Skip to content


प्रिय मल्लिका…
हेर त म पत्थर भएको छु
तिम्रो अभावले,
तिम्रो स्पर्शको अभावले
बिस्तारै बिस्तारै म
जड हुँदै गैरहेको छु
पग्लनलाई त म हिउँ बन्नु पर्छ
तिमी घामको प्रकाश बन्नु पर्छ
तिम्रो न्यानोपनबाट हजारौं माइल पर
म कफिनमा राखेको मुर्दा जस्तो
सुन्दर तर गतिहिन भएको छु ।

सम्झन्छु प्रणयका ती पल,
तिमी नुहाएकी हुन्थ्यौ
तर भिजेको म हुन्थें
खोई कसरी थाहा छैन तर
तिम्रो केशबाट बुँद जब झर्थे
मेरो छातीको तलाउ भरिन्थ्यो
हामी दुवै डुबुल्की मार्थ्यौं
तिमी पौडीमा सिपालु
सतहमा छलाङ् मार्थ्यौ
म गहिराइमा डुबेको हुन्थें ।

तिमी फुलेको त कहिल्यै देखिन
तर रहर लाग्दो बास्ना छाड्थ्यौ
म त्यसै त्यसै भरिएर आउथें
र अँझै बैंशालु बन्थें
तिमी जब नजिक आउँथ्यौ
म हिउँदमा पनि बर्खाको खहरे बन्थें ।

तिमीलाई देख्थें जब
म जून बिर्सन्थें,
अचेल जब जब जून देख्छु
तिम्रो यादले बेस्सरी छाती पोल्छ
तिम्रो निधारमा टल्किने जूनटिकी
प्रेमले चुम्बन नगरेको पनि त
वर्षौं भैसकेछ ।

जब आकाश गर्जिन्छ तिमीलाई सम्झिन्छु
खडेरी पर्छ तिमीलाई सम्झन्छु
जब एकमुठी सास रोकिन्छ जस्तो हुन्छ
जब आजै मर्छु कि जस्तो हुन्छ
तिमीलाई सम्झिन्छु
तिम्रो प्रेम सम्झिन्छु
र फेरि अन्तिम पल्ट बेतोडले प्रेम गरेर मर्न मन लाग्छ
बेजान भएर
बेशरम भएर
प्रेम गर्दा गर्दै तिम्रो आलिँगनमा
म नग्न भएर देह त्याग्न चाहन्छु ।

म मौन छु
शिखा निभेपछिको मैन झैं
आँधी पछिको तलाउ झैं
उल्टो आकाशमा
अनगिन्ती प्रश्नका पहाडले थिचेको छ
तिम्रो अभावमा,
तिम्रो हृदयको आकाशको अभावमा
मेरा इन्द्रेणीका रङ्गहरू
त्यसै त्यसै मरुभूमिमा पोखिएका छन्
केही तिम्रो सिंदुरको रंग पनि
केही लालीगुराँसको रङ्ग पनि

म रङ्गहरुको ब्यापार गर्न बजार निस्केको थें
बजारमा रङ्ग होइन जिन्दगी पो किनबेच हुँदो रहेछ
सस्तैमा आफूलाई बेच्न सकिन र फर्कि आएँ ।

हजार माइल पर अरब सागरमा आज
तिम्रो नाममा प्रेमपत्र बगाएर आएँ
त्यो पत्र तिम्रो किनारमा पुग्नु अगावै
थाहा छ म मरिसकेको हुनेछु
र, तिमी कसैकी भैसकेकी हुनेछ्यौ ।

अजित क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *