१.
मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग
म पहिलो भविष्यको कल्पना सागर….
कैयौँ रात म गृहकार्यका पानासँगै
मेरो भाग्य रेखाका गन्थन सुन्थेँ
म मुक थिएँ सायदै
तर,
मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे
स्वर्णिम भविष्यको सपना तुनिएको मधुर मीठासता
अनन्य सुखको आगतलाई बुन्दै मिश्रित हाँसोमा
बाबाले परदेशको विकल्प खोज्नु पर्यो
आमाका आँखामा बलिन्द्र आँसु खसे, मैले सघाएँ
मेरा आँसुले एयरपोटसम्म हात हल्लाएर सुख पाएन
देखेसम्म बाहिरबाट बाइ गरिरहेँ
अहो ! विछोडको वेदना !
जबर्जस्ती थामिएका आँसुभरि मेरी आमा
आँसु पिएर
घुँक्क घुँक्क दबिएको आवाजमा
रोएको भर्खरै जस्तो लाग्छ ।
२.
मेरो सानो संसारबाट परदेशिएको बाबाको माया
तर, मलाई थाहा छ
मैले बाबा कहाँ हुनुहुन्छ भनी सोध्नु परेन
बाबाको अनुहारलाई तस्विर, च्याट र फेसबुकमा मात्रै देख्नुपर्ने थिएन
मैले सम्भेmँ अहो गर्भमै विदेशिएकालाई
कति विरह हुँदो हो
केवल दूरदराजबाट कल्पित भावमा सोच्दा
अनायास म टुक्रिएँ सायद….
म उही कल्पित सागरमा डुबेँ
एक महिना, दुई महिना काम राम्रै छ रे, कुरा हुन्थ्यो
परदेशको ठाउँ, समयसम्म घोत्लिनै पर्ने कडा नियमभित्र
सुन्थेँ, म गम्थेँ बाबाआमाका भिडियो च्याटमा म घुस्रुक्क घुसेर
म उही लाडे लवजमा अनेकौँ माग तेस्र्याउँथेँ ।
३.
अनायास….
म आमाको भयङ्कर रुपसँगै गाली सहन थालेँ
ममाथिको ममतामा खै किन धमिलियो खै
प्रेम हराएको लवजमा
म अपहेलित र बोझिलो बन्दै थिएँ, थाहा छैन
त्यसै त्यसै म अत्तालिएँ, एकोहोरिएँ अन्तर्मुखी भई
म आमालाई छलेर बाबासँग गुनासाका पोका खोल्न सक्दिनथेँ
म सायद कम बोल्ने अनि बेमाग विद्यालय जान्थेँ अब
म अरु बच्चालेझैँ आमासँग लडीबुडी गर्नै नसक्ने भएँ
म प्रेमिल अधिकार चुँडिएर, अरुलाई हेर्दै कुँडिएर
एकोहोरो बन्न पुगेँछु
एकदिन……………..
विद्यालयको छुट्टिसँगै
आमा र उहाँको साथी रे, मैले चिनिन
नमस्कारको भावमा हात जोडेँ तर चिनिन
लामो समयसँगै रहेर पनि
धेरैपछि आमाले मेरो टाउको मुसार्दा
अहो ! कति महान् मेरी आमाको ममता अनुभूत भयो
कति मूल्यवान् लाग्यो
कति गाह्रो तर कति सुन्दर
मेरा आँखा भरिए
म गमिरहन पुगेँ ।
४.
आमाको साथी रे, अङ्कलमा नियुक्त हुनुभयो
अपरिचित मान्छे,
म अङ्कललाई बेला बेलामा आमासँगै रमाइला भावमा देख्न पाउँथेँ
आमा र अङ्कल अब बाबाले पठाएको पैसा लिन जाने
तर बिल तिरिएन, म सूचना बोकेर आउँथेँ
मेरो विद्यालयले बिल लामै पठाइसक्यो तर…
मेरो स्कुलको गेट नै रित्तो रित्तो
गेटमा आमाको मुहार देख्न पाइन
सायद, म पनि ठूलो भएँछु गमिरहेँ
म सक्षम भएँ क्यार
समयले यसै गरी पाइलो सारिरह्यो
अब त
बन्द कोठा बाहिर आमालाई पर्खन विवश भएँ
म अवाक बालक, जानेर अनजान
५.
बाबासँग रुँदै अनेकौँ इच्छा व्यक्त गर्न चाहन्थेँ
अहँ ! बोल्ने र माग तेस्र्याउँने
अवसरै कहाँ मिल्ने भो र
मोबाइल बोक्ने मेरो उमेर अनि हैसियत थिएन
बाबासामु होमवर्क र बेफुर्सदिलो उत्तर पुग्थ्यो
म आफ्नै आमामा राक्षसको रुप देख्थेँ खै
न आमाको स्वभावसँग ममता थियो
न आमाको मातृत्वमा
मेरो हृदयको कम्पन र प्रेम रस
म आमाको ममता भावमा कविता पोख्न सक्दिनथेँ
न त अब ‘आमा भगवती हुन्’ भन्न सक्थेँ
अहो ! म मातृदेवो भव ! भन्नै सक्दिन
तर….
मेरा नेपाली गुरु यही हो भन्दै रटाउँछन्
म के लेखूँ, लेख्न लगाउँछन्
फोनको फोन झुण्डिरहने मेरी आमासँग
म भोक या त अनेकौँ आशा पोख्नै सक्दिन
गृहकार्यका प्रत्येक पानामा कुण्ठा भरिँदा
म टुहुरो, संघीय व्यवस्थामा बोल्न नपाउने मान्छे
मेरो लागि कानूनका अक्षर अपुग भएछन्
रित्तो न्यायको पोटरी
आमा मेरी नारी तर उनीसँग हक छ, म के भनौँ ?
६.
बाबालाई नेपालमा स्वागत गर्ने दुई रात अघि
म मामाघरमा छोडिन पुगेँ
‘सम्पर्क विहीन छ…’ मामाले भन्नुभयो
अनि थाहा भयो
आमाको साथी अर्थात् ती अङ्कल त
अब बाबाको स्थानमा बढुवा भए रे
मेरो दोस्रो बाबा, मैले बल्ल बुभेmँ
मेरा बाबाका आँखामा आँसु र क्रोधका ज्वाला देखेँ
म त्यो सपनाको टुक्रो,
मात्र… भक्कानिएँ
पानी बिनाको माछा
छट्पटिएँ, टोलाएँ मेरो नतिजाले दशौँ स्थान पर धकेल्यो
अनायास, आमाबिहीन कोठाको त्यो सानो संसारभित्र
दुई महिनाको दौरानमा
बाबासँग नयाँ आमाको प्रवेश भो
मलाई प्रेम भावले समर्थन भो
नवनिर्मित आमा पनि उही नारी नै थिइन्
तर….तर म उही रङ्ग ढङ्गमा
मेरा बोली उसै गरी थुनिए
म त्यो संसारको बोझ अनि भारी झिँजो
किनकि त्यहाँ अर्कै एक नवजात शिशुको स्वागत छिट्टै हुनेछ
म न बाबाको प्रेम पाउँथेँ
आमाको प्रेम असम्भव भयो
म त अब यस धर्तीमा
जीवितै आमाबाबाको टुहुरो सन्तान बन्न पुगेँछु ।
७.
मेरो बालापनले मावलमा बोझिलो बन्नुपर्ने भो
अरुका आमाबाबाले औँला समाएका दृश्यमा घोत्लिइरहेँ
पसल नजिकै पुग्दा अनकौँ माग तेस्र्याएका ती दृश्यसँग
मेरा नयन सप्तकोशीको लयमा पग्लिए
म युगेश र स्वर्णिकाले झैँ फिल्म हेर्न चाहन्थेँ
मेरा आमाबाबा स्वर्गे भएका होइनन् तर
म जीवित अभिभावकको टुहुरो सन्तान
म दशैँमा आमाबाबाको प्रेमिल हातबाट
एकै साथ टीका थाप्न चाहन्थेँ
म फन पार्कमा मामामाइजूसँग गएका नरेसलेझैँ
संयुक्त फोटोमा
एकै साथ कुल्फी खाँदै….. रम्न चाहन्थेँ
म बाबाले गाली गरे आमाको काखमा
आमाले गाली गरे बाबासँग….
जिउ छोडेर घोत्लिन चाहन्थेँ
म राम्रा र नयाँ लुगा लगाएर
साथीसँग आफ्ना बाबाआमाले ल्याइदिएका
सामानको बठ्याइँमा झुल्न चाहन्थेँ
म आमाले प्रेमले दिएको खाजालाई
मीठो भएन भन्दै घुर्क्याउन चाहन्थेँ
अहो ! मेरा यी आशा खरानीका डोरी भए
मेरा आँसुलाई कानूनले छुँदैन थाहा छ,
म मामाघरमा अपहेलित, लज्जित, बोझिलो झिँजे मूर्ति
आँखी भएको म अन्तर्मुखी बिलौनाका वाङ्मय बोकी
रित्तो किताबमा मेरो मुक्तिको भाषण सुन्छु
जनमुखी शासन आयो अरे
म विद्यालयको बुद्धु विद्यार्थी
म शुल्क नतिर्ने बोझिलो लाचारी
हे दैव ! कानून विपरित म मान्छे
म जीवित अभिभावकको टुहुरो सन्तान !
रमेश भट्टराई ‘सहृदयी’
२०७४/१२/०३मा
