Skip to content

त्यसरी होओस् मरण


जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होस् मरण

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो ह्रासमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होस् मरण

अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होस् मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *