिक्षक मानिन तयार छन् । तर उनीहरूका प्रिन्सिपल भने शिक्षकलाई शिक्षकका रूपमा हैन, एक रेलका यात्रुका रूपमा सम्झन्छन् । स्कुललाई रेल्वे स्टेशन सम्झन्छन् । उनी भन्ने गर्थे, “यात्री त रेल्वे स्टेशनमा कत्ति आउँछन् र जान्छन्, यस्तो क्रम निरन्तर चलिरहेकै हुन्छ ।”

जसले थोरै तलव स्वीकार्यो र गोरु जोताइ जोतियो ऊ टीकाउ सर भयो । तर जसले यथोचित पारिश्रमिक लिएर श्रम बेच्न खोज्यो, उसका लागि छोटोभन्दा छोटो समय प्राप्त हुने भयो । बोर्डिङ्ग स्कुल शिक्षकका लागि एक किसिमको जेल हो । त्यहाँ भित्रिनु पनि वाध्यता हो । चाहेर पनि निस्कन नसक्नु अर्को बाध्यता हो । उनीहरूका बीचमा यस्तै यस्तै कुरा हुन्थे ।

साइकलको पछिल्तिर बस्ने गहुँगोरो थियो, सिकुटे थियो, फुँङ्ग उडेको मुहार थियो । जे बोल्थ्यो, त्यो गर्थ्यो । जे गर्थ्यो, त्यहीे बोल्थ्यो । हण्डर खान जानेको थियो । पीडा भोग्नेलाई नै सुखको आनन्दानुभूति प्राप्त हुने कुरामा ऊ विश्वस्त थियो । शारीरिकरूपमा ऊ पातलो भएकाले विद्यार्थीहरूले उसको नाम ‘पातर सर’ राखेका थिए ।

अर्को साइकल चालकचाहिँ खरो अङ्ग्रेजी बोल्थ्यो । सस्तो खालको सेतो भेष्ट लगाउँथ्यो । मंगोलियन आकृतिको रातोपीरो मुहारको थियो । थोरै बोल्थ्यो तर धेरै काम गर्थ्यो । सैनिकले आफ्नै आमाबाबु पनि नभनी कर्तव्य निर्वाह गरेझैँ ऊ पनि त्यस्तै कर्तव्य निर्वाहमा कटिबद्ध थियो । विद्यार्थीहरूले पढ्ने बेलामा पढेनन् भने दुई तीन पटक नैतिकरूपमा जिम्मेवार बनाउने प्रयत्न गर्थ्यो । त्यसो गर्दा पनि पढाइमा रूचि देखाएनन् भने र उसैलाई छक्याउने काम गरे भने ती विद्यार्थीहरूले उसको कडा दृष्टिभित्र फँस्नै पर्थ्यो । उनीहरूले नैतिकरूपमा गिर्नै पर्थ्यो । शारीरिक पीडाले नभए पनि मानसिक पीडाले रन्थनिनु पर्थ्यो । आँखाभरि आँसु पार्नै पर्थ्यो । हायलकायल हुनै पर्थ्यो । त्यसैले विद्यार्थीहरूले उनको नाम ‘कडगर सर’ राखेका थिए ।

पातर र कडगर दुवै सरको गाढा मित्रता थियो । तिनीहरूको एक मन थियो, शरीरमात्र दुई । सोच एक थियो, मस्तिष्क मात्र दुई । पेट एक थियो, मुख मात्र दुई । यसरी दुईभित्र एक भएर बाँचेका ती दुवै प्राणीको बोर्डिङ्ग स्कुले शिक्षण क्षेत्रमा नाम थियो । उनीहरू विद्यार्थीहरूलाई भन्ने गर्थे– ‘पैसा कसैलाई बढ्ता भएको छैन । तिमीहरूले उचालेका प्रत्येक पाइलामा अभिभावकहरूले आफ्नो पसिना लगानी गरेका छन् । उनीहरूले तिमीहरूमार्फत आ–आफ्ना सपनाहरू पूरा हुने देखेका हुन्छन् । हामी ती अभिभावकहरूको सपना कुल्चन चाहँदैनौँ । पाठ्यक्रम, पाठ्यपुस्तक र राष्ट्रले निर्धारित गरेका उद्देश्य पूरा गर्न÷गराउन कटिबद्ध छौँ । अतः आफ्ना लागि पढ्ने गर । पढाइलाई वाध्यता नसम्झ । तिमीहरू हाँस्दै, नाच्दै, खेल्दै र गाउँदै सिक्न सक्छौँ । त्यसका लागि केवल चाख लिनुपर्छ । चिन्तनमनन गर्नुपर्छ । नजाने र नबुझेका ठाउँमा सिकाइको खोजयात्रामा निस्कन सक्नुपर्छ ।’

राजदेवी मन्दिरमा घण्टहरू बज्न सुरु हुनासाथ पातर जुरुक्क उठेर दैनिक कार्य गरी स्कुलका लागि तयार हुन्थ्यो । सडकमा उभिन्थ्यो र कडगरलाई कुर्थ्यो । घरिघरि आफ्नै सामर्थ्यले आर्जेको भुक्के घडी हेर्थ्यो । प्रार्थनाको समय ढिलो हुन लाग्यो भन्दै हतारिन्थ्यो । कडगर भने साइकल चुँइक्याउँदै आइपुग्थ्यो । ‘बुढियाले मुराई–तरकारी नखाईकन आउनै दिइनँ, ढिलो गर्दिई ।’, ऊ स्पष्टिकरण दिन्थ्यो । त्यस समय ऊ मलेठ गाउँमा विद्यार्थी पढाएर बस्थ्यो । उनका कुरा सुनेर पातर भने मुख मिठ्याउँथ्यो । कारण मुराई–तरकारी उसलाई पनि मन पर्थ्यो ।

साइकलको पछिल्तिर पातर बस्थ्यो । फेरि साइकल चुँइकिन थाल्थ्यो । बाटाभरि फेरि विद्यार्थीहरूकै लावालस्कर भेटिन्थ्यो । गुड मोर्निङ्ग सर…… गुड मोर्निङ्ग सर……, स्वर गुन्जिरहन्थ्यो । हरेक विद्यार्थीलाई अभिवादन फर्काउनु सम्भवै थिएन । केही विद्यार्थीहरूलाई भने गुड मोर्निङ्ग स्टुडन्टस्….. गुड मोर्निङ्ग .. भन्दिन्थे । केहीलाई भने टाउको हल्लाएर नै अभिवादन स्वीकार गरेको जनाउ दिन्थे ।

पछि गएर दुवै शिक्षकसँगै बस्न थाले । दुवै भिन्नाभिन्नै विषयका भएकाले टिउसन पढ्ने विद्यार्थीको भीड लाग्न थाल्यो । दुवै साथै विद्यालय पुग्थे । साथसाथै बाहिरिन्थे । उनीहरूको अटुट मित्रता देखेर अभिभावकहरू पनि छक्क पर्थे । यी दुवै स्कुलमा भएकाले स्कुलको शान र मान बढेको छ भन्थे । विद्यार्थीहरूलाई पढाउँदा भोग्नुपरेका अफ्ठ्याराहरू आपसमा छलफल गरेर टुङ्ग्याउँथे । कसैले कतै औँला ठड्याउने ठाउँ बाँकिरह्यो कि भनी सतर्क भएर पाइला अघि सार्थे ।

नयाँ शैक्षिक सत्र सुरु हुनासाथ प्रिन्सिपल राम्रा शिक्षकहरूका नजिक हुन्थे । उनीहरूलाई रिझाउनलाई हरसम्भव प्रयत्नमा रहन्थे । कडगर सबैको आँखाका नानी भइसकेको थियो । हुन त स्कुल प्रवेश गर्नेहरूको सुविधा मासिक नौ सयदेखि पन्ध्र सयसम्म थियो । उसबेला सहरमा एक जना मान्छेलाई सामान्यरूपले बाँच्न कम्तीमा मासिक सत्र सय लाग्थ्यो । कडगरको कडा विचार देखेर नै उनको तलव मासिक सोह्र सय तोकिएको थियो । उसको यस लोकप्रियतामा डाहा गर्ने अन्य पुराना शिक्षक मित्रहरूको कमी थिएन । ‘कडगर सर टिचर जकाँ नहि लागैत अछि मुदा निक टिचर अछि ।’ (कडगर सर शिक्षकजस्तो लाग्नुहुन्न तर असल शिक्षक हुनुहुन्छ ।) अभिभावहरूको आवाज सुनिन्थ्यो । यस्ता भनाइले पनि उसको उचाइ दिनानुदिन चुलिँदै थियो ।

ऊ बोर्डिङ्ग स्कुलको शिक्षक मात्र नभएर महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजमा पढ्ने विद्यार्थी पनि थियो । क्याम्पसको कक्षा छुटाउनु आफ्नो धर्म विपरित ठान्थ्यो । सारा अङ्ग्रेजी विभागमै उसको नाम थियो । त्यहाँ भने उनको नाम ‘मिष्टर एभिट’ थियो । सायद ऊ कुनै कुरामा गहिरिएर अध्ययन गर्ने र आफ्ना कुराहरू निर्धक्क राख्ने भएकाले ठट्यौलो पाराको नाम रोजिएको हुनसक्छ । शेक्सपियरका नाटक वा नाट्यकारिताका कुरा हुन् या ‘अ कम्पेनियन टु लिटेरेचर’का कुरा हुन्, उसका जिज्ञासा कडा खालका हुन्थे । जवाफ दिन नसकेर उसलाई पढाउने कतिपय शिक्षकहरू कहिलेकाहीँ विलखबन्दमा समेत पर्थे । गम्भीर समीक्षकले पर्गेल्न नसक्ने प्रसङ्गहरू उसले तेर्साएको हुन्थ्यो । कक्षामा प्रवेश गर्नासाथ सबैको ध्यान उसैतिर खिचिन्थ्यो । उसको उपस्थिति देखेमा प्राध्यापकहरू बढी सचेत भएर पढाउँथे ।

बोर्डिङ्ग स्कुलमा शिक्षकहरूको तलव बढाउने दिन आयो । उसको तलव भने सोह्र सयबाट बत्तीस सय पुर्याइयो । त्यस बेला प्रिन्सिपलले उसलाई भनेका थिए, ‘सर ! आजसम्म मैले अङ्ग्रेजी विषयको तपाईंजस्तो शिक्षक पाएको छैन । तलव पनि तपाईंलाई जस्तो कसैलाई दिएको छैन । सप्तरी जिल्लाकै श्रेष्ठ शिक्षकमध्ये एक ठानेर तपाईंलाई श्रेष्ठ दर्जामा राखेको छु ।’

शिक्षकको प्रशंसामा एक शब्द पनि राम्रो कुरा गर्न नरुचाउने प्रिन्सिपल उसबाट भने पग्लिएका देखिन्थे । नपग्लून् पनि कसरी ! उनलाई नै कतिपय मामलामा सिकाउने, बाटो देखाउने काम उसैबाट हुन्थ्यो । वार्तालापकै क्रममा प्रिन्सिपलको अन्तिम वाक्य थियो, ‘शतप्रतिशत तलब वृद्धि गरिदिएको छु । अर्को वर्ष भने केही प्रतिशत मात्र तलव वृद्धि हुने छ । आफ्नो कार्यमा यस्तै जागरुकता रहोस् ।’ नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय शिक्षकलाई वास्ता गर्ने र कतिपयलाई वेवास्ता गर्ने प्रिन्सिपलको बानी पुरानै हो भन्ने सबैलाई थाहा थियो । त्यस वेला कडगर भने मौन रह्यो । यी शब्दहरू केवल उनीहरू दुई जनाले मात्र सुने । त्यहाँ अरू कोही साक्षी थिएनन् ।

सबै शिक्षकलाई व्यक्तिगतरूपमा बोलाएर तपाईंको यत्ति र उत्ति प्रतिशत तलव वृद्धि भयो भनिन्थ्यो । समय महंगिँदै थियो । टिउशन नपढाए सहरमा टिक्न गाह्रो हुन्थ्यो । प्रायः सबै शिक्षकहरू क्याम्पस पढ्ने विद्यार्थीहरू नै थिए । धेरै जसो चाहिँ घरबाट चामल ल्याउँथे । डेराभाडा समेत ल्याउँथे । स्कुलले दिएको तलवले केवल तरकारी किन्न र सामान्य पकेट खर्च गर्न मात्र पुग्थ्यो । नयाँ शिक्षक सबैको दिनचर्चा त्यसरी नै चल्थ्यो । तलव वृद्धि सम्बन्धमा प्रिन्सिपलका अगाडि बोल्न कोही सक्दैनथे । उनी जे जति तलव बढाउँथे, सबै जसो शिक्षकहरू त्यसैलाई स्वीकार्थे । दस प्रतिशतदेखि माथि सबैको तलव बढाएको छु भनेर मख्ख पार्थे । हजार रुपैयाँ तलव पाउने शिक्षकको तलव कत्ति नै बढ्थ्यो र ?

करिब छ वर्षपछि कडगरलाई रामजानकी माध्यमिक विद्यालय, गाईघाटले निजी स्रोतको शिक्षकका रूपमा काम गर्न बोलायो । सरकारी स्कुलमा पसिना बगाइयो, खुन सुकाइयो भने भोलिको लागि राम्रो हुने ठानेर ऊ त्यतातिर हानियो । एक महिना वित्ता नवित्तै उसले राम्रो लोकप्रियता कमायो । निजी विद्यालयमा पेलिएर काम गरेका त्यहाँ पेलिनु परेन । ज्यादै हल्का लाग्यो । उसलाई बरोबर आफू शिक्षक हुँ कि हैन भन्ने लागिरह्यो ।

ऊ बेलाबेलामा प्रधानाध्यापकहरूसँग भन्ने गर्थ्यो, “यसरी शैक्षिक स्तर कहाँ उक्सन्छ र ? यस्तो काइदाले शिक्षकको जिम्मेवारी कहाँ पूरा हुन्छ र ? विद्यार्थीका दैनिक आवश्यकता र यथोचित चाहना विपरित हिँड्दा अभिभावकको जिम्मेवारी कसरी पूरा भयो र ?” उसले त्यहाँ विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक तीनै थरिको कमजोरी देख्यो । सबै जसो शिक्षक शिक्षण क्षेत्रमा सुधारभन्दा पनि समय कटाउन र तलव भत्ता पकाउनमा नै मख्ख र मस्त भएको देख्यो । जसरी भए पनि कक्षा चढाउनु पर्थ्यो विद्यार्थीलाई । उनले पचहत्तर प्रतिशत विद्यार्थीलाई अनुत्तीर्ण पार्नुपर्ने अवस्था देखे । त्यहाँ भएकाहरू मध्ये अधिकांश स्थानीय शिक्षकहरू थिए । कसैका नानीहरू अनुत्तीर्ण भइहाले भने चौतर्फी गुनासाका स्वरहरू गुन्जिन्थे ।

“यी माष्टर सब सालभर कि करैछै ? हमरा बच्चाके फेल क्या देलकै । हम किताबकापी किन्देने चिए । सब दिना स्कुल भेज्ने चिए । आब हम कि करबै ?” (यी शिक्षकहरू सालभर के गर्छन् ? मेरो बच्चालाई फेल गरिदिए । मैले किताब–कापी किन्दिएको छु । सधैँ दिन स्कुल पठाइदिएको छु । अब म के गरूँ ?) अभिभावकहरूको स्वरले स्कुल थर्कन्थ्यो ।

बोर्डिङ्ग स्कुलमा यस खाले समस्या नदेखिने भने होइनन् तर विरलै । कडगरको मनले मनसँग कुरा गरिरह्यो । विचरा विद्यार्थीको मात्रै के दोष ? उनीहरू त अग्रजको लापरवाहीका सिकार भएका मात्रै हुन् । सबै शिक्षक वर्गमा अघोषित नीति थियो । परीक्षाको कापी जाँच्नुस् या नजाँच्नुस्, त्यसको त्यत्रो अर्थ छैन तर विद्यालयको रिपोर्टमा परीक्षा दिए जति सबै उत्तीर्ण हुनैपर्छ । यहाँ शिक्षक भएर हैन, तलव–भत्ता पाक्ने काम गरे पुग्ने रहेछ ।

देश अनुसारको भेषमा रहनुपर्छ भन्ने कुरा कडगरलाई पनि राम्ररी थाहा थियो । नेपालका शैक्षिक ऐन–कानून र नियमावलीहरूको पनि राम्रो अध्ययन थियो । जनताको नून खाएपछि काम गर्नैपर्छ भन्ने ठोस निष्कर्षमा उनी पुगेका थिए । एक्लो वृहस्पति बन्छु भन्ने भय उनमा रत्तिभर थिएन । त्यसैले उनी आफ्नो कर्तव्यको बाटोमा डटेर लागे, लागि नै रहे । कक्षाकोठामा अनुशासन कायम गर्न होस् या नियमित पार्न होस् वा पढाइप्रति अभिरूचि जगाउने काममा होस्, उसले हरसम्भव प्रयत्न गर्यो र विद्यार्थीमा आमूल परिवर्तन ल्याइदियो । उसले त्यहाँ मर्यादित ढङ्गले विद्यार्थीले पढ्नुपर्ने र शिक्षकले पढाउनुपर्ने प्रणालीको विकास गरिदियो ।

फलस्वरूप अरू शिक्षकहरूमा पनि धेरै परिवर्तन आयो । ऊ माथिल्ला कक्षाका विद्यार्थीहरूलाई भन्ने गर्थ्यो– “हेर नानी हो ! म आफ्नै कुरा भनेर तिमीहरूलाई सोच विचार गरेर काम गर्न प्रेरित गर्दै छु । म अहिले एक माध्यमिक तहको अङ्ग्रेजी शिक्षकको रूपमा तिमीहरूको सामुमा छु । यहाँसम्म आइपुग्न मैले धेरै धेरै भेलहरू तर्नुपरेको छ । अनगिन्ती कराल पहाडहरू फोर्नुपरेको छ । कक्षा पाँचको विद्यार्थी छँदादेखि नै मैले अर्काको घरमा बसेर ससाना बच्चालाई पढाएर पढाइको खर्च बटुलेँ । टिउशनको मुख देखिनँ । अरूलाई पढाएर धेरै जान्ने भएँ । आफूले जानेको जति धेरैलाई बाँड्न सक्यो उत्ति जान्ने भइँदो रहेछ । मनमा भएका जिज्ञासाहरू शिक्षकसामु राखी समाधान पाउन सके पढाइप्रति अभिरूचि जाग्छ । मनमा अँध्यारो पाटो नरहनु भनेको उज्यालोको राज्य स्थापित हुनु हो । सोच ठूलो राखी कर्ममा डटेर लाग । आजको समयले भोलिको जीवन सुनिश्चित पार्छ । गफले संसार हाँक्छु भन्न छाडिदेओ । कर्मले संसारलाई रिझाउन सक्नुपर्छ । कर्मशील हातपाखुरीलाई संसारले चुम्छ । आज बाबुआमाको पाखुरीमा नाच्ने काम गरेमा त्यसकै असरले जीवनभर रुनुपर्ने अवस्था आउन सक्छ । आजलाई मनमा राख र कर्ममा विश्वस्त बन ।”

उसले शिक्षण पेशालाई उत्तम पेशा ठानिसकेको थियो । म शिक्षक बनेर नै मान्छेको मनमन्दिरमा उज्यालो छर्न जन्मेको हुँ भन्न पनि उनी छाड्दैनथ्यो । स्थायी जागिरको बाउन्न साले परीक्षा दिएको थियो । अन्ठाउन्नको अन्तरबार्तामा समेत खरोसाथ प्रस्तुत भएको थियो । कतै प्राथमिक तहकै भए पनि शिक्षक बन्न सकिएला कि भन्ने झिनो आशा थियो । सप्तरी जिल्लामा शिक्षक बन्नु थियो । वैधानिक प्रकियामा अघिअघि भए पनि सोर्स, फोर्स, दानदक्षिणाका मामलामा पछि हुनुहुन्छ, आश गर्दै नगर्दा बेस हुन्छ, अमितजी भनेर नजिकका साथी र छरछिमेकीहरू उनलाई भन्दथे । जे देख्छन् अरूहरू त्यही भन्छन्, स्थायी शिक्षक बन्ने सपना देख्नु मेरो नाजायज सोच हैन भन्ने उसको ठहर थियो ।

पछिको कुरा जान्ने को छ र यहाँ ? नभन्दै रिजल्ट भयो । ऊ सफल भएछ । उसको पोष्टिङ्गको सवाललाई लिएर प्रधानाध्यापकहरूमा तँछाड् मछाड् भएछ । सबैको आआफ्नै खाले स्वार्थ थियो । ऊ थियो स्नातक डिग्री पाएको तालिम प्राप्त शिक्षक । कतिपय स्कुलमा माध्यमिक विद्यालयमा पढाउने शिक्षक पाउनै गारो थियो । पछि थाहा पाइयो, उसले आफ्नै गाउँको स्कुलमा प्राथमिक शिक्षकको रूपमा माध्यमिक तहमा पढाउनुपर्ने भएछ । ठीकै छ भन्दै ऊ आफ्नै गाउँतिर हानियो । २७ असार, २०६१ को निर्णय बमोजिम भदौ १ गतेदेखि तलब भत्ता पाउने गरी उसले नियुक्ति पायो । अनवरतरूपमा ऊ विद्यार्थीहरू बीच उभिरहेको छ । तिनीहरूलाई नै हँसाउँदै र नचाउँदै पढाइ÷सिकाइ नै रहेको छ र लोकप्रियता कमाइ नै रहेको छ ।

नन्दलाल आचार्य
बेलका नगरपालिका–२, गल्फडिया, उदयपुर,
मो. नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *