कथाकार हुँ कि कथाको पात्र ?


“हेलो ! कविज्यू । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।”

एक्कासि एउटा अपरिचित व्यक्ति फोनम बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भनें,”कवि ? कथा ? कसलाई भन्नू भएको ? मैले त बुझेन नि ?”

“बुझ्नु पनि कसरी तपाईंले मलाई चिन्नु नै भएको छैन ।”

“उसो भए मलाई नचिनेको मान्छेसँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस है ।”

“अरे ! कविहरू त कोमल मनका हुन्छन् रे । तर तपाईं त कति चाँडै रिसाउनु भएको । चिनजान गरे हुँदैन र ?”

“मनलाई कोमलतासँग नदाज्नुहोस आफ्नो परिचय दिनुहोस् न त उसो भए,” मैले पनि ठाडो जबाफ दिएँ ।

उसले फेरि भन्यो,”तपाईंले लेख्नुभएका कथा कविताहरू यथार्थतामा आधारित हुन्छन् । के ती कथा कविताहरू सबै तपाईंका भोगाई हुन् ?”

म हाँसें,”हा हा हा …….सबै लेखाइ भोगाई हुँदैनन् र सबै भोगाई लेखाइ हुँदैनन् महोदय । जब कुनै पनि घट्ना परिस्थितिले मनलाई छुदैन तबसम्म कथा कविता केही लेखिदैन एउटा लेखकले आफूलाई कहिल्यै लेखेको हुँदैन ।”

“उसो भए मेरो एउटा कथा छ म तपाईंलाई सुनाउँछु लेखिदिनुहोस न है !”

यतिबेला भने मलाई झनै रिस उठ्यो । मेरो खिल्ली उडाए झै लाग्यो । र भनिदिएँ,”मलाई लेखनको लागि कथा माग्दै हिंड्ने मगन्ते जस्तो लाग्यो के हो ?”

“हैन, हैन साच्चै भनेको, अन्यथा नसोच्नु होला । मिल्छ भने लेख्दिनुस न है ।”

“कस्तो कथा हो ? तपाईंको आफ्नै वास्तविक हो कि कतै काल्पनिकमा त मलाई फसाउँन लाग्नुभएको हैन ?” मैले सोधें । “एकपटक मलाई एक जना साथीले पनि वास्तविक कथा हो लेख्नुहोस भनेर लेखेपछि काल्पनिक नै रहेछ । उसले मलाई उल्लु बनाएको थियो तर पछि पत्रिकामा छपाए पछि वास्तविकतामा आधारित कथा छ भनेर धेरैको राम्रो प्रतिक्रिया पाएकी थिएँ ।”

उसले फेरि भन्यो,”मेरो त हैन तर मेरो साथीको वास्तविक कथा हो । उसले तपाईंको कथा कविता पढ्दो रहेछ निकै राम्रो मान्दो रहेछ । त्यसैले तपाईँलाई लेख्न लगाएको नि ।”

मैले उत्तर दिएँ,”तपाईंको साथीको आफ्नै कथा नै हो भने साथीसँग मलाई भेट गराइदिनुहोस् न ! किन तपाईं भरिया बनेको त ?”

“म भरिया चाहिँ हैन । साथी अहिले यहाँ छैन टाढा छ । म भनिदिन्छु उसको कहानी ।”

मैले सोधें,”कहानी ? कस्तो कहानी ?”

“उसको प्रेम कथा हो ।”

म हाँसें,”ए प्रेम कथा पो मलाई त लेख्न आउँदैन हो प्रेम कथा लेख्न ।”

“म भन्दिन्छु हजुरले लेख्नुहोस् ।”

“अहिल्यै ?”

“हैन भेटेर भन्छु नि ।”

“कहाँ भेट्नुहुन्छ ?”

“भोलि एउटा साहित्य कार्यक्रम छ हजुर आउनुहुन्छ सायद म पनि त्यही आउँछु भनौला नि ।”

“ए ए .. हुन्छ नि ।”

भोलिपल्ट एउटा साहित्य कार्यक्रममा भेट भयो ऊसँग । मैले भने चिनेको थिएन । उसैले मलाई चिनेको रहेछ र आफैले बोलायो । कार्यक्रम सिद्धएपछि एउटा चिया पसलमा उसको आग्रह अनुसार म पनि गएँ । चिया पिउँदै उसले आफ्नो साथीको कथा सुरु गर्यो । मानौ ! ऊ नै कथाकार हो । लेख्दैछ आफ्नै साथीको कथा र मलाई यसरी सुनाउँदै छ ….!

त्यो दिन आँखाभरि आँशु पारेर ऊ यसरी रोएको थियो कि त्यस्तो रुवाइ आजसम्म मैले कसैको देखेकै छैन । सायद नजिकै नदी बगेको भए नदीले नै उसको आँसुलाई पनि सामेल गराएर हिंड्थ्यो होला । उसका ती सुन्दर जून जस्तै देखिने आँखाको डिलबाट आँसु हैन पहाडबाट ठोकिँदै ठोकिँदै आएको छाल बगिरहेको छ आज । म नै हुँला सायद उसको आँखाबाट खसेका छालहरू देख्ने पहिलो व्यक्ति । जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि बाहिर सधैं अरुको अगाडि खुशीका साथ हिड्ने मान्छेलाई के भएछ आज ?

म अचम्ममा परेर उसको नजिकै गएर सोधें,”अरे… शिखर सधैं जून जस्तै देखिने तेरो अनुहारमा आज किन ग्रहण लाग्यो ? जिन्दगीमा जस्तोसुकै पहाडले थिचे पनि सधैं खुशी हुनुपर्छ भन्दै मुस्कुराउदै, अरुको आँसुलाई हौँसला दिदै हिड्ने मान्छे नै दुखी आज ? पत्थर जस्तो मुटु पग्लियो कि के हो हँ ? के भयो तँलाई ? किन यसरी रुदै बसेको कोठामै ? आज अफिसमा बिदा नै मागेर रुनकै लागि बसेको होस के हो ? फेरि छोरा मान्छे यसरी रोएको सुहाउदैन है नरो मलाई रुने साथी मन पर्दैन ।”

उसलाई एक एक गरेर सोध्ने प्रश्न आज एकैपटक सोधिदिएँ । मानौं, कुनै युद्धमा बन्दुक बोकेर हिंड्न् लागेको सिपाही झै गरेर ।

शिखर, जो हामी यात्राका क्रममा यही बाटोमा भेटिएका थियौँ । यही बाटोमै उसको र मेरो परिचय भएको थियो । परिचयको क्रम सँगसँगै हामी एक आर्काको एकदम मिल्ने साथी भैसकेका थियौँ । एक अर्काका दुःख,सुःख, खुसी, आँसु बाड्ने गर्दथ्यौ । शिखरको त्यो व्यवहार र इमान्दारीताले नै मलाई उसको नजिकको दुःख,सुःख, आँशु,खुसी साट्ने साथी बनाएको थियो ।

केही समयको मौनता पछि शिखरले भन्यो, ‘हेर चन्द्र सबैका आ–आफ्नै पिर र चिन्ता छन् । आशा र भरोसा छन् । इच्छा र चाहनाहरू छन् । फरक यत्ति हो कि कोहीले उपन्यासमा छापिएका लामा –लामा कथाहरू झै सुनाउदै हिंड्छन् भने कोहीले मुटुमै कुटुरो पारेर हिडेका हुन्छन् । आफ्नो मुटु ढुङ्गाले थिचेर हो अरुको अगाडि खुशी र सूखी देखिने भनेको । के हामी छोरा मान्छेको मन हुँदैन ? पीडा हुँदैन ? हाम्रो पनि तिमीहरुको जस्तै मन छ । मुटु छ । पीडाहरू छन् । कतिपय काम कुराहरू,यात्राहरू बहानामा गर्नुपर्छ । सबैको अगाडि दुख भयो,पिर भयो भनेर आँसु खसाएर किन हिड्ने । कसैले कठै भन्ला तर कोही कसैको आँसुमा रमाउने व्यक्तिहरू पनि त हुन्छन् । आँसुको पनि आफ्नै मूल्य र मान्यता हुन्छ । परिधि हुन्छ । उसको नि निश्चित समय हुन्छ राम ।’

‘छोड्दे यी कुरा कहिलेकाहीं आशु बगाउनु पनि पर्छ । ठिकै छ ! भन बरु के छ तेरो खबर ?’

मैले भनें, ‘हेर् शिखर मलाई थाँहा छ तेरो बानी तँ कस्तो मान्छे होस भनेर । तैले आफ्नो मुटु ढुङ्गामा थिचेर अरुलाई खुशी र सुखमा देख्न चाहन्छस हैन ? किन रोएको होस तँ त्यो पनि मलाई थाहाँ छ । उसले तलाई मन पराउदिन त पराउदिन । तँ फेरि उसैको यादमा किन रोएर बसेको छस् । फेरि उसले तलाई प्रेम गर्दैन भनेकी छैन । तैले पनि खुलेर उसलाई प्रेम गर्छु भनेको छैनस । कस्तो मुर्ख प्रेम हो यार तेरो यो ।’

‘हेर ! चन्द्र तलाई थाहा छैन । तर उसलाई मैले माया गर्छु भन्ने कुरा स्पष्ट थाहा छ । थाहा भएर पनि बहिरो बनेको बहाना गरेकी हो उसले । माया गर्नु भनेको उसको सरनमा परेर,उसलाई अंगालोमा बेरेर,उसलाई चुम्बन गरेर मात्र माया गर्नु होइन । निस्वार्थ माया मुटुमा,मनमा बसेको हुन्छ । मेरो प्रेम शारीरिक आकर्षण होइन । भावनात्मक उपज हो । म उसलाई प्रेम गर्छु । के मैले गल्ती गरें चन्द्र ?’

‘शिखर ! जीवन भनेको भ्रम र मुर्खताको यथार्थ पनि हो । कतिपय सम्झनाका गेडाहरू नचाहदा नचाहँदै पनि लडिबुडी गरिरहन्छन । छोड्न नै मान्दैनन् । जीवनका सबै घाउचोट र यादहरू सधैं भरी सम्झने भए मान्छे बहुलाउँथ्यो होला ।’

‘जीवनमा त्यतिबेला मुर्खता हुदोरहेछ शिखर ! जतिबेला केही सम्झना र यादहरू बिर्सन खोज्दा पनि जबर्जस्त बसिदिन्छन मुटुमा । टाढीन नै मान्दैनन् । जिन्दगीका बाटाहरू फरक भएपनी कतिपय यादहरुले कुम ठोक्याउदै पनि हिड्छन् । तर बिर्सन कोसिस गर । माया भनेको एकोहोरो हैन दोहोरो हुनपर्छ । एक औलाले प्रेम लिखिदैन शिखर । मायामा घमण्डता हैन कोमलता हुनुपर्छ । माया भौतिक प्रमाणभन्दा दूर र आत्मासँग नजिक हुनुपर्छ । फेरि मायामा दया पनि हुँदैन । म तँ जस्तो महान त छैन । तर आजभोलि दिलमा बसेर प्रेम गर्नेहरू यो समाजमा कम भेटिन्छन् ।’

शिखरले भन्यो, ‘चन्द्र तेरा कुरालाई मैले अस्वीकार गरेको छैन । प्रेम बाचा र कसम को सामिप्यताभन्दा विश्वासको छहारीमा मौलाएको हुन्छ । म उसबाट केही लिन चाहन्न र मसँग दिने पनि केही छैन । भौतिक प्रमाण भनेको सब निर्जीव हुन सजीव भनेको यहीँ माया नै हो । मसँग प्रमाण भनेको यही चोखो माया नै छ । म कसरी देखाऊ यो प्रमाण भन त ? मैले भने शिखर ! चोखो प्रेम गर्नेहरुले प्रमाण नै खोज्दैनन् । यदि उसलाई प्रेम गर्छस नै भने भन न त म प्रेम गर्छु भनेर । हैन भने प्रेममा धेरै झाङ्गिन नखोज पागल हुन्छस नत्र । यादहरुका पहाडलाई नाघेर त हिड्न सकिदैन तर पनि प्रयास गर्नुपर्छ ।’

‘चन्द्र.. म उसलाई प्रेम गर्छु तर पनि ऊसँग किन भागिरहेछु भने यदि उसामु मेरो प्रेम अभिव्यक्ति गरे भने आजसम्म ठेस नलागेको मेरो आत्मसम्मानमा ठेस लाग्छ कि भन्ने डर छ मलाई । यो मेरो पहिलो र गम्भीर प्रेम हो म चाहन्न कि मेरो पहिलो प्रेम असफल बनोस् ।’

मैले भने, ‘शिखर दिक्षा त्यस्तो केटी हैन बुझ्छे उसले तेरो प्रेम । तेरो जस्तो छ उस्तै विचार, सोच छ उसको पनी। मैले राम्रोसँग चिनेकोछु दिक्षालाई ऊ आम केटीहरुभन्दा अलि भिन्नै छे । ऊ कुनै लोभ र मोहमा डुब्ने केटी हैन ।’

शिखरले भन्यो, ‘त्यसो भए किन बुझ्दिन उसले मेरो प्रेम ?’

‘तैले भनेको पनि छ छैनस् नि अनि कसरी थाहा हुन्छ उसलाई तैले प्रेम गर्छस भनेर । उसले त तलाई एउटा सच्चा इमान्दारी साथी मात्र भन्दै थिई ।’

‘यस्तै हुन यार यी माया प्रेमका कुरा । कस्तो मान्छेलाई कस्तो बनाइदिन्छ । तर हामीले विगतलाई भुलेर वर्तमान रंगिन बनाउनुपर्छ । विगत हाम्रो सम्झना मात्र हो । त्यसैले वर्तमानलाई निराश बनाउन नखोज । कहिलेकाहीँ फूलका पत्रैपत्र केलाउँदै जाँदा काँडाले पनि घोच्छ । जीवन भोग्नु र देख्नु एउटै नहुदो रहेछ । सबै मान्छेहरुको मन एउटै नहुदो रहेछ । सबैको जीवन भोगाई एउटै नहुदो रहेछ । मान्छे सोचेभन्दा धेरै फरक हुँदोरहेछ । कोही आफन्तहरू पनि आफन्त जस्ता नहुँदा रहेछन् । कोही मित्रहरू पनि मित्र जस्ता नहुँदा रहेछन् । अनि जीवन पनि सोचेभन्दा धेरै फरक छ शिखर त्यसैले एकोहोरो माया गरेर मनमा आगो सल्काएर मुटुलाई खरानी बनाउन नखोज । आजका कतिपय प्रेम प्रेमिकाहरू लोभ र मोहको तालाऊमा डुबेर आफ्नो अस्तित्व नै भुलेको छन् । यस्तै हो कहिले मन मिल्नेसँग विचार मिल्दैन त कहिले कहिले विचार मिल्नेसँग मन मिल्दैन कहिले दुवै मिल्नेसँग भाग्य मिल्दैन । तेरो पनि भाग्य नमिलेको हो कि ।’

त्यति भनेपछि म पनि त्यो अवस्थामा शिखरलाई छोडेर घरतिर लागे । उसले अँझै पनि कुरा गरिरहन्छ दिक्षाको !

उसले यति कुराहरू बोल्दै जादा मैले उसका कुराहरू एकतमासले सुनिरहें । केही बोलिन । मेरो मन पनि निचोरियो एकपटक । कागति निचोरिएझै । यो माया कस्तो माया बुझ्नै नसकिने । माया बुझ्ने कुनै यन्त्र नै भएन सायद यन्त्र भइदिए आगो साक्षी राखेर जोडिएका सम्बन्धहरू छुट्टिने थिएनन् ।

‘उसको नाम चन्द्र ?’ मैले सोधें ।

‘अनि चन्द्रजी ! दिक्षा र शिखरजीलाई कहाँ के गर्दै हुनुहुन्छ त आजभोलि ?’

‘शिखर पढाईको शिलशिलामा जिल्ला बाहिर छ अहिले र सुन्दैछु दिक्षा पनि यतै छ रे ।’

‘के शिखरजीसँग मलाई भेट गराउन सक्नुहुन्छ ?’

‘किन ?’

‘कहिलेकाहीँ कठोर वर्तमानसँग पनि जुधेर हिड्नु पर्ने हुन्छ चन्द्रजी,उहाँसँग प्रत्येक्ष भेट भएसि केही कुराहरू मैले पनि उहाँलाई भन्न पाउथे कि भनेर !’

‘ए हो र उसले नि तपाईंलाई भेट्ने मन गर्दै थियो ।’

‘कहिले आउनुहुन्छ शिखर यहाँ ?’

‘एकदुई महिना पछि आउँछ होला ।’

‘उसो भए आयसि मलाई भेट्ने भन्नुस है ? अनि दिक्षालाई पनि !’

‘हुन्छ ।’

केही समयपछि ……

एक दिन म काम बिषेशले घरबाट अलि टाढा गएकी थिएँ । त्यतिबेलै चन्द्रको फोन आयो र शिखरसँग भेट्न आग्रह गर्नुभयो उहाँले । मैले पनि नकार्न सकिन । समया मिलाएर भेट्ने निधो गरे ।

दिउँसोको पारिलो घाम समय आफ्नै गतिमा दौडिरहेछ । म पनि त्यही समयको पछि-पछि दौडिरहेछु । चिया पिउनको बाहाना पारेर शिखर र चन्द्रालाई भेट्न म पनि चन्द्रले बोलाएको एउटा चिया पसलमा पसें ।

“सदिक्षाजी ! कति ढिला हो आउन पनि ?”

“ढिला त भैहाल्छ नि चन्द्रजी थोरै काम थियो सकेर नै आऊ भने ढिला भयो नि । अरे ! प्रविनजी तपाईँ पनि चन्द्रसँगै ? कहिले चिनजान भएको चन्द्रजीसँग ?”

“प्रविनसँग एक वर्ष पहिले एउटा कार्यक्रमा नै भेट भएको थियो । कहिलेकाहीं उहाँसँग फेसबुकमा कुराकानी पनि हुने गर्थ्यो । जीवन र दर्शनका कुरा पनि गर्नुहुन्थ्यो । निकै इमान्दारी र सभ्य मान्छे ।”

त्यतिकैमा चन्द्र बोले,”हामी साथी हौँ निसँगै पढेका ।”

“ए ! हो र ?”

मैले फेरि सोधें,”चन्द्रजी खै त शिखर मैले त देखेन नि ?”

“अँ….. शिखर !”

“किन के भयो र, उहाँ आउनु भएन ?”

“उहाँ यही हुनुहुन्छ ।”

“खै त देखेन मैले, अनि दिक्षा ?”

“उहाँ पनि यहीँ हुनुहुन्छ ।”

“हैन के भन्दै हुनुहुन्छ तपाई यतै रे ? खै त देखेन मैले ।”

मैले सोधिरहँदा शिखर र प्रविनको अनुहार निकै खुसी देखिन्थ्यो मानौं युद्ध जितेको सिपाही झै ।

मैले रिसाउदै भनें,”चन्द्रजी के तपाईंले मलाई केटाकेटी जस्तै ठान्नुभएको ?”

ऊ डराउँदै बोल्यो, ःसदिक्षाजी ! त्यस्तो ठानेको हैन । कुरा के …भने…।”

“के हो कुरा स्पष्ट भन्नु न ? किन चपाइरहनु भएको हो ?”

यतिवेला भने चन्द्रको अनुहार पुरै ग्रहण लागे झै अँध्यारो भयो । प्रविनको अनुहारको रङ्ग नै वदलियो । मानौ उनीहरू कानूनको कठघरामा उभिएर न्यायाधीषसमक्ष आफूलाई पुरै दोषी सावित गर्दैछन् ।

त्यसपछि चन्द्र बोले,”वास्तवमा मैले तपाईँलाई सुनाएको शिखरको कथा कुनै काल्पनिक हैन, वास्तविक नै हो । बरु मैले तपाईंलाई सुनाएको कथाको पात्र शिखर काल्पनिक थियो वास्तविक भने यही प्रविन हो ।”

मैले सोधें,”अनि त्यो दिक्षा नि ?”

“त्यो पनि काल्पनिक नाम हो वास्तविक हजुर… सदिक्षा नै हो ।”

म कतै सपनामा त छैन एकपटक आफूले आफैलाई छामे अहँ, विपनामै रहेछु । तर पनि मलाई चन्द्रको कुरा विश्वास लागेन र प्रविनलाई सोधें,”प्रविन के यो कुरा साँचो हो ?”

प्रविनले त्यतिबेला कुनै आज्ञाकारी छात्र झै मुन्टो हल्लाउदै बोल्यो,”अँ…..हो सदिक्षा जब तिमीलाई भेटे अनि तिम्रो त्यो सभ्यता, व्यवहारिकता र तिम्रो लेखनले मलाई तिमीप्रति निकै प्रभावित पार्यो र तिमीलाई मैले धेरै माया गर्न थाले,अँझै गर्छु पनि तर भन्न सकेको थिएन मैले । एकपटक भन्न खोजेको हुँ तर तिमीले वास्ता गरीनौ । म छटपटाइरहे । कसरी भनौ,कसलाई भनौ केही उपाए नै पाएन । एकदिन म कोठामै टोलाएर बसेको थिएँ । त्यसैवेला चन्द्र गयो र यसलाई सबै कुरा वताएँ । तिमीलाई भनौ भने थहाँ थियो तिमी यसरी भेट्न आउँदिनौ । त्यसैले तिमीलाई भेट्नको लागि चन्द्रलाई यो सब भन्न लगाएको ।”

प्रविनका कुरा सुनेर मनले एकछिन केही सोच्नै सकेन । मैले मायाको अनुभव पनि कहिल्यै गरिन । कसैप्रति नजर नै गएनन् । गए त केवल आफ्नै बाटो,पाटो यात्रा र गोरेटोहरुमा उनीहरू संगसँगै हिडिरहे, हिडाइरहे जिन्दगीलाई संगसँगै डोर्याउदै । के माया पनि यस्तो हुन्छ र ? लेख्छु, कति प्रेमका कथा, गजल, मुक्तक, कविताहरू तर स्वर्ग देख्न मर्नु पर्दैन महशुस गर्ने मन हो, मनको नजरले बुझ्ने कुरा हो । जीवनका हरेक कुराहरुलाई भोग्न पर्दैन लेख्नको लागि । मात्र पात्रहरू खोज्नपर्छ ।

तर पात्रहरू खोज्दै जाँदा कहिलेकाहीं आफैले कथा लेख्दालेख्दै आफू नै पात्र भएको थाहौँ नै हुँदो रहेनछ । अहिले त्यस्तै भयो चन्द्र र प्रविनको यी कुराहरू सुनेर । म यो कथाको कथाकार हुँ कि पात्र बुझ्नै सकिँन ।

दीपा धिताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “कथाकार हुँ कि कथाको पात्र ?”

  1. सुवास “दीप”

    कथा राम्रै लाग्यो। सुरुमा
    कथा राम्रै लाग्यो। सुरुमा निरस भए पनि पढ्दै जाँदा कुतुहल बढ्दै गएको छ र अन्त्यमा समापन पनि राम्रो नै लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *