Skip to content

नववर्ष शुभ नै शुभ होस्


अव देश बनोस् अति वेश बनोस् ।
म त वाँच्छु रही यहि देश भनोस् ।।
नमरुन् कलिला महिला नढलुन् ।
सब मानिस यी विधिसाथ चलुन् ।।

घर गोठ सबै भरिपूर्ण हवोस् ।
ढिकुटी पनि त्यो परिपूर्ण रहोस् ।।
हटि भोक र रोगहरु दुर होस् ।
जन साधन दुर्घटना नपरोस् ।।

घरमै विजुली घरमै जल होस् ।
गृहिणीकन क्यै सुखका पल होस् ।।
जन हुन् तगडा झगडा नगरुन् ।
निज राज्य बनाउन पाउ सरुन् ।।

फलफूलहरु लटरम्म फलोस् ।
घरबारहरु ऋण मुक्त चलोस् ।।
विधवा नबनुन् नवयौवनमै ।
शिशु क्वै नमरुन् उपचार नभै ।।

सरकार यही अति गर्न सकोस् ।
र जहाजसरी गति भर्न सकोस् ।।
सुखका पल होस् दुखले नचुमोस् ।
नव वर्ष हुँदा शुभ नै शुभ होस् ।।

छन्द तोटक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *