मेरो आँगनमा उभिएको अग्लो असोकाको बोट
कहिल्यै सुक्दैन,
ऊ काटिरहन्छ सबै हाँगाबिगाहरू
जहिल्यै हरियो बनेर पलाउँछ
काले त्यही हागो हेरेर
हातमा सर्टिपिकेट बोकेर दुनिया बिर्सन्छ ।
ऊ सानो छदा त्यही आगनमा लुकामारी खेल्थ्यो
त्यही अल्झिएको छ छोराको स्मृति
आमा खन्याउँथिइन् मातृवासल्य
उनका सपनाहरू छरिएका छन्
भोलि धरतीमा खस्ने घामका किरणहरू
सुनौला बनाउने आशमा
आमाका चाउरिएर पलेटी परेका ओठमा
अलिकति मुस्कान उमार्ने
बाबाका खिइएका काँधमा टेको दिन मन छ
स्कुलका सार्टिफिकेटभरी
जिन्दगीका रङ्गिन सपनाहरू छरिएका छन्
भर्खरै फक्रिएकी मेरी मायाको आङ्गमा
नयाँ नाना हालिदिन ऊ भौतारिएको छ
परिवारका रङ्गीन सपनाहरू
ऊसँगै हिडेका छन्,
ऊसँगै टाँसिएका छन् !
थाहा छैन
ती सपनाहरूले उसलाई असीमित खुसी दिने हुन
या त कैद बनेर आउने हुन?
जिन्दगीसँगै सुख्खा त्यही सड्ने हुन
या साँच्चै रङ्गीन बनेर घरभित्र भित्रीने हुन?
नियालिरहेछ आँगनमा उभिएको अग्लो असोकाको बोट!
