मान्छेको एक संकारमा अन्तिम अंकमाल गर्ने साथी,
आगो
हेर्दा निश्पक्ष तर असाध्यै पक्षपाती
घरबारी खरवारी गोठ बगैचा किन शुरूशुरू गको
ठुलोठुलो महलतिर किन नग’को
बल्लबल्ल सिहदरबार छिर्न पाको त्यै पनि आदामात्र किन खाको
मलाई शंका छ आगोले घुस खाको
रामकी सीतालाई किन केही नभाको
महादेवकी सतिलाई किन भसक्कै जलाको
हेर यो आगो के भाको
मलाई शंका छ आगोले घुस खाको
हनुमानको पुच्छरमा लाको त्यत्रो लंका जलाको
भिविषणको घर किन केही नभाको
पुच्छरमा लाको आगो सल्केर किन ढाडतिर नगाको
हैन यो आगो के भाको
मलाई शंका छ आगोले घुस खाको
पुतलीसडकमा सेकुवा पोल्दा किन बास आको
आर्यधाटमा मुर्दा पोल्दा किन गनाको
एउटै मासुको दुई वास किन बनाको
मलाई शंका छ आगोले घुस खाको
पानीसँग भेट हुदा किन निथरूक्कै भाको
मट्टीतेल या रक्सी हाल्दा किन रमाको
लौन यो आगो के भाको
मलाई शंका छ आगोले घुस खाको ।
