Skip to content

डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा


परिचय–

प्रा. डा. नरेन्द्र चापागाई र मेरो बीचमा साक्षतकार त हुन सकेन तर २०७४ साल फागुन ५ गते विराटनगरमा लेखकसंघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा वृहत कविगोष्टिमा उहाँको बारेमा तयार पारिएको स्मृतिग्रन्थ भने हात लाग्यो । पढ्न थाले ७२ जना विद्वानहरूले उहाँको नेपाली साहित्यप्रतिको योगदानलाई गहनताको साथमा उठाएको पाएँ । मलाई लाग्यो विभिन्न दृष्टिकोणबाट उठाइएका उहाँप्रतिका आदरभावलाई १–२ पङ्क्ति भए पनि यस लेखमा समावेश गनुपर्छ । त्यसोहुँदा सर्वप्रथम यस कृतिमा लेखिएकै आधारमा उहाँको एउटा छोटो परिचयतिर लागौं । वि.सं.१९९८ साल असार २३ गतेमा पूर्व ४ नम्बर भोजपुरको दिङ्लामा पिता भवानी शंकर चापागाई र माता योगमायादेवीका जेष्ठ पुत्ररत्नको रूपमा नरेन्द्र चापागाईको जन्म भएको थियो । यस कृतिको अध्ययनले उनको बाल्यजीवन पनि संघर्षमय रहेको र काम गर्दा पनि खानलाउन पनि धौ धौ भएको धारणा नरेन्द्रजीले पस्केको देखिन्छ । अध्ययनको थालनी पनि घरबाटै सुरु भई प्राथमिक शिक्षा दिङ्लाकै षडानन्द संस्कृत पाठशालमा अध्ययन थालनी गर्दै धरान पिण्डेश्वर महाविद्यालयबाट संस्कृत व्याकरणमा शास्त्री हुँदै २०३० सालमा त्रि.वि.वि.बाट नेपालीमा स्नातकोत्तर र २०५५ सालमा नेपाली अनुकरणात्मक शब्दको विषयमा विद्यावारिधिको उपाधी हाँसिल गर्नुभएको थियो । अनिरुद्ध तिमसिनाले, नरेन्द्र चापागाईलाई नरेचा, चारिन्ना पदाग्रे आदि उपनामले समेत रचना प्रकाशित गरेका, धारणा राख्नुभएको छ (पृष्ठ ४७) ।

पेशामा सम्लग्नता उहाँको पेशालाई केलाउँदा वि.सं. २०१८ सालदेखि प्राथमिक विद्यालयमा पढाउने कामको थालनी गरी २०२५ सालदेखि सरस्वती मा.विको सहायक शिक्षकमा र वि.सं. २०३० सालदेखि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सहायक प्रधायापक, २०३६ सालमा उपप्रध्यापक क्रमस २०४७मा सहप्रध्यापक र २०५८मा प्रध्यापक पदमा पुग्दै जीवनकालभरि प्राध्यापनरत हुनुहुन्थ्यो ।

कृति प्रकाशन –
डा. चापागाईको साहित्य लेखन कविताबाट प्रारम्भ भएको अध्ययनले जनाउँछ । उहाँको प्रथम कविता ‘घाम छायाँमा शीतका कणहरू (२०२४) कविता ‘‘पारिजात’’मा प्रकाशन भएको र मेरा नानीहरू (बाल काव्य २०४४), देशान्तर (अबाल काव्य २०४४), नारायण वंशगीता (चापागाई वंशावली २०४५), केही झिल्का : केही फिलुङ्गा (२०४६) आदि कविता काव्यहरू प्रकाशनमा आएको अनिरुद्ध तिमसिनाको लेखबाट जानकारी पाइन्छ । यसरी नै व्याकरण र भाषाका कृतिहरूमा शब्द बाक्य र अभिव्यक्ति (२०३१, छपाईका गल्तीले ३२ भएको), भाषातत्त्व (व्याकरण र रचना २०३३), नेपाली नवीन व्याकरण तथा रचना (२०३४), नेपाली व्यवहारिक व्याकरण तथा रचना (२०४१), आधुनिक नेपाली व्याकरण तथा रचना (२०५३) भाषाका कृतिहरूमा नेपाली अनुकरणमात्मक शब्दको व्युत्पत्ति स्रोत विश्लेषण (२०५१), नेपाली टुक्काको संरचनात्मक अध्ययन (२०५६), नेपाली उखान टुक्काहरूको सङ्कलन (२०५७) प्रकाशन भएको देखिन्छ ।

समालोचना तर्फ –
नरेन्द्र चापागाइृको पहिलो समालोचना पिंजडाको सुगााको आर्थी विश्लेषण शंखध्वनिमा प्रकाशन भएको साथै ईश्वर बरालको भूमिका समालोचना वरगाछीमा प्रकाशनमा आएको र कृतिको रूपमा काव्यतत्व (काव्य सिद्धान्त, २०३४), उपन्यास शिल्प (उपन्याससिद्धान्त, २०३४), केही कृति: केही प्रतिकृति (२०३८),केही सृष्टि: केही दृष्टि (२०४१), केही भाषा: केही साहित्य (२०४५), केही सिद्धान्त: केही विश्लेषण(२०५१), नरेन्द्र चापागाईका समालोचना (२०६०)को साथै दधिराज सुवेदीसँगको सहलेखनमा वी.पी. कोइरालाका साहित्यको समग्र अध्ययन (२०५१) प्रकाशनमा आएको देखिन्छ । डा.प्रा.नरेन्दले सम्पादनमा पनि उल्लेखनीय काम गरेका छन् । सूबसेनका कथा र उन्को कथाशिल्प (२०४४), पूर्वाञ्चल समालोचना –सङ्ग्रह (२०४४), मातृका अभिनन्दनग्रन्थ (२०४५), काव्य समालोचना (२०५१), देवकुमारी थापाका प्रतिनिधि कथा (२०५१) आदि कृति सहित अपुङ्गो (२०२९), कौशिक (२०४०), प्रतिष्ठान (पूर्वाञ्चल साहित्यिक प्रीतष्ठानको मुखपत्र (२०४३) र प्रलेस (२०५२–५३) पत्रिकाहरू पनि नरेन्द्रबाट सम्पादन भएको स्मृतिग्रन्थले जानकारी दिन्छ । अँझै प्रा. डा. नरेन्द्र चापागाईका धेरै कृतिहरू प्रकाशमा आउन बाँकी देखिन्छन् । त्यसमा पनि नेपाली शब्दभण्डार, एकलाख चालिस हजारभन्दा बढी नै, शब्दहरू संकलित प्रकाशानमा आउन सकेको छैन । बबुराम ओझा ‘भाइ’को धारणा अनुसार ‘‘नेपाली विषयका (भाषा, साहित्य र लोक साहित्यका)जम्मा ३१ शोधग्रन्थको निर्देशन गर्नुभएको थियो भने करिब सम्पन्न हुनै लागेका र अपूर्णू रहेका गरी १ दर्जन सोधपत्र पूरा नहुँदै वित्नुभयो’’ (पृष्ठ १०) ।

यस सङ्ग्रहमा ७२ जना लेखकहरूले विविध शीर्षकमा सारगर्भित विचारहरू पस्केको पाइन्छ । यी लेखहरूलाई प्राज्ञ दधिराज सुवेदीजीले सम्पादन गर्नुभएको छ । ७२ ओटा लेखहरूमा सबै लेखकले डा. नरेन्द्रप्रति पस्कनु भएका धारणाका केही पङ्क्ति यस लेखमा समावेस गरेको छु । सम्पादकीयमा लेखिएको छ –‘‘उनी प्रतिभा, अभ्यास, व्युत्पत्ति र साधनाका सहयोगले उठेका नेपाली वाङ्मयका सफल साधक थिए । उनमा सिर्जनात्मक प्रतिभा थियो । त्यसैले उनी व्यष्टिबाट समष्टिमा परिणत भए ।’’ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तोरणबहादुर कार्कीले शुभेच्छा–पत्रमा लेख्नुहुन्छ – ‘‘….. त्यसैले उनी असल अध्येता, अनुसन्धान्धाता र सफल सोध निर्देशकको रूपमा प्रतिष्ठापित भए ।’’

नरेन्द्र चापागाईको शोध –निर्देशक व्यक्तित्व शीर्षकमा बाबुराम ओझा‘भाइ’को धारणा यसप्रकार छ –‘‘सरल, सुस्पष्ट, परिस्कृत र बस्तुगत भाषा अनि विश्लेषणपरक लेखनशैलीको परिचय वहाँका कृतिहरूले पेश गर्दछन्’’ (पृष्ठ २) । प्रा. डा.नरेन्द्र चापागाईलाई सम्झँदा शीर्षकमा बलराम पोखरेल लेख्नुहुन्छ –

‘‘निश्छल मित्रता, गहिरो चिन्तन,
स्वार्थरहित परिश्रम, उच्च आत्मबल
उदार चरित्र, परकल्याण भावना,
भाषा साहित्य सेवा, प्रगतिवादी अठोट’’
(पृष्ठ ११)

पूर्वका सोमनाथ :
नरेन्द्र चापागाइँ शीर्षकमा डा. टङ्कप्रसाद न्यौपानेले नेपाली भाषा,नेपाली भाषाको उद्भव स्रोत, विकास क्रमको अडकन नेपाली व्याकरण र शब्दकोश सम्बन्धी सामाग्रीहरू, वर्णविचार, शब्दविचार र वाक्य विचारमा तुलनात्मक विश्लेषणात्क धारणा राख्दै लेख्नुहुन्छ –‘‘नेपाली व्यकरणका आधिकारिक व्यक्तित्वको रूपमा नरेन्द्र चापागाई चिनिनु जस्ता कारणले उनलाई पूर्वका सोमनाथ भन्न सकिन्छ’’ (पृष्ठ २५) ।

नरेन्द्र चापागाई, प्रगतिवाद, प्रगतिवादको झण्डा शीर्षकमा बद्रीविशाल पोखरेलले डा. नरेन्द्र चापागाईको प्रगतिशील लेखन सम्बन्धी विषयमा, सहभागिता, लेखनमा जीवनवाद र जनपक्षीयतालाई मन पराउने वर्गमा मध्यम वर्गीय वर्गस्रोतमा निम्नवर्गीय, पञ्चायत कालदेखि लेखिएका सिर्जनामा जनपक्षीय भावना अभिव्यक्त भएका साथै उहाँका कृतिहरूले समेत जनपक्षीय भावना बोकेका र नरेन्द्र चापागाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य भएको आदि प्राणलाई प्रस्तुत गर्दै लेख्नुहुन्छ – ‘‘….. गौरवशाली झण्डा आफ्न्नै आस्था र विश्वासका कारणा नरेन्द्र चापागाईले मृत्युवरणपश्चात ओढ्नुभयो वा ओढाइयो भनेर गनगन र गन्थन गर्नुको कुनै खास औचित्य र सान्दर्भिकता छैन’’ (पृष्ठ ३१) ।

निबन्धको आलोकमा डा. चापागाई शीर्षकमा डा. गोपालप्रसाद भण्डारीले डा.नरेन्दल्रे निबन्धका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै लेख्नुहुन्छ –‘‘डा. नरेन्द्रप्रसाद चापागाई वैचारिक रूपले सचेत, र भावनात्मक रूपले आर्य सभ्यता र ज्ञानका व्याख्यता, समजिक रूपले यथार्थवादी, सम्प्रदायका दृष्टिले प्रगतिशील (माक्र्सवादी) विचार धाराा भएका लेखक हुन् (पृष्ठ ४५) ।’
नरेन्द्र चापागाईको काव्यकारिता:
एक विवेचनात्मक अवलोकन शीर्षकमा अनिरूद्ध तिमसिनाले नरेन्द्र चापागाईको परिचय, जीवनवृत र शिक्षा, रचनाकारिता, नेपाली कविताको ऐतिहासिक पृष्ठभूमि र कवि चापागाई, कविता सम्बन्धी चापागाइका अवधारणा र मान्यता, कवि चापागाईको काव्यकारिता एक निरूपण आदिमा विवरणात्मक एव म समीक्षात्मक प्रकाश पार्दै लेख्नुहुन्छ–‘‘डा. नरेन्द्र चापागाईको योगदान भाषा व्याकरण समालोचनाका क्षेत्रमा विशिष्ट रहेको छ’’ (पृष्ठ ४८) ।

झण्डा ओढ्ने र ओढाउनेहरू शीर्षकमा डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ – ‘‘डा. नरेन्द्र चापागाई पूर्वाञ्चलमा बसेर नेपाली वाङ्मयको साधनामा आजीवन समर्पित नाम हो । त्रिभूवन विश्वविद्यालयका एक जना निष्ठवान प्राध्यापकको नाम हो’’ (पृष्ठ ६६)। भट्टराईले झण्डा ओडाउनेप्रति तीव्र असन्तुष्टि पोख्नुभएको छ, डा.नरेन्द्रलाई सबैको साझ प्राज्ञिक साहित्यिक व्यक्तिको रूपमा लिनु भएको छ र झण्डा ओढाउने काम कुपर्था र सतिप्रथाभन्दा डरलाग्दो अमानवीय प्रथा हो भन्नुहुन्छ । समालोचना परम्परा र नरेन्द्र चापागाईको समालोचकीय दृष्टि शीर्षकमा रामनाथ शर्माले समालोचनाको विविध पक्षलाई केलाउँदै लेख्नुहुन्छ –‘‘चापागाई एक कुशल प्राध्यापक पनि भएका हुनाले उनी तटस्थ रहेर कृतिको मूल्याङ्कन गर्न पुग्दछन् । आफ्ना निजी विचार र धारणाले उनको समालोचकीय इमान्दारीलाई हल्लाउन सक्दै्रन’’ (पृष्ठ ७६) ।

समालोचक नरेन्द्र चापागाईको प्रगतिवादीतिरको यात्रा: केही चिन्तनमा निनु चापागाईले डा. नरेन्द्र चापागाईका लेख रचना विविध अभिव्यक्तिमा प्रगतिवादी विचारको प्रस्तुतिलाई तार्तिक पुष्ट्याइँको साथमा ‘२०५५सालमामात्र एमाले पार्टीको पार्टी सदश्यता ग्रहण गरेका हुन् भनिन्छ’ जस्ता धारणा राख्दै लेख्नुहुन्छ–‘‘यसमा (म आफूजस्तैछु लेखमा)समालोचक चापागाईले माक्र्सवादी साहित्यसिद्धान्तमाथिको आफ्नो पक्षधरलाईमात्र पुष्टि गरेका छैनन् ‘राष्ट्रिय बहुदलीय नव–जनवाद’को वकालत समेत गरेका छन्’’ (पृष्ठ ९६) ।

डा. नरेन्द्रसँगको सहयात्रा शीर्षकमा प्राज्ञ दधिराज सुवेदीले लेख्नुहुन्छ – ‘‘हामी दुईले जीवन प्रारम्भदेखि वियोगान्तक्षणसम्म धेरै सहकार्य गर्यौं, एकअर्कामा उठ्ने र उठाउने काम गर्यौं । भाषा साहित्य समृद्धिमा सहयोग पुर्यायौं ’’ (पृष्ठ ९८) । डा. चापागाईकको नामको साथमा धेरैजसो लेखमा दधिराज सुवेदीको नाम पनि जोडिएको पाइन्छ । यहाँ पनि दधिराजजीले डा.नरेन्द्रसँग लेखन प्रकाशनमा पारस्परिक सहयोग, संस्थागत सहकार्य (प्रतिभा पुरस्कार प्रतिष्ठान –२०३९ र पूर्वाञ्चल साहित्य प्रतिष्ठान–२०४१ स्थापनामा), सहलेखन, सहसम्पादन र संयुक्त भ्रमण (विश्वेश्वरप्रसाद कोइरालाका साहित्यको समग्र अध्ययन सहलदेखन), सहसम्पादनमा प्रतिष्ठान, पूर्वाञ्चल समालोचना संग्रह, मातृकाप्रसाद कोइराला अभिनन्दन ग्रन्थ, काव्य समालोचना आदि), साहित्य भ्रमणमासँगै सँगै जाने, सहपाठन, पारिवारिक समानता, पारिवारिक असमनता (डा. नरेन्द्र प्रा.डा. प्राप्त गर्न सफल, सामान्य शिक्षा प्राप्त गरेकी श्रीमतीलाई पढाएर कलेजको गुरुआमा बनाउन सफल आदिमा दधिराजले सफलता प्राप्त गर्न नसक्नु), विचारधारामा २०४६ सालदेखि नरेन्द्रले प्रगतिशीलतिर लम्कनु र दधिराज प्रजातान्त्रिक समाजवादतिर बढ्नु जस्ता धारणा प्रष्ट्याउँदै वैचारिक विषयमा भिन्नता देखिए पनि विचारहरू आदान प्रदान गरेर दुवैले लाभ लिएको धारणा पनि सुवेदीजीले प्रष्ट्पार्नुभएको छ । ‘ने¬रेन्द्र चापागाईका समालोचना’को केन्द्रीयतामा नरेन्द्र चापागाईका समालोचनात्मक प्रबृत्तिहरू शीर्षकमा कोमलप्रसाद पोखरेलले समालोचनाको चरण विभाजन सहित नरेन्द्र चापागाईका समालोचनात्मक प्रवृतिहरूलाई अध्ययन गरी लेख्नुहुन्छ –‘‘नरेन्द्र चापागाईका सबैजसो समालोचना व्याख्यात्मक र निर्णायात्मक छन् भने उनका अधिकांश समालोचनामा कृतिपरक विश्लेषणात्मकता तथा कृतिपरक विश्लेषणात्मकता जस्ता प्रवृत्तिगत विशेषता रहेका छन् । समग्रमा चापागाईका समालोचनात्मक कृतिहरू यथार्थिक एव म वस्तुपरक छन्, यो कुरा धक फुकाएर भन्न सकिन्छ’’ (पृष्ठ १०५) । मरेपछि बाँच्नै गाह्रो शीर्षकमा कृष्ण धराबासीले नरेन्द्रलाई, साह्रै सरल, मिलनसार आत्मीय व्यक्तित्व आदि शब्दद्वारा प्रशंसा गर्दै राजनीति परिवर्तनले नरेन्द्र गुरुमा पनि वैचारिक क्रान्ति ल्यायो भन्दै लेख्नुहुन्छ – ‘‘तर प्रगतिशील धुरीमा उभिएपछि उहाँका आँखामा निकै रातो नयाँ चस्मा जडान भयो अरु सबै खाले रंगहरूलाई जितेर एउटै रंगमात्र निकै गाढा भएर आयो’’ (पृष्ठ १११) । नरेन्द्र चापागाई नैसर्गिक प्रतिभाका दृष्टान्त थिए भन्ने शीर्षकमा कृष्णचन्द्रसिंह प्रधान लेख्नुहुन्छ –‘‘कस्तो लेखे भनेर होइन, उनीमा लेखकीय प्रत्युत्पन्नता थियो र म यसलाई एउटा प्रतिभा सम्पन्न व्यक्तित्व भन्छु’’ (पृष्ठ११३) ।

मैले नचिनेका नरेन्द्र चापागाई शीर्षकमा कमल दीक्षितले शीर्षकमा उल्लेख गरे झै नै नचिने पनि २०५२ सालमा प्रज्ञाप्रतिष्ठानको पुनर्गठन हुँदा उहाँलाई सम्मिलित गर्नु पर्छ भनेको रहेछु भन्ने धारणा पस्कनु भएको छ (पृष्ठ ११५) ।

आउने जाने क्रम त यस्तै हो शीर्षकमा परशुप्रधान लेख्नुहुन्छ –‘‘चापागाईका जीवनका पाता पल्टाउँदा उहाँले संघर्षशील सफल विद्वानका रूपमा आफूलाई प्रतिष्ठापित गराउनु भयो भन्ने लाग्छ । तर हौ गहना मित्र तिमी नेपाल राष्ट्रका शीर्षकमा बालकृष्ण पोखरेल लेख्नुहुन्छ –

‘‘यसैले भन्न छु बाध्य पूर्ति तिम्रो अभावको
हुन सक्तैन त्यो कैले यो यौटा कटु सत्य हो’’
(पृष्ठ ११०) ।

असल मान्छे सबैको मान्छे शीर्षकमा विवश पोखरेलले नरेन्द्र गुरु सबैका प्रिय, सरल, शिष्ट, सौम्य आदि शब्दले उहाँप्रति आदरभाव प्रकट गर्दै, झण्डा प्रकरणलाई कोट्याउँदै भन्नुहुन्छ –‘‘ … समग्रमा भन्नपर्दा उहाँ एउटा पार्टी, एउटा जिल्ला, एउटा अञ्चल, एउटा जातिको मात्र नभएर सिङ्गो राष्ट्रको एउटा आदरणीय र पूज्यनीय साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो’’ (पृष्ठ१२३) । नरेन्द्र–स्मृति शीर्षकमा प्रा टीकाप्रसाद शर्मा कविता मार्फत भन्नुहुन्छ –

‘‘विश्वविद्यालयायैवदत्वा शेषं तु जीवन्
मनासा, कर्मणा, वाचा, स्थूललक्ष्यो बभूव ह ।’’
(पृष्ठ १२५)

नेपाली भाषा र साहित्य क्षेत्रका अमूल्यनिधि प्र. डा. नरेन्द्र चापागाई शीर्षकमा चूडामणि रेग्मीले प्रा. डा. नरेन्द्रको जीवनका घटनाक्रम, कृतिहरू, जागिर, अध्ययनशीलता, विविध पक्षलाई केलाउँदै झण्डा ओढाउने कुरालाई कोट्याउँदै लेख्नुहुन्छ–‘‘नेपाली भाषा साहित्यका क्षेत्रका अमूल्य निधि हुन् –डा. नरेन्द्र चापागाई । उनी सबै विचारका नेपाली भाषा र साहित्यका साझा सम्पत्ति हुन् । यस्ता निधिलाई यो हाम्रो हो भन्नु राम्रो हो, तर हाम्रो भन्नेले त्यसलाई व्यवहार रूपमा कति निर्वाह गर्लान् त्यो भविष्यमा देखिएला’’ पृष्ठ(१२८) । ‘वरगाछी’का नरेन्द्र चापागाई शीर्षकमा (कुमारप्रसाद कोइरालाले दधिराज र चापाईले गरेका महत्यपूर्ण कामको सन्दर्भलाइ उठाउँदै ‘वरगाछी’मा प्रकाशन भएका सुत्केरीको चित्कार’, ‘सान्ठूलेको रामकहानी’, र हीनताबोध, लगायत समालोचना आदिमा प्रकाशनमा आएका १२ओटा रचनाको तुलनात्मका विश्लेषण गर्दै भन्नुहुन्छ –‘‘नरेन्द्रले सबैभन्दा बढी महत्त्व वि.पि.र उनका कृतिलाई दिएको पाइन्छ र समालोचनामा सर्वाधिक सफलता पनि उनले वि.पि. सम्बन्धी समालोचनाबाट नै प्राप्त गरेको देखिन्छ’’ (पृष्ठ १३७)।

डा. नरेन्द्र चापागाइलाई सम्झिंदा शीर्षकमा नारायणप्रसाद आचार्य लेख्नुहुन्छ– ‘‘डा. चापागाई भाषाविद र साहित्यकार त हुनुहुन्थ्यो नै, तर अँझ बढी उहाँ भाषिक साहित्यिक इीञ्जष्यिर हुनुहुन्थ्यो’’ पृष्ठ १४०) । आदि र अवसान अघिका क्षणहरू शीर्षकमा सरला चापागाईले २०२७ साल माघ १३ गते बिहीबार डा.नरेन्द्र चापागाइसँग प्रणय सूत्रमा बाँधिएदेखिका घटनाक्रमलाई समेटदै सरला शिवजीको भक्त भएको र धेरै अध्ययन गर्न र विद्वान व्यक्तिसँग विवाह हओस् भन्ने वर माग्ने गरेको र उहाँको चाहना सबै नरेन्द्रको प्रेरणा र सहयोगले गर्दा एम. ए.सम्म अध्ययन पुरा गर्न सफल भएको, जीवनमा नरेन्द्र र सरलाले निकै मेहनत गर्न परेको आर्थिक अभावले सताएको, राती दुई बजे उठेर घरको काम गर्दै अध्यापनको काम गरेको र नरेन्द्रजी ३ बजे उठ्ने गरेको, तीन छोरा एक छोरी र पति पत्नी गरी पाँच जनाको परिवारको साथै सासूससुरासमेतको लागि खर्च पुर्याउनु परेको आदि जीवनका तीता मीठा घटना कर्मलाई अति दर्दनाकरूपमा प्रस्तुत गर्नुभएको छ । सरलाजीले भन्नुहुन्छ –‘‘उहाँ आफ्नो दायित्व पूर्णरूपले इमान्दारीका साथ निभाउनु हुन्थ्यो उहाँले कुनै पनि आस्था वा विचार बोकेका व्यक्तिलाई निरास बनाउनु भएन उत्साहित हुने प्रेरणा दिनु हुन्थ्यो, यो उहाँको महान्ता वा विशेषता हो’’ (पृष्ठ १४५) ।

२०६१ साल वैशाख १० गते सधैंजसो सरला २ बजे र नरेन्द्र ३ बजे उठ्नु नरेन्द्रले २ ग्लास पानी नियमितरूपमा पिउनु १०–१५ मिनट बज्राशनमा बस्नु, चिराइतोको झोल पिउनु, ४.३० बजे घुम्न निस्कनु, ठिक पाँच बज्न १५ मिनट छँदा स्नातकोत्तरक्याम्पस जानु, क्याम्पसबाट ७.३० बजे फर्कनु, ११ बजे खाएर सुत्नु, विद्यार्थी आउनु सरलाजीसँग कुराकानी गर्दैगर्दा १२ बजे नरेन्द्रजी उठ्नु, विद्यार्थीसँग शोध सम्बन्धी कुराकानी गर्नु, सधैजसो मेवा र सागसब्जी खानु, अक्सिजन कमी भएको भन्नु, लेखलेख्न थाल्नु लेख पुरा गर्न नसक्नु, पाइखाना जानु, ५ मिनेटमा पाइखानाबाट निस्कनु र सरलाले पाखुरा समाउँदा हस्पिटल लाने भनु, जेठो छोरा (नीरज)लाई वाग्लुङमा फोन गर्न भन्नु, छोराको फोन नउठ्नु, हस्पिटल जान रेक्सामा अडिन नसक्ने भन्दै गाडी खोज्न लगाउनु गाडी नपाउनु, छिमेकी कार्की दाइकी छोरीको टीकाको काम भै रहेकोले त्यहाँको गाडी भन्न लगाउनु, टेम्पो पाउनु, हिड्न नसक्ने भन्दै बोक्न लगाउनु, कोसी अञ्चल अस्पताल लान भन्नु, तर सरलाले विराट नर्सिङहोममा पुर्याउनु, डाक्टरलाई डा.नरेन्द्रले आफै सबै कुरा बताउनु, आकस्मिकरुममा हुँदा फोहोर गरेका जानकारी दिनु, आइसियुमा लानु आइसियुमा कपडा फेर्न लाग्दा पुलुक्क हेर्नु, कपडा फेरेपछि सरलालाई आइसियुवाट बाहिर पठाइयो र १५ मिनेटमै मृत्य भएको घोषणा सुनाइएको आदि घटनाक्रमलाई सरलाले यस लेखमा सारा घटनाक्रमलाई अति मार्मिकरूपमा प्रस्तुत गर्नुभएको छ । डा. नरेन्द्रलाई नर्सिङ् होममा सरलाले कतै दुखेको छ भन्ने प्रश्नमा ‘खाली सासमात्र बढेको हो यो कम गर्न डाक्टरलाई छिटो भनिदेउन अरु कुनै खतरा छैन’ यही नै डा. नरेन्द्रको अन्तिम भनाइ हो भन्ने धारणा पनि सरलाले यस लेखमा लेख्नुभएको छ ।

धातु र क्रियाका सम्बन्धमा नरेन्द्र चापागाईको विचार शीर्षकमा ठाकुरप्रसाद गैरेले लेख्नुहुन्छ – ‘‘धातुको नव परिभाषा अघि सार्दै यिनले क्रियार्थक मात्र नभई प्रातिपदिक पनि धातुबाटै निर्मित शब्द भएको कुरा पुष्टि गरेर देखाएका छन्’’ (पृष्ठ १५१) साथै गैरेले ‘चापागाई नेपाली र संस्कृत दुवै भाषाका विशिष्ट विद्वानको रूपमा स्थापित भएको धारणा पनि प्रस्तुत गर्नुभएको छ । भाषा–साहित्यसेवी डा. नरेन्द्र चापागाई: एक साहित्यिक स्मृति टिप्पणी शीर्षकमा भानुभक्त पोखरेलले डा. नरेन्द्रको लेखन कार्यको गहन विश्लेषण गर्दै लेख्नुहुन्छ –‘‘ प्रा. डा. नरेन्द्र चापागाई ‘अभ्यास र व्युत्पत्ति’को द्वैतका लेखक हुन् भन्नु उपयुक्त प्रतित हुन्छ’’ (पृष्ठ १६०) ।

मेरो स्मृतिमा नरेन्द्र सर शीर्षकमा नारायाण तिवारी लेख्नुहुन्छ –‘‘नरेन्द्र सर मर्नुभएको छैन, जिउँदै हुनुहुन्छ, आकाशमा चम्किरहेको तारा जस्तै ’’ (पृष्ठ १६४) । नरेन्द्र चापागाई अविस्मरणीय अनुहार शीर्षमा बालकृष्ण पोखरेलले लेख्नुहुन्छ –‘‘जति समयको पाङ्ग्रो गुडदैछ त्यति हामीमा उनको अभावको बोध हुँदैछ’’ (पृष्ठ १६६) । नरेन्द्र चापागाई जोसँग मेरो मुटुको नाता थियो शीर्षकमा बद्री पालिखेले लेख्नुहुन्छ –‘‘नरेन्द्र गुरुसँग मेरो मुटुको नाता थियो । उहाम्ँको माटो र मुटुको सम्बन्ँध थियो भनौं नेपाली साहित्यको भावभूमिमा नरेन्द्र गुरुको मुटुसँग माटो साइनो थियो’’ (पृष्ठ १६८) । नाश वान शरीर महानतामा परिणत शीर्षकमा जि.वी. लेगुन लेख्नुहुन्छ– ‘‘युग पुरुषले युगसँग लिनुभन्दा पनि बरु युगलाई नै दिएर जान्छन् भने जस्तो डा. नरेन्द्र चापागाईले हामीहरूलाई साहित्यको क्षेत्रमा अनगिन्ती कृतिहरू दिएर अनुग्रिहित तुल्याउनु भयो’’ (पृष्ठ १७०) ।

नरेन्द्र चापागाई चन्दनको काठ हुनुहुन्थ्यो शीर्षकमा विश्वराज पाण्डेले लेख्नुहुन्छ –‘‘उहाँको कर्तव्यपरायणता, लगनशीलता तथा परोपकारी भावना अनुकरणीय छ’’ (पृष्ठ १७३) । मेरा शोध निर्दैशक डा. नरेन्द्र चापागाई शीर्षकमा हरिप्रसाद बरालले प्रतिवद्धता जाहेर गर्दै लेख्नुहुन्छ –‘आज गुरु संसारमा हुनुहुन्न तर उहाँका विचारहरू हामीले सुरक्षित राखेका छौं, उहाँले व्यक्त गरेका इच्छाहरूलाई हामी कहिल्यै मर्न दिने छैनौं’ (पृष्ठ १७८)। जयप्रसाद पाण्डेले उन्होने कहाँ शीर्षकमा कविता लेख्नुभएको छ । हेरौं चार हरफ –

प्यारे मेरे सारे अपने
बन्धु सखा क्या जगके सपने
भूलभुलैया भुलगया मै–
सबके हैं बस एक ठिकाने
(पृष्ठ १७९)

भर्खरको ठिटोले कस्तो कार्यपत्र लेखेको होला र ! शीर्षकमा डा. लक्ष्मण गौतमले,डा. नरेन्द्र चापागाइको विद्वताको उच्च कदर गर्दै डा. नरेन्द्र चापागाईले ‘तपाईको कार्यपत्र गहन रहेछ्’ भनेको वाक्यको स्मरण गरेको साथै लक्ष्मण गौतमले सो कार्यपत्रमा गरिएको औपचारिक टिप्पणी माग्दा सहजै टिप्पणीपत्र गौतमले प्राप्त गर्न सकेको र त्यसलाई अमूल्य निधिको रूपमा सुरक्षित राखेको धारणा आएको छ । बचनको पक्का नरेन्द्र चापागाई शीर्षकमा अनिल पौडेलको धारणा यस प्रकार छ –‘‘कसैलाई रित्तो हात नफर्काउने गुरुले आखिर काललाई रित्तोहात फर्काउनु भएन वचनको पक्का गुरु । कोटपेण्ट पनि नफुकाली लिन आउनेसँगै पो जानु भयो गुरु’’ (पृष्ठ १८५) । प्रा.डा. नरेन्द्र चापागाई: एक स्मरण शीर्षमा प्रा. डा. मेदिनीप्रसाद नेपालको धारणा यसप्रकार छ –‘‘नरेन्द्र चापागाई कठोर अध्यवसायी व्यक्तित्व थिए । उनी निम्न वर्गीय सामाजिक जीवनबाट उठेका साहित्यकार पनि हुन्’’ (पृष्ठ १८८) ।

आदर्श व्यक्तित्व:
नरेन्द्र गुरुको शीर्षकमा लक्ष्मी उप्रेती को धारणा यस प्रकार छ –‘‘अत्यान्तै शालिन ढङ्गबाट आफ्ना स्पष्ट विचारहरू राख्ने चापागाई गुरुको कसैलाई बिझ्ने गरी केही नभन्ने अनि मन दुखाउने काम नगर्ने व्यक्तिगत गुण सबै–सबैमा पाउन सम्भव छैन’’ (पृष्ठ १९०) । झपाली साहित्यमा नरेन्द्र सरको भूमिका शीर्षमा अच्यूत घिमिरेले झापामा भएका साहित्यिक कार्यक्रममा चापागाई सहभागिताको वर्णन, झापामा मोहन कोइरालाई केन्द्रविन्दु बनाएर नरेन्द्र सरलाई रथारोहण गराएको साथै ‘‘उहाँले हामीलाई सम्झनालायक प्रशस्त सन्देशहरू छोडेर जानुभएको छ ’’ (पृष्ठ १९१) भन्ने धारणा पस्कनु भएको छ । अमर स्रष्टा डा. नरेन्द्र चापागाईप्रति श्रद्धासुमन शीर्षकमा गङ्गा सुवेदीले नरेन्द्र चापागाईपति आफ्नो धारणा यसरी पस्कनु भएको छ – ‘‘एउटा इमानदार, असल र योजस्वी प्रतिभाको ओज पनि कदापि मलिन हुन दिइने छैन र हुने पनि छैन । यो ध्रुव सत्य हो’’ (पृष्ठ १९४) ।

प्राज्ञिक मूल्याङ्कन र राजनैतिक सान्दर्भिकताभित्र: प्रा.डा. नरेन्द्र चापागाई शीर्षकमा गङ्गाधर कट्टेल लेख्नुहुन्छ –‘‘प्रतिभा पुरस्कार प्रतिष्ठान र पूर्वाङ्चल साहित्य प्रतिष्ठान विराटनगरलाई स्थापित गराउने नरेन्द्र चापागाई विभिन्न साहित्यिक संघसंस्थाहरूबाट अभिनन्दित र पुरस्कृत भएका पाइन्छ’’ (पृष्ठ १९६) । नरहरूक इन्द्र, नरेन्द्र –एक श्रद्धाञ्जली शीर्षकमा लक्ष्मण नेवटिया लेख्नुहुन्छ– ‘‘मानिस जात, कुल, गोत्र, विद्या वा उपाधिले मात्र ठूलो हुँदैन । ठूलो हुनलाई उसले आफ्नो जीवनको केन्द्रीय लक्ष निर्धारित गरी सोही बमोजिम सफलता हाँसिल गरेको हुनुपर्छ । यस सन्दर्भमा नरेन्द्र गुरुको केन्द्रीय लक्ष, एउटै मात्र थियो, नेपाली वाङ्मयको सेवा’’ (पृष्ठ२००) । अँझै विश्वास लागेको छैन भन्ने शीर्षकमा पवन आलोकको धारणा –‘‘डा. नरेन्द्र चापागाई वास्तवमा व्यक्ति होइन, एउटा संस्था नै हुनु हुन्थ्यो’’ (पृष्ठ २०२) । अस्ताउँदो सूर्यलाई नमस्कार गर्दछु शीर्षकमा गोमा शर्माको धारणा –‘‘जुन राष्ट्रमा जन्मियो जुनराष्ट्रको हावा पानीमा हुर्कियो, बढ्यो त्यसै राष्ट्रको भाषा–साहित्य सेवामा समर्पित भएर सत्यमेव जयते सिधान्तमा बाँच्ने नरेन्द्र चापागाई नेपाली जनजीवनमाझ सम्झनाको स्रोत भई नेपाली आकासमा नेपाली तारा भई बलिरहने छन् भनी ईश्वरसित प्रार्थना गर्दछु’’ (पृष्ठ २०४) ।

सृजनशील व्यक्ति कहिल्यै थाक्दैन शीर्षकमा माधव राज आचार्यको धारणा –‘‘प्रसिद्ध समालोचकका रूपमा उदित हुनुभएका नरेन्द्र सरको समलोचना पक्ष अत्यान्त सुदृढ छ । उहाँका प्रसस्त कृति त्यसका साक्षी छन् ’’ (पृष्ठ २०६) । डा. चापागाइको निधनले कोतरिएको मेरो हृदय शीर्षकमा तेराख लेख्नुहुन्छ –‘‘मेरा बाको निधन हुँदा मैले टुहुरो भएको अनुभव गरिन तर डा. चपगाई को निधनले म टुहुरो भएको छु ’ (पृष्ठ २१०) । पूर्वका तारा शीर्षकमा परशुराम तिमल्सिना लेख्नुहुन्छ –‘‘चौहत्तर हजार शब्दहरू भएको नेपाली शब्दकोष साठी सालभित्रै प्रकाशन गर्ने धोको पूरा गर्न नपाउँदै हामीबाट सदाका लागि बिदा हुनुभयो ’’(पृष्ठ २१४) । नरेन्द्र सरसँग यस्तो भयो …शीर्षकमा कृष्ण अधिकारीले नरेन्द्र चापागाई साहित्यिक चर्चामा उन्ले प्रस्तुत गरेका शब्दहरू नरेन्द्र सरकै शब्दमा यसरी प्रस्तुत गरेका छन् –‘‘ प्रगतिशील साहित्य मात्रै यथार्थ साहित्य हुन्छ, अरू साहित्य पढ्दा राम्रो जस्तो लागे पनि त्यस भित्र कपट लुकेको हुन्छ । त्यसैले प्रगतिशील साहित्य मात्र पठनीय साहित्य हो’’ पृष्ठ (२१६) कृष्ण अधिकारीले नरेन्द्रको यो अभिव्यक्तिलाई स्वीकारेको देखिदैन । कृष्ण अधिकारीको बुझाईमा ‘‘साहित्य स्वतन्त्र हुन्छ’’ र राजनीति आस्था र साहित्यलाई एउटै भाँडोमा घोलेर गर्ने मूल्याङ्कन पद्धति गलत हैनर जस्ता प्रश्न उठाएका छन् अधिकारीले । मलाई पनि लाग्छ साहित्य लेखन यथास्थितिमा रहदैन र प्रगतिशील नै हुन्छ । साहित्यले समाजलाई प्रगतिपथमा हिडाउँछ । माक्र्सवादमा आधारित साहित्यमात्र प्रगतिशील साहित्य हो भन्नु साहित्यलाई राजनीतिमा लगेर मुछ्नु हो र स्वतन्त्र पथबाट पराधिनतिर लम्कनु हो ।

चापागाईको शोकमा अलाप शीर्षकको कवितामा पं जानकीबल्लभ दाहालले भन्नुहुन्छ –‘‘नरेन्द्र नाम राजाको संस्कृतमा हेर्दा । राजै तुल्य थियौ तिमी धेरै शिक्षा पढ्दा ’’(पृष्ठ २१८) । गुरु चिन्नु, आफ्नै आवरु राख्नु हो शीर्षकमा मान ब्रजाचार्यले कवितामा भन्छन् –

‘‘‘हे वैकुण्ठाधिपते पर्यौं शरणमा औ गर्दछौं प्रार्थना ।
आए डाक्टर श्रीनरेन्द्र मृत्युमै, मिल्नै महानन्दमा ।।
भाषा व्यञ्जना अर्चना हृदयनै, साहित्य सेवारत: ।
नेपाली सबका थिए गुरु दुवै, छन् कीर्तिले उज्ज्वल ।। ’’
(पृष्ठ २१९)

विश्वनाथ भट्टराईले डा. नरेन्द्रसँग उनकै घरमा गरेको कुरा कानीमा लेख्नुहुन्छ – ‘‘नेपाली भाषामा पाइने विभिन्न भाषाका अनुकरणात्मक शब्दहरूको लेखाजोखा, उत्पत्ति, व्युत्पति, एवं शक्ति सामर्थ पहिल्याउन खप्पीस नरेन्द्रजीको भाषिक साधना अत्युच्च रहेको छ ’’ (पृष्ठ २२०) विश्वनाथ चापागाई ‘‘कोही’’ले लेख्नुहुन्छ –‘‘नेपाली भाषा र साहित्यका चम्किला ताराहरूमध्येका एक तारा प्रा.डा. नरेन्द्र चापागाईको असीमित गुन गाइनसक्नुको छ’’ पृष्ठ (२२३) । सिर्जनाको उच्चाइमा राजनीति पुग्न सक्दैन शीर्षकमा देवी पन्थीको धारणा – ‘‘उनको सिर्जनालाई सबैपक्ष र विचारका मान्छेले आफ्नो ठाने, श्रद्धा गरे, तर अन्तिम घडीमा जब नेकपा एमालेले उनको मृत्य शरीरलाई विश्रान्तिस्थल पुर्याएर झण्डा ओडायो र ‘लाल सलाम’ ठोको तब उनको साहित्यिक बर्दी र कवचमा दाग लाग्यो । उनी कसैका पेवा भए वा बनाइए । यो उनले बाचुञ्जेल कमाएर गुमाएको सबैभन्दा ठूलो नोक्सानी हो । बाँचेकाहरूले सिक्ने पाठ पनि हो । सि।र्जनाको उच्चाइमा राजनीति कहिल्यै पनि पुग्न सक्दैन’’ (पृष्ठ २२८) ।

समाज, साहित्य, संस्कृतिका अनुरागी : डा.चापागाई शीर्षकमा रोहणी विलास लुइटेलको धारणा –‘‘डा. चापागाई नेपाली साहित्याकाशका एक उज्ज्वल नक्षत्र हुनु हुन्थ्यो । उहाँको निधनले नेपाली साहित्य विशेषत: व्याकरण, निबन्ध र समालोचनको क्षत्रमा अपूरणीय क्षति भएको छ’’ (पृष्ठ २२९) । मेरो स्मृति पटलमा नरेन्द्र चापागाई शीर्षकमा प्रा. नारायणप्रसाद शर्मा कट्टेल लेख्नुहुन्छ –‘‘गहिरो चिन्तन मननका साथ शब्दचयनको प्रकृया, विभिन्न लामा लामा अनुच्छेद भित्र रहेर व्यास शैलीमा निबन्ध लेखनको प्रस्तुति, वस्तुपरकताभन्दा आत्मपरकता भित्र रमाउने चापागाइको विशेषतालाई हामी कसैले पनि उछिन्न त्यस अवस्थामा सकेनौं’’ (पृष्ठ २३३) ।

तस्विरमा नचढाएको फूल शीर्षक कवितामा रीता खत्री लेख्नुहुन्छ – ‘‘तिम्रो तस्विरमा सजिएको फूल नै तिम्रो मृत्युको संकेत हो भने अहँ म कहिल्यै श्रद्धाका फूलहरू चढाउँदिन तिम्रा तस्विरहरूमा’’ (पृष्ठ २३५)। मेरा प्रेरणाका स्रोत नरेन्द्र गुरु शीर्षकमा करुणादेवी जोशी आफ्नो जीवनमा प्रेरणादिने गुरु भन्दै लेख्नुहुन्छ –‘‘सादा पहिरन, सरल जीवन यापन, नम्र र मीठो बोलीवचन, उहाँको चरित्रको विशेषता नै थियो’’ (पृष्ठ २३६) ।

आदर्श विचार र भावनाका धनी डा. नरेन्द्र चापागाई शीर्षकमा वेद निधि दाहलको धारणा –‘‘अत्यान्त सरल, सहयोगी र साधनाका धनी, युगपुरुष, नेपाली मात्रीभूमिका साहित्यिक अनुरागी र एक सफल अभिभावकका रूपमा प्रा.. डा. नरेन्द्र चापागाईलाई लिन सकिन्छ’’ (पृष्ठ२३८) । स्मृति डा. नरेन्द्रको शीर्षकमा रामप्रसाद चापागाईले कवितामा भन्छन् –

‘‘थियो तिख्खर दृष्टि सोच उनको
यात्रा छोटो उनैको
सद्बुद्धि, सद्भाव, नम्र व्यवहार
स्मृति डा. नरेन्द्रकौ (पृष्ठ २४०) ।

डा. नरेन्द्र चापागाई आँखामा हाल्दा पनि नबिझाउने लालागेडी हुनुहुन्थ्यो भन्ने शीर्षकमा गोपाल संग्रौलाले जीवन घटना सम्बन्धी विवध कुराकानीको सिलसिलामा नेन्द्रले पस्केका राजनीतिक धारणालाई यसरी पस्केका छन् – ‘‘आफू सर्वहारा श्रमजीवि वर्गमा परेको हुँदा मलाई आफ्नो वर्गबोध भएको छ ’’ (पृष्ठ २४३) ।

हुरी आई लगेछ तिमीलाई शीर्षकमा कृष्णराज कोइराला गीतको रूपमा लेख्नुहुन्छ –

‘‘साहित्यका स्रष्टा तिमी नेपालीका तारा ।
भाषाशास्त्री तिमी थियौ नेपालीका सारा ।।
सम्झनाको गीत गाउँछन् नेपालको खोला ।
आशा गरौं तिम्रो चोला कहिले फिर्ने होला ।।
कहाँ गयौ नरेन्द्र चापागाई हुरी आई लगेछ तिमीलाई ’’
(पृष्ठ२४४)

डा. चापागाई केही स्मरण–शीर्षकमा मधु पोखरेल नरेन्द्रको मृत्युले ल्याएको शून्यतालाई यसरी प्रस्तुत गर्नुहुन्छ –‘‘वहाँका वात्सल्यपूर्ण उत्प्रेरक भूमिकाको अभाव पूर्वाञ्चलवासीका लागि मात्र होइन आज समग्र राष्ट्रकै लागि एउटा रिक्तता र शून्यताको रूपमा खट्किएको छ र खट्किरहने छ’’ (पृष्ठ२४७) ।

मेरा आँखा प्रा.नरेन्द्र चापागाई शीर्षकमा हरिप्रसाद तिमसिनाले उनको राजनीतिबारे चर्चा गर्दै ‘‘नरेन्द्र चापागाई राजनीति निरपेक्ष थिए ।…. राजनीति निरपेक्ष भएकैले शिक्षक, विद्यार्थी, साहित्यकार आदि सबैका हाइ ! हाइ ! थिए आखिरीमा त्यही भयो जुन नहुनपर्ने थियो । उनलाई अनिच्छापूर्वकै एमालेले आफ्नो दलमा मुछेर प्रयोग गर्यो’’ (पृष्ठ २५०) । चापागाई समाज सेवाका बरिष्ठ सल्लाहाकार डा. नरेन्द्र चापागाईलाई श्रद्धाञ्जली शीर्षकमा माधव अत्रिको धारणा यसरी आएको छ –‘‘प्रा. डा. नरेन्द्र चापागाई ‘चापागाई समाजसेवा’ नामक संस्थाको वरिष्ठ सल्लाहाकार मात्र होइन वहाँ चापागाई कुलभूषण नै हुनुहुन्थ्यो ’’(पृष्ठ २५३) । गुरु नरेन्द्रसँगका क्षणहरू शीर्षकमा विजय कट्टेल‘छहरा’ले लेख्नुहुन्छ –‘‘आज नेपाली भाषा व्याकरण र साहित्यको संघार आँसुले भिजेको छ’’ (पृष्ठ २५३) ।

डा. नरेन्द्रलाई श्रद्धाञ्जली शीर्षकमा ज्ञानराज सुवेदीले कविताबाटै श्रद्धाञ्जली दिँदै लेख्नुहुन्छ –

‘‘तिम्रो आत्मा अमरपुरको बस्तीलाई सजाओस्
स्वार्गङ्गामा हरर वहने शीतलू बात छायोस्
अँझै तिम्रा स्थकित दिलले शान्ति पाओस् अनन्त
श्रद्धाको यो सुमन तिमीमा सम्झी देऊ नरेन्द्र ।।’’
(पृष्ठ २५५)

स्मृतिका छालभित्र नरेन्द्र दाइ शीर्षकमा रामेश्वर चापागाइले नरेन्द्रको जीवनीको साथै कृतिको विवरण समेत प्रस्तुत गर्दै नरेन्द्रको अध्ययन गर्ने समयको बारेमा भन्नुहुन्छ – ‘‘अध्ययनक्रममा कहिले–कहिले आफू बेलैमा सुत्ने तर अरु साथीहरू निदाएपछि आफू उठेर अध्ययन गर्ने अनौठो बानी पनि नरेन्द्र दाइमा पाइन्थ्यो’’ (पृष्ठ २५७) ।

श्रद्धाञ्जली शीर्षकमा गायत्री चापागाईले नरेन्द्र चापागाईको जन्मस्थानप्रति, राष्ट्रप्रति, विद्यार्थीप्रति, आदिमा उनले पुर्याएको योगदानको स्मरण गर्दै सौहार्द र भावपूर्ण श्रद्धाञ्जली यसरी दिन्छिन्–

‘‘तिमीले छरेको बीउ,
तिमीले उमारेका विरुवाहरू
तिम्रा अनुभव काम कथा र व्यथाहरू
तिमीले पाएको सम्मान र प्रशंसाहरू
अनि तिम्रो सशक्त कलम
जो जसले जहिल्यै पनि
जीवनलाई बाटो दे्खाउँदै रहून्
तिनीहरूको चाडहरूलाई नियाल्दै
तिमी जीवन्त बन
यही मेरो भावपूर्ण श्रद्धाञ्जलि’’
(पृष्ठ २६१) ।

नरका इन्द्र मेरो बुबा शीर्षकमा समीक्षा चापागाई(दाहाल)को धारणा यसप्रकार छ –असल पुत्र, असल पति, स्नेही पिता, कर्तव्यनिष्ठ दाजु, शिष्ट चेलो, असल मित्र, प्रिय गुरु र सबैको आदरणीय ….. मेरो बुबा त नरकै इन्द्र ‘‘भगवान’’ नै हुनु हुन्थ्यो ’’ (पृष्ठ २६२) । शोक पुस्तिका, श्रद्धाञ्जली, समवेदना र शोकसन्देशहरू शीर्षकमा शरदराज सुवेदीले डा. चापागाईप्रति श्रद्धाञ्जली अर्पण गर्न राखिएको शोक पुस्तिकामा विभिन्न व्यक्ति र संस्थाहरूबाट अभिव्यक्त भएका सारगर्भित सन्देशहरूलाई समावेश गर्नुभएको छ । अध्ययनशीलछात्र, योग्यगुरु: नरेन्द्र चापागाई शीर्षकमा कविराज न्यौपानेले भन्नुहुन्छ –‘‘… नरेन्द्रजी गुरुहरूका प्रिय शिष्य भएरै विद्यार्थीहरूका असल गुरुका रूपमा स्थापित हुन पुग्नुभएको थियो भन्न सकिन्छ ’’ (पृष्ठ २७३) ।

भाषविद्का रूपमा डा. नरेन्द्र चापागाई शीर्षकमा डा. हेमाङ्गराज अधिकारी को धारणा यसप्रकार छ –‘‘नेपाली अनुकरण शब्दको स्वरूप निर्धारणका क्रममा नरेन्द्रजीवाट भएका अध्ययन निकै गहन र विस्तृत छन् । नेपालीका अनुकरण शब्दलाई वर्णवैज्ञानिक, रूपवैज्ञानिक, शब्दवर्गीय र अर्थतात्त्वि आधारमा केलाउने प्रयास भएको छ’’ (पृष्ठ २७६) । डा. नरेन्द्र चापागाई : केही चिन्तन शीर्षकमा योगराज पौडेलले लेख्नुहुन्छ –‘‘डा. चापागाई र प्राज्ञ सुवेदीको लामो सहयात्रा नेपाली वाङ्मयका निमित्त अति नै उपादेश ठहर्न गएको छ ’’ (पृष्ठ २७९) ।

अन्त्यमा –
डा.नरेन्द चापागाई स्मृतिग्रन्थ अध्ययनले मेरो मनलाई छोयो । शीर्षकसहित साहित्यकारले अभिव्यक्त गरेका धारणालाई एक दुई पङक्ति भए पनि यस लेख्मा समायोजन गर्ने प्रयास गरेको छु । डा. नरेन्द्रप्रति विभिन्न साहित्यकारले अभिव्यक्त गरेका शीर्षकबाटै उहाँले नेपाली साहित्यमा पुर्याएको योगदान जीवनमा गरेका संघर्ष, प्रध्यापनशैली, समाजसेवा, मानवतावादी व्यवहार, दार्शनको अवलम्वन, सादा जीवन उच्च विचारलाई जति वर्णन गरे पनि अपुग नै हुन्छ ।

उहाँ एक सर्वमान्य तटस्थ राष्ट्रिय व्यक्तित्वको रूपमा धेरै लेखकका अभिव्यक्तिले प्रमाणित गर्दछ तापनि उहाँको स्वलेखन, उहाँका अभिव्यक्तिले उहाँ २०४६ को ऐतिहासिक संयुक्त जनआन्दोलन पछि माक्र्सवादी सौन्दर्यशास्त्रमा झुकाव भएको धारणा पनि प्रष्टरूपमा अध्ययन गर्न पाइन्छ । यहाँ झण्डा ओढाउने विषयमा भने लेखकहरूको विचार विभाजित देखिन्छ । कसैले यसलाई उपहासको हो, यो ठूलो विडम्वना हो र अमानवीय हो भनेका छन् । कसैले राष्ट्रिय व्याक्तिलाई एउटा समूहले एक्ल्याउँदा उनले पुर्याएको यागदानमा कमी आउने सब्ने र नेपाली साहित्यका साझा रत्न भएकोले उनलाई साझा रत्नकै रुपमा लिन पर्ने भनेका छन् । झण्डा ओढाउने कामलाई लासको राजनीतिको संज्ञा दिएका छन् । कसैले गौरवशाली झण्डा नरेन्द्रको आस्थाको र विश्वासको आधारमा ओढाइएको यसमा गनगन र गन्थनको कुनै औचि नभएको धारणा राख्छन् । यी सबै लेखको अध्ययन को आधारमा मैले के महसुस गरें भने नरेन्द्र चापागाई नेपाली साहित्यजगतका एक सर्वमान्य साहित्यकार हुन् । उनलाई एमालेले झण्डा ओढाए पनि उनको योगदानको कदर भने आम नेपालीबाट भएको छ र हुनुपर्छ साथै उनी एउटा राष्ट्रकै अमूल्यनिधिको रूपमा राष्ट्रले सम्मान दिनुपर्छ ।

नेपालमा बहुदल आयो तर नेता र जनतामा बहुदलीय आचरण भने आउन सकेन जस्को फलस्वरूप आगोपानी बाराबार गरेको पाइयो । यस स्मारिकामा डा.नरेन्द्र चापागाईको लासमा एमालेले झण्डा ओढाए पछि आधाभन्दा बढी मलामीले मसानघाट छाडेको र १३ दिनको तिथिमा श्रद्धाञ्जली प्रकट गर्न साहित्यकर्मी जम्मा हुन पनि त्यो झण्डाभित्रकैमात्र सहभागी भएको अध्ययन गर्न पाइन्छ । यो दु: खको कुरो हो । बहुदलीय परम्परामा एकै घरमा पनि धेरै दर्शन मान्ने परिवारका सदस्य हुन्छन् । के तिनलाई परिवारकै सदस्य नमान्ने ? यहाँ प्राज्ञ दधिराज सुवेदी र प्रा. डा. नरेन्द्र चापागाई बीचको सहयात्राले बहुदलमा एकको दर्शनलाई अर्कोदर्शनले सम्मान गर्नुपर्छ भन्ने उदाहरण दधिराजजीको लेखबाट ग्रहण गर्न सकिन्छ । दधिराजजीले लेख्नुहुन्छ –‘‘….. उनले आफ्नो प्राज्ञिक धर्म छाडेनन् । …… झण्डा बोकेर जिन्दावाद र मुर्दावादका नारालगाउँदै जुलुसमा कहिल्यै हिडेनन् । ….. सडकमा उत्रिदा –प्राज्ञिक मर्यादा भङ्ग हुन्छ भन्ने उनको अभिव्यक्ति थियो ’’ (पृष्ठ १०२) ।

यी दुवैको सहयात्रा डा.नरेन्द्र चापागाईको जीवनको अन्तिम क्षणसम्म रहेको छ र हाल पनि डा. नरेन्द्र चापागाई स्मृतिप्रतिष्ठानको संयोजकको रूपमा सहभागिता देखिन्छ ।

अन्त्यमा प्रा.डा. नरेन्द्र चापागाई र सरला चापागाईको संघर्षमय जीवन, संघर्षबाट प्राप्त सफलता, कर्तव्य, दायित्व, नम्रता, शिष्टता, साहित्यि क्षेत्रममा पुर्याएको योगदान आदि सबै अनुकरणीय छन् । उनले प्रदान गरेका जीवन उपयोगी मार्ग दर्शनहरू सदा अमर रहने छन् भन्दै डा. नरेन्द्र चापागाई प्रति हार्दि श्रद्धाञ्जली अर्पण गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७४ साल चैत्र १ गते,
कावासोती नगरपालिका वडा नं ७, नवलपुर ।

1 thought on “डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा”

  1. राम्रो लाग्यो ।
    सुन्दर समीक्षा ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *