कहाँ खोजु तिमीलाई ?


मम्मी हाम्रो बाबा कहिले घर आउने ? आउँदा के ल्याइदिनुहुन्छ मलाई ? एकपटक फोन गर्नून बाबालाई म पनि कुरा गर्छु । हजुरले किन सधैं भोलि-भोलि मात्र कुरा गरौंला भन्नुहुन्छ । तपाईंलाई बाबाको माया लाग्दैन हो मम्मी ? मलाई त मेरो बाबाको धेरै माया लाग्छ । मेरो बाबा आउँदा मलाई भन्नू नि म त बाबालाई लिन शहर जाने हो । अनि नयाँ नाना पनि किन्ने हो ।

उफ ! छ वर्षकी मेरी छोरीका यी प्रश्नहरुको नजबाफ उत्तर म कसरी दिऊँ । सुन्दै मन निमोठिएर आउँछ । मुटुका भल्भहरू एका एक स्वुच अफ हुन थाल्छन् । हातमा समातेको पानीको अम्खोरा एक्कासि हातबाटै उछिट्टिएर पर पुग्छ । साथसाथै भाग्य पनि उछिट्टिन्छ र आफैलाई गिज्याउँछ । छोरी झसँग हुन्छे र फेरि प्रश्न गर्छे, “मम्मी किन के भयो र बाबा को कुरा गर्दा डराए झैं गर्नुभएको ?”

अरे ! मेरी प्यारी छोरी बाबाको कुरा गर्दा पनि डराउँछ्न त कतै ! माया पो लाउँछ त । चिप्लिएर खसेको हो अम्खोरा हातबाट ।

त्यही त सोधेकी बाबा कहिले आउनुहुन्छ भनेर । आफूले भोलि भोलि मात्र भन्नुहुन्छ ।

आँखाबाट खस्नै लागेका आँसु क्षनभरमै लुकाएर भन्नैपर्ने हुन्छ ।

“छोरी तिम्रो बाबा भोलि आउनुहुन्छ ।अनि बाबालाई लिन मम्मी र छोरीसँगै शहर जाने है ।”

यति भने मात्रै पनि छोरी खुसीले आगनीमा एक्लै उफ्रिन्छे । बाबा प्रति कति माया, कति खुशी, कस्तो प्रेम । तर म कसरी भनु छोरी तिम्रो बाबाले हामीलाई छोडनु भयो, बिर्सिएर जानू भयो भनेर । यस्तो भन्दिए भने उसको बाल मस्तिष्कले के सोच्ला ? कहाँ ठोकिएलान उसका खुशी र रहरहरू ? अहँ ! कसै गरे नि भन्दिनँ । भोलि छोरी ठुली हुनेछे र आफै बुझ्नेछे थाहाँ पाउनेछे ।

छोरी बाबालाई भोलि भेट्ने रहरमा आगनमा खेलिरहेकी छे । आगनी भरिरहरहरू बिछ्याइरहेकी छे । म भित्र भान्सामा खाना पकाउँदै छु । र भित्तामा झुन्ड्याएर राखिएको रमेशको फोटोतिर आँखा जान्छन् । त्यसैबेला भन्न मन लाग्छ रमेश ऊ हेर त हाम्रो सपना कसरी आगनमा तिमीलाई भेट्ने रहरमा खेलिरहेको छ । तिमी घरबाट निस्कदा ऊ मेरो पेटमा खेलिरहेकी थिई अहिले त आगनीमा नै खेल्ने भइसकि । तिमीले भनेका थियौ नि यो सपनालाई फलाउनु फुलाउनु पर्छ त्यसैले म यसको भविष्य खोज्न जादैछु, भनेका थियौं हैन र ?

तर म अब कसलाई सोधु । यो भित्तामा झुन्डिएको तस्बिरलाई सोधु त तस्वीर बोल्दैन तिमीलाई सोधु त तिमी छैनौ । कहाँ छौ रमेश तिमी ? कुन ठाउँ छौ ? के गरिरहेका छौ? किन बिर्सियौ तिमीले ? के तिमीले सोच्न सक्छौ म कुन अवस्थामा छु । यो छोरीसँग कुन अवस्थामा खुसी बाडिरहेकी छु । भनेका थियौ नि तिमीले जुनिजुनीसँगै मरौला, सँगै बाँचौला, सँगसँगै सुखदुःख बाडौँला । तिमीलाई सुख दिन नसकेनी खुसी दिउँला । तर रमेश तिमीले त एक जुनि त के एक वर्षमै छोडेर गयौ । खुशीको त झन अनुभव नै गर्न पाइन् मैले । तिमी अब फर्किएर आउदैनौ रमेश ?

रमेशको भित्तामा जुन्डडिएको तस्बिरसँग केही गुनासो पोख्दै थिएँ । आँखाबाट खसेका आँसुहरू साक्षी राखेर केही विगतहरू पल्टाउदै थिएँ । त्यतिकैमा छोरी मम्मी ….भन्दै आइ र विगत भत्काइदीई । आँखाबाट खसेको आँसुलाई जबर्जस्त आँखाकै भित्तामा टाँसेर फेरि उहीँ वर्तमानमै फर्किए ।

किन के भयो र छोरी ?

मम्मी ..मम्मी आज त स्कुल बिदा घुम्न जाने ल । सधैं कति घर मात्र खेल्ने, हजुर पनि सधैं काम मात्र छ भन्नुहुन्छ । बाबा नभए घुम्न जान मन लाग्दन हो मम्मी ?

बाबा जस्तै मेरी प्यारी छोरी छौ त जाउँला नि त आज ।

ल मम्मीसँग आज भात खाएर घुन जाने ल ला ला ला…….. ।

छोरी घुम्न जाने भनेपछि फेरि उफ्रिदै बाहिर खेल्न जान्छे । बिर्सन्छु भन्छु बिगत । फेरि छोरीले यादहरू फिर्ता ल्याइदिन्छे । म त जबर्जस्त बिर्सने कोसिस गरौंला तर यो निर्दोष छोरिलाई के भनेर सम्झाउँला ।

त्यतिकैमा बिहानको खान खाएर छोरिलाई घुम्न जाउँ भनेर दिदीको घरतिर लान्छु । दिदीको घर जान करिब एक घन्टा लाग्छ । हिडाएर लगेकी छु छोरिलाई । बाटोमा सोध्छे छोरी मम्मी … अहिले बाबासँगै भैदिएको भए कति रमाइलो हुने थियो है ? मेरी छोरी तिमीले मलाई नजबाफ हुने गरी बाबालाई मात्र सधैं किन सोध्छौ ? मनमनै छोरिलाई प्रश्न गर्छु तर बाहिर भन्न सक्दिनँ ।

हिंड्दा हिंड्दै एक ठाउँ निकै रमाइलो दृश्य देखिन्छ । छोरी सिकाउँछे ऊ हेर्नु त मम्मी कति रमाइलो ठाउँ बाबा आएपछि बाबालाई लिएर हामी फेरि त्यही घुम्न जाने ल ? यस पटक केही भनिन् छोरीको प्रश्नमा हुन्छ मात्र भन्दिए ।

अग्नि साँक्षी राखेर खाएका बाचा कसम पनि पूरा नहुँदा रहेछन् । बा आमाले पराईसँग कन्यादान गरेर हात थमाइदिदै भनेका मन्त्रहरू पनि बेकार रहेछन् । बिहे नहुदै प्रेम प्रेमिकाको नाउँमा मन्दिर, मन्दिर धाएर अमुर्त भगवानको मूर्तिसँग मागेका सपना र रहरहरू पनि पूरा नहुँदा रहेछन् । अनि आँखाबाट आँसु चुहाँउदै अगालो मार्दै मरेसँगै मरौला बाँचेसँगै बाचौला भनी बोलिएका शब्दहरू पनि बाहाना मात्र रहेछन् ।

बाहानै बाहानाको जीवन बाहानामा मात्र बाँच्नुपर्ने । रमेशले छोडेर गएको नि आज सात वर्ष भैसक्यो । किन बाहानामा मसँग उसले सम्बन्ध गाँस्यो ? किन बाहानामा प्रेम गर्यो मलाई ?

ऊ त धेरै धन कमाउने, रमाउने सुखको जीवन जिउने सपना देखेर, देखाएर प्रदेश गएको हो । कति निष्ठुरी र बैमानी बन्यो रमेश ?

रमेश परदेश पसेपछि फर्किएर आउला भन्ने धेरै आशा र सपनाहरू थिए । रहरहरू थिए । तर उसले त मेरा सबै सपनाहरू मारेर गयो । सम्झनामा यही एउटा छोरी छोडेर गयो । न मरेको न बाँचेको खबर आउछ । के उतैको रमाइलोमा मलाई भुलेको हो त रमेशले ? कहाँ जाउँ म उसलाई खोज्न ? आजभोलि त फोन छ फेसबुक छ कहिकतै भेट्दिन त म थाकिसके उसलाई खोज्दाखोज्दै म आफै हराइसके । जिन्दगीले भन्थे तर रमेशले कस्तो अनौठो मोडमा ल्याएर छोडी दिएको छ मलाई आज । जता हेर्यो अन्धकारै अन्धकार । कहिलेकाहीं साहस बटुल्दा बटुल्दै पनि नचाहाँदा नचाहाँदै पोखिन्छ ।

त्यतिकैमा कहिले मन भक्कानिदै, कहिले बिगत सम्झदै, कहिले आफ्नो भाग्यलाई आफैले धिक्कार्दै, कहिले आक्रोश पोख्दै, कहिले साहस बटुल्दै । छोरीको हात समाउदै छोरिलाई घुमाउने बाहानामा दिदीको घरसम्म पुर्याउँछु छोरीलाई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *