काठमाडौँको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा हरेक वर्ष नयाँ वर्षको वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । जात्राको सुरुआत कहिले र कसरी सुरु भयो भन्ने खोजकै विषय हुन सक्छ । चैत मसान्तको दिन बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने भन्ने लोककथन छ ।

सपनतीर्थ मेला भर्ने र दर्शनका क्रममा शिवपुरी डाँडा, विष्णुनाभ गुफायुक्त डाँडा, बागद्वार, विष्णुपादुकादि दर्शन गरिसकेपछि सपनतीर्थमा गई मेला भर्ने गर्दछ । त्यहाँस्थित सपनतीर्थमा रहेको सिद्धिपोखरीमा स्नान गर्दा शरीरमा भएको अनेक कुष्ठरोग लगायत अन्य छालाका रोगहरू समेत निको हुने र सन्तान प्राप्त हुने जनविश्वासले त्यहाँ मेला भर्न आउने भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

यस सपनतीर्थमा स्नान गर्ने विषयमा एउटा किंवदन्ती प्रचलित रहेको छ– सत्य युगमा एक राज परिवारमा सत्ववन्तका सात वटी छोरीहरू थियो रे ! ६ जना छोरीहरुको बिहे सम्भ्रान्त राजपरिवारका राजकुमारहरुसँग गरी दिए । तर, एक जना कान्छी छोरी सत्यकेशरीलाई एकदिन राजाले ‘तिमी कोसँग बिहे गर्छौ ?’ भनी सोद्धा बोल्दै बोलिनछन् । धेरैपल्ट सोध्दा पनि नबोलेपछि राजालाई रिस उठ्छ र ठट्टा गरेर भनिदिएछ, ‘पाटीमा बस्ने कुष्ठरोगीसँग बिहे गर्दिन्छु हुन्छ’ भनेर प्याच्च भनेछन् । छोरीको मनमा बुबाको वचन बसिरह्यो र बुबाको वचन झुटो तुल्याइदिनुहुँदैन भन्ने सोचिन् र अन्ततः कुष्ठरोगीसँग बिहे गरिदिइन् ।

अन्य ६ जना दिदीहरुले थुप्रै दाइजो लगायत अनगिन्ती सामग्री उपहार पाए । तर सत्यकेशरीको हकमा केही पनि पाएर । तैपनि र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढविश्वास आमाबुबा प्रति अपार निष्ठा गरिरहे । आफ्नो कर्मलाई सिरोधरी गरी रोगी पतिको घरमा गई सेवा शुश्रूषा गर्न थालिन् । गरिबीको कारण भिख मागी खानुपर्ने अवस्था भयो । भिख माग्दै जाने क्रममा सधैँ मन्दिर परिसरसँगै रहेको सिद्धिपोखरी नजिकैको पाटीमा आफ्नो अपाङ्गता भएको पतिलाई त्यही छोडेर जान्थिन् र आफू शहरमा भिख माग्न हिड्थिन् । एकदिनको कुरा हो, बिरामी पति भुसुक्कै निदाएछ, त्यही समयमा गाईवस्तु चराउन आएका गोठालाहरुले रमाइलोका लागि किरा फट्याङ्ग्राहरू समात्ने अनि खुट्टा, पखेटा छुट्याउँदै पोखरीमा फाल्ने गर्थे र एकछिनमै ती किरा फट्याङ्ग्राहरू जस्ताको तस्तै सबलभई उडेर जान्थे । ती प्रकृया एवं रितले चलिरह्यो कुष्ठरोगी पनि पानीमा डुबेर निको भएको चमत्कार सम्झँदा झल्याँस सपनाबाट व्यूँझिएछ ।

यस्तो सपनाले कुष्ठरोगीलाई पनि उक्त पोखरीमा डुब्ने इच्छा, चाहना भए गोठालाहरुलाई बोलाएर मलाई पनि त्यस पोखरीमा लागि डुबाइदिनोस् भनेर अनूनय विनय गरे । गोठालाहरू कसैले पनि आँट गरेन किनभने शारीरिक अपाङ्गता भएको व्यक्ति डुबेर मर्यो वा केही भयो भने हामीलाई दोष लाग्छ । त्यसकारण ती गोठालाहरुले मानेनन् । सकि नसकी आफू बसेको पाटीबाट घस्रिँदै घस्रिदै त्यस पोखरी नजिक पुगे । आफूले लगाएको वस्त्र फकाली पोखरीमा हाम फाल्यो । केही बेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र आश्चर्य मानी र खुसीले वस्त्रलगाई पहिलेकै पाटीमा बसे । यो दृश्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्याए । त्यहाँ मानिसहरू जम्मा भए र हेर्न आउनेको ताँती लाग्यो । त्यही समयमा माग्न गएका सत्यकेशरी पनि आइपुगिन् मान्छेको भीड बीचमा यताउता आफ्नो कुष्ठरोगी पतिलाई खोजिन्, तर कतै भेटाउन सकेन । पाटीमा निरोगी मान्छे बसेको देखेर सोधिन्, यहाँ एकजना अपाङ्गता भएको मान्छे देख्नुभयो? उहाँ मेरो पति हुनुहुन्छ ।

उक्त व्यक्ति म नै हुँ, कुष्ठरोग लागेको तिम्रै पति । यस्तो कुरा सुनेर राजकुमारी सत्यकेशरीले पत्याउने कुरै भएन र मलाई छलछाम गर्न लागेको र मेरो इज्जत र अस्तित्व लुट्न लाग्यो भनेर कराउन थालिन् । त्यसपछि एकएक गरेर सबै कुरा बतायो र देख्ने मानिसहरुले सबैले स–विस्तार यी कुरा सुनाएपछि बल्ल विश्वास गरे । एकआपसमा भेलाभएका मानिसहरुसँग खुसी साटासाट गरे । सपना देखेर घटना घटेको ठाउँ भएको हुनाले सपनातिर्थको नाम रहन गएको जनश्रुति पाइन्छ भने सोही दिनको संस्मरणमा वैशाख १ गते सपनतीर्थ नुहाउने मेला लाग्न थालेको बताइन्छ । त्यसै समय राजकुमारी सत्यकेशरीले आफ्नो पति रोगमुक्त भएको कारणले सपनतीर्थमा सपन विनायक गणेशको मूर्ति स्थापना गरेको भनाइरहेको छ ।

यो चमत्कारिक घटना राजासमक्ष पनि पुग्यो अनि दरबारिया भारदारहरुलाई सत्यतथ्य जाँच गर्न अराए । अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त पोखरीमा स्नान गर्न उर्दी जारी गरे । राजाको उर्दी र त्यस पोखरीको महिमाले गर्दा देशभरिबाट अपाङ्गता भएका व्यक्तिहरुको घुइँचो लाग्न थाल्यो, पंक्तिबद्ध जतिले मेष सङ्क्रान्तिका दिनमा सो पोखरीमा स्नान गर्न भ्याए ती सबै जना निको भए, भन्ने विश्वास छ ।

किंवदन्ती जेजस्तो भएपनि नेपालको नेवारी संस्कृतिको प्राचीन नगरी टोखालाई स्थानीय बासिन्दा जात्राको नगर भन्छन् । उनीहरुका अनुसार विश्वको पहिलो उत्कृष्ट चाकुको उत्पादन सुरु गर्ने टोखा लिच्छविकालीन संस्कार र संस्कृतिको जीवन्त प्रयोग गर्ने स्थान पनि हो । मेष सङ्क्रान्ति अर्थात् वैशाख १ गते आस्था र विश्वासको एक महत्वपूर्ण पर्वको रुपमा चलिआएको यस सपनतीर्थको मेलालाई विशेष पर्वको रुपमा मनाउँदै आइरहेका छन् ।

-त्रिचन्द्र ‘प्रतीक्षा’
[email protected]

गोरखापत्र दैनिकमा २०७५ बैशाख ०१ गते प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *